प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ५/८ पृ. १८-२१
  • चेर्नोबिलको अन्धकार माझ उज्ज्वल आशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चेर्नोबिलको अन्धकार माझ उज्ज्वल आशा
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दुर्घटनाको दिन
  • दुर्घटनापछि
  • विकिरणको कारण स्वास्थ्यमा परेका असरहरू
  • फर्केर हेर्दा
  • डरै डरको माझ भरोसा
  • चेर्नोबिल घुम्न जाँदा
    ब्यूँझनुहोस्‌!—२००६
  • आणविक खतरा आखिरमा के यसको अन्त भयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • रेडियो विकिरण—चिन्ताको विषय
    ब्यूँझनुहोस्‌!—२००१
  • लाट्‌भियाले सुसमाचार स्वीकार्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ५/८ पृ. १८-२१

चेर्नोबिलको अन्धकार माझ उज्ज्वल आशा

युक्रेनका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

अप्रिल २६, १९८६ का दिन चेर्नोबिल, युक्रेनमा इतिहासमै सबैभन्दा नराम्रो आणविक भट्टीको दुर्घटना भयो। सोही वर्ष तत्कालीन सोभियत राष्ट्रपति मिखाएल गोर्वाचोभले “मानिस आफैले बनाएको भयानक शक्‍तिहरूलाई आफ्नो नियन्त्रणमा राख्न सकेको छैन” भन्‍ने क्रूर सम्झौटा त्यस दुर्घटना हो भन्दै टिप्पणी गरे।

चेर्नोबिल विध्वंसको प्रभावबारे जोड दिंदै फेब्रुअरी १९८७ को साइकोलजी टुडे-को जर्मन संस्करणले यस्तो रिपोर्ट गऱ्‍यो: “चेर्नोबिलमा भएको आणविक भट्टी दुर्घटनाले . . . मानव सभ्यताको इतिहासमै एउटा नयाँ मोड लियो। यो महाविपत्तिले हामीलाई शताब्दीयौंसम्म व्यापक प्रभाव पार्नेछ।” द न्यु योर्क टाइम्स-ले यसो भन्यो: “उक्‍त विष्फोटनले हावा, माटो र पानीमा अरू जम्मै आणविक प्रयोगहरू तथा विष्फोटित बमहरूले भन्दा चिरकालीन असर पारेको छ।”

हानोफर्से आलजेमाइन नामक जर्मन अखबारले यस्तो पूर्वानुमान लगायो: “सोभियत आणविक भट्टी दुर्घटनाको कारण अर्को ५० वर्षमा विश्‍वभरि ६०,००० मानिसहरू अर्बुद रोगले मर्नेछन्‌ . . . थप ५,००० को गम्भीर आणुवंशिक गडबडी हुनेछ र १,००० भन्दा बढी जन्मदोषसहित जन्मनेछन्‌।”

यस चेर्नोबिल दुर्घटनाले गर्दा डर, फिक्री र अनिश्‍चितताको बादल छायो जसले गर्दा लाखौं मानिसको जीवनमा अन्धकार छाएको छ। तैपनि, यस्तो निराशाको भुँवरी चलेको बेला पनि कसै कसैले उज्ज्वल आशाको आनन्द उठाइरहेका छन्‌। उदाहरणका लागि, रुडनीक परिवारलाई लिनुहोस्‌। यस परिवारमा भिक्टर, आना र तिनीहरूका दुइ छोरी एलेना र आन्या छन्‌। अप्रिल १९८६ मा विष्फोटन हुँदा तिनीहरू चेर्नोबिल आणविक भट्टीभन्दा तीन किलोमिटर टाढा प्रिपेटमा बस्थे।

दुर्घटनाको दिन

त्यस दुःखद शनिबार बिहान वारुण नियन्त्रकहरूले क्षतिग्रस्त भट्टीमा गरेको वीर कार्यले अझ गम्भीर परिणामहरू हुनसक्ने खतरादेखि बचायो। घण्टाभरमै वारुण नियन्त्रकहरू विकिरणको कारण बिरामी भए र कतिपय त पछि मरे पनि। चेर्नोबिलमा १९७० को दशकमा उप-प्रमुख इन्जिनियर ग्रिगोरी भेडेभेडेफ आफ्नो पुस्तक जलिएका प्राणहरू-मा (अंग्रेजी) यस्तो वर्णन गर्छन्‌: “आणविक भट्टी भएको ठाउँबाट शहरलाई सल्लाका रूखहरूले छुट्टाएको थियो तर बिस्तारै विकिरण त्यहाँ फैलिएर कालो मुस्लोले भरियो र रेडियो विकिरण खरानीको धूलो जस्तै गरी झर्न थाल्यो।” भनिन्छ, वाष्पीकरण भएका थुप्रै टन रेडियो विकिरण तत्त्वहरू वायुमण्डलमा मिसिए!

तर अचम्मको कुरा, ४०,००० नगरवासीहरू भएको प्रिपेत शहरमा शनिबारको दिनचर्या सामान्य नै चलिरहेको थियो। बच्चाहरू सडकमा खेलिरहेका थिए र मानिसहरू मे १ को दिन सार्वजनिक बिदामा हुने उत्सवको तयारीमा तल्लीन थिए। दुर्घटनाबारे कुनै घोषणा गरिएको थिएन नता खतराबारे कुनै चेताउनी नै दिइएको थियो। आना रुडनीकले आफ्नो सौतेनी बुबा भेट्‌दा आना आफ्नी तीन वर्षीया छोरी एलेनासित बाहिर टहल्दै थिइन्‌। उनले दुर्घटनाबारे सुनिसकेका थिए। विकिरणको खतराबारे चिन्तित हुँदै उनले रुडनीक परिवारलाई तुरुन्तै १६ किलोमिटर टाढा आफ्नो घरमा लगे।

रेडियो विकिरण धूँवा वायुमण्डलमा मिसियो र युक्रेनभन्दा सयौं किलोमिटर टाढा बेलारूस, रूस, पोल्याण्डको साथसाथै जर्मनी, अष्ट्रिया र स्वीजरल्याण्डसम्म पुग्यो। दुर्घटनापछिको सोमबारको दिनमा स्वीडेन र डेनमार्कका वैज्ञानिकहरू पनि वायुमण्डलमा देखिएको रेडियो विकिरणको उच्च परिमाण देखेर चिन्तित हुन थाले।

दुर्घटनापछि

रूसी सेना, वारूण नियन्त्रक, निर्माण कार्यसम्बन्धी विशेषज्ञहरू तथा अन्य व्यक्‍तिहरूलाई चेर्नोबिल पठाइयो। लगभग ६,००,००० बलिया मानिसहरू भएको यस समूह “परिशोधकहरूको” रूपमा चिनिन थालिए। क्षतिग्रस्त आणविक भट्टीलाई दश तल्ले अग्लो र दुइ मिटर बाक्लो कंक्रिट र स्टीलको मुर्दा बाकस जस्तो बनाएर सिलबन्दी गरे, यसले युरोपमा अझ भयानक विपत्ति हुनदेखि बचायो।

केही दिनमै वरपर इलाकाका मानिसहरूको उद्धार गर्न थालियो। भिक्टर आफ्नो दुखेसो यसरी पोख्छन्‌: “हामीले हाम्रो घर र सबै मालतालहरू छोड्‌नुपऱ्‍यो। लत्ताकपडा, पैसा, कागजातहरू, खाना, सर्वस्व गयो। हामी चिन्तित हुनुको अर्को एउटा कारण पनि थियो। त्यो हो, आना फेरि गर्भवती थिइन्‌।”

भट्टीको ३० किलोमिटर वरिपरि बसेका सबै मानिसहरू अर्थात्‌ झन्डै १,३५,००० जना त्यहाँबाट अन्यत्रै सर्नुपऱ्‍यो। रुडनीक परिवार आफ्ना नातेदारहरूसँग बस्न थाल्यो। तथापि, ती नातेदारहरू रुडनीकहरूले रेडियो विकिरण उनीहरूलाई पनि सारि देलान्‌ भनी डराउन थाले। आना भन्छिन्‌: “उनीहरूलाई पनि रेडियो विकिरणको प्रभाव पर्ला भनी चिन्तित हुन थाले र अन्ततः उनीहरूले हामीलाई घर छोड्‌नु भने।” दुर्घटनाग्रस्त इलाकाबाट उद्धार गरिएका अरूले पनि त्यस्तै पीडादायी अनुभवहरू भोगे। बल्लतल्ल, सेप्टेम्बर १९८६ मा रुडनीकहरू रूस, मस्कोको १७० किलोमिटर दक्षिण पश्‍चिम पर्ने कालुगामा बसोबास गर्न थाले।

आना भन्छिन्‌, “अनि हामीले अब घर फर्कनसक्ने कुनै आशा छैन भनेर बुझ्यौं। हामीले आफ्नो प्यारो मूल घर गुमायौं, जहाँ हामी जन्मेका र हुर्केका थियौं। त्यो असाध्यै सुन्दर ठाउँ थियो, फूल तथा घाँसहरूले टम्म भरिएको र खाल्डा चाहिं लिली फूलहरूले भरिएका हुन्थे। जंगलमा चाहिं ऐंसेलु, काफल र च्याउ जताततै फल्थ्यो र उम्रन्थ्यो।”

युक्रेनको सौन्दर्यमा मात्र धक्का लागेको होइन तर सोभियत संघको अन्‍न भण्डार नै खतम भयो। त्यस शरद्‌ ऋतुमा देशको सबैजसो फसल नै प्रदूषित भयो। त्यस्तैगरि, स्क्यानडेनिभियामा ७० प्रतिशतभन्दा बढी ठूलो खाले मृगको मासु खान नहुने घोषणा गरियो किनभने ती जनावरहरूले विकिरणयुक्‍त घाँस खाएका थिए। अनि जर्मनीमा प्रदूषणको डरले तरकारीहरू त्यसै कुहिन दिइयो।

विकिरणको कारण स्वास्थ्यमा परेका असरहरू

दुर्घटनाको पाँच वर्षपछि प्रकाशित आधिकारिक तथ्यांकअनुसार ५,७६,००० मानिसहरू विकिरणको प्रभावमा परे। त्यस्ता मानिसहरूमा अर्बुद रोग र अन्य प्रकारका रोग पनि बढी मात्रामा भएका घटनाहरू पाइन्छन्‌। विशेषगरि, स-साना बच्चाहरू यसबाट बढी प्रभावित भएका छन्‌। डिसेम्बर २, १९९५ को न्यु साइन्टिष्ट पत्रिकाले घाँटीसम्बन्धी युरोपको एक प्रख्यात विशेषज्ञले यसो भनेको रिपोर्ट उल्लेख गऱ्‍यो: “चेर्नोबिलको दुर्घटनामा विकिरणको उच्च परिणामको रेडियो विकिरण प्रभावमा परेका एक वर्षमुनिका ४० प्रतिशतभन्दा बढी बच्चाहरूको वयस्क हुँदा घाँटीको अर्बुद रोग हुने सम्भावना धेरै छ।”

गर्भधारणको बेला विकिरणको प्रभावमा परेको हुँदा चिकित्सकहरूले आनालाई गर्भपात गर्न कडा सल्लाह दिए। जब भिक्टर र आनाले इन्कार गरे तब तिनीहरूले बच्चा जन्मिंदा जन्मदोषसहित जन्मिए तापनि पालनपोषण गर्नेछौं भनी कागजात गर्नु परेको थियो। आन्या अपांग नै नजन्मे तापनि तिनको आँखा कमजोर छ, श्‍वाससम्बन्धी समस्याहरू र रक्‍त सञ्चार प्रणालीमा गडबडीजस्ता रोगहरू लागेको छ। यसबाहेक, रुडनीक परिवारका अन्य सदस्यहरूको स्वास्थ्य त्यस दुर्घटनापछि त्यति राम्रो छैन। भिक्टर र एलेना दुवैको मुटुसम्बन्धी समस्याहरू भयो र आना चाहिं चेर्नोबिल दुर्घटनाको कारण अशक्‍त भनी दर्ता गरिएको थुप्रैमध्ये एक हुन्‌।

क्षतिग्रस्त भट्टीमा सील लगाउने परिशोधकहरू विकिरणबाट सबैभन्दा बढी प्रभावित भएका थिए। भनिन्छ, त्यतिबेला सफा गर्न मदत दिने थुप्रैको अकालमै मृत्यु भयो। बाँचेका थुप्रैको पनि स्नायुसम्बन्धी र मनोचिन्ताले गर्दा शारीरिक समस्याहरू भएको पाइन्छ। धेरै नैराश्‍यले पीडित छन्‌ र आत्महत्या सामान्य भइसक्यो।

दुर्घटनापछि गम्भीर स्वास्थ्य समस्या भोग्नेहरूमध्ये एन्जेला पनि हुन्‌। दुर्घटनाको समय तिनी चेर्नोबिलभन्दा ८० किलोमिटर टाढा युक्रेनको राजधानी कीभमा बस्थिन्‌। तर पछि तिनले परिशोधकहरूका निम्ति भट्टीमा सामानहरू पुऱ्‍याउने काम गरिन्‌। कीभ नजीकै इर्पेनमा बस्ने स्वेल्टनालाई अर्बुद रोग लागेको कारण शल्यक्रिया गर्नुपऱ्‍यो।

फर्केर हेर्दा

त्यस महाविपत्तिको दश वर्षपश्‍चात्‌ अप्रिल १९९६ मा मिखाएल गोर्वाचोभले स्वीकारे: “हामी त्यस्तो परिस्थितिको लागि तयारै थिएनौं।” सोही बेला रूसका राष्ट्रपति यल्तसिनले पनि यस्तो टिप्पणी गरे: “पुनः सच्याउनै नसकिने यस्तो भयानक दुर्दशा मानिसजातिले कहिल्यै भोगेको छैन।”

उल्लेखनीय कुरा के छ भने, साइनटिफिक अमेरिकन-को जर्मन संस्करणले चेर्नोबिल विपत्तिपछिको प्रभावहरूलाई मझौला खालको आणविक युद्ध भएमा हुने परिणामसित तुलना गऱ्‍यो। कसै कसैको अनुमानअनुसार त्यस दुर्घटनाको कारण मर्नेहरूको संख्या झन्डै ३०,००० पुगेको छ।

गत वर्षको एउटा समाचारअनुसार, दुर्घटनाको दशौं वार्षिकीसम्म पनि त्यस भट्टीको २९ किलोमिटर वरपरको ठाउँ मानिसहरू बस्न लायक छैन। तथापि, त्यस प्रतिवेदनअनुसार “६४७ अट्टेरी बासिन्दाहरू घुस दिएर वा खुल्लमखुल्ला त्यस ठाउँमा बसोबास गर्न थालेका छन्‌।” यस्तो टिप्पणी पनि गऱ्‍यो: “त्यस भट्टीको १० किलोमिटरको दूरीमा त कोही पनि बस्दैनन्‌। त्यसको २० किलोमिटर टाढा चाहिं केही सय मानिसहरू बस्न थालेका छन्‌।”

डरै डरको माझ भरोसा

चेर्नोबिल नजीकै बस्ने हजारौं व्यक्‍तिहरूको जीवन कठिन भएको थियो र अहिले पनि छ। एउटा अध्ययनअनुसार ८० प्रतिशतभन्दा बढी नयाँ घरमा खुशी नभएको पाइयो। तिनीहरू दुःखित, थकित, असजिलो, त्यसै झरंग रिसाउने र एक्लो महसुस गर्छन्‌। चेर्नोबिल एउटा आणविक दुर्घटना मात्र थिएन तर थुप्रैको लागि सामाजिक र मानसिक संकट थियो। अतः थुप्रै मानिसहरूले कुनै घटनालाई संकेत गर्नुपऱ्‍यो भने चेर्नोबिल अघिको कि पछिको भनी सोध्ने गर्छन्‌।

थुप्रै मानिसहरूको दाँजोमा रुडनीक परिवारले समस्याको राम्ररी सामना गरेका छन्‌। तिनीहरूले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाले, फलस्वरूप परमेश्‍वरको वचनमा पाइने धार्मिक नयाँ संसारप्रति बलियो विश्‍वास खेती गरे। (यशैया ६५:१७-२५; २ पत्रुस ३:१३; प्रकाश २१:३, ४) अनि १९९५ मा भिक्टर र आनाले पानीको बप्तिस्माद्वारा परमेश्‍वरप्रति आफ्नो समर्पण जनाए। पछि तिनीहरूकी छोरी एलेनाले पनि बप्तिस्मा लिइन्‌।

भिक्टर भन्छन्‌: “बाइबल अध्ययनद्वारा हामीले सृष्टिकर्ता यहोवा परमेश्‍वरलाई चिन्यौं र पृथ्वीमा मानिसजातिको लागि उहाँको उद्देश्‍य पनि थाह पायौं। हामी अब उदास छैनौं किनभने परमेश्‍वरको राज्य आएपछि यस्तो भयानक दुर्घटनाहरू हुनेछैनन्‌ भनी हामीलाई थाह छ। हामी त्यस समयको प्रतीक्षामा छौं, जब चेर्नोबिल नजीकै हाम्रो प्यारो घर वरिपरि वञ्जरजस्तो भएको भूमि हराभरा भएर सुन्दर प्रमोदवनको भाग हुनेछ।”

एन्जेला र स्वेल्टनाले पनि परमेश्‍वरको नयाँ धार्मिक संसारमा विश्‍वास राख्छन्‌ र विकिरणको कारण बिरामी भए तापनि उज्ज्वल आशा राखेका छन्‌। एन्जेला भन्छिन्‌: “सृष्टिकर्ता र उहाँको उद्देश्‍यको ज्ञानबिना बाँच्नु त कठिन हुनेथियो। तर परमेश्‍वरसित घनिष्ठ सम्बन्ध भएको हुँदा सकारात्मक सोचाइ राख्न मदत पाएकी छु। बाइबलको पूर्ण-समय प्रचारकको रूपमा उहाँको सेवा गर्ने मेरो इच्छा छ।” स्वेल्टना अझ यसो भन्छिन्‌: “मेरा मसीही भाइबहिनीहरू ठूलो मदतको स्रोत साबित भएका छन्‌।”

जुनसुकै ठाउँमा बस्ने जोसुकै मानिसलाई “समय र अवसरले . . . अधीन[मा]” पारेको हुन्छ भनेर यी मानिसहरूले बाइबल अध्ययन गरेर थाह पाएका छन्‌। (उपदेशक ९:११) बाइबल विद्यार्थीहरूले यो पनि सिकेका छन्‌ कि जस्तोसुकै भयानक विपत्तिहरू भए तापनि यहोवा परमेश्‍वरले मर्मत गर्न नसक्ने केही छैन, जस्तोसुकै चोटपटकलाई उहाँले निको पार्न सक्नुहुन्छ र उहाँले क्षतिपूर्ति गर्न नसक्ने केही छैन।

तपाईंले पनि परमेश्‍वरको प्रतिज्ञाप्रति भरोसा गरेर उज्ज्वल आशाको कसरी आनन्द उठाउन सक्नुहुन्छ? हितोपदेशका बाइबल लेखक यस्तो जवाफ दिन्छन्‌: “तैंले परमप्रभुमाथि आफ्नो भरोसा राख्‌ भनेरनै तेरो आफ्नै भलाइको निम्ति आज यी कुरा म तँलाई भन्दैछु।” (हितोपदेश २२:१९) हो, तपाईंले नियमित बाइबल अध्ययनद्वारा ज्ञान लिनुपर्छ। तपाईंको इलाकामा बस्ने यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुशी हुनेछन्‌। तिनीहरू तपाईंलाई पायक पर्ने समय र ठाउँमा निश्‍शुल्क बाइबल अध्ययन गर्न तयार छन्‌।

[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]

“पुनः सच्याउनै नसकिने यस्तो भयानक दुर्दशा मानिसजातिले कहिल्यै भोगेको छैन।” रूसका राष्ट्रपति यल्तसिन

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

चेर्नोबिल एउटा आणविक दुर्घटना मात्र थिएन तर थुप्रैको लागि सामाजिक र मानसिक संकट थियो

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

Tass/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने