बाइबलको दृष्टिकोण
के वैवाहिक अवफादारीपछि पनि पतिपत्नी सँगै बस्नसक्छन्?
“म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ, औ जसले त्याग गरेकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”—मत्ती १९:९.
उपरोक्त शब्दहरू भन्नुहुँदै येशू ख्रीष्टले अवफादार पति वा पत्नीसित छुटानाम गर्ने अनुमति मसीहीहरूलाई दिनुभयो।a तथापि, निर्दोष जोडीले आफ्नो विवाह नटुटाउने तथा पतिपत्नी दुवैले पहिल्यैको जस्तो सम्बन्ध गाँस्ने इच्छा गरेमा नि? ती दम्पतीले कस्ता समस्याहरू झेल्नुपर्नेछ र तिनीहरूले कसरी ती समस्याहरूको सफलतापूर्वक सामना गर्नसक्छन्? यी प्रश्नहरूको जवाफ पाउन बाइबलले कसरी मदत दिन्छ, आउनुहोस् हेरौं।
भताभुंग भएको घर
प्रथमतः, वैवाहिक अवफादारीले कत्तिको हानि पुऱ्याएको छ, त्यसलाई हामीले बुझ्नैपर्छ। येशू ख्रीष्टले बताउनुभएअनुसार, विवाहको आरम्भकर्ताले पति र पत्नी “दुइ होइन, तर एउटै शरीर” होस् भनेर उद्देश्य राख्नुभएको थियो। उहाँले अझ भन्नुभयो: “यसकारण जसलाई परमेश्वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।” हो, मानवहरूलाई अटुट बन्धनमा बाँध्न विवाह रचिएको थियो। कुनै व्यक्तिले व्यभिचार गरेर वैवाहिक वाचा तोड्दा कष्टदायी परिणामहरू हुन्छन्।—मत्ती १९:६; गलाती ६:७.
निर्दोष जोडी वेदनाको भुँवरीमा पर्नु नै कष्टदायी परिणामको प्रमाण हो। व्यभिचारका परिणामहरूलाई घरबार सर्वनाश गर्ने आँधीबेह्रीसित तुलना गर्न सकिन्छ। डा. शर्ली पी. ग्लासले बताए: “मकहाँ उपचार गराउन आएका त्यस्ता थुप्रै व्यक्तिहरूले व्यभिचारबाट हुने चोटभन्दा त आफ्नो जोडीको मृत्यु सहन सजिलो हुन्छ भनेर बताए।” हो, पति वा पत्नी मरेका कतिपय मानिसहरू यस कुरामा सहमत नहोलान्। तथापि, व्यभिचारले असह्य पीडा उत्पन्न गराउँछ भनेर चाहिं स्पष्ट छ। कतिपय मानिसहरूलाई यसरी लागेको विश्वासघातको चोट पूर्णतया निको हुन सक्तैन।
यस्तो पीडालाई विचार गर्दै कसै कसैले यसरी सोध्लान्, ‘के व्यभिचारले विवाह छिन्नभिन्नै पार्छ त?’ पार्छ नै भन्ने छैन। व्यभिचारसम्बन्धी येशूको भनाइले के देखाउँछ भने, वफादार जोडीले अवफादार जोडीसित छुटानाम गर्ने धर्मशास्त्रीय आधार व्यभिचार मात्र भए तापनि त्यसरी छुटानाम गर्नैपर्छ भन्ने चाहिं छैन। कुनै आधारमा पनि व्यभिचार क्षमा नहुने भए तापनि आवश्यक परिवर्तनहरू गरेर केही दम्पतीले पुनः घरबार बसाल्ने र सशक्त बनाउने निर्णय गर्छन्।
हो, पतिपत्नी दुवै मिलेमतोमा हुँदा नै वैवाहिक सम्बन्धबारे आवश्यक परिवर्तनहरू गर्नु बेस हो। तथापि, वैवाहिक अवफादारी हुँदा समेत कुनै कुनै निर्दोष जोडीले सँगै बस्ने छनौट गर्छन्। निर्दोष जोडीले स्वैच्छिक विचारको आधारमा होइन तर परिस्थितिहरू जाँचेर यस्तो निर्णय गर्नुपर्छ। तिनले सम्भवतः आफ्ना आध्यात्मिक, भावनात्मक, शारीरिक र आर्थिक आवश्यकताका साथै छोराछोरीबारे सोच्नेछिन्।b विवाह यथावत् राख्न लायकको छ कि छैन, त्यसलाई तिनले विचार गर्नु बुद्धिमानी हुनेछ।
के विवाह यथावत् राख्न लायकको छ?
आँधीबेह्रीले भत्काएको घर पुनर्निर्माण गर्ने जमर्को गर्नअघि त्यो घर जीर्णोद्धार गर्न सकिन्छ कि सकिंदैन, निर्माणकर्त्ताले विचार गर्नुपर्छ। त्यसरी नै वैवाहिक अवफादारीले भताभुंग पारेको सम्बन्धलाई फेरि गाँस्ने प्रयास गर्नुअघि दम्पतीले अर्थात् विशेषगरि वफादार जोडीले पुनः घरजम बसाल्दा साँचो मूल्यांकनसहित आत्मीयता र भरोसा देखाउनेछिन्।
विचार पुऱ्याउनुपर्ने एउटा कुरा के हो भने, दोषी जोडीले साँचो पश्चात्ताप देखाउँछन् वा अझै “हृदयमा” व्यभिचार गरिरहेका छन्। (मत्ती ५:२७, २८) तिनले परिवर्तन हुन्छु भनेर वचन दिए तापनि अनैतिक सम्बन्ध तुरुन्तै टुटाइहाल्न हिचकिचाउँछन् कि? (प्रस्थान २०:१४; लेवी २०:१०; व्यवस्था ५:१८) के तिनी अझै त्यो परस्त्रीप्रति रोमान्टिक नजर लाउँछन्? के तिनले आफूले गरेको व्यभिचारको दोषी आफ्नी पत्नीलाई ठहराउँछन्? त्यसो हो भने, वैवाहिक जीवनमा पुनः भरोसा स्थापित गर्ने प्रयास त्यति सफल हुँदैन। तर तिनले अवैध सम्बन्धलाई त्याग्छन्, आफ्नो भूल स्वीकार्छन् र पुनः घरजम बसाल्न कटिबद्ध भएको देखाउँछन् भने, कुनै दिन साँचो भरोसा पुनर्स्थापित हुनसक्ने आशाको किरण तिनकी पत्नीले देख्छिन्।—मत्ती ५:२९.
त्यसबाहेक, के वफादार जोडी आफैले क्षमा गर्न सक्छिन्? यसको अर्थ, जे भयो त्यसले पारेको गहिरो चोटलाई तिनले मनैमा गुम्साएर राख्नुपर्छ वा केही पनि नभएको जस्तो गर्नुपर्छ भनेको होइन। तर भन्न खोजिएको कुरा के हो भने, केही समयपछि गहिरो द्वेषलाई पन्छाउन तिनले प्रयास गर्नेछिन्। यसरी क्षमा दिन समय लाग्छ तर यसले विवाहलाई पुनर्स्थापित गर्ने ठोस आधार बसाल्न मदत दिनसक्छ।
“ध्वंशावशेषहरू” सफा गर्ने
वफादार जोडीले विवाहलाई बचाउने निर्णय गरेपछि पतिपत्नी दुवैले कुन कदम चाल्नसक्छन्? जसरी आँधीबेह्रीले ध्वंश पारेको घरवरिपरिबाट ध्वंशावशेषहरू हटाउनैपर्छ, त्यसरी नै वैवाहिक जीवनको चारैतिर छरिएका “ध्वंशावशेषहरूलाई” पनि पन्छाउनैपर्छ। दम्पतीले आपसमा भावनाहरू पोखाएर केही हदसम्म यसो गर्नसक्छन्। हितोपदेश १५:२२ ले भन्छ: “परामर्श विनाको योजना विफल हुन्छ।” “परामर्श” भनेर अनुवाद गरिएको हिब्रू शब्दले आत्मीयतालाई बुझाउँछ र भजन ८९:७ मा यसलाई “आत्मीय सभा, NW” भनिएको छ। तसर्थ, यसको अर्थ बाहिरी वादविवाद मात्र होइन तर इमानदार र गहिरो सम्बन्ध हो, जसमा पतिपत्नी दुवैले आ-आफ्ना भावनाहरू व्यक्त गर्नसक्छन्।—हितोपदेश १३:१०.
उदाहरणका लागि, कहिलेकाहीं वफादार पत्नीले पतिलाई थप कुराहरू सोध्नसक्छिन्। जस्तै, त्यो अनैतिक सम्बन्ध कसरी हुनगयो? अनि कहिलेदेखि भएको थियो? अरू कस-कसलाई यसबारे थाह छ? हो, यी कुराहरू छलफल गर्नु पीडादायी हुनेछ। तथापि, वफादार जोडीले पुनः भरोसा बसाल्न यस्तो जानकारी आवश्यक ठान्न सक्छिन्। त्यसो भए, अवफादार जोडीले इमानदारीसाथ सोची सम्झी जवाफ दिनु एकदमै उचित हुन्छ। आपसी भावना पोखाउनुको उद्देश्य चोट पुऱ्याउनु नभई चोट निको पार्नु हो भन्ने कुरा मनमा राखेर पतिले मायालु र दयालु व्यवहार देखाउँदै घटना विवरण बताउनुपर्छ। (हितोपदेश १२:१८; एफिसी ४:२५, २६) जे भयो, त्यसबारे आ-आफ्ना भावनाहरू व्यक्त गर्दाखेरि दुवैले विवेक र आत्मसंयम खेती गर्नुका साथै सहानुभूतिपूर्वक ध्यान दिएर सुन्नुपर्छ।c—हितोपदेश १८:१३; १ कोरिन्थी ९:२५; २ पत्रुस १:६.
यहोवाका साक्षीहरूले मण्डलीका प्राचीनहरूबाट सहयोग माग्नसक्छन्। निस्सन्देह, मसीहीहरूले व्यभिचारजस्ता गम्भीर पापहरू प्राचीनलाई बताउनैपर्छ। ती प्राचीनहरू दम्पती र मण्डलीको कल्याणमा चासो राख्छन्। व्यभिचार गर्ने व्यक्तिले प्राचीनहरूलाई भेटेर साँचो पश्चात्ताप देखाएमा तिनलाई मण्डलीमा रहन अनुमति दिन सकिएला। यस्तो बेला प्राचीनहरूले पतिपत्नी दुवैलाई सहयोग दिइरहनसक्छन्।—याकूब ५:१४, १५.
पुनर्निर्माण गर्ने
दम्पतीले आफ्ना भावनाहरूलाई सम्भव भएसम्म बलियो पारेपछि तिनीहरू वैवाहिक जीवनका महत्त्वपूर्ण पक्षहरू पुनर्निर्माण गर्ने अवस्थामा हुन्छन्। अर्थपूर्ण कुराकानी गर्न नितान्त आवश्यक छ। कमजोरीहरू पत्ता लागेमा उचित परिवर्तनहरू गर्नैपर्छ।
मुख्यत, दोषी जोडीले परिवर्तन गर्नुपर्नेछ। तथापि, वफादार जोडीले वैवाहिक जीवनका कमजोर पक्षलाई बलियो पार्न आफ्ना जिम्मेवारी पूरा गर्नैपर्छ। यसको अर्थ, पत्नीकै कारण व्यभिचार हुन पुगेको हो वा यसलाई क्षमा गर्न सकिन्छ भन्ने होइन। अतः भनौं भने, यस्तो पापमा क्षमा दिन मिल्ने कुनै जायज कारणै छैन। (उत्पत्ति ३:१२; १ यूहन्ना ५:३ तुलना गर्नुहोस्।) यसको अर्थ, वैवाहिक जीवनमा नसुल्झाई नहुने समस्याहरू थिए होलान्। पुनः घरबार बसाल्न पतिपत्नी दुवैको प्रयास चाहिन्छ। के अबउसो आपसी मूल्य तथा मान्यता र लक्ष्यहरूलाई सशक्त बनाउन खाँचो छ कि? आध्यात्मिक क्रियाकलापहरूलाई बेवास्ता गरिएको छ कि? भताभुंग भएको घरजम पुनः बसाल्न मुख्य कमजोरी पत्ता लगाउनुका साथै आवश्यक परिवर्तनहरू गर्नु अत्याश्यक छ।
मर्मत
राम्ररी बनाइएको घर पनि मर्मत गरिरहनुपर्छ। त्यसोभए, पुनर्निर्मित सबन्धलाई मर्मत गर्नु कत्तिको महत्त्वपूर्ण छ। दम्पतीले पुनः घरजम बसाल्ने संकल्पलाई सार्थक पार्न ढिलासुस्ती गर्नै हुँदैन। अर्थपूर्ण कुराकानी गर्न नसक्नुजस्ता सानातिना समस्याहरूले गर्दा निरुत्साहित नभई राम्रो खुलस्त कुराकानी गर्न निरन्तर अघि बढ्नुपर्छ।—हितोपदेश २४:१६; गलाती ६:९.
सबैभन्दा मुख्य कुरा त पतिपत्नीले आध्यात्मिक तालिकालाई प्राथमिकता दिनुका साथसाथै विवाहलाई पनि कम महत्त्वपूर्ण ठान्नु हुँदैन। भजन १२७:१ ले भन्छ: “परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्।” येशूले पनि यस्तो चेताउनी दिनुभयो: “जसले मेरा यी कुरा सुनेर पनि त्यसअनुसार गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससित गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। पानी परेर भल आयो, हुरी चल्यो र त्यस घरमाथि ठक्कर लाग्यो, र त्यो ढल्यो, अनि त्यसको पतन ठूलो भयो।”—मत्ती ७:२४-२७.
यद्यपि, बाइबल सिद्धान्तहरू पालन गर्न कठिन भएकोले ती सिद्धान्तहरू बेवास्ता गरिएमा फेरि वैवाहिक अवफादारीको परीक्षा आँधीबेह्रीसरह आइपर्दा विवाह छिन्नभिन्न हुनेछ। तथापि, पति र पत्नीले प्रत्येक कामकुरामा बाइबल स्तरहरू पालन गरेको खण्डमा तिनीहरूको विवाहमा ईश्वरीय आशिष् हुनेछ। त्यति मात्र होइन तिनीहरूले वैवाहिक विश्वसनीयता कायम गर्न अत्यन्त शक्तिशाली उत्प्रेरणा पनि पाउनेछन्। त्यो हो, विवाहको आरम्भकर्ता यहोवा परमेश्वरलाई खुशी तुल्याउने इच्छा।—मत्ती २२:३६-४०; उपदेशक ४:१२.
[फुटनोटहरू]
a व्यभिचारी जोडीसित छुटानाम गर्न सकिने तर्कसंगत कारणहरू छन्। यसबारे विस्तृत जानकारीको लागि ब्यूँझनुहोस्! अगस्त ८, १९९५ (अंग्रेजी), अंकको “बाइबलको दृष्टिकोण: व्यभिचार—क्षमा गर्ने या नगर्ने?” हेर्नुहोस्।
b यस लेखमा पुरुषलाई अवफादार जोडी भनिएको छ। एउटा गणनाअनुसार स्त्रीहरूभन्दा पुरुषहरू दुइ गुणा बढी वैवाहिक अवफादार हुन्छन्। तथापि, निर्दोष जोडी मसीही पुरुष हुन् भने छलफल गरिएका सिद्धान्तहरू एकैनासले लागू हुन्छन्।
c ध्यान दिएर सुन्नेबारे थप जानकारीको लागि ब्यूँझनुहोस्! (अंग्रेजी), जनवरी २२, १९९४, पृष्ठ ६-९ र डिसेम्बर ८, १९९४, पृष्ठ १०-१३ हेर्नुहोस्।