युवाहरू सोध्छन् . . .
किन यस्तो बिसञ्चो हुनुपरेको होला?
जेसनले १३ वर्ष छँदादेखि नै यहोवाका साक्षीहरूको ब्रूकलिन, न्यु योर्कस्थित मुख्यालय अर्थात् बेथेलमा पूर्ण-समय सेवकको हैसियतमा सेवा गर्ने ठूलो चाहना राखेका थिए। तिनले एउटा काठको बाकस बनाए अनि त्यसलाई बेथेल बाकस नाउँ दिए। तिनले बेथेल सेवामा आफूलाई काम लाग्ने खाले चीजबीजहरू त्यसमा जम्मा गर्न थाले।
तर, तिनको १८ औं जन्मदिनको तीन महिनापछि जेसनलाई क्रोनस् रोग लागेको पत्ता लाग्यो। यो रोग लाग्दा पेटको गडबडीको कारण असह्य हुनेगरि दुखिरहने हुन्छ। तिनी सम्झन्छन्, “मेरो संसारै डुबेजस्तो लाग्यो। मैले के नै गर्न सक्थें र, बुबालाई उहाँको अफिसमा फोन गरें र रोएँ। अरू केही नभए पनि मेरो बेथेल जाने सपना चाहिं चक्नाचूर भएको मलाई थाह भयो।”
“सारा सृष्टि . . . पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको” मुख्य कारणहरूमध्ये एउटा रोगबिमार पनि हो। (रोमी ८:२२) अनगिन्ती जवानहरू पनि बिरामी छन्। थुप्रै जवानहरू अन्ततः पुनः स्वस्थ हुन्छन्। तर अरू कोहीले भने दीर्घकालीन रोगहरू वा कहिलेकाहीं जीवनलाई समेत खतरामा पार्ने रोगहरूसित लड्नुपर्छ। जवानहरूले अक्सर भोग्नुपर्ने रोगहरूमध्ये केही दम, मधुमेह, रक्तअल्पता, सरुवा रोगहरू, छारे रोग, मानसिक बिरामी, अर्बुद रोग हुन्। केही जवानहरूलाई त थुप्रै रोग लागेको हुन्छ।
‘मलाई नै यो सबै किन हुनुपरेको?’
बिसञ्चो हुँदा अक्सर मानसिक र भावनात्मक रूपमा पनि असर पर्छ, शारीरिक पीडा त छँदैछ। उदाहरणका लागि, बिरामी भएकोले तपाईं महिनौंसम्म स्कूल जान पाउनुभएन भने, पढाइमा पछि पर्नुको साथसाथै अन्य गतिविधिमा पनि के कस्तो भइरहेको छ, थाहै हुँदैन। समय समयमा अस्पताल भर्ना हुनुपर्ने हुँदा १२ वर्षीय सनीको स्कूल छुट्छ। अनि तिनलाई यस्तो चिन्ता हुन्छ, ‘मेरो साथीहरू के गर्दै होलान्? मैले आज के छुट्टाएँ होला?’
त्यसरी नै तपाईं मसीही सभाहरू जानै नसक्ने वा बाइबल पनि पढ्न नसक्ने गरी बिरामी हुनुभयो भने, आध्यात्मिक वृद्धिमा त्यस्तै असर पर्नसक्छ। यस्तो समयमा तपाईंलाई थप भावनात्मक तथा आध्यात्मिक सहारा चाहिन्छ। पहिला त तपाईं आफ्नो रोग स्वीकार्न नै तयार हुनुहुन्न होला। बिरामी नहुन मैले केही त गर्नसक्थें भन्दै पछि तपाईं आफैसित एकदमै क्रोधित हुनु होला। तपाईंलाई यसरी कराउन मन लाग्ला, ‘परमेश्वरले मलाई नै यो सबै किन हुन दिनुभएको?’ (मत्ती २७:४६ तुलना गर्नुहोस्।) वास्तवमा, केही हदसम्म उदास हुनु स्वाभाविकै हो।
यसबाहेक, कोही कोही जवानहरूले यस्तो पनि विचार गर्लान्, असाध्यै ज्ञानी भयो भने परमेश्वरले मलाई निको पार्नुहुनेछ। तर, त्यस्तो सोचाइले उल्टा निराश मात्र पार्नसक्छ किनभने परमेश्वरले वर्तमान समयमा चमत्कारपूर्ण ढंगमा निको गरी दिने कुनै प्रतिज्ञा गर्नुभएको छैन।—१ कोरिन्थी १२:३०; १३:८, १३.
शायद तपाईंले आफू कहिल्यै मर्नु पर्ने छैन अर्थात् परमेश्वरले “महा संकष्ट” ल्याउनुहुँदा जीवितै रहने आशा गर्नुभएको थियो। (प्रकाश ७:१४, १५; यूहन्ना ११:२६) त्यस्तो हो भने, जीवनलाई नै खतरामा पार्ने रोग लाग्दा झनै धक्का लाग्नसक्छ। यहोवालाई रीस उठाउन मैले केही पो गरें कि भनी सोच्न थाल्नु होला वा निष्ठाको विशेष जाँच लिन परमेश्वरले मलाई छान्नुभएको हो कि भनी विचार गर्नु होला। तर, यस्तो निष्कर्षमा आउनु उचित होइन। परमेश्वरको वचन बाइबल यसो भन्छ: “कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” (याकूब १:१३) रोग, मृत्यु वर्तमान दुःखदायी मानव परिस्थितिको भाग हो अनि “समय र अवसरलेनै सबैलाई अधीन[मा]” पारेको छ।—उपदेशक ९:११.
डरको सामना गर्ने
सिकिस्त बिरामी हुनुभयो भने तपाईंलाई पहिलो चोटि एकदमै डर लाग्नसक्छ। जीवनको लागि संघर्ष गर्दा कस्ता भावनाहरू हुन्छन् (अंग्रेजी) नामक पुस्तकमा १४ जना सिकिस्त जवान बिरामीहरूको टिप्पणीहरू रेकर्ड गरिएको छ। उदाहरणका लागि, दश वर्षीय आन्टनलाई दमको व्यथाले असाध्यै चाप्दा मर्छु भन्ने डर थियो। अनि हड्डीको अर्बुद रोगसँग संघर्ष गरिरहेकी १६ वर्षीया एलिजाबेथलाई सुतेपछि सुतेको सुतेकै हुने हो कि भन्ने डर थियो।
तर केही जवानहरूलाई भने अर्कै प्रकारको डर हुन्छ। जस्तै, तिनीहरूलाई कसैले पनि विवाह गर्ने छैनन् वा पछि तिनीहरूले स्वस्थ बच्चाहरू जन्माउन सक्नेछैनन्। अरू जवानहरूलाई चाहिं आफ्नो रोग सरुवा होस् या नहोस्, परिवारका अन्य सदस्यहरूलाई सर्ने पो हो कि भन्ने डर हुन्छ।
रोगले चाप्न कम भए तापनि वा निको हुन थाल्दा केही भइहालेमा फेरि डर लाग्न थाल्छ। तपाईंले त्यस्तो डर महसुस गर्नुभएको छ भने, त्यसबारे तपाईंलाई थाहै होला। तर एउटा राम्रो कुरा के छ भने, सुरु-सुरुतिर त्यस्ता नकारात्मक भावनाहरू आए तापनि समयमा त्यो कम हुँदै जान्छ। अनि तपाईं ठन्डा दिमागले आफ्नो परिस्थिति केलाउन सक्नुहुन्छ।
बिरामी हुँदाका चुनौतीहरू
माथि उल्लिखित जेसन यस्तो टिप्पणी गर्छन्: “जवान छँदा मलाई त केही रोग लाग्दैन भन्ने सोचाइ हुन्छ। तर अकस्मात् बिरामी पर्दा त्यो सबै छिन्नभिन्न हुन्छ। धेरै चलहल गर्न नसक्दा र आफ्नो क्रियाकलापमा कटौती गर्नुपर्दा क्षणभरमै बूढो भएको महसुस हुन्छ।” हो, यस्ता सीमितताहरूको सामना गर्नु चुनौतीपूर्ण हुन्छ।
आफ्नो परिस्थिति अरूले बुझी नदिंदा अर्को ठूलो चुनौतीको सामना गर्नुपर्ने जेसनले अनुभव गरेका छन्। जेसनलाई “नदेखिने रोग” लागेको छ भने पनि हुन्छ। बाहिरबाट हेर्दा त तिनी ठीकै देखिन्छन्। जेसन भन्छन्: “मेरो शरीरले खाना राम्ररी पचाउन सक्दैन। त्यसैले मलाई घरीघरी खानुपर्ने मात्र होइन तर अरूले भन्दा धेरै पनि खानुपर्छ। तर म मान्छे भने सिङकुट्टे छु। अनि कहिलेकाहीं मलाई यति थकाइ लाग्छ कि दिउँसै निद्राले झ्याप्प छोप्छ। तर मानिसहरूले मलाई स्वार्थी वा अल्छे भन्ने गर्छन्। तिनीहरू यसो भन्छन्: ‘तिमीले अझ बढी गर्नसक्छौ। तिमी प्रयासै गर्दैनौ!’ ”
जेसनका भाइबहिनीहरू छन् तर भाइबहिनीहरूले पनि तिनले पहिले जस्तो बल खेलाउन किन लग्न नसकेको बुझ्नै सक्दैनन्। जेसन भन्छन्, “म घाइते भएँ भने निको हुन कति समय लाग्छ, मलाई थाह छ। भाइबहिनीहरू उनीहरूको र मेरो दुखाइबीच तुलना गर्छन् अनि भन्छन्, ‘ध्यान पाउनको लागि मात्रै उसले ऐया र उइया गरिरहेको हो।’ तिनीहरूलाई असाध्यै दुखेको भन्नु नै खुट्टा मड्केको होला त्यसैले उनीहरूले मेरो पीडा कल्पनै गर्न सक्दैनन्।”
बिरामीको कारण तपाईंलाई परिवारमा आफू बोझ भइरहेको जस्तो लाग्यो भने आफूलाई दोषी लाग्नसक्छ। तपाईंको आमाबाबुलाई पनि उहाँहरू दोषी जस्तो लाग्नसक्छ। जेसन भन्छन्, “उहाँहरूले गर्दा मलाई यो रोग लागेको जस्तो लाग्छ। बच्चाहरूले अक्सर आफ्नो रोगलाई स्वीकार्न थालेपछि छाँटकाँट गर्नसक्छन्। तर आमाबाबुलाई अलि गाह्रै हुन्छ। उहाँहरू बारम्बार मसित माफी माग्नुहुन्छ। उहाँहरू दोषी हुनुहुन्न भनेर मैले बारम्बार सम्झाइरहनुपर्छ।”
चिकित्सक कहाँ जानु कुनै रमाइलो कुरा होइन
चिकित्सक कहाँ गइरहनु असाध्यै तनाउपूर्ण हुनसक्छ। यसले आफूलाई एकदमै तुच्छ र निस्सहाय महसुस गराउनसक्छ। अस्पतालमा आफ्नो पालो पर्खिराख्दा मात्रै पनि डर लाग्नसक्छ। हृदयरोगी १४ वर्षीय जोसेफ यसो भन्छन्, “तपाईं . . . यति एक्लो महसुस गर्नुहुन्छ कि सँगै कोही साथी भई दिए हुन्छ जस्तो लाग्छ।” दुःखको कुरा, कोही कोही जवानहरूले आफ्नै आमाबाबुबाट समेत त्यस्तो सहारा पाउँदैनन्।
स्वास्थ्य परीक्षण गर्दा पनि त्यस्तै चिन्ताहरू हुनसक्छन्। हो, कुनै कुनै परीक्षणहरू असाध्यै पीडादायी हुनसक्छ। अनि त्यसपछि रिपोर्टको लागि केही दिन वा हप्तासम्म पीर मान्दै कुर्नुपर्ला। तर यो कुरा मनमा राख्नुहोस्: स्वास्थ्य परीक्षण भनेको स्कूलको परीक्षा जस्तो होइन। स्वास्थ्य खराब हुनु भनेको तपाईं कुनै न कुनै तरिकामा फेल हुनुभएको होइन।
वास्तवमा भन्ने हो भने, परीक्षणले हामीलाई मदतकारी जानकारीहरू दिनसक्छ। तपाईंको स्वास्थ्य समस्या सजिलै उपचार गर्न सकिन्छ भनेर पनि देखाउनसक्छ। वा रोगै लागेमा पनि त्यसको कसरी सामना गर्ने भनी परीक्षणले देखाउनसक्छ। यसले आखिरमा तपाईंले शंका गर्नुभएको रोग लागेकै रहेनछ भनेर पनि देखाउनसक्छ। अतः, आफ्नो अवस्थाबारे तुरुन्तै निष्कर्ष निकाली नहाल्नुहोस्।
धेरै पीर गर्दा तपाईं थकित मात्र हुनुहुनेछ। बाइबलले यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ।” (हितोपदेश १२:२५) बरु, हाम्रा चिन्ताहरू उहाँलाई पोख्न परमेश्वर आमन्त्रित गर्नुहुन्छ। उहाँले हाम्रो ख्याल राख्नुहुन्छ र समस्यालाई सर्वोत्तम ढंगमा सामना गर्न उहाँले निर्देशन तथा बुद्धि दिनुहुन्छ भनी हामीले भरोसा गर्नु आवश्यक छ।—भजन ४१:३; हितोपदेश ३:५, ६; फिलिप्पी ४:६, ७; याकूब १:५.
हाम्रो सृष्टिकर्ता, यहोवा परमेश्वरले धार्मिक नयाँ संसारमा बस्न प्रबन्धहरू गरिदिनुभएकोले हामी उहाँप्रति कृतज्ञ हुनसक्छौं। मरिसकेकालाई समेत उहाँले बिउँताउनुहुनेछ अनि तिनीहरूले पनि नयाँ संसारमा आनन्द उठाउने मौका पाउनेछन्। त्यस समयमा “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें’ ” भनी बाइबलले हामीलाई आश्वासन दिन्छ।—यशैया ३३:२४.
त्यो समय नआएसम्म तपाईंले गम्भीर रोगहरूको समस्या भोग्नुपर्ला। तथापि, आफ्नो अवस्थाको सफलतापूर्वक सामना गर्न थुप्रै व्यवहारिक कुराहरू गर्न सकिन्छ। त्यसबारे हामी पछि आउने लेखमा छलफल गर्नेछौं।
[पृष्ठ २३-मा भएको चित्र]
तपाईं प्रश्न गर्नु होला, ‘परमेश्वरले मलाई नै यो सबै किन हुन दिनुभएको?’