हीरा किन असाध्यै महँगो?
स्पेनका ब्यूँझनुहोस्! संवाददाताद्वारा
कहिलेकाहीं सुन्दरता खोज्न सकिन्छ। र कोही बेला चाहिं यसलाई सृजनुपर्ने हुन्छ। तथापि, हीरा चाहिं खोज्नका साथै सृजना गर्नुपर्ने हुन्छ।
अपरिष्कृत हीरा प्रकृतिको सुन्दर सृजना हो भन्नुमा दुई मत हुनेछैन। पृथ्वीको भित्री सतहमा अधिक दबाब र उच्च तापक्रमको कारण सामान्य कार्बन बिस्तारै कडा र पारदर्शक स्फटिक बन्छ। तर यी विरलै पाइने पत्थरहरू खोज्न गाह्रो छ। यी बहुमूल्य पत्थरहरू खोज्न अस्ट्रेलिया, साइबेरिया र दक्षिण अफ्रिकामा ठूल-ठूला खाडलहरू खनेका छन्। मुश्किलले छ ग्राम ओजन भएको केही हीरा निकाल्न सय टन माटो खनेर छान्नुपर्ने हुन्छ!
हीरा भेट्टाएपछि दक्ष शिल्पकारले टलटल टल्कने औंठी वा हार बनाउनअघि हीराका टुक्राहरूमा लुकेका सुन्दरता निखार्न निकै पसिना चुहाउनुपर्ने हुन्छ।
निस्सन्देह, यत्रो प्रयास र सीपको दाम सस्तो हुन सक्दैन। तर अधिकांश स्त्री तथा पुरुषहरू विशेषगरि लोग्ने वा स्वास्नी वा मंगेतरहरूलाई चिरकालीन स्नेहको रूपमा उपहार दिंदा हीरा त्यसरी महँगो हुनु ठीकै जस्तो लाग्छ। हीरामा लुकेको सुन्दरता र त्यसले दिने प्रेमको आभासले यसलाई पृथ्वीको सबैभन्दा मूल्यवान् स्फटिक बनाएको छ।a
अन्टवर्पको भ्रमण
बेल्जियमको अन्टवर्प शहरको मुख्य आयस्रोत नै हीरा हो। त्यहाँको भ्रमण गर्दा यी अनुपम पत्थरप्रति मेरो चासो जाग्यो। सोचें, ‘केले गर्दा हीरा यति आकर्षक भएको? हीरा कसरी बनाइन्छ?’
ती जिज्ञासाहरू मैले डर्क लुट्स समक्ष राखें। तिनको परिवारले तीन पुस्तादेखि हीराको व्यापार गर्दै आएको छ। तिनले भने, “हामी अन्टवर्पलाई हीराको हितैषी मित्र भन्छौं किनभने यो शहर संसारको मुख्य हीरा केन्द्रहरूमध्ये एक हो। त्यसैले हीरा बनाउने रहस्य पत्ता लगाउन तपाईं सही ठाउँमा आउनुभएको छ।”
प्रथमतः तिनले मलाई भर्खरै किनेर ल्याएको एक मुठी अपरिष्कृत हीरा देखाए। त्यसको मूल्य ३,५०,००० अमेरिकी डलर पर्ने भए तापनि झट्टै हेर्दा आकर्षक देखिंदैन थिए। ती एक मुठी काँचका टुक्राजस्तो मात्र देखिन्थे। तर राम्ररी नियाल्दा त्यसको चमकले लुकेको सुन्दरता प्रकट गऱ्यो, जुन सुन्दरतालाई हीरा काटकुट गर्ने व्यक्तिले निकाल्नसक्छ। अब भने, त्यसको आकर्षणबारे बुझ्न थालें।
डर्कले यसो भन्दै मानि लिए, “अपरिष्कृत ठूलो हीरा देख्नासाथ म मोहित हुन्छु। त्यो पत्थर किनिहाल्न मन लाग्छ। त्यसले मलाई येशूको एउटा उखानको स्मरण गराउँछ जसमा एउटा मानिसले अद्भुत मोती भेट्टाउँछ र त्यो मोती अति मूल्यवान् भएकोले त्यसलाई किन्न तिनले सबै थोक बिक्री गर्छ।” तिनले मुस्कुराउँदै भने, “म त्यो हदसम्म त पुगेको छैन। तर कुनै कुनै उत्कृष्ट पत्थरहरूले हामी जस्तो हीरा बेचबिखन गरेर जीवन बिताउनेहरूलाई समेत मन्त्रमुग्ध पारेका छन् भनेर म स्वीकार्छु। हो, अपरिष्कृत पत्थरबाट रत्न बनाउँदा त्यो आकर्षक हुनेभए तापनि यसमा त्रुटि नहुने चाहिं होइन।”
अपरिष्कृत हीरालाई परिष्कृत पार्ने
मैले सुनेको थिएँ कि लापरवाहीसित हीरा काटकुट गर्नेहरूले त्यो अमूल्य पत्थरलाई फुटाउनसक्छन्। त्यस्तो बारम्बार हुने हो कि भनेर सोचें। डर्कले भने, “त्यस्तो प्रायः भइरहन्छ। अनि पत्थर टुक्रा पार्दा मात्र त्यस्तो हुने होइन। हीरामा पालिस लगाउनेहरूले समेत ग्लेज वा चर्किएको भित्री भागमा धक्का दिनसक्छन् र पत्थर बिग्रन्छ। पत्थरको भित्री भागमा कहाँ चर्किएको छ पत्ता लगाउन चम्किलो प्रकाशको सहायताद्वारा हामी सधैं अपरिष्कृत पत्थर होशियारीसाथ जाँच्छौं। तर दुःखको कुरा, यस्ता प्रणालीहरू भरपर्दा छैनन्।
“पत्थर बिग्रँदा नोक्सान हुन्छ, तैपनि कठिनाइ त्यतिमै टर्ने होइन। कहिलेकाहीं पत्थर काटेर त्यसका मोहडाहरूमा पालिस गरिसकेपछि त्यसको चमक कम हुन्छ र मूल्य घट्छ। अनि तपाईंले याद राख्नुपर्ने कुरा के हो भने, सर्वोत्कृष्ट रत्न बनाउन अपरिष्कृत पत्थरको ६० प्रतिशत वा त्योभन्दा बढी काटेर फ्याँक्नुपर्छ।”
हीरा बनाउँदा के के गरिन्छ ती सबै कुरा थाह नपाएसम्म निकै पैसा त्यसै खेर जान्छ जस्तो मलाई लाग्थ्यो। डर्कले मलाई भर्खरै काटेर पालिस गरेको मुटु आकारको एउटा ठूलो हीरा देखाए। तिनले मलाई सोधे, “यो कसरी चम्कन्छ के तपाईं देख्नुहुन्छ?” “पत्थरभित्र भएको त्यो ‘चमक’ वास्तवमा परावर्तित प्रकाश हो।
“शिल्पकारले सबै मोहडालाई यस्तो तरिकाले काट्नुपर्छ ताकि प्रकाश पत्थरभित्र रहोस् र हेर्ने व्यक्तितिर परावर्तन होस्। परम्परागत आकारहरू, जस्तै गोलाकार आकारका हीरामा पहिलेदेखि चल्दै आएका यस्तो परावर्तन खुबै राम्रोसित हुन्छ। तर मुटु आकारजस्ता बुट्टेदार बनावटमा समेत अधिकभन्दा अधिक प्रकाश परावर्तन गर्न सम्भव हुन्छ। त्यो चाहिं हीरा बनाउने व्यक्तिको प्रमुख कला हो। वास्तवमा, एक जना सुविख्यात हीरा उत्पादकले ‘बनावटमा जादू छ’ भन्ने आदर्श वाक्य चलाएको छ।”
मैले डर्कलाई सोधें, “हीरालाई कुन आकारमा ढाल्ने भनेर कसरी निर्णय गर्नुहुन्छ?” तिनले भने, “किनेर ल्याएको अपरिष्कृत पत्थरलाई पहिला हामी असाध्यै होशियारीपूर्वक जाँच्छौं। भन्नुको मतलब, पक्का गर्न चाहन्छु। मलाई अझै याद छ, हामीले एकपल्ट एउटा ठूलो पत्थरलाई कसरी काट्ने भनेर निर्णय गर्नुअघि एक महिनासम्म जाँचेका थियौं। कहिलेकाहीं अपरिष्कृत पत्थर आफैले कुनै एउटा आकार लिएको हुनाले सजिलो हुन्छ। पत्थरलाई कुन आकारमा ढाल्दा कम नोक्सानी हुन्छ भनेर सधैं त्यसको ख्याल राखिन्छ। तर हामीले हीराको सबै मोहडा काट्नुको अर्थ त्यसको ओजन घटाउनु हो। खाँटी हीराको त ५० भन्दा बढी मोहडा हुन्छन्।”
त्यसपछि डर्कले मलाई एउटा पत्थर सावधानीपूर्वक हेर्न लगाए। तिनले मलाई बाँडाले चलाउने म्याग्निफाइङ ग्लास दिंदै “के तपाईंले पत्थरको दाहिनेतिर बिग्रेको भाग देख्नुहुँदैछ?” भनेर सोधे। रत्नको भित्रपट्टि एक कुनामा चर्केको ऐनामा जस्तै केही धर्काहरू देखें। “त्यस्तो खराबीले हीराको मोलमा नराम्रो असर पार्छ। निस्सन्देह, हामी त्यसलाई काटेर निकाल्नसक्छौं तर त्यसको अर्थ धेरै पत्थर खेर फाल्नु हो। नांगो आँखाले चर्किएको भाग देखिंदैन भने त्यो पत्थर हामी सस्तो दाममा भए पनि बेच्नसक्छौं।”
यस्ता साना पत्थरहरू किन यति मूल्यवान् भएको भनेर थाह पाउन म इच्छुक थिएँ। स्पष्ट छ, त्यसमा थुप्रै तत्त्वहरू समावेश छन्।
डर्कले भने, “ ‘हीरा सधैंभरिको लागि’ भन्ने पुरानो भनाइ विज्ञापन भए तापनि वास्तवमा साँचो हो। हीरा खिएर जाँदैन र त्यसको चमक पनि हराउँदैन। ती पहिले जति दुर्लभ नभए तापनि अझै प्रशस्त चाहिं पाइँदैन। अनि ती सुन्दर हुन्छन् भन्नुमा सन्देह छैन! तर हीराको मूल्य निर्धारण गर्ने सबैभन्दा महत्त्वपूर्ण तत्त्व सम्भवतः यसको विश्वव्यापी माग हो। यो मुख्यतः विज्ञापनमा भर पर्छ।
डर्क यसरी सोचमग्न भए, “किन स्त्रीजाति हीराको औंठी भनेपछि हुरुक्क हुन्छन्? सम्भवतः तिनी हीरामा प्रेम र रोमान्सको प्रतिबिम्ब देख्छिन्। हीरा तिनको लागि सधैं जोगाएर राख्नुपर्ने, प्रेम स्मरण गराउने चीज हो जुन प्रेम हीरा जत्तिकै दीर्घकालीन हुनेछ। यस कुरालाई कति जनाले धारणा वा गोप्य कुरा भन्छन् र खुबै दक्षता अपनाएर यस धारणाको विकास गरिएको छ। यस धारणाको विज्ञापन गर्न सन् १९९५ मा लगभग १८,००,००,००० अमेरिकी डलर खर्च गरियो। यस धारणाले विश्वभरि मानिसहरूलाई हीरा किन्न उत्प्रेरित गराउँछ।”
हीराको मूल्य
मैले भनें, “मेरो विचारमा परिष्कृत रत्नको मूल्य त आकारमा निर्भर हुन्छ होला नि, होइन?” डर्कले जवाफ दिए “तपाईंले भन्नुभएको जस्तो कहाँ हुन्छ र? हीराको मूल्य चार तत्त्वमा निर्भर हुन्छ भनेर हीरा व्यापारीहरू बताउँछन्। ती हुन्: कटाइ, ओजन, रंग र स्वच्छता। ती तत्त्वले पत्थरको सुन्दरता र त्यसपछि मूल्यमा प्रभाव पार्छ।
“आउनुहोस्, प्रथमतः कटाइबारे छलफल गरौं। ढंग पुऱ्याएर काट्नु एउटा कला अर्थात् लघु शिल्पकलाको भाग हो भनेर भन्न सक्नुहुन्छ। तपाईं हेरेर छक्क परिरहनुभएको मुटु आकारको हीरालाई राम्ररी हेर्नुहोस्। त्यो आकार बनाउनु सजिलो कुरो होइन अनि त्यस अपरिष्कृत पत्थरलाई आकारमा ढाल्न धेरै पत्थर खेर फाल्नुपर्ने हुन्छ। रत्नलाई अझ सुन्दर बनाउन कसरी सबै मोहडालाई एकरूपता दिइएको छ याद गर्नुहोस् त। हामी भन्नसक्छौं, यो हीरा राम्ररी काटकुट गरिएको छ।
“स्पष्टतया, यसको आकार ठूलो अर्थात् ८ क्यारेट भएकोले सर्वप्रथम तपाईं त्यसैले गर्दा प्रभावित हुनुभयो होला। एक क्यारेट बराबर ०.२ ग्राम हुन्छ। त्यसरी हामी पत्थर तौलेर क्यारेट मूल्य निर्धारण गर्छौं। यसो हेर्दा त ओजन बढी भएमा मूल्य पनि बढी हुन्छ जस्तो लाग्छ। तर रंग र स्वच्छतामा यसको मूल्य पनि भर पर्छ।
“खानीबाट निकालिएको हीराको आकार तथा रंग भिन्नाभिन्नै हुन्छ। त्यो कुरा त तपाईंले एक मुठी अपरिष्कृत हीराबाट देखिहाल्नुभयो। प्रथमतः हामी हीरालाई यसको रंगअनुसार छुट्याउँछौं। सेतो रंगको हीराको मूल्य बढी हुन्छ। यद्यपि, हामीलाई गुलाबी, नीलो वा रातो जस्ता मनपर्ने रंगका केही पत्थरहरू पनि छन् र यी विरलै पाइने हुनाले सेतो पत्थरहरूभन्दा यसको मूल्य बढी हुन्छ।
“अन्तमा हामीले पत्थरको स्वच्छता हेरेर स्तर छुट्याउनुपर्छ। पत्थरलाई निष्खोट भनेर वर्गीकरण गर्नुको अर्थ तपाईंले म्याग्निफाइङ ग्लासले हेर्दा समेत त्यसमा कुनै त्रुटि नभेटाउनु हो। यसप्रकार, हीराको कटाइ, स्वच्छता र रंग यसको ओजन जत्तिकै महत्त्वपूर्ण हुनसक्छ। तपाईंलाई एउटा उदाहरण दिऊँ है त। सन् १९९५ मा अहिलेसम्मको सबैभन्दा ठूलो हीरा (५४६.६७ क्यारेट) प्रदर्शनमा राखिएको थियो। तर यसको आकार गल्फ बल जत्रो भए तापनि यो स्वच्छतामा कमसल र रंग पहेंलो पहेंलो खैरो भएकोले संसारको सबैभन्दा बहुमूल्य हीरा भने हुन सकेन।”
मैले अन्टवर्प छाड्नअघि यस हीरा उद्योगमा ५० वर्षदेखि लागिरहेका हान्स भीन्ससित कुराकानी गरें। केले गर्दा हीरा यति विशिष्ट भएको भनेर म अन्तिम प्रश्न सोध्न चाहन्थें।
तिनले जवाफ दिए, “साना हीराहरू मेशिनद्वारा पनि परिष्कृत गर्नसक्ने भएकोले ती मलाई आकर्षक लाग्दैन। तर ठूल-ठूला हीराहरू मलाई मन पर्छ। हीरा बेग्लाबेग्लै हुन्छ र यी करोडौं वर्षदेखि ज्वालामुखीको दबाबमा परेर कार्बनबाट बनिएको अनुपम सृजना हो। हीरा जाँचेर हेर्नुभयो भने, तपाईंले त्यहाँ रूखको मुढामा भएको जस्तै वृद्धि रेखाहरू देख्न सक्नुहुन्छ। अनुभवी व्यापारीले त त्यो कुन खानीबाट निकालिएको हो भनेर समेत बताउनसक्छन्।
“शिल्पकारले संगमरमरको टुक्रालाई जाँचेझैं हीरा उत्पादकले हीरा जाँच्छ। आफूले सृजनसक्ने कुरा तिनले कल्पना गरिसकेको हुन्छ। त्यो कसरी भने—तिनी हीरा काटिरहेको, पालिस लगाइरहेको र भव्य रत्न बनिरहेको कल्पना गर्छन्। हीराबाट अन्तमा औंठी वा हार बनाउँदा त्यसको मालिक त्यसरी नै खुशी हुँदो हो भनेर सोच्न मलाई मन पर्छ।”
यी सबै कुरा विचार गर्दा हीराले आफ्नो मालिकलाई आनन्द दिने हुनाले यसको सृजना गर्नु उचित छ।
[फुटनोट]
a हीरा महँगो हुनुको एउटा प्रमुख कारण त यसलाई एकाधिकार अर्थात् केन्द्रीय बेचबिखन संगठनले नियन्त्रण गर्ने भएकोले हो।
[पृष्ठ २३-मा भएको चित्रहरू]
आठ क्यारेट ओजन भएको मुटु आकारको हीरा (काटकुट पारेपछिको ओजन)
नासपाती आकारको कटाइ
“कार्डिनलको टोप” आकारको कटाइ
नकाटिएका पत्थरहरूको ओजन निर्धारण गर्दै
रंगअनुसार अपरिष्कृत हीराहरू छुट्याउँदै
अझ पालिस गर्नुपर्छ कि भनी निर्णय गर्न मोहडाहरू जाँच्दै