के तपाईं आफ्नो घरमा ठाउँ दिन सक्नुहुन्छ?
१ प्रथम शताब्दीका थुप्रै मसीहीहरूले मण्डलीका सभाहरूको निम्ति आफ्नो घरमा ठाउँ दिए। (१ कोरि. १६:१९; कल. ४:१५; फिले. १, २) आज, कुनै-कुनै मण्डलीहरूमा मण्डली पुस्तक अध्ययन समूहहरू तथा क्षेत्र सेवाको लागि सभा गर्ने स्थानहरू पर्याप्त मात्रामा छैनन्। यसले गर्दा कुनै-कुनै पुस्तक अध्ययन समूहहरूमा ३० वा त्योभन्दा बढी अर्थात् सुझावित संख्या १५ भन्दा निकै बढी उपस्थित हुन्छन्।
२ ठूलो सुअवसर: के तपाईंले मण्डली पुस्तक अध्ययनको लागि आफ्नो घरमा ठाउँ दिने विचार गर्नुभएको छ? यसको लागि सफा ठिक्कको कोठा, उज्यालो र हावा आवतजावत हुने ठाउँ भए बेस हुन्छ। पुस्तक अध्ययन भनेको मण्डलीको सभा हो र यहोवाले आफ्ना जनहरूलाई सिकाउने प्रबन्ध भएकोले तपाईंको घरमा पुस्तक अध्ययन सञ्चालन गर्नु भनेको सुअवसर हो। यसरी आफ्नो घरमा ठाउँ दिंदा आध्यात्मिक लाभ उठाएको कुरा थुप्रैले स्वीकारेका छन्।
३ यदि तपाईंलाई आफ्नो घर उपयुक्त लाग्छ भने, यसबारे प्राचीनहरूलाई बताउनुहोस्। उनीहरूले थप स्थानहरूको खोजी गरिरहेका हुन सक्छन्। तपाईंको घरमा पुस्तक अध्ययन सञ्चालन गर्न सम्भव छैन भने, कतै क्षेत्र सेवाका लागि सभाहरू गर्न सकिन्छ कि? तत्काल आवश्यक छैन भने पनि तपाईंको घर उपलब्ध रहेछ भन्ने कुरा थाह पाएर प्राचीनहरूले त्यसको मूल्यांकन गर्नेछन्। तपाईंले भविष्यमा सुअवसर पाउन सक्नुहुन्छ।
४ असल चालचलन देखाउने: निजी घरमा भेला हुँदा उपस्थित सबैले घरधनीको सम्पत्तिप्रति आदर देखाउनु आवश्यक छ। आफ्ना छोराछोरीहरू घरका अन्य निजी ठाउँहरू, आँगन वा चौरतिर डुल्न नगई अध्ययनको लागि तोकिएको ठाउँमै मात्र बसोस् भनेर आमाबाबुले बडो ध्यान पुऱ्याउनुपर्छ। छिमेकीहरूलाई अनावश्यक असुविधा पार्नदेखि जोगिएर उनीहरूको पनि विचार गर्नुपर्छ।—२ कोरि. ६:३, ४; १ पत्रु. २:१२.
५ हिब्रू १३:१६ ले हामीलाई “भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ” भनी प्रोत्साहन दिन्छ। मण्डलीको सभाको लागि आफ्नो घरमा ठाउँ दिनु भनेको असल कुरा अरूसित बाँड्ने र “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर” गर्ने उत्तम तरिका हो।—हितो. ३:९.