हाम्रा “आनन्दित परमेश्वर” यहोवाको अनुकरण गर्नुहोस्
१ मानिस आनन्दित भएको यहोवा चाहनुहुन्छ। उहाँले मानिसका लागि अद्भुत आशिष्हरू साँचेर राख्नुभएको छ भनी बाइबल हामीलाई आशा दिन्छ। (यशै. ६५:२१-२५) त्यसैले, “आनन्दित परमेश्वरको महिमाको सुसमाचार” सुनाउँदा हामी खुसी हुन्छौं भन्ने कुरा अरूले स्पष्ट देख्नुपर्छ। (१ तिमो. १:११, NW) हामी बाइबल सच्चाइलाई प्रेम गर्छौं र परमेश्वरको राज्य सन्देश जसलाई सुनाउँछौं तिनीहरूप्रति गहिरो चासो राख्छौं भन्ने कुरा राज्य सन्देश सुनाउने हाम्रो तरिकामा देखिनुपर्छ।—रोमी १:१४-१६.
२ हो, प्रचार गर्ने काममा सधैं खुसीको क्षण मात्र आउँदैन। कहिलेकाहीं मनै खिन्न हुने परिस्थिति पनि खडा हुन सक्छ। कुनै-कुनै इलाकामा कमैले मात्र राज्य सन्देश सुन्छन्। कोही बेला हामी आफै कठिन परिस्थितिबाट गुज्रिरहेको हुन सक्छौं। प्रचारकार्यमा सधैं आनन्दित भइरहनको लागि हाम्रो इलाकाका मानिसहरूले राज्यको सुसमाचार सुन्न र यसको अर्थ बुझ्न कत्तिको महत्त्वपूर्ण छ भनेर हामीले गहिरिएर सोच्नुपर्छ। (रोमी १०:१३, १४, १७) यस कुरामा मनन गर्दा उद्धारको लागि यहोवाले गर्नुभएका दयालु प्रबन्धहरूबारे अरूलाई आनन्दित भई बताइरहन हामी मदत पाउनेछौं।
३ मुख्यतया असल कुराबारे कुरा गर्नुहोस्: आफूले भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्छ। हुन त जीवनमा आइपर्ने समस्या वा समाचारमा आएका जल्दाबल्दा विषयहरूलाई लिएर हामी कुरा थालौंला। तैपनि, अनावश्यक रूपमा निराशाजनक कुरा मात्र गरिरहनु हुँदैन। हाम्रो काम “कल्याणको शुभ समाचार” सुनाउनु हो। (यशै. ५२:७; रोमी १०:१५) यो शुभ समाचार भनेको उज्ज्वल भविष्यबारे परमेश्वरले गर्नुभएको प्रतिज्ञामा आधारित सन्देश हो। (२ पत्रु. ३:१३) यो कुरालाई मनमा राख्दै “मन भाँचिएकाहरूको हृदय निको” पार्न बाइबल पदहरू चलाउनुहोस्। (यशै. ६१:१, २) यसो गर्दा हामी सबै जना प्रचारमा खुसी र मिजासिलो हुन सक्नेछौं।
४ प्रचार गर्दा हाम्रो अनुहारमा देखिने खुसीको चमक मानिसहरूले अवश्यै याद गर्नेछन्। त्यसैले, आफ्नो इलाकामा राज्यको सुसमाचार सुनाउँदा “आनन्दित परमेश्वर” यहोवाको स्वभाव सधैं झल्काऔं।