बेग्लै विश्वास भएका पति वा पत्नीलाई हामी कसरी मदत गर्न सक्छौं?
१ साक्षीहरूसित मित्रैलो व्यवहार गर्ने र मण्डलीप्रति चासो पनि राख्ने तर परमेश्वरका सेवकहरू हुनदेखि भने पछि हट्ने व्यक्तिहरूसित यहोवाका थुप्रै सेवकहरू वैवाहिक बन्धनमा बाँधिएका छन्। एक जना पतिले यस प्रकार स्वीकारे: “मेरोलागि घर-घर जानु सबैभन्दा ठूलो बाधा थियो।” अरू कतिपयको भने हटाउनुपर्ने गैर-धर्मशास्त्रीय आचरणहरू होलान् अथवा उनीहरूलाई आफ्नो पति वा पत्नीले जस्तो व्यस्त ईश्वरतान्त्रिक क्रियाकलाप कायम राख्न सक्दै-सक्दिनँ जस्तो लाग्ला। हामी कसरी उनीहरूलाई मदत गर्न सक्छौं?
२ व्यक्तिगत चासो देखाउनुहोस्: अरूप्रति व्यक्तिगत चासो देखाउँदा र तिनीहरूको चासोका विषयहरूलाई याद गर्दा त्यसले उनीहरूको लागि बाइबल सत्य स्वीकार्ने बाटो खोल्न सक्छ। (फिलि. २:४) पहिला बेग्लै विश्वास भएका पति वा पत्नीहरूले अक्सर अरूले देखाएको मायालु चासोबारे कुरा गर्छन्। माथि उल्लिखित पतिले यसो भने, “मण्डलीका प्राचीन, होसेले मप्रति विशेष चासो देखाए। मलाई लाग्छ, तिनैको प्रोत्साहनले गर्दा मैले अन्ततः गम्भीरतापूर्वक अध्ययन गर्न थालें।” अर्का पति आफूलाई भेटघाट गर्न आउने भाइहरूले तिनको चासोका विषयहरूबारे कुरा गर्ने प्रयास गरेको सम्झन्छन्। तिनले यसो भने, “मैले [मेरी पत्नीको] विश्वासलाई बिलकुलै बेग्लै दृष्टिकोणले हेर्न थालें। तिनका साथीहरू विविध विषयहरूमा कुरा गर्न सक्ने एकदमै ज्ञानी मानिसहरू थिए।”—१ कोरि. ९:२०-२३.
३ व्यावहारिक मदत दिनुहोस्: बेग्लै विश्वास भएका पति वा पत्नीलाई मायालु सहयोग दिइँदा पनि उनीहरूको मन छुन सक्छ। (हितो. ३:२७; गला. ६:१०) बेग्लै विश्वास भएका एक जना पतिको मोटर बिग्रँदा एक जना जवान साक्षीले तिनलाई मदत गरे। तिनी सम्झन्छन्, “त्यसले मलाई साँच्चै प्रभावित गऱ्यो।” अर्का भाइले चाहिं एउटी बहिनीको बेग्लै विश्वास भएका पतिलाई तिनको जग्गामा बार लगाउन दिनभरि सघाए। सँगसँगै काम गर्दा र कुरा गर्ने क्रममा उनीहरूबीच मित्रता बस्यो। दुई हप्तापछि ती मानिस उक्त भाइकहाँ आए र यसो भने: “मेरो जीवनमा केही परिवर्तनहरू गर्ने बेला भएको छ। के तपाईं मलाई बाइबल अध्ययन गराउनुहुन्छ?” तिनले छिट-छिटो प्रगति गरे र अहिले त तिनी बप्तिस्माप्राप्त साक्षी भइसकेका छन्।
४ हाम्रो इलाकामा योग्य जनहरूलाई खोज्दै जाँदा, सँगी विश्वासीहरूसित विवाह गरेका व्यक्तिहरूलाई निरन्तर मदत गरिरहौं।—१ तिमो. २:१-४.