“आफूले गर्न सक्ने कुराचाहिँ गरिरहन्छु”
अर्मा जर्मनीमा बस्छिन्। तिनी झन्डै ९० वर्षकी हुन लागिन्। दुई पटक नराम्ररी लडेर चोटपटक लागेपछि अनि केही पटक शल्यक्रिया गर्नुपरेपछि तिनी अहिले पहिलाजस्तो घर-घरको प्रचार जान सक्दिनन्। तर आफ्ना नातेदार अनि चिनेजानेका मानिसहरूलाई तिनी अहिले चिठ्ठी-पत्र लेखेर साक्षी दिन्छिन्। तिनले लेखेका प्रोत्साहनदायी अनि समवेदनाका पत्रहरू मानिसहरू खुबै मन पराउँछन्, त्यसैले फोन गरेर अर्को पत्र कहिले पाउन सकिन्छ भनेर सोध्ने गर्छन्। साथै फेरि अर्को पत्र पठाउन आग्रह गर्दै धन्यवादका पत्रहरू पनि पठाउँछन्। अर्मा भन्छिन्, “यसले गर्दा म खुसी हुन सकेकी छु अनि आध्यात्मिक रूपमा बलियो भइरहन सकेकी छु।”
तिनी वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरूलाई पनि पत्र लेख्छिन्। तिनी भन्छिन्: “एक जना वृद्धाले मलाई फोन गर्नुभयो अनि मैले उहाँको श्रीमान् बित्दा लेखेको पत्रले निकै सान्त्वना दियो भनेर बताउनुभयो। उहाँले त्यो पत्र बाइबलमा राख्नुभएको रहेछ अनि हरेक साँझ पढ्नुहुँदो रहेछ। अर्की महिलाले पनि मेरो पत्रले उहाँलाई पुजारीको उपदेशले भन्दा पनि धेरै सान्त्वना दिएको कुरा बताउनुभयो। उहाँको मनमा थुप्रै प्रश्नहरू रहेछ। त्यसैले मसँग भेट्न सकिन्छ कि भनेर पनि सोध्नुभयो।”
अर्माको चिनजानको एक जना व्यक्ति टाढा बसाइँ सरेकी रहेछिन्। उनी साक्षी त थिइनन् तैपनि अर्मालाई पत्रहरू लेख्न आग्रह गरेकी रहेछिन्। उनीबारे अर्मा भन्छिन्: “उहाँले मैले लेखेको हरेक पत्र साँचेर राख्नुभएको रहेछ। उहाँ बितिसक्नुभएपछि उहाँकी छोरीले मलाई फोन गर्नुभयो। तिनले पनि ती पत्रहरू पढेकी रहेछिन्। बाइबलसम्बन्धी त्यस्ता पत्रहरू तिनलाई पनि पठाउन सकिन्छ कि भनेर तिनले मलाई सोधिन्।”
अर्मा आफ्नो सेवाको काममा निकै रमाइरहेकी छिन्। तिनी भन्छिन्: “यसरी नै निरन्तर यहोवाको सेवा गर्न सकूँ भनेर म उहाँसित बल माग्छु। हुनत अहिले म पहिलाको जस्तो घर-घरको प्रचार जान त सक्दिनँ, तर आफूले गर्न सक्ने कुराचाहिँ गरिरहन्छु।”