“परमेश्वरको लागि सबै कुरा सम्भव छ”
१ मसीही मण्डलीको मुख्य काम विश्वव्यापी रूपमा राज्य सन्देश प्रचार गर्नु हो। (मत्ती २४:१४) यो एउटा ठूलो काम हो। धेरैलाई हामीसँग भएको स्रोत साधनले यो काम पूरा गर्न सकिंदैन जस्तो लाग्ला। अरूले चाहिं हामीहरू हाँसोको पात्र बन्ने र हामीले विरोध तथा सतावट सामना गर्नुपर्ने भएकोले यो काम पूरा हुन्छ भनेर कल्पना समेत गर्न सक्दैनन्। (मत्ती २४:९; २ तिमो. ३:१२) शंकालु व्यक्तिहरू यो काम पूरा हुन असम्भव छ भन्न पछि पर्दैनन्। तथापि, येशूले भन्नुभयो: “परमेश्वरको लागि सबै कुरा सम्भव छ।”—मत्ती १९:२६, नयाँ संशोधित संस्करण।
२ अनुकरण गर्नुपर्ने सकारात्मक उदाहरण: येशूले आफ्नो सेवकाई सुरु गर्नुहुँदा, उहाँको पक्ष लिने कोही थिएन। उहाँलाई सफल हुन नदिन विरोधीहरूले हर तरहले उहाँको अपहेलना गरे र अन्तमा कष्टदायी मृत्युदण्ड दिए। यद्यपि, अन्तमा येशूले निर्धक्क भई यस्तो घोषणा गर्नुभयो: “मैले संसारलाई जितेको छु।” (यूह. १६:३३) कस्तो पत्याउनै नसकिने सफलता!
३ येशूका चेलाहरूले मसीही सेवकाईमा यस्तै उत्साही भावना अनि जोस देखाए। धेरैलाई कोर्रा लगाइयो, पिटियो, जेलमा थुनियो र कतिलाई त मृत्युदण्ड समेत दिइयो। यद्यपि, तिनीहरू “उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो” भनी रमाए। (प्रेरि. ५:४१) विरोधको बावजूद, असम्भवजस्तो देखिने राज्यको सुसमाचार प्रचार गर्ने काम तिनीहरूले “पृथ्वीको अन्तसम्म” पूरा गरे।—प्रेरि. १:८; कल. १:२३.
४ हाम्रो समयमा कसरी सफलता हासिल गर्ने: असम्भवजस्तो देखिने भए तापनि हामीले पनि राज्य प्रचारको कामलाई जोडतोडले अघि बढाएका छौं। प्रतिबन्ध, सतावट, जेलमा थुनिने र हामीलाई रोक्न अन्य आक्रमणहरू भए तापनि हामीले सफलता हासिल गरिरहेका छौं। यो कसरी सम्भव भयो? “ ‘नता बलले, न शक्तिले तर मेरो आत्माले’ भनी सेनाहरूका परमेश्वर भन्नुहुन्छ।” (जक. ४:६) यहोवा हाम्रो साथमा हुनुहुन्छ, कसैले पनि हाम्रो यो काम रोक्न सक्दैन!—रोमी ८:३१.
५ प्रचार गर्दा हामी लजाउनु वा डराउनु पर्ने अथवा आफैलाई अयोग्य महसुस गर्नुपर्ने कुनै कारण छैन। (२ कोरि. २:१६, १७) राज्यको सुसमाचार अझ बढी फैलाउन हामीसँग उपयुक्त कारणहरू छन्। यहोवाको मदतले हामी “असम्भव” काम पनि पूरा गर्नेछौं।—लूका १८:२७.