प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 मार्च पृ. ३-४
  • परिचालक निकायबाट पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायबाट पत्र
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 मार्च पृ. ३-४

परिचालक निकायबाट पत्र

हामीले साँच्चै विशेष कृपा पाएका छौं! यहोवाका साक्षीहरूको हैसियतमा हामीले एक मात्र साँचो जीवित परमेश्‍वर, ब्रह्‍माण्डका सृष्टिकर्ता, यहोवालाई चिन्‍ने मात्र होइन तर उहाँको नाउँ वहन गर्ने र उहाँको सेवा गर्ने सुअवसर पाएका छौं। योभन्दा महान्‌ आशिष्‌ अरू के हुनसक्छ र!—यशै. ४३:१२; हिब्रू ८:११.

हामीसँग उद्धारको आशा छ र अरूले पनि यहोवाको उपासना गरून्‌ अनि हाम्रोजस्तै आशा राखून्‌ भन्‍नाको निम्ति हामीलाई राज्यको सुसमाचार प्रचार गर्न अह्राइएको छ। (मत्ती २४:१४; रोमी १०:१३, १४; १ थिस्स. ५:८) एकअर्कालाई प्रेम र सक्रियतासाथ मदत गर्ने उपासकहरूका अन्तरराष्ट्रिय भ्रातृत्वको भाग हुने सुअवसर पनि हामीले पाएका छौं। यी सब कत्ति अनमोल छन्‌!

बाइबलले हामीलाई यस्तो निमन्त्रणा दिनु उपयुक्‍त छ: “आनन्दसाथ परमप्रभुको सेवा गर, . . . धन्यवादसाथ उहाँका मूल-ढोकभित्र, र प्रशंसा गर्दै उहाँका चोकभित्र पस। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँको नाउँलाई धन्यको भन। किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ।” (भज. १००:२-५) आनन्दसाथ यहोवालाई सेवा गर्नु र उहाँसित बलियो व्यक्‍तिगत सम्बन्ध हुनुबीच प्रत्यक्ष सम्बन्ध छ। उहाँले त्यस्तो सम्बन्ध सम्भव तुल्याउनुभएको छ र हामीले त्यो खेती गर्ने सुअवसर पाएका छौं। उहाँसित त्यस्तो सम्बन्ध छ भने यहोवा हामीलाई खाँचोमा परेको बेला मदत र बल दिन सधैं तयार हुनुहुन्छ भनी ढुक्क हुनसक्छौं। यस दुष्ट रीतिरिवाजको आखिरी दिनमा आइपर्ने चुनौतीहरू सामना गर्न उहाँले आध्यात्मिक बल र डोऱ्‍याइ दिनुहुनेछ भनेर हामी विश्‍वस्त छौं। जस्तोसुकै दबाउ आइपरे तापनि हामी आफ्नो सेवकाईमा आनन्दित छौं र हामी दिनहुँ यहोवालाई धन्यवाद दिन्छौं किनभने उहाँको वचनले भनेझैं उहाँ हाम्रो “फिक्री गर्नुहुन्छ।”—१ पत्रु. ५:७.

गत वर्षको दौडान यहोवाले हामीलाई प्रचुर मात्रामा आशिष्‌ दिनुभयो। “परमेश्‍वरका वचन पालन गर्नेहरू होओ” जिल्ला अधिवेशनमा हाम्रोजस्तै अनमोल विश्‍वास भएका हजारौं व्यक्‍तिहरूसँग भजन गाएर यहोवाको आध्यात्मिक टेबलबाट सँगै भोजन गर्न पाउँदा हामी रोमाञ्चित भएका थियौं। हाम्रो मण्डली पुस्तक अध्ययनमा पे अटेन्सन टु डानियल्स प्रोफेसी! अध्ययन गरेर आफ्नो विश्‍वास बलियो बनाउन सकेको अनुभव गऱ्‍यौं। यसबाहेक, आइजायाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड! शीर्षक भएको नयाँ पुस्तकको खण्ड १ पाउँदा साह्रै रोमाञ्चित भएका थियौं। साँच्चै, ‘हाम्रो कचौरा भरिएर पोखिएको छ।’—भज. २३:५.

अरू लाखौं आध्यात्मिक भाइबहिनीहरूसित यहोवाको सेवामा एकताबद्ध भइरहेको कुरा थाह पाउनु कत्ति आनन्दको कुरा हो! क्षेत्र सेवकाईमा प्राप्त नयाँ शिखरहरूबारे थाह पाउँदा हामी कस्तो प्रोत्साहित हुन्छौं! वर्तमान विश्‍व परिस्थितिको बावजूद लाखौं मानिसहरू प्रभुको मृत्युको स्मरणार्थमा उपस्थित हुँदा हामी आनन्दित भयौं। संसारमा चारैतिर आँखा घुमाएर हेर्दा एउटा कुरा स्पष्ट हुन्छ। त्यो हो, “फसल ता प्रशस्त छ।” (लूका १०:२) गत वर्ष हरेक हप्ता सरदर ५,५५५ बाइबल विद्यार्थीहरूले प्रगति गरेर पानीको बप्तिस्माद्वारा आफ्नो समर्पण जाहेर गरे। पृथ्वीको कुनै कुनै भागमा अरू भागको तुलनामा फसल धेरै हुँदा हामी सबै यहोवाले गरिरहनुभएको काममा आनन्दित हुन्छौं। आफ्ना सेवकहरूको एकताबद्ध प्रयासमा उहाँको आशिष्‌ छर्लंगै देख्छौं।

नयाँ राज्यभवनहरूको निर्माण थप आनन्दको कारण भएको छ! विकासोन्मुख राष्ट्रका हाम्रा भाइबहिनीहरूले यस कामको निम्ति देखाएका हार्दिक समर्थन देखेर हामी हर्षित भएका छौं। आवश्‍यक प्रशिक्षण पाएका राज्यभवन निर्माण समूहहरूको मदतले सयौं राज्यभवन निर्माण भएका छन्‌। यी भाइहरू आफ्नै देशभित्र राज्यभवन निर्माण कार्यमा नेतृत्व लिन विभिन्‍न मण्डलीमा जाने गर्छन्‌। अझ हजारौं राज्यभवनको आवश्‍यकता भएकोले यस काममा सहयोग गर्न विकासोन्मुख राष्ट्रहरूबाटै थप स्वयम्‌सेवकको निम्ति आग्रह गरिएको छ। तपाईं त्यस्तै मुलुकमा बस्नुहुन्छ भने के तपाईं यस कार्यमा सामेल हुन सक्नुहुन्छ? उपासनाको निम्ति भेला हुन आफ्नै राज्यभवन हुँदा हाम्रा प्रिय भाइबहिनीहरू साह्रै खुसी हुन्छन्‌! अनि यसको लागि आर्थिक मदत पाउँदा विश्‍वव्यापी भ्रातृत्वप्रति तिनीहरू कत्ति कृतज्ञ हुन्छन्‌!

कानुनी विजयहरूको समाचार सुन्दा पनि हामी खुसीले गद्‌गद हुन्छौं। यद्यपि, धेरै देशमा यहोवाको उपासनालाई दमन गर्न चाहने प्रतिष्ठित व्यक्‍तिहरू पनि छन्‌। यस्ता परिस्थितिहरू सामना गर्दै जाँदा, विरोधीहरू जत्ति नै धेरै भए तापनि वा उहाँका सेवकहरू जत्ति नै निस्साहय देखिए तापनि यहोवाले हर हालतमा मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं। (२ इति. १४:११) साँचो उपासनाको निम्ति दृढ अडान लिनुहुने सबै भाइबहिनीहरूको हामी हार्दिक सराहना गर्छौं।

तपाईंको विश्‍वास बलियो बनाउँदै लानुहोस्‌ र मसीही जिम्मेवारीहरू आनन्दसाथ पूरा गर्दै अघि बढ्‌दा डोऱ्‍याइको निम्ति यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌। (हितो. ३:५, ६) शत्रुले जेसुकै गरे तापनि निरुत्साहित हुनुपर्ने कुनै कारण छैन। आफ्ना चिन्तित चाकरलाई एलीशाले दिएको यो प्रोत्साहन सम्झनुहोस्‌: “नडरा, किनभने हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्‌।” (२ राजा ६:१५-१७) एलीशाको दिनमा जस्तै आज पनि यहोवाका स्वर्गीय सेना साँचो उपासनाको गतिविधिलाई सुरक्षा दिन तम्तयार छन्‌। हामी भविष्यमा आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं। सबै कुरा यहोवाको नियन्त्रणमा छ। उहाँको बराबरीमा कुनै राष्ट्र पुग्न सक्दैन। उहाँले आफ्नो पुत्रलाई पूर्ण अधिकारका साथ सिंहासनमा राख्नुभएको छ। “उहाँको शरण लिनेहरू सबै धन्यका हुन्‌।”—भज. २:१-६, १२.

तपाईं प्रिय भाइबहिनीहरूको हामी सधैं न्यानो सम्झना गरिरहनेछौं भनेर नबिर्सनुहोस्‌। तपाईंहरू प्रत्येक “परिपक्व . . . र परमेश्‍वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न” सकून्‌ भनी हामी निष्कपट प्रार्थना गर्छौं।—कल. ४:१२.

तपाईंका भाइहरू,

Governing Body of Jehovah’s Witnesses

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने