बुद्धिमान् भई चल्नुहोस्
१ येशूले चार जना जलाहारीलाई आफ्नो पछि लाग्ने निम्तो दिंदा “उत्तिखेरै . . . तिनीहरू उहाँको पछि लागे।” (मत्ती ४:१८-२२) त्यसैगरि टार्ससका शावलले मसीहीधर्म अँगालेर आँखा देख्न थालेपछि ढिलासुस्ती नगरीकन ‘तुरुन्तै सभाघरहरूमा येशूको’ गवाही दिए। (प्रेरि. ९:२०) बितिसकेको समय फेरि फर्केर आउँदैन। त्यसैले आफ्नो समय कहाँ अनि कसरी लगाउँछौं, ‘बुद्धिमान् मानिसले जस्तो’ विचार गर्नु आवश्यक छ।—एफि. ५:१५, १६.
२ समय र अवसर: हामीले अहिले यहोवाको सेवा गर्ने मौका पाइरहेका छौं तर त्यस्तो मौका भोलि नपाउन पनि सक्छौं। (याकू. ४:१४) ‘समय र अवसरले’ गर्दा कुनै पनि बेला हाम्रो परिस्थिति परिवर्तन हुन सक्छ। (उप. ९:११) यसबाहेक हाम्रो ढल्कँदो उमेर अनि त्यसले निम्त्याउने ‘दुःखले’ गर्दा यस वर्तमान् रीतिरिवाजमा यहोवाको सेवा चाहेजति गर्न सक्नेछैनौं। (उप. १२:१) त्यसैले परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्ने बेला भएको छैन अथवा सेवाको कामलाई यथासक्दो विस्तार गर्न परिस्थिति अनुकूल छैन भन्दै बस्नु बुद्धिमानी होइन। (लूका ९:५९-६२) अब्राहामले बुद्धिमान् भएर आफ्नो सम्पूर्ण जीवन यहोवाको भक्तिमा बिताए। त्यसैले तिनले वृद्धावस्थामा धेरै उतारचढावको सामना गर्नु परेन। हो, अब्राहाम “दीर्घायु भई पूरो बूढेस्कालमा मरे।”—उत्प. २५:८.
३ समय अल्प भएको छ: ‘समय अल्प भएकोले’ पनि हामी बुद्धिमान् भई समयको सदुपयोग गर्न चाहन्छौं। (१ कोरि. ७:२९-३१) अहिले “पृथ्वीको बाली पूरै पाकिसकेको” छ। त्यसैले भेडाजस्ता नम्र मानिसहरूलाई जम्मा गर्ने काम भइरहेको छ। तर चाँडै यस संसारको रीतिरिवाजको अन्त भएपछि यो मौका पनि सिद्धिनेछ। (प्रका. १४:१५) जीवनको फिक्री वा तडकभडकमा चुर्लुम्म डुब्यौं भने प्रचारको काममा लगाउने समय त्यसले बर्बाद पार्छ; त्यसैले हामी होसियार हुनैपर्छ। (लूका २१:३४, ३५) तर कटनी काममा सक्रिय भई लाग्यौं भने पछि त्यो सम्झेर सन्तुष्ट हुनेछौं!
४ यहोवाको सेवा गर्ने सुअवसर आउँदा त्यसलाई नगुमाउन हामी सधैं सतर्क हुनैपर्छ। किनकि त्यस्तै सुअवसरहरूले हामीलाई आनन्दित बनाउँछ। त्यसैले आउनुहोस्, “जबसम्म ‘आजको दिन’ भन्ने कुरा छ, तबसम्म” यहोवाको सकेजति सेवा गरौं! (हिब्रू ३:१३, NRV) यसो गऱ्यौं भने हामी वास्तवमै बुद्धिमान् छौं भन्ने प्रमाण दिइरहेका हुनेछौं किनकि “परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूह. २:१७.