पोम्पी जहाँ समय थामियो
इटालीका ब्यूँझनुहोस्! संवाददाताद्वारा
कुनै चहलपहल नभएको, शून्य र त्यागिएको शहरमा चुलो छेउ भाँडाकुँडाहरू राखिएका भान्छाहरू, सरसामानले टन्न भरिएका पसलहरू, सुकेका झरनाहरू, सुनसान बाटो, यी सबै जस्ताको तस्तै सुरक्षित राखिएका छन्। यो पोम्पी हो, जहाँ समय थामिएजस्तै छ।
एक हजार नौ सय वर्षअघि नेपल्स खाडीलाई मास्तिरबाट हेरिरहने भसुभीयस पर्वतको ज्वालामुखी फुट्दाखेरिको त्यस प्रलयकारी दिन जस्तो थियो, परिस्थिति आज पनि त्यस्तै छ। यो ज्वालामुखी फुट्दा पोम्पी, हर्कुलानियम, स्ताब्य र वरपरका गाउँ जम्मै खरानी र लाभाले ढाक्यो।
पोम्पी पुस्तक भन्छ, “पुरातन समयका मानिसहरूलाई भसुभीयसको ज्वालामुखीबारे स्पष्टसित थाह थिएन र तिनीहरू त्यस पर्वतलाई रमणीय अंगूरबारी फैलिएको बाक्लो जंगलको हरियाली पर्वतको रूपमा चिन्थे।” तर सा.यु. ७९, अगस्त २४ मा निकै वर्षदेखि शान्तसित सुतिरहेको त्यो पर्वत गड्गडाउँदै विष्फोट भएर ब्यूँझ्यो।
सा.यु. ७९ को विष्फोट
ज्वालामुखीले ग्याँस, म्याग्मा ओकल्यो। यसले गर्दा आकाशमा अन्धकार छायो र परिणामस्वरूप खरानी तथा लपिलसलगायत (लाभाका स-साना टुक्राहरू) घनघोर लाभा बर्सियो। दुइ दिन पनि बित्दा नबित्दै पोम्पी र वरपरको गाउँका ठूलो भूभाग लगभग साढे दुइ मिटर बाक्लो लाभाको तहमा पुऱ्यो। जमीन असाध्यै हल्लिरहेको बेला अदृश्य तर मृत्युदायक विषालु ग्याँसहरूको मुस्लो शहरमाथि मडारियो र शहर मृत्युको अंगालोमा फस्नथाल्यो। पोम्पी बिस्तारै बिस्तारै पुरिंदै थियो भने हर्कुलानियम एकै क्षणमा हरायो। रीस्कोप्रीर पम्पपेइ (पोम्पी फेरि पत्ता लगाउँदा) पुस्तकअनुसार हर्कुलानियम “साढे २२ मिटर बाक्लो हिलो र ज्वालामुखी फुटेर निस्केका दलदलको तहमा डुबेको थियो। उक्त हिलो र ज्वालामुखीको दलदल नजीकैको तटसम्म पुगेको थियो।”
पोम्पीका लगभग १५,००० बासिन्दाहरूको प्रतिक्रिया भने फरक फरक थियो। तत्कालै भाग्नेहरू मात्रै आ-आफ्नो ज्यान जोगाउन सफल भए। तथापि, आफ्नो घरबार अनि सरसम्पत्ति छाड्न नचाहनेहरू खतराबाट उम्कन सकिहालिन्छ नि भन्ने आशा गर्दै भागेनन्। अरू भने आफ्ना मूल्यवान् सामानहरू जोगाउने फिक्रीले गर्दा भाग्न हिचकिचाए। परिणामस्वरूप, खरानीको भार थाम्न नसकेर भत्किएका आफ्नै घरको छानाले थिचेर मरे।
यसको एउटा उदाहरण आफ्नो धनसम्पत्ति त्याग्न नसकेकी “वनदेवताको घर[की]” मालिकनी हो। रबेर एत्येन आफ्नो पुस्तक ला भी कटीड्येन आ पङपे-मा (पोम्पीमा दैनिक जीवन) यसो लेख्छन्, “हतारमा त्यस घरकी महिलाले सर्पको आकृति भएको सुनका बालाहरू, औंठीहरू, कपालमा सिउरिने काँटीहरू, मुन्द्रीहरू, चाँदीको ऐना, झोलाभरि सुनका पैसाहरूजस्ता आफ्ना सबैभन्दा बहुमूल्य गरगहनाहरू जम्मा गरेर भाग्ने तर्खर गरेकी हुनुपर्छ।” शायद खरानी खसेको देखेर डराएकी हुँदा तिनी घरभित्रै बसिन्। “केही बेरमै,” एत्येन अझै भन्छन्, “छाना झरेर त्यस असहाय स्त्री आफ्नो सर- सम्पत्तिसहित त्यसमा पुरिन्।” अरू चाहिं सर्वत्र फैलिएको ग्याँसले गर्दा निस्सासिएर मरे।
हिचकिचाएकाहरूले आफ्नो ज्यान जोगाउन जमिसकेको लाभामा टेकेर भाग्नु पऱ्यो। तर भाग्दा भाग्दै मृत्युदायी ग्याँसले निस्सासिएर तिनीहरू लडे र त्यहीं मरे अनि लगालग परिरहेको मसिनो खरानीको वर्षामा पुरिए। तिनीहरूको हृदय विदारक मृत शरीर शताब्दीयौंपछि भेट्टाइयो। र तिनीहरूको शरीर छेवैमा तिनीहरूका मूल्यवान् सम्पत्तिहरू पनि भेट्टिए। त्यो शहर र त्यसका बासिन्दाहरू छ मिटर बाक्लो खरानीको थुप्रोमुनि पुरिएका थिए।
यद्यपि, त्यो मृत्युदायी खरानी वर्षालाई साधुवाद। किनकि यसले गर्दा त्यस शहरका बासिन्दाहरू फेरि देखापरे। कसरी के तपाईंलाई थाह छ? अघिल्लो पृष्ठको चित्रमा देखाइएका शरीरहरूमा भएको सिमेन्टलाई ध्यानपूर्वक हेर्नुहोस्। यी कसरी बनाइए? शरीर कुहिएर खरानीमा रहेको खोक्रो अस्थिपञ्जरमा पेरिस प्लास्तर खन्याएर पुरातत्त्वविदहरूले ती असहाय व्यक्तिहरूको अन्तिम कष्टप्रद भाव बुझ्न हामीलाई मदत गरेका छन्। ती हुन्, “पाखुरामा टाउको ठड्याएर पल्टेकी ठिटी; हाते रुमालले मुख छोपेर धूलो र विषालु ग्याँसमा सास नलिन असफल संघर्ष गरेका पुरुष; झटारोले गर्दा र निस्सासिएकोले बाँउडिएर अप्ठ्यारो मुद्रामा परेका खनिज पानीको स्नानगृहका परिचारक; . . . सानी छोरीलाई अन्तिम र दयनीय अँगालोमा लिएकी आमा।”—आर्केओ।
असुरक्षित हर्कुलानियम
पोम्पीबाट केही किलोमिटर पर पर्ने हर्कुलानियमका बासिन्दाहरू तत्कालै नभागेकोले त्यहीं फसे। समुद्र हुँदो उम्कनलाई होला धेरै जना बगरतिर हतारपतार भागे तर समुद्रमा भएको कम्पले गर्दा डुंगा ख्याउन नसकिने भयो। हर्कुलानियमको पुरातन तटमा हालै उत्खननहरू गरिंदा त्यहाँ ३०० भन्दा धेरैवटा अस्थिपञ्जरहरू फेला पऱ्यो। तल समुद्रतिर फर्किएको गारोमा ओत लागेका यी मानिसहरू हिलो र ज्वालामुखी फुटेर निस्केका टुक्राहरूको भयानक बाढीमा जिउँदै पुरिएका थिए। यहाँ पनि धेरैले सुनका गरगहनाहरू, चाँदीका भाँडाहरू, एक सेट शल्यक्रियाका सम्पूर्ण साधनहरूजस्ता आफ्ना बहुमूल्य सरसम्पत्तिहरू जोगाउन खोजेका थिए तर ती सबै यहाँ काम नलाग्ने भएर आ-आफ्ना मालिकहरू छेउ त्यसै परिरहेका छन्।
समय थामियो
प्रकृतिको शक्तिअघि जीवन कति कमजोर हुँदो रहेछ भन्ने जीवन्त प्रमाण पोम्पीले बोकेको छ। यहाँको पुरातात्त्विक स्थल संसारको अन्य स्थलहरूजस्तो छैन। पोम्पी र त्यस वरपरको सर्वनाश तस्बिरमा उतार्न सकिएको छ। यसले आधुनिक शास्त्रविद्हरू र जिज्ञासुहरूलाई सा.यु. प्रथम शताब्दीको दैनिक जीवनबारे पूर्णतया एक एक जानकारी केलाउन सम्भव तुल्याएको छ।
यस क्षेत्रको सम्पन्नता मूलतः कृषि, उद्योग र अर्थ वाणिज्यमा निर्भर थियो। धेरै जनशक्ति प्रयोग गरिने भएकोले दासहरू र स्वतन्त्र मानिसहरूलाई दिनहुँ ज्यालादारी काम गराइन्थ्यो र यो उर्वरा ग्रामीण क्षेत्रमा प्रचुर मात्रामा खेतीपाती हुन्थ्यो। शहरमा गरिने अधिकांश कामकुराहरू खाद्यान्न व्यापारसित सम्बन्धित थिए। पोम्पीमा घुम्न जाने जोसुकैले आज पनि मकै पिस्ने मिलहरू, तरकारी पसलहरू र फलफूल पसलहरूलगायत रक्सी व्यापारीहरू देख्नसक्छन्। कुनै एक समयमा औद्योगिक उत्पादनको लागि ऊन तथा धागो तयार गर्ने, कात्ने र कपडा बनाउने व्यापारिक थलोको रूपमा प्रयोग गरिने भवन पनि तपाईंले देख्नुहुन्छ। त्यसैगरि सुन पसलदेखि लिएर हार्डवेयर पसलहरूजस्ता साना उद्योगहरूलगायत घरहरू मिलेर यो शहर बनेको छ।
कुनै जमानामा अति व्यस्त साँघुरो बाटोहरूमा ईंटा छाएको छ। ती बाटोहरू छेउ पदयात्रीहरूका लागि अलि माथि उठेका बाटोहरू छन् र सर्वसाधारणलाई पानी वितरण गर्न बनाइएका मूलहरूमा बौद्धिकता झल्कन्छ। एउटा असाधारण र चाखलाग्दो विवरण मूल सडकहरूका कुनामा देख्न सकिन्छ। आधुनिक पेटीहरूको पुर्खौलीजस्तै देखिने यी ठूल-ठूला माथि उठेका ढुंगाका टुक्राहरू सडकहरूको बीचमा राखिएका छन्। यसले गर्दा पदयात्रीहरूले सजिलै हिंडडुल गर्न पाउनुका साथै झरीको बेला तिनीहरूको गोडा पनि भिज्दैन थिए। शहरमा यी उठेका ढुंगाहरूबाट बच्न ठेलागाडा चलाउने जोसुकै पनि बडो कुशल हुनुपर्थ्यो। ती अहिले पनि छन्! सब थोक जस्ताको त्यस्तै छ।
निजी जीवन
पोम्पीबासीहरूको निजी जीवनका गतिविधिहरू जति नै ढाकछोप गर्न चाहे तापनि आधुनिक मानिसहरूले तिनीहरूको जीवनशैली एक टक लाएर हेरिहाले। भव्य गरगहना लगाएकी एउटी स्त्री एक लडाकूको ब्यारेकमा उसैको अंगालोमा मरेकी देख्न सकिन्छ। घर तथा पसलहरूका ढोकाहरू ह्वांग खोलिएका छन्। भान्छा पनि देखिन्छ। मानौं भर्खरै मात्र कोही भान्छाबाट निक्लेजस्तै देखिन्छ। भाँडाकुँडा चुलोमै छन्, काँचो रोटी पनि चुलोको चुलोमै छ, अनि पानी राख्ने ठूल-ठूला भाँडाहरू भित्तामा अड्याइएका छन्। शानदार प्लास्टर, भित्ते चित्रहरू तथा मोजाइकहरूले सिंगारिएका कोठाहरूमा एकदमै शुद्ध चाँदीका बटुकाहरू र भाँडाहरू प्रयोग गर्दै आरामसित भव्य भोज मनाउन सकिन्छ। शान्त भित्री बगैंचाहरू खम्बाहरूका लहरले घेरिएका र मनै आनन्दित तुल्याउने फोहराहरूले सिंगारिएका छन्। तर ती फोहराहरू अहिले प्रयोगमा छैनन्। कुशल कामदारले मार्बल र पित्तलबाट बनाएका उत्कृष्ट मूर्तिहरू अनि कुलदेवताका वेदीहरू पनि देखिन्छन्।
तथापि, अधिकांश मानिसहरूको जीवनशैली निकै भद्र थियो। घरमा खाना पकाउने सुविधा नभएकाहरू अनगिन्ती भट्टीहरू धाउँथे। त्यहाँ धेरै पैसा नतिरिकनै तिनीहरू गफ हाँक्न, जुवा खेल्न वा खानापानी किन्नसक्थे। यीमध्ये कुनै कुनै भट्टी बदनाम थिए होलान्, जहाँ ग्राहकहरूलाई रक्सी टक्राएपछि खाना ल्याउने सेविकाहरू त्यसमा पनि अक्सर दासीहरू वेश्यावृत्ति गर्थे। उत्खननको क्रममा यस्ता अनगिन्ती भट्टीहरूबाहेक अन्य असंख्य बदनाम ठाउँहरू भेटिएका छन्। ती स्थानहरू अक्सर अत्यन्त अश्लिल चित्र तथा लेखोटहरूद्वारा चिनिन्छन्।
यो ठोस कदम उठाइहाल्ने समय हो
पोम्पीमा भएको यो अचानक सर्वनाशले कुनै पनि व्यक्तिलाई सोचमा पार्छ। त्यहाँ खतम भएका हजारौंले दोऱ्याइ तेऱ्याइ गइरहेका भैंचालो, ज्वालामुखीको विष्फोटन र लाभाको डरलाग्दो बर्षाजस्ता सन्निकट विनाशका चेताउनीहरूप्रति तत्कालै चाहिंदो मात्रामा प्रतिक्रिया नजनाएको कुरा प्रष्टै देखिन्छ। तिनीहरू हिचकिचाए, शायद तिनीहरू आफ्नो आरामदायी जीवन र आफ्नो सरसम्पत्ति गुमाउन चाहँदैनन् थिए। हुनसक्छ, तिनीहरूले यो खतरा टलिहाल्छ भन्ने आशा गरे वा हुनसक्छ, तिनीहरूले परिस्थिति बिग्रनअघि भाग्नको लागि प्रशस्त समय छ भन्ठाने। दुःखको कुरा तिनीहरू झुक्किए।
सारा संसार आज यस्तै परिस्थितिमा परेको छ भन्ने जानकारी हामीलाई धर्मशास्त्रले दिन्छ। हामी बसिरहेको यो भ्रष्ट समाज परमेश्वरबाट अलग्गिएको छ। यो अचानक नाश हुनै लागेको छ। (२ पत्रुस ३:१०-१२; एफिसी ४:१७-१९) त्यो समय नजीकै छ भन्ने कुरा सम्पूर्ण प्रमाणहरूले देखाउँछन्। (मत्ती २४:३-४२; मर्कूस १३:३-३७; लूका २१:७-३६) निर्णय नगर्ने अदूरदर्शीहरूका लागि पोम्पीको दुर्घटना मौन साक्षीसरह खडा छ।
[पृष्ठ २०-मा भएको पेटी]
मसीही क्रूसहरू?
पोम्पीमा फेला परेका विभिन्न क्रूसहरूलगायत पाउरोटी भण्डारको भित्तामा प्लास्टर चढाएको क्रूसले सा.यु. ७९ मा उक्त शहर विनाश हुनुअघि त्यहाँ मसीहीहरू थिए भन्ने प्रमाण दिन्छ भनेर कसै कसैले लख काटेका छन्। के यो अनुमान तर्कसंगत छ?
स्पष्ट रूपमा भनौं भने, छैन। आन्तोन्यो भारोनि आफ्नो पुस्तक प्रीजेनसी ग्वीदाईकि ए क्रिस्त्यनि आ पोम्पे-मा (पोम्पीमा यहूदी तथा मसीही उपस्थिति) यसो भन्छन्, “क्रूसको उपासना कहिलेदेखि फस्टायो,” त्यो पत्ता लगाउन “हामीले चौथो शताब्दीसम्म पर्खनु आवश्यक छ। किनकि त्यतिखेर सम्राट र एक जमात मूर्तिपूजकहरूले धर्म परिवर्तन गरेका थिए। परिणामस्वरूप धर्मप्रति तिनीहरूको मोहसँग क्रूसलाई दिइने यस्तो श्रद्धा सामञ्जस्य हुनेथियो।” भारोनि अझै यसो भन्छन्, “दोस्रो र तेस्रो शताब्दीहरूमा समेत र कन्सटेन्टाइनले शासन नगरुञ्जेल मसीही धर्मसित सम्बन्धित यस्तो संकेत विरलै पाइन्थ्यो।”
यदि यी संकेतहरूको मौलिकता मसीही होइनन् भने यिनीहरू कहाँबाट सुरु भए? क्रूस होला भन्ठानिएको यो संकेतको परिचयबारे गरिएका शंकाहरू र त्यही पाउरोटी भण्डारमा भएको सर्पको आकृतिको एउटा अलौकिक चित्रबाहेक त्यहाँ “भेट्टाइएका केही अत्यन्त अश्लिल कुराहरू र पाउरोटी भण्डारमा बस्ने बहालवालाको सम्भवतः मसीही धर्मप्रतिको मूल्य र मान्यताबीच कुनै सामञ्जस्य होला भनेर मान्न पनि गाह्रो भएको छ,” भारोनि भन्छन्। तिनी अझै यसो भन्छन्: “सभ्यताको सुरुदेखि नै अर्थात् छुटकाराको संकेत हुनुअगावै क्रूस आकारको प्रतीकले स्पष्टतः जादुगरी र धार्मिक अर्थ राख्थ्यो।” पुरातन समयमा दुष्ट प्रभावहरू हटाउनसक्ने क्षमता क्रूसमा छ भन्ठानिन्थ्यो र यो मूलतः जन्तरको रूपमा प्रयोग गरिन्थ्यो।
[पृष्ठ १९-मा भएको चित्र]
पृष्ठभूमिमा भसुभीयस पर्वतसहित कालिज्युलको गुम्बज
[पृष्ठ १९-मा भएको चित्र]
माथि: पोम्पीका बासिन्दाहरूको प्लास्टरको आकृति
[पृष्ठ १९-मा भएको चित्रका स्रोतहरू]
बायाँ: नेरोको गुम्बजको झलक तथा बृहस्पति मन्दिरको भाग
Photos on pages 2 (bottom), 22, and 23: Soprintendenza Archeologica di Pompei