के तपाईँलाई थाह थियो?
प्रथम शताब्दीमा जनावरको बलि चढाइएपछि पुजारीहरूले रगत कहाँ फ्याँक्थे?
पुरातन इस्राएलमा पुजारीहरूले हरेक वर्ष मन्दिरको वेदीमा हजारौँ जनावरको बलि चढाउँथे। प्रथम शताब्दीका यहुदी इतिहासकार जोसेफसअनुसार निस्तार चाडको दिन २ लाख ५० हजारभन्दा धेरै भेडाका पाठाहरूको बलि चढाइन्थ्यो। त्यसैले फ्याँक्नुपर्ने रगत पनि धेरै हुन्थ्यो। (लेवी १:१०, ११; गन्ती २८:१६, १९) त्यसोभए त्यति धेरै रगत कसरी फ्याँकिन्थ्यो?
पुरातत्त्वविद्हरूले हेरोदको मन्दिर परिसरमा उत्खनन गर्दा त्यहाँ पहिला ढलनिकासको राम्रो व्यवस्था भएको भेट्टाए, जुन इस्वी संवत् ७० मा मन्दिर विनाश हुनुअघिसम्म प्रयोगमा थियो। त्यो ढलनिकास सम्भवतः मन्दिर परिसरबाट रगत बगाउन प्रयोग गरिन्थ्यो।
त्यो ढलनिकासको दुई वटा विशेषताबारे विचार गरौँ।
वेदीको मुनितिर प्वालहरू थियो। वेदीको ढलनिकासबारे इस्वी संवत् तेस्रो शताब्दीको सुरुतिर तयार पारिएको यहुदीहरूको लिखित नियम र परम्पराको सङ्ग्रह मिस्नाहमा पाइन्छ। त्यस किताबमा बताइएअनुसार वेदीको एउटा कुनामा दुई वटा प्वाल थियो। बलि चढाइएको जनावरको रगत अनि वेदी सफा गर्न प्रयोग गरिएको पानी ती प्वालहरूबाट बग्थ्यो र किद्रोन बेँसीमा गएर मिसिन्थ्यो।
अहिलेका पुरातत्त्वविद्हरू वेदीको मुनितिर भएका ‘प्वालहरूबाट’ रगत बगाइन्थ्यो भन्ने कुरामा सहमत छन्। त्यो मन्दिरनजिकै “ढलनिकासको राम्रो व्यवस्था भएको” कुरा एउटा किताबले (The Cambridge History of Judaism) पुष्टि गर्छ। त्यस किताबमा बताइएअनुसार ढलनिकासको राम्रो व्यवस्था भएकोले रगत मिसिएको फोहोर पानी मन्दिरबाट बाहिर फ्याँक्न सम्भव भएको हुन सक्छ।
पानीको राम्रो व्यवस्था थियो। वेदी अनि ढलनिकासलाई सफा राख्न धेरै पानी चाहिन्थ्यो। त्यसैले सहरबाट कुलो र नहर हुँदै पानी मन्दिरसम्म ल्याइन्थ्यो। अनि त्यहाँ कुण्डहरू वा जमिनमुनि बनाइएका ठूलठूला ट्याङ्कीहरूमा जम्मा गरेर राखिन्थ्यो। पुरातत्त्वविद् जोसेफ प्याट्रिकअनुसार मन्दिरमा यसरी सफा पानी ल्याउने अनि फोहोर पानी ढलनिकासमार्फत बाहिर पठाउने व्यवस्था त्यतिबेलाको अरू मन्दिरहरूमा थिएन।