विश्वासमा स्थिर रहन हामीलाई केले मदत गर्न सक्छ?
यहोवाको सङ्गठनसित सङ्गत गरेदेखि नै हामीलाई आनन्द दिने एउटा कुरा भनेको हाम्रो आध्यात्मिक उन्नति हो! विश्वासमा ‘जरा गाडेर बढ्दै जान र विश्वासमा अटल हुन’ आध्यात्मिक उन्नति गरिरहनु पर्छ। (कल. २:६, ७) धेरैजसोको आध्यात्मिक उन्नति भइरहेको भए तापनि कोही कोहीचाहिं “विश्वासमा दह्रो” भइरहन नसकेकाले तर्केर गएका छन्। (१ कोरि. १६:१३) त्यसो हुनदेखि हामी कसरी जोगिन सक्छौं?
आध्यात्मिक गतिविधिमा निरन्तर लागिरहनुहोस्: यहोवाको सङ्गठनमै रहेर आध्यात्मिक गतिविधिहरूको राम्रो तालिका बनाउनुहोस्। यहोवाको सङ्गठनले हाम्रो आध्यात्मिक आवश्यकताहरूको ख्याल राख्छ। मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनहरूले हामीलाई उन्नति गर्न र सत्यमा स्थिर रहन प्रेरणा दिन्छ। तर यस्ता प्रबन्धहरूबाट लाभ उठाउन हामी नियमित तवरमा भेला हुनैपर्छ। (हिब्रू १०:२४, २५) बाइबल, प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरू अनि परमेश्वरको वचनका गहिरा कुराहरूको विषयमा लेखिएका प्रकाशनहरू नियमित रूपमा अध्ययन गऱ्यौं भने त्यसले हामीलाई सत्यमा जरा गाड्न मदत गर्नेछ। (हिब्रू ५:१४) व्यक्तिगत आध्यात्मिक लक्ष्यहरू राखेर अनि ती लक्ष्यहरूलाई हासिल गर्न अथक प्रयास गरेर पनि हामीले थुप्रै लाभ उठाउन सक्छौं।—फिलि. ३:१६.
परिपक्व व्यक्तिहरूबाट मदत लिनुहोस्: मण्डलीमा आध्यात्मिक तवरमा परिपक्व व्यक्तिहरूसित सङ्गत गर्नुहोस्। एल्डरहरूलाई राम्ररी चिन्ने कोसिस गर्नुहोस् किनभने तपाईंलाई आध्यात्मिक रूपमा बलियो हुन मदत गर्ने मुख्य व्यक्तिहरू तिनीहरू नै हुन्। (१ थिस्स. २:११, १२) एल्डरहरूले दिने कुनै पनि सल्लाह सुझाव स्वीकार्नुहोस्। (एफि. ४:११-१६) सहायक सेवकहरू पनि मण्डलीका दाजुभाइ दिदीबहिनीहरूलाई विश्वासमा बलियो बनाउन इच्छुक छन्। त्यसैले, तपाईंलाई प्रोत्साहन चाहिएको बेला तिनीहरूसित कुरा गर्न नहिचकिचाउनुहोस्।
के तपाईंलाई प्रचारको काममा मदत चाहिएको छ? एल्डरहरूसँग मदत माग्नुहोस्। के तपाईंले भर्खरै बप्तिस्मा गर्नुभएको छ? त्यसो हो भने परमेश्वरको प्रेम किताब अध्ययन गरेर अनि यस किताबमा दिइएका सल्लाह लागू गरेर आध्यात्मिक रूपमा परिपक्व हुन सक्नुहुन्छ। के तपाईंका छोराछोरी छन्? छन् भने तिनीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाइरहनुहोस्।—एफि. ६:४.
हाम्रो विश्वास बलियो र अटल छ भने हामी यहोवा परमेश्वरको नजिक हुन्छौं। साथै ख्रीष्टियन भाइबहिनीसितको न्यानो सङ्गतको आनन्द पनि उठाउछौं। यसले हामीलाई सैतानका आक्रमणहरूको सामना गर्न र हाम्रो अनन्त भविष्यको आशालाई बलियो बनाउन मदत गर्छ।—१ पत्रु. ५:९, १०.