बाइबलको दृष्टिकोण
के बच्चाहरू आफैले कुन धर्म मान्ने, त्यसको छनौट गर्नुपर्छ?
जन्मेदेखि किशोरावस्थासम्म नपुगुञ्जेल बच्चाको निम्ति आमाबाबुले नै छनौट गरिदिन्छन्। तथापि, बुद्धिमान् आमाबाबुले बच्चाको इच्छालाई पनि मान्यता दिंदै लचकदार हुनुपर्ने आवश्यकतालाई बुझेका हुन्छन्।
यद्यपि, बच्चालाई कति स्वतन्त्रता दिने, त्यो निर्णय गर्नु भने आमाबाबुको निम्ति चुनौतीपूर्ण नै हुन्छ। हो, छोराछोरीहरूले पनि सही छनौट गर्नसक्छन् र तिनीहरूलाई दिइएको स्वतन्त्रताको उपयोग गर्नसक्छन्। तर तिनीहरूले गलत छनौट गर्नसक्ने र त्यसको दुःखद परिणाम हुनसक्ने सम्भावना पनि त्यत्तिकै हुन्छ।—२ राजा २:२३-२५; एफिसी ६:१-३.
जस्तै केटाकेटीले अक्सर पौष्टिक खानाको साटो बजारी खाना चुपुरचुपुर खान खोज्छन्। किन? किनकि उमेरमा कच्चा भएकोले तिनीहरू आफ्नोनिम्ति के खाँदा फाइदाजनक हुन्छ र के खाँदा हुँदैन, त्यसको सही निर्णय गर्न नसक्ने हुन्छन्। अतः तिनीहरूले पछि पौष्टिक आहार खाइहाल्छन् नि भनेर सोच्दै आमाबाबुले आफूखुशी गर्न छोडिदिनु के बुद्धिमानी होला? पटक्कै हुनेछैन। बरु छोराछोरीको पछिसम्मको हितलाई ध्यानमा राख्दै आमाबाबुले नै छनौट गरिदिनुपर्छ।
त्यसकारण, के खाने, के लाउने, कसरी सिंगारिने र कस्तो नैतिकता कायम राख्ने, त्यसबारे आमाबाबुले नै छोराछोरीका लागि निर्णय गरिदिनु सुहाउँदो कुरा हो। तर धर्मबारे के भन्न सकिन्छ? के यो निर्णय पनि आमाबाबुले नै गरिदिनुपर्ने हो कि?
छनौट
आफूले मान्दै आएको धर्म मान्न छोराछोरीलाई कर गर्नु हुँदैन भनेर कसै कसैले तर्क गर्लान्। वास्तवमा १६० वर्षअघि केही मसीही भनौंदाहरूले “अन्य धर्मप्रति छोराछोरीको पक्षपाती दृष्टिकोण होला भन्ने डरको कारण तिनीहरूलाई धर्मकर्मबारे सिकाउनु उचित हुँदैन। आफ्नोनिम्ति के ठीक हुन्छ, त्यो छनौट गर्न नसकुञ्जेल र छनौट नगरुञ्जेल तिनीहरूलाई धर्ममा अलमल्याउनु हुँदैन” भन्ने विचार व्यक्त गरे।
तथापि, यो मत बाइबलको दृष्टिकोणसित मिल्दैन। जन्मेदेखि नै बच्चाहरूको मनमा धार्मिक विश्वास हालि दिनुपर्ने महत्त्वमाथि बाइबलले जोड दिन्छ। हितोपदेश २२:६ यसो भन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”
यहाँ “बालक” भनेर अनुवाद गरिएको शब्दले शैशवकालदेखि किशोरावस्थासम्मको उमेरलाई जनाउँछ। कलिलो हुँदै सिकाउनुपर्ने महत्त्वबारे सं.रा.अ., इलिइनोस विश्वविद्यालयका डा. जोसेफ एम. हन्टले यसो भने: “जन्मेको चार पाँच वर्षतिर बच्चाले हरेक कुरा चाँडचाँडो टिप्नसक्छ र केही काँटछाँट गर्नुपऱ्यो भने पनि सजिलै गर्न सकिने हुन्छ। . . . जन्मेको वर्षदिन नबित्दै [उसमा] आधारभूत क्षमताहरूको विकास २० प्रतिशतजति भइसक्ने र चार वर्ष पुगुञ्जेलसम्म आधाजति विकास भइसक्ने सम्भावना हुन्छ।” स्पष्ट छ, आमाबाबुले बच्चालाई सानैदेखि बुद्धिमानी निर्देशनहरू सिकाउनु र परमेश्वरको मार्गमा हिंडाउनु आवश्यक छ भनेर बाइबलले दिएको प्रेरित सल्लाहलाई यसले अझ पुष्टि दिन्छ।—व्यवस्था ११:१८-२१.
सानै उमेरदेखि केटाकेटीको मनमा यहोवाप्रतिको प्रेम हालिदिनुपर्छ भनेर धर्मशास्त्रले ईश्वरभीरु आमाबाबुलाई स्पष्ट निर्देशन दिन्छ। व्यवस्था ६:५-७ यसो भन्छ: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर। मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” यहाँ “होशियारीसाथ सिकाओ” भनेर अनुवादित हिब्रू क्रियाले कुनै पनि हतियारलाई उध्याउनु भन्ने बोध गराउँछ। एक दुइ पटक उध्याउँदैमा हतियार धारिलो हुँदैन तर धार लगाउन हतियारलाई लगनशीलतासाथ दोहऱ्याइ तेहऱ्याइ उध्याइरहनुपर्छ। द न्यु इंग्लिश बाइबल-मा उक्त हिब्रू क्रियालाई “दोहऱ्याउनु” भनेर अनुवाद गरिएको छ। स्पष्ट छ, “होशियारीसाथ सिकाओ” भन्नुको अर्थ मनमा अमेट छाप पार्नु हो।—हितोपदेश २७:१७ तुलना गर्नुहोस्।
अतः छोराछोरीको मनमा धार्मिक आस्था ठप्प बसाल्ने दायित्वलाई साँचो मसीहीहरूले गम्भीरतासाथ लिनुपर्छ। छोराछोरी आफैले कुन धर्म मान्ने त्यो छनौट गरोस् भनेर तिनीहरू आफ्नो दायित्वबाट पन्छिन मिल्दैन। भनाइको मतलब तिनीहरूले आफ्नो “छोराछोरीलाई” सभाहरूमा पनि लग्नुपर्छ। सभाहरूमा आमाबाबु छोराछोरीसितै बस्नसक्छन् र त्यहाँ गरिएका धर्मशास्त्रीय छलफलमा ध्यान दिएर तथा ती छलफलहरूमा भाग लिएर एकताबद्ध परिवारले उठाउने आध्यात्मिक लाभहरूको मूल्यांकन गर्न मदत गर्नसक्छन्।—व्यवस्था ३१:१२, १३; यशैया ४८:१७-१९; २ तिमोथी १:५; ३:१५.
आमाबाबुले वहन गर्नुपर्ने जिम्मेवारी
बच्चालाई यो खाना पौष्टिक छ त्यसकारण खाऊ भन्दैमा उसले त्यो मीठो मानेर खान्छ भन्न सकिंदैन। त्यसकारण यी पौष्टिक आहार बच्चालाई खाऊँ खाऊँ लाग्दो कसरी बनाउने हो, बुद्धिमती आमालाई थाह हुन्छ। त्यति मात्रै कहाँ हो र, तिनले त्यो खाना बच्चाले पचाउनसक्ने तरिकामा पनि बनाउँछिन्।
त्यसैगरि सुरु सुरुमा धार्मिक निर्देशनहरू स्वीकार्न बच्चालाई गाह्रो होला र त्यसबारे तर्क गरेर कुनै फाइदा नभएको पनि आमाबाबुले पाउलान्। तथापि, आमाबाबुले छोराछोरीलाई शैशवकालदेखि नै तालिम दिनुपर्छ भनेर बाइबलले प्रष्टै निर्देशन दिएको छ। त्यसकारण बुद्धिमान् आमाबाबुले बच्चाको धार्मिक निर्देशन सिक्ने क्षमतालाई ध्यानमा राख्दै उसलाई मन पर्ने तरिकामा ती निर्देशन दिन्छन्।
छोराछोरीलाई नभई नहुने कुराहरूको प्रबन्ध गर्नुपर्ने दायित्वलाई मायालु आमाबाबुले तुरुन्तै पूरा गर्छन्। अनि आमाबाबुलाई जत्ति छोराछोरीको आवश्यकता अरू कसलाई पो थाह हुन्छ। यसलाई समर्थन गर्दै बाइबलले भौतिक तथा शारीरिक कुराहरूको प्रबन्ध गर्नुपर्ने प्रमुख दायित्व आमाबाबुलाई अझ विशेषगरि बुबालाई सुम्पेको छ। (एफिसी ६:४) त्यसकारण अरूलाई आफ्नो दायित्व सुम्पेर आमाबाबु पन्छिन पाउँदैनन्। अरूले दिएको सहयोगको फाइदा तिनीहरूले उठाउनसक्छन् तर त्यो सहयोग आमाबाबुले दिनुपर्ने धार्मिक शिक्षाको प्रतिस्थापन होइन, थप मदत मात्र हुनेछ।—१ तिमोथी ५:८.
जीवनको कुनै मोडमा पुगेपछि कुन धर्म मान्ने हो, त्यसको निर्णय हरेकले आफै गर्नुपर्छ। यदि मसीही आमाबाबुले शैशवकालदेखि नै छोराछोरीलाई धार्मिक निर्देशन दिने व्यक्तिगत दायित्व वहन गरेका छन् र तिनीहरूले त्यसबेला छोराछोरीलाई सही सिद्धान्तहरूलाई आधार मान्दै तर्क गर्न सिकाएका छन् भने उनीहरूले पछि गर्ने निर्णय गलत ठहर्ने सम्भावना कमै हुन्छ।—२ इतिहास ३४:१, २; हितोपदेश २:१-९.
[पृष्ठ १४-मा भएको चित्रको स्रोत]
The Doré Bible Illustrations/Dover Publications, Inc.