तान्जानियाको रात्री जम्काभेट
केन्यामा यहोवाका साक्षीहरूको अन्तर्राष्ट्रिय सम्मेलन धाएपछि जंगली जनावरहरूको तस्बिर खिंच्न हामी तान्जानिया घुम्न गयौं।
हाम्रो पहिलो गन्तव्यस्थान लेक मान्यारा नेशनल पार्क थियो। निलो बाँदर, हरिण, जंगली भैंसी, जेब्रा र अन्य थुप्रै वन्यजन्तुहरू देखेर हामी मक्ख पऱ्यौं। पोखरीमा थोप्लै थोप्लाजस्तो देखिने थुप्रै जलगैंडाहरूलाई हेरिरहेको कल्पना गर्नुहोस्। एकातिर जिराफले खाइरहेको अनि पर घाँसमा सिंह बसिरहेको र त्योभन्दा अझ पर अफ्रिकी हरिणहरूको बथान चरिरहेको कल्पना गर्नुहोस्।
एन्गोरोनगोरो क्रेटरमा आइपुगेपछि हामीले फोर-व्हिल-ड्राइभ गाडी र एक जना गाइडलाई भाडामा लिएर विशाल ज्वालामुखी क्रेटरमा (ज्वालामुखी पहाड भत्केर बनेको विशाल खाडल) दिनभर घुम्न निस्क्यौं। खाल्टाखुल्टी परेको बाटो हुँदै हामी करिब ६०० मिटर तल क्रेटरको सतहमा पुग्यौं। कति मनोरम दृश्य! विशाल समतल भूमिमा चारैतिर वन्यजन्तुहरू देखिन्थे। बथानका बथान अफ्रिकी हरिणहरू खानेकुराको खोजीमा बसाइँ सरेझैं अगाडि बढिरहेका थिए। जेब्रा, थरि थरिका होचा अनि राम्रा मृगहरू प्रशस्त थिए। हामी एक ठाउँमा रोकिंदा एउटा सिंह आएर हाम्रो गाडीको छायामा लमतन्न पल्ट्यो। हामी त्यही गाडीमाथि थियौं भनेर उसलाई मतलबै छैन। पछि हामीले आफ्नो गाडी रोकेर परतिर कालो गैंडा बसिरहेको र त्यसको नजीकै जंगली हात्तीहरू रूखको पात इत्यादि खाइरहेका हेऱ्यौं। त्यसपछि आफूले देखेका थुप्रै आकर्षक जनावरहरूबारे सोच्दै हामी क्रेटरको टुप्पोतर्फ लाग्यौं। हामीले कुनै जनावर हेर्न त भुलेनौं?
हो त, हामीले अफ्रिकी चितुवा हेर्नै बिर्स्यौं। तर यो जन्तुलाई हेर्न खोज्नु सपनाको कुरा मात्र हो। यस सम्बन्धमा फोटोग्राफर इरविन बाअरले यसो भने: “पर्यटकहरू केही हदसम्म निकै ठूलो उत्साह र मेहनतका साथ चितुवाको खोजी गर्छन्, तर तस्बिर खिंच्नु त परै जाओस् यो जन्तु भेटाउनसमेत साह्रै कठिन छ। सामान्य सफारी यात्राका लागि आउने अधिकांश यात्रीहरूले एक झलकसमेत देख्न पाउँदैनन्। मैले १५ पटक सफारी यात्रा गर्दा जम्मा आठवटा चितुवाहरू देखें र तीमध्ये एउटा मात्र मैले तस्बिर उतार्नसक्ने दूरीमा थियो।”—इन्टरनेशनल वाइल्डलाइफ (अन्तर्राष्ट्रिय वन्यजीवन)
रात ढल्कँदै जाँदा हाम्रो दिमागमा अर्कै समस्या घुमिरहेको थियो। लजमा हाम्रोनिम्ति आरक्षित कोठा रद्द भएको थियो। अतः हामी बस्ने ठाउँको खोजीमा निस्कनु पऱ्यो। हामी निष्पट्ट अँध्यारोमा कच्ची सडक हुँदो जाँदैथियौं। अचानक अगाडिको सिटमा बस्ने हामी दुइ जना झसंग भयौं। हाम्रो गाडीको हेडलाइटअगाडि खैरो रंगको केही चीज फुत्त उफ्रेको जस्तो हामीले देख्यौं। हामीले तुरुन्तै गाडी रोकेर ट्वाल्ल परेर हेर्नथाल्यौं!
हाम्रोअगाडि पूर्ण वयस्क चितुवा ठिंग उभिरहेको थियो! तर पछाडि सिटमा बस्नेहरूले पनि यो मौका गुमाउनु परेन। किनभने सडकको दाँयापट्टि उफ्रेर त्यो चितुवा एकछिन त्यहीं उभियो। शायद बत्तीको उज्यालोमा ठिंग उभेर ‘अब के गर्ने?’ भनेर सोचिरहेको होला। अथवा ‘आक्रमण गरौं कि अपरिचित “शत्रु” देखि झारतिर कुलेलम ठोकौं भनेर विचार गर्दै होला।’
स्प्रिंगजस्तो फूर्तिलो र सुन्दर यो जन्तुको सबैभन्दा नजीक एक मिटरको दूरीमा हाम्रो मित्र एड्रियन थियो। आफ्नो पूर्ण स्वचालित क्यामरा तान्दै तिनले सानो स्वरमा यसो भने “तुरुन्त फ्लास यता दिनुहोस् त।” त्यतिकैमा सावधान गराउँदै पछाडिबाट कसैले यसो भन्यो “खिटिक्क आवाज पनि ननिकाल्नुहोस्।” तुरुन्तै क्यामरा ठीक पारेर तस्बिर पनि खिचियो तर फ्लासको उज्यालो गाडीभित्रै फर्केकोले तस्बिर राम्ररी खिचियो जस्तो हामीलाई लागेन। ब्याट्री फेरि चार्ज होउञ्जेल एड्रियनले बिस्तारै झ्याल खोले। त्यो चितुवा अझै पनि एक हात जति पर चम्किला आँखा लिएर पुच्छर घुमाउँदै ठिंग उभिरहेको थियो।
हामीले दोस्रो पटक तस्बिर खिच्नेबित्तिकै त्यसले आफ्नो बाटो ततायो। त्यो भव्य चितुवा झ्यांगतिर उफ्रेर अँध्यारोमा हरायो। भ्यानभित्रै बसेर हामीले साँच्चै कति रोमाञ्चित कुरा देख्नपायौं! हाम्रोनिम्ति यो साह्रै अविस्मरणीय घटना थियो। पछि गाइडहरूले समेत यो घटनालाई अति दुर्लभ भने। हामीले खिचेको दोस्रो तस्बिर राम्रो निस्क्यो र तान्जानियामा भएको त्यो रात्री जम्काभेटलाई स्मृतिमा राख्न हामीले त्यसलाई आफूसँगै राख्यौं। (g95 4/8)