जूवाका नयाँ सिकारुहरू जवानहरू!
पुरुष र स्त्रीलगायत वयस्क जनसमुदायमा त्यति धेरै मानिसहरू जुवाडे भएका छन् भन्ने कुरा पत्याउन के तपाईंलाई गाह्रो लाग्छ? वयस्क जुवाडेहरूले जूवा खेल्नको लागि आफ्नो जीवन, जागिर, व्यापार, परिवार अनि केहीले त आफ्नो जीवनसमेत त्याग्छन् भनेको सुन्दा के तपाईंलाई कल्पनासमेत गर्न गाह्रो लाग्छ? के तपाईंले जूवा खेलेर १५ लाख डलर जितिसकेपछि त्यही रात ७० लाख डलर नहारुञ्जेल जूवा खेलिरहने परिपक्व, शिक्षित वयस्कको तर्कलाई बुझ्न सक्नुहुन्छ? प्रायजसो यसको कारण लोभ, आफ्नो हात नपर्ने रुपियाँको लागि भागदौड हो। तथापि, प्रायजसो यसको कारण जूवा खेल्दा आउने रोमाञ्चकारी उत्तेजना हो।
तपाईंको साना उमेरका छोराछोरीहरू छन् भने के तपाईं जूवालाई परिपक्व वयस्कहरूको खेल ठानेर ढुक्क बस्नुहुन्छ? त्यसो हो भने, यसमाथि पुनर्विचार गर्नुहोस्। जूवा खेलिरहेका वा जूवा खेल्न ढुकेर बसिरहेका जवान सिकारुहरूलाई विचार गर्नुहोस्। यी तथ्यहरू सुनेर तपाईं छक्क पर्न सक्नुहुन्छ।
हालैका अखबार तथा पत्रिकाका लेखहरूमा निम्न समाचारहरू छापिएको थियो: “सम्भवतः १९९० दशकका जवानहरूको कुलत नै जूवा हुनसक्छ।” “धेरै जवानहरू जुवाडे भए।” “‘१९९० दशकको’ लागू पदार्थ अर्थात् जूवाले किशोरकिशोरीहरूलाई लग्गू बनाउँछ।” “मेरो छोराले जूवा खेल्ने कुलत त्याग्नै सकेन।”
अब, माथि उल्लिखित केही शीर्षक अन्तर्गतका मुख्य समाचारहरू पढ्नुहोस्। एउटा अखबारमा यस्तो लेखिएको थियो, “प्रान्त तथा चर्चहरूद्वारा आयोजित जूवाहरूले गर्दा यो संकट आइपरेको हो भनी अख्तियारवालाहरू आरोप लगाउँछन्।” “आजकल, कम अनुभवी जवानहरूले बाजी लगाउन सक्ने थुप्रै साधनहरू छन्। अनि विशेषज्ञहरूले चेताउनी दिएअनुसार जूवा खेल्न बाध्य महसुस गर्ने ९० प्रतिशतभन्दा बढी वयस्कहरूलाई १४ वर्ष पुग्नुअघि नै त्यसको कुलत लागिसकेको हुन्छ,” भनेर त्यही समाचारपत्रमा लेखिएको थियो। “पहिले पहिले जूवा खेल्ने कुलतको विवषतामा परेकाहरूले १४ वर्षको उमेरमा जूवा खेल्न थाल्थे। तर अहिले ९, १० वर्षका जुवाडेहरू देखिरहेका छौं,” भनी अर्को अनुसन्धानकर्ताले भने। “किन? किनभने जूवा खेल्ने मौकाहरू प्रशस्त छन्,” तिनले अझै भनिन्। ग्याम्ब्लर्स अनोनिमस समूहका एक प्रवक्ताले यसो भने, “केटाकेटीहरूले . . . जताततै जूवासम्बन्धी विज्ञा- पनहरू देख्छन्। यो सामाजिक तवरमा स्वीकृत मनोरञ्जन हो।” “परिस्थिति झन् झन् बिग्रँदो छ।” “बच्चाहरूले एकदमै कलिलो उमेरमा जूवा खेल्न थाल्दैछन् र पहिलेभन्दा अत्यधिक संख्यामा त्यसबाट प्रलोभित भएका छन्।”
अमेरिकाको एउटा प्रान्तमा किशोरकिशोरी जुवाडेहरूबारे गरिएको अध्ययनअनुसार लगभग ३.५ प्रतिशत जूवा खेल्ने कुलतको विवशतामा पर्ने सम्भावना थियो। अन्य ९ प्रतिशत भने सम्भवतः “जस्तोसुकै खतरा मोलेर पनि जूवा खेल्न तयार हुनेहरू” थिए। एउटा अमेरिकी कलेजको सल्लाह सेवाका समन्वयकर्ता विलियम सी. फिलिप्स्ले यसो भने: “साधारणतया, वयस्कहरूभन्दा जवानहरू अत्यधिक संख्यामा जुवाडे भएका छन्।” दुर्व्यसनीहरूका अर्को एक सल्लाहकारले यसो भने, “हामीले आउँदो दशकमा लागू पदार्थ र विशेषगरि अवैध लागू पदार्थको दुरुपयोगभन्दा जुवाडे युवाहरूसित सम्बन्धित समस्याहरू बढी अनुभव गर्नेछौं।” प्राध्यापक हेन्री लेस्योरले निम्न माध्यामिक र उच्च माध्यामिक तहका विद्यार्थीहरूको अध्ययन गरे। द लस एन्जलेस टाइम्स-ले रिपोर्ट गरेअनुसार “तिनले पत्ता लगाएका कुराहरू कलेजका विद्यार्थीहरूसित निकै कुरामा समान थियो: ‘जूवा खेल्ने कुलतको विवशतामा परेका’ वा ‘अस्वाभाविक’ जुवाडे किशोरकिशोरीहरूको संख्या देशभरिका किशोरकिशोरीहरूको जनसंख्याको ५% जति थियो।”
जुवाडेहरूका उपचारकहरू एउटा कुरामा सहमत छन्। त्यो हो, तिनीहरू जवान जुवाडेहरूको संख्याले गर्दा होइन तर “किशोरकिशोरीहरूको जुवाडे बानीप्रति केटाकेटी, आमाबाबु र प्रशिक्षकहरूसमेतको मनोवृत्तिले गर्दा चिन्तित छन्। . . . थुप्रै केटाकेटी तथा तिनीहरूका आमाबाबुहरूले जूवा खेल्नु ‘अहानिकारक मनोरञ्जन’ ठान्छन्। तिनीहरूले यसलाई लागू पदार्थ र मद्यपानको दुरुपयोग वा हिंसा वा यौन सम्बन्ध राख्नु जत्तिको गम्भीर ठान्दैनन्।” तर जूवा खेल्दा जवानहरू अपराध, आलस्य र कुनै प्रयासबिना पैसा कमाउन प्रवृत्त हुनसक्छन् भनी आचरणसम्बन्धी सल्लाहकार डुरान्ड जेकब्स्ले चेताउनी दिए।
उदाहरणको लागि, उच्च माध्यामिक विद्यालयमा अध्ययनरत छँदा १३ वर्षको उमेरमा जूवा खेल्न थालेको केटालाई विचार गर्नुहोस्। स्कूलमा छँदा तिनी नपढेर अरू सहपाठीहरूसित प्रायजसो जूवा खेलिरहेका हुन्थे। आफ्नो सबै पैसा हारेपछि, खाँचोमा परेका परिवारहरूलाई मदत गर्न भनी विद्यार्थीहरूले चन्दा संकलन गरेको कोषबाट पैसा चोर्थे। आफ्नो पुरानो ऋण चुक्ता गर्न तिनले टेलिभिजन सेट र अमूल्य रत्नको औंठी बन्धकी राखेका थिए। त्यो मालताल पुनः पाउनको लागि तिनले त्यो चोरेको पैसाले जूवा खेलेर पैसा जित्ने आशा गर्थे। तिनी नौ कक्षामा पुगुञ्जेल त तिनले नाबालिगहरू राखिने बन्दीगृहमा २० दिन बिताइसकेका थिए। तिनका करतुतहरू यसप्रकार थिए, १,५०० अमेरिकी डलर चोरी, पोकर तथा तास खेल्दा चर्को ऋणमा डुबेको। तिनी भन्छन्, “हुर्कंदै जाँदा अझ धेरै पैसा चाहियो।” अलिक समय बित्दा नबित्दै तिनले ऋण तिर्न छिमेकीहरूबाट चोर्न थाले। तिनकी आमा निराश भइन्। तिनी १८ वर्षको उमेरमा जूवा खेल्ने कुलतको विवशतामा परिसकेका थिए।
समाजशास्त्रीहरूअनुसार बेलाइतमा जूवासम्बन्धी नियमहरू कडा नभएकोले केटाकेटीहरूलाई स्लट मेसिन खेल्ने अनुमति दिइन्छ। आमाबाबु वा पसलबाट चोरेर थुप्रै केटाकेटीहरू विमानस्थल तथा बजारकक्षहरूमा जूवा खेलिरहेका हुन्छन्।
जेकोब्स् भन्छन्, “निम्न माध्यामिक विद्यालय, उच्च माध्यामिक विद्यालय र कलेजका जवानहरूले खेलकुदहरू हुँदा आफू आफूबीच बाजी लगाउनु सबैभन्दा प्रचलित छ तथा त्यसको दरमा द्रुत वृद्धि भइरहेको छ। अनि यसलाई कहिलेकाहीं बाजी लगाउने स्थानीय पेशेवर व्यक्तिहरूले समेत समर्थन गरिरहेका हुन्छन्।” “मेरो अनुमानअनुसार खेलकुदमा सुव्यवस्थित तथा अधिक धनराशि बाजी लगाउने प्रबन्ध नभएको उच्च माध्यामिक विद्यालय तथा कलेज त कमै मात्र होलान्।” यसबाहेक तास खेल्न, चिट्ठा किन्न र जूवाघरमा जान थुप्रै किशोरकिशोरीहरूलाई अनुमति दिइन्छ किनभने तिनीहरू आफ्नो उमेरभन्दा ठूलो देखिन्छन्।
जेकब्स्ले भने, “यहाँ उल्लेख नगरी नहुने एउटा तथ्य के हो भने, धेरैजसो मानिसहरू जूवा खेल्ने कुलतको विवशतामा पर्नुको कारण तिनीहरू किशोरकिशोरी छँदा जूवामा सधैं जित्थे।” “तिनले भनेअनुसार ‘अत्यधिक’ जवानहरूलाई जूवा खेल्नको लागि आफ्ना आमाबाबु वा नातेदारहरूले नै सिकाउँछन्। तिनीहरूलाई त्यो केवल रमाइलो अहानिकारक खेलजस्तो लाग्छ,” भनी द लस एन्जलेस टाइम्स-ले उल्लेख गऱ्यो। दुर्व्यसनीहरूका अर्को सल्लाहकारले चाहिं यसो भने: “आमाबाबुहरूले यो कुलतलाई पनि मद्यपान वा लागू पदार्थको दुर्व्यसनजस्तै दृष्टिकोणले हेर्नुपर्छ। मेरो विचारमा, जूवालाई जति हलका ठान्नुहुन्छ त्यति नै बढी जूवा खेल्ने कुलतको विवशतामा परेका सिकारुहरू हुनेछन्।” जूवा खेल्ने कुलतको विवशतामा परेकाहरूलाई उपचार गर्ने विशेषज्ञहरूअनुसार लागू पदार्थ वा मद्यपानको दुर्व्यसनी भएकाहरूले जस्तै जुवाडेहरू आफ्नो कुलतको लागि चोर्छन्, लागू पदार्थ ओसारपसार गर्छन् र देह व्यापारमा लाग्छन्। आमाबाबुहरूलाई जूवा खेल्नु “रमाइलो खेल”-जस्तो लाग्ला तर प्रहरी अधिकृतहरूको सोचाइ अर्कै छ।
“स्लट मेसिनमा जूवा खेल्न लग्गू भएका केटाकेटीहरूले . . . जूवा खेल्ने कुलतको विवशतामा परेका वयस्कहरूको जस्तै हानिकारक दुर्गुनहरू झल्काउँछन्। स्लट मेसिनमा जूवा खेल्न लग्गू भएका केटाकेटीहरूले ९, १० वर्षको उमेरमा नै त्यो खेल्न थालेको हुनुपर्छ। तिनीहरूले खाजा खर्च र घरमा भेटाउने चानचुन पैसा सखाप पार्छन्। एक दुइ वर्षपछि केटाहरूले चोर्न थाल्छन्। बच्चाले आफ्नो कोठामा भएको ब्याट, किताप र रेकर्ड प्लेयरजस्ता मूल्यवान थोकहरूलगायत सम्पूर्ण कुराहरू बेच्न थाल्छन्: तिनीहरूले अरू केटाकेटीका खेलौनाहरू पनि चोर्न थाल्छन्। घरमा कुनै कुराको सुरक्षा हुँदैन। मुडीको रिपोर्टअनुसार निराश आमाहरूले घरबाट मालताल चोरी नहोस् भनेर सबै सामान एउटै कोठामा थुपारेर त्यसमाथि निगरानी गर्छन्। वा सुत्दाखेरि आफ्नो थैली ओछ्यान मुनि लुकाउँछन्। कोइलीले अरू चराको गुँडबाट अण्डा चोर्दा पछि आफ्नो बच्चा अर्कै भएको देख्दा व्याकुल हुने ती चराहरू जस्तै आमाहरूले आफ्नो सन्तानलाई के भइरहेछ भनेर बुझ्नै सक्दैनन्। तर कहीं न कहींबाट केटाकेटीहरूले चोर्थे। तिनीहरू १६ वर्षको उमेर पुगुञ्जेलसम्म त ती केटाहरूको खोजमा प्रहरी घरसम्म आइपुग्थे।”—डेभिड स्पानिरद्वारा लिखित इजी मनी: इन्साइड द ग्याम्ब्लर्स माइन्ड.
यी लेखहरूमा देखाइएअनुसार धेरै वयस्क तथा जवान मानिसहरूले आफ्नो चर्चमा खेलाइने बिंगो, चिट्ठा र त्यस्तै अन्य माध्यमद्वारा जूवा खेल्न सिकेका थिए। धार्मिक संस्थान तथा ख्रीष्टका अनुयायीहरू हौं भनी दाबी गर्ने नेताहरूले कुनै पनि प्रकारको जूवालाई प्रोत्साहन दिनु, त्यसको प्रवर्धन गर्नु र त्यसलाई समर्थन गर्नु के उचित हो? कदापि होइन! सबै प्रकारको जूवाले मानवजातिमा हुने सबैभन्दा नीच दुर्गुनलाई आकर्षित गरिरहेको हुन्छ। त्यो हो, सित्तैमा केही पाउने इच्छा वा सोझै भन्ने हो भने, लोभ। त्यसलाई बढावा गर्ने मानिसहरूले अरूको क्षतिबाट नाफा कमाउनु मुनासिब हो भनेर विश्वास गर्न अरूलाई प्रोत्साहन गर्छन्। परिवारमा विभाजन, लाज, अस्वस्थता र आफ्नै जीवन नाश गर्न सक्ने त्यस्तो क्रियाकलापलाई के येशूले बढावा दिनुहुन्थ्यो होला? त्यसो कहिल्यै गर्नुहुने थिएन! बरु, लोभी मानिसहरू परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन् भनी परमेश्वरको प्रेरित वचनले स्पष्टसित बताउँछ।—१ कोरिन्थी ६:९, १०.
आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई कुनै पनि प्रकारको जूवा खेल्नु गलत हो भनेर सानै उमेरदेखि सिकाउनुपर्छ। त्यसलाई रमाइलो खेल होइन बरु आलस्य, ठगी, चोरी काम र बेइमानीको सुरुआत ठान्नुहोस्। धेरै शहरहरूमा त्यो कुलतबाट जोगिन ग्याम्बर्ल्स अनोनिमस्जस्ता सहयोगार्थ कार्यक्रमहरू सञ्चालन गरेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जूवा खेल्नु तपाईंको समस्या हो भने परमेश्वरको वचन, बाइबलको प्रेरित सल्लाह खोज्नुहोस्। आत्महत्या गर्नेबारे सोचिरहेकाहरूले आफ्नो ज्यान जोगिनुको श्रेय त्यस्ता प्रेरित सल्लाहलाई दिएका छन्।
चाखलाग्दो कुरा, जूवा खेल्ने कुलतको विवशतामा परेका धेरैलाई त्यसबाट मुक्त हुन यहोवाका साक्षीहरूले मदत गरेका छन्। ठूलो धनराशिको जूवा खेल्ने बानीलगायत अन्य कुलत निकै वर्षदेखि लागिसकेका एक भूतपूर्व जुवाडेले यसो भने, “म र मेरी प्रेमिकाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्दा मेरो आचरणमा तत्कालै नाटकीय ढंगमा परिवर्तनहरू हुन थाले। जूवा खेल्न म लग्गू भइसकेको थिएँ र यसलाई नियन्त्रणमा राख्न एकदमै गाह्रो थियो। यहोवाको मदत र मेरी प्रेमिकाको समर्थनको साथै अध्ययन, प्रार्थना तथा विशेषगरि लोभप्रति परमेश्वरको दृष्टिकोणमाथि मनन गर्दा मैले जूवा खेल्ने कुलतलाई नियन्त्रणमा राख्न सकें। हामी दुवैले यहोवालाई आफ्नो जीवन समर्पण गऱ्यौं र अहिले हाम्रो विवाह भएको ३८ वर्ष भइसक्यो। हामीले आवश्यकता बढी भएको ठाउँमा र वर्षौंसम्म पूर्ण-समय सेवकाई गऱ्यौं। अनि मैले वाचटावर सोसाइटीको परिभ्रमण प्रतिनिधिको हैसियतमा पनि सेवा गरिसकें। तर त्यो दुर्व्यसन अझै पनि ममा छ र यहोवाको मदत तथा डोऱ्याइले मात्र त्यसलाई नियन्त्रणमा राख्न सकेको छु।”
यदि तपाईंलाई जूवा खेल्न तलतल लाग्छ भने के तपाईं त्यस दुर्व्यसनबाट मुक्त हुन सक्नुहुन्छ? सक्नुहुन्छ। तर त्यसको निम्ति तपाईंले परमेश्वरको मदतको सदुपयोग गर्नुको साथै खाँचोमा परेकाहरूलाई त्यो मदत प्रदान गर्नुपर्छ।
[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]
चाँडै, लागू पदार्थभन्दा जुवाडे युवाहरूसित सम्बन्धित समस्याहरू बढी हुनेछन्
[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]
लोभी मानिसहरू परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन्
[पृष्ठ १०-मा भएको पेटी]
लास भेगासस्थित क्याथोलिकहरूको पवित्र स्थलमा जुवा खेल्न टोकन प्रयोग गर्न सकिन्छ
अति पवित्र मुक्तिदाताको पवित्रस्थलमा आउने आगन्तुकहरूले पादरीलाई प्रायजसो यही अनुरोध गर्छन्: “फादर, के तपाईं मैले बाजी जितोस् भनी प्रार्थना गरिदिनुहुन्छ?”
संसारभरिबाट वर्षेनी लाखौं मानिसहरू सं.रा.अ.-को लास भेगास, नेभाडामा जूवा खेल्ने निहुँले ओइरिन्छन्। यस रोमन क्याथोलिक चर्चको भित्तामा येशूको जन्म, अन्तिम भोज तथा उहाँलाई क्रूसमा लट्काइएको मूर्तिहरू राखिएका छन्। जूवाबाट जम्मा भएको पैसा चर्चले प्रयोग गर्छ। उपासकहरूले चन्दा संकलन प्लेटमा जूवाघरको टोकन राख्छन्।
फादर ल्यरेलीले घोक्रो आवाजमा यसो भने: “कहिलेकाहीं हामीले प्लेटमा ५०० डलरको टोकन पाउँछौं।”
लास भेगास इलाकाको अलि पर निर्मित रोमन क्याथोलिक चर्चमा दशकौंदेखि उपासकहरू आउने गर्थे। तर संसारको चार वटा सबैभन्दा ठूलो होटेल-जूवाघरहरू—एमजीएम ग्रान्ड, लक्जर, एक्सक्यालिबर र ट्रोपिकाना त्यस इलाकाको दक्षिणतिर निर्माण गरियो। त्यसपछि अति पवित्र मुक्तिदाताको यो नयाँ पवित्र स्थल यी जूवाघरहरूको नजीकै निर्माण गरियो।
यसो किन गरियो भनी पादरीलाई सोध्दा तिनले यसो भने: “किन नगर्ने? यसैको लागि त मानिसहरू आउँछन्।”
आखिरमा पैसा कमाउने ठाउँ नै या हो भने किन नगर्ने?
[पृष्ठ ९-मा भएको चित्र]
जूवा खेल्ने बानीले कुसंगतिमा फँसिन्छ