प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ८/८ पृ. ५-८
  • इन्टरनेटका सेवा तथा सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इन्टरनेटका सेवा तथा सामग्री
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • न्युजग्रुप
  • फाइल साटासाट गर्ने अनि कुनै एक विषयमा अनुसन्धान गर्ने
  • वर्ल्ड वाइड वेब
  • इन्टरनेटमा जानकारी खोज्ने
  • “च्याट” भनेको के हो?
  • इन्टरनेटको खर्च कसले बेहोर्छ?
  • इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?
    ब्यूँझनुहोस्‌!—२०००
  • इन्टरनेट सावधान हुनु किन आवश्‍यक?
    ब्यूँझनुहोस्‌!—१९९७
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
  • इन्टरनेट के हो?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ८/८ पृ. ५-८

इन्टरनेटका सेवा तथा सामग्री

इन्टरनेटले पुऱ्‍याइरहेको एउटा साधारण सेवा सारा संसारभरि इलेक्ट्रोनिक पत्र आदानप्रदान गर्ने प्रणाली हो, जसलाई इ-मेल पनि भनिन्छ। वास्तवमा, इन्टरनेटबाट सबैभन्दा धेरै लिइने सेवा नै इ-मेल हो भने पनि हुन्छ। कतिपयले इ-मेलकै लागि मात्र इन्टरनेटको प्रयोग गरिरहेका हुन्छन्‌। इ-मेलले कसरी काम गर्छ? त्यसलाई बुझ्न पहिले साधारण हुलाक सेवा कसरी सञ्चालन हुन्छ, त्यो विचार गरौं।

कल्पना गर्नुहोस्‌, तपाईं क्यानाडामा हुनुहुन्छ र मस्कोमा बस्ने छोरीलाई पत्र पठाउन चाहनुहुन्छ। त्यसका लागि तपाईं खाममा ठीकसँग ठेगाना लेखी पत्र मञ्जूषामा खसाल्नुहुन्छ अनि त्यसपछि सुरु हुन्छ तपाईंले पठाउनुभएको पत्रको यात्रा। हुलाक कार्यालयमा पुगेपछि सम्भवतः त्यो पत्रलाई क्षेत्र वा देशभरि पत्र वितरण गर्ने हुलाक कार्यालयमा पठाइँदो हो। त्यसपछि त्यो पत्र पुग्छ तपाईंको छोरीको घर नजीकै पर्ने स्थानीय हुलाक कार्यालयमा।

इ-मेल पनि त्यसरी नै पठाइन्छ। कम्प्युटरमा चिठी तयार पारेपछि तपाईंले आफ्नो छोरीको इ-मेल ठेगाना उल्लेख गर्नुपर्छ। त्यसरी ठेगाना लेखेर चिठी पठाएपछि त्यो चिठी तपाईंको कम्प्युटर हुँदै आफ्नो गन्तव्य स्थानतर्फ जान्छ। कम्प्युटरबाट यसरी चिठी पठाउन प्रायः मोडेम भन्‍ने साधन प्रयोग गरिन्छ, जसले तपाईंको कम्प्युटरलाई टेलिफोन नेटवर्क, अनि टेलिफोन नेटवर्कबाट इन्टरनेटसित जोड्‌छ। यसरी इन्टरनेटसित सम्पर्क कायम भइसकेपछि स्थानीय वा राष्ट्रिय हुलाक कार्यालयको काम गर्ने विभिन्‍न कम्प्युटर हुँदै इलेक्ट्रोनिक पत्र पुग्नुपर्ने ठाउँमा जान्छ। यी स्थानीय वा राष्ट्रिय हुलाकको काम गर्ने कम्प्युटरमा तपाईंकी छोरीको कम्प्युटरसम्म तपाईंको चिठी पुऱ्‍याउने पर्याप्त जानकारीहरू हुन्छन्‌।

इ-मेललाई साधारण पत्रजस्तो आफ्नो गन्तव्य स्थानमा पुग्न धेरै समय लाग्दैन। नेटवर्कको कुनै अंश अति नै व्यस्त छ वा केही समयको लागि काम गरिरहेको छैन भने मात्र हो, अन्यथा एक मिनेट वा अझ त्योभन्दा कम समयमै अर्को महादेशमा पत्र पठाउन सकिन्छ। यसप्रकार, तपाईंको पत्र नेटवर्क हुँदै जान्छ र तपाईंकी छोरीले आफ्नो इलेक्ट्रोनिक पत्रपेटी खोलेर हेर्दा तपाईंको इ-मेल फेला पार्छ। इ-मेल मार्फत सजिलै पत्र पठाउन सकिने र त्यसमाथि पनि विश्‍वभरि छरिएका थुप्रै मानिसहरूलाई एउटै पत्र एकै चोटि पठाउन सकिने हुँदा इ-मेल निकै लोकप्रिय सञ्चार माध्यम भएको छ।

न्युजग्रुप

इन्टरेनटले दिने अर्को लोकप्रिय सेवा युजनेट हो। कुनै खास विषयमा सामूहिक छलफल गर्नु परेमा युजनेट मार्फत न्युजग्रुपसँग (सन्देश समूह) सम्पर्क राख्न सकिन्छ। केही न्युजग्रुपहरू विभिन्‍न उपभोग्य सामग्रीहरूको बेचबिखन गर्ने उद्देश्‍य लिएर गठन गरिएका हुन्छन्‌। इन्टरनेटमा हजारौं न्युजग्रुपहरू छन्‌ र एकपल्ट युजनेट प्रयोग गर्ने अनुमति पाएपछि ती न्युजग्रुपहरूको ग्राहक बनिरहनुपर्दैन।

न्युजग्रुपबारे अझ राम्ररी बुझ्न एकछिन कल्पना गर्नुहोस्‌, कुनै एक व्यक्‍ति हुलाक टिकट संकलन गर्ने न्युजग्रुपमा सामेल भएछन्‌। यो समूहको ग्राहक बनेपछि त्यस्तै शौक राख्ने अरू व्यक्‍तिहरूले पठाएका नयाँ सन्देशहरू भर्खरै सामेल हुने यो नयाँ व्यक्‍तिले पनि पाउँछ। यो व्यक्‍तिले न्युजग्रुपलाई कसले के पठायो त्यो मात्र होइन, कसले के जवाफ दियो त्यो पनि हेर्नसक्छ। उदाहरणका लागि, कसैले कुनै खास वर्गका हुलाक टिकटहरूबारे जानकारी मागे भने केही समयपश्‍चात्‌ संसारभरिबाट विभिन्‍न जवाफ आउनसक्छ। तर त्यो जवाफ प्रश्‍न सोध्नेले मात्र नभई त्यस न्युजग्रुपका सम्पूर्ण ग्राहकहरूले एकैचोटि पाउँछन्‌।

बुलेटिन बोर्ड सर्भिस (बि बि एस) योभन्दा अलिक फरक छ। बि बि एस झन्डै झन्डै युजनेटजस्तै भए तापनि बि बि एसमा चाहिं सम्पूर्ण फाइलहरू एउटै कम्प्युटरमा राखिएका हुन्छन्‌ र एउटै व्यक्‍ति वा समूहले त्यसको सञ्चालन गर्छ। न्युजग्रुपमा छलफल गरिने विषयहरू विभिन्‍न रुचि, दृष्टिकोणको हुनुका साथै प्रयोग गर्ने व्यक्‍तिहरूको नैतिक मान्यताहरू पनि एकै हुँदैन। त्यसकारण, न्युजग्रुप सेवा लिनेहरूले विवेक चलाउनु आवश्‍यक छ।

फाइल साटासाट गर्ने अनि कुनै एक विषयमा अनुसन्धान गर्ने

इन्टरनेटका प्रारम्भिक लक्ष्यहरूमध्ये एक, सारा संसारभरि जानकारी एक आपसमा बाँड्‌नु पनि थियो। अघिल्लो लेखमा उल्लिखित शिक्षकले इन्टरनेटमै खोजीनिती गर्दा तिनलाई पूर्व तयार पारिएका पाठ्य सामग्रीहरू दिन चाहने अर्को शिक्षक फेला पारे र तिनीहरू दुइबीच ३,२०० किलोमिटरको दूरी भए तापनि केही मिनेटभित्रै फाइलहरू साटासाट गर्नसके।

तर इन्टरनेटमा कुन जानकारी कहाँ प्राप्त गर्ने थाह भएन भने नि? त्यस्तो बेला टेलिफोन डाइरेक्टरीबाट फोन नम्बर पत्ता लगाएजस्तै सर्च साइटबाट आफूले चाहेको ठाउँ पत्ता लगाउन सकिन्छ। सर्च साइटमा सम्पर्क भएपछि विषयसित सम्बन्धित शब्द वा वाक्यांश टाइप गरेमा तीबारे कहाँ कहाँ जानकारी पाउन सकिन्छ सर्च साइटले देखाउँछ। प्रायः यस्ता साइटहरूको सुविधा लिए वापत शुल्क तिर्नुपर्दैन र एक दुइ सेकेन्डभित्रै चाहिएको जानकारी खोज्न सकिन्छ!

भू-उपग्रहद्वारा लिइएका मानचित्र तथा कम्प्युटरको प्रयोगबाट खेती गर्ने नयाँ तरिकाबारे सुनेपछि अघिल्लो लेखमा उल्लिखित किसानले त्यसबारे बुझ्ने निधो गरेका थिए। तिनले सर्च साइटमा त्यस्तो खेतीसँग सम्बन्धित वाक्यांश टाइप गरे र त्यस प्रविधिबारे विस्तृत जानकारी हासिल गर्नुका साथै उक्‍त प्रविधि अपनाउने किसानहरूको नाउँ हासिल गरे।

वर्ल्ड वाइड वेब

वर्ल्ड वाइड वेबको (वा वेब) नाउँले चिनिने इन्टरनेटको एउटा अंशले इन्टरनेटमा पाद टिप्पणीलाई नयाँ ढाँचामा प्रयोग गर्ने सुविधा प्रदान गर्छ। पत्रिकाका लेख वा किताबमा पादटिप्पणी हेर्ने संकेत दिंदा हामी पृष्ठको तल्लो भागमा हेर्छौं र त्यहाँ हामीलाई प्रायः अन्य पृष्ठ वा पुस्तकमा हेर्ने सुझाउ दिइएको हुन्छ। इन्टरनेटमा आफ्ना विषयवस्तु उपलब्ध गराउने व्यक्‍ति तथा संघ संस्थाहरूले पनि कुनै वाक्य, वाक्यांश वा चित्रमुनि धर्को तान्‍न वा त्यसलाई हाइलाइट गर्न मिल्ने प्रविधिको प्रयोग गरेर त्यसै गर्छन्‌।

त्यसरी हाइलाइट गरिएका शब्द वा चित्रहरूले पाठकलाई इन्टरनेटमा त्यससित सम्बन्धित अन्य सामग्री वा प्रायः अर्को लेख छ भन्‍ने संकेत दिन्छन्‌। त्यस्ता थप लेख अर्कै कम्प्युटर वा अर्कै देशमा भए तापनि पाठकले तुरुन्तै हासिल गर्नसक्छ। इन्टरनेट सेवा प्राप्त गर्नुहोस्‌! (अंग्रेजी) पुस्तकका ग्रन्थकार डेभिड पील भन्छन्‌ कि यस प्रविधिबाट तपाईंले “सान्दर्भिक लेखहरू मात्र नभई मूल लेख समेत हेर्न सक्नुहुन्छ।”

वेबमा फोटो, चित्र, कार्टुन चलचित्र, भिडियो र आवाजहरू संग्रह गर्नुका साथै निकाल्न पनि सकिन्छ। अघिल्लो लेखको पहिलो हरफमा उल्लिखित गृहिणी लोमाले ब्रह्‍माण्डबारे वर्तमान धारणाहरू के के छन्‌, छोटो रंगीन चलचित्र हेरेर थाह पाइन्‌। तिनले आफ्नै कम्प्युटरका स्पीकरहरूबाट त्यस चलचित्रमा दिइएको वर्णन सुनिन्‌।

इन्टरनेटमा जानकारी खोज्ने

विभिन्‍न देशहरूमा सञ्चय गरेर राखेका जानकारी एवं रंगीन चित्रहरू वेब ब्राउजरको प्रयोग गरेर तुरुन्तै हेर्न सकिन्छ। वेब ब्राउजरको प्रयोग गर्नु कतिपय तरिकाले साँच्चै यात्रा गर्नुजस्तै हो र त्यो पनि अति सजिलोसित। इन्टरनेट प्रयोग गर्ने कुनै पनि व्यक्‍तिले वेबमा प्रदर्शन गरिराखिएको मृत सागरका मुठाहरू हेर्न वा नाजी नरसंहार स्मृति संग्रहालयमा घुम्नसक्छ। एकपछि अर्को इन्टरनेट वेब साइटहरूमा यसरी जानकारी खोज्नुलाई अंग्रेजीमा प्रायः नेट सर्फिंग भनिन्छ।

व्यापारी तथा अन्य संगठनहरूले आफ्ना उत्पादन वा सेवाको विज्ञापन गर्नुका साथै अन्य प्रकारका जानकारीहरू दिन वेबलाई माध्यमको रूपमा चलाउन निकै चाख दिन थालेका छन्‌। यस्ता विज्ञापन वा जानकारी दिन वेब पेज तयार पारिन्छ, जसलाई हामी अर्को शब्दमा पसलको सो-केस भन्‍न पनि सक्छौं। व्यापारी वा संगठनले तयार पारेको त्यस्तो वेब पेजको ठेगाना प्रचारप्रसारमा आएपछि सम्भाव्य क्रेताहरूले ब्राउजर चलाएर “बजार डुल्न” वा जानकारी हासिल गर्नसक्छन्‌। तथापि, हर बजारमा हुने गरेजस्तै इन्टरनेटमा पाइने सबै उत्पादन, सेवा वा जानकारी फाइदाजनक हुँदैन।

लेनदेनको कारोबारलाई गोप्य अनि सुरक्षित राख्न प्राविधिज्ञहरू इन्टरनेटलाई सकेसम्म सुरक्षित बनाउने कोसिसमा छन्‌। (सुरक्षाबारे हामी पछि कुरा गर्नेछौं।) इन्टरनेटले गर्दा निकै व्यापारिक गतिविधि सुरु भएको हुँदा अर्को विश्‍वव्यापी इन्टरनेटको विकास गरिएको छ, जसलाई कसै कसैले दोस्रो इन्टरनेट पनि भन्छन्‌।

“च्याट” भनेको के हो?

इन्टरनेटले दिने अर्को लोकप्रिय सेवा इन्टरनेट रिले च्याट वा च्याट हो। च्याटको माध्यमबाट समूहका सदस्यहरूले कल्पित वा उपनाउँ प्रयोग गरेर एकअर्कालाई सन्देशहरू पठाउनसक्छन्‌। यो सेवा विभिन्‍न उमेरका मानिसहरूले लिने गरेको भए तापनि विशेषगरि युवक युवतीहरूबीच लोकप्रिय छ। इन्टरनेटमा सम्पर्क कायम भएपछि च्याटको माध्यमद्वारा सारा संसारका थुप्रै व्यक्‍तिहरूको सम्पर्कमा आउन सकिन्छ।

तथाकथित च्याट रूम (कोठा) वा च्याट च्यानलमा आपसी छलफल गर्न विज्ञान कथा, चलचित्र, खेलकुद वा रोमान्स जस्ता खास विषयहरू दिइएका हुन्छन्‌। च्याट रूममा सन्देशहरू पठाउँदा जे-जे अक्षर टाइप गर्दै गयो, त्यही त्यही अक्षर एकैचोटि च्याट रूमका सबै सदस्यहरूको कम्प्युटरमा देखापर्छ।

च्याट रूम धेरै अर्थमा मानिसहरूको पार्टीजस्तै हो, जहाँ एकै समयमा थुप्रै मानिसहरूसँग घुलमिल गर्न, कुरा गर्न सकिन्छ। फरक यति छ, सबैले मुख चलाएर होइन छोटो सन्देशहरू टाइप गरेर एकअर्कासँग कुरा गर्छन्‌। च्याट प्रायः २४ घण्टा खुला हुन्छ। निस्सन्देह, १ कोरिन्थी १५:३३ जस्ता संगतिबारे बाइबलले दिएका सिद्धान्तहरू जीवनका अन्य पक्षहरूमा लागू भएजस्तै च्याट समूहमा भाग लिंदा पनि लागू हुन्छ भनेर मसीहीहरूले बिर्सनु हुँदैन।a

इन्टरनेटको खर्च कसले बेहोर्छ?

शायद तपाईं सोचिरहनुभएको होला, ‘इन्टरनेटबाट यसरी देश विदेशका जानकारीहरू प्राप्त गर्न लाग्ने खर्च कसले बेहोर्छ?’ इन्टरनेट प्रयोग गर्ने सबै व्यक्‍तिहरूले आ-आफ्नो हिस्साको खर्च तिरेर इन्टरनेटको खर्च बेहोर्छन्‌ र यसरी खर्च बेहोर्नेहरूमा कम्पनी तथा व्यक्‍तिविशेष दुवै पर्छ। तथापि, इन्टरनेट प्रयोग गर्ने व्यक्‍तिले देश विदेशमा छरिएर रहेका थुप्रै साइटहरूमा पुगे वापत अन्तरराष्ट्रिय फोनको महसुल तिर्नुपर्दैन। प्रायजसो व्यक्‍तिहरूले स्थानीय कम्पनीहरूबाट इन्टरनेट सेवा प्राप्त गरिरहेका हुन्छन्‌। फलतः तिनीहरूले हरेक महिना एक निश्‍चित रकम बुझाए पुग्छ। अनि यसरी इन्टरनेट सेवा प्रदान गर्नेहरूले थप फोन महसुलबाट बच्न स्थानीय फोन नम्बर वितरण गरेका हुन्छन्‌। जस्तै, कतिपय ठाउँहरूमा इन्टरनेट सेवा लिए वापत महिनामा २० (डलर) अमेरिकी तिरे पुग्छ।

इन्टरनेटले के के गर्नसक्छ त्यो त तपाईंले अब देखिहाल्नुभयो होला। तर के तपाईं जानकारीको यस महा राजमार्गमा उत्रनु जरुरी छ?

[फुटनोट]

a च्याट रूममा भाग लिंदा सावधान हुनुपर्ने कारणहरूबारे पछि छलफल गरिनेछ।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

इन्टरनेट ठेगाना—ती के हुन्‌?

इन्टरनेट सेवा क-कसले लिइरहेको छ, सो इ-मेल ठेगानाबाट जान्‍न सकिन्छ। मानि लिनुहोस्‌, तपाईं drg@tekwriting.com इ-मेल ठेगाना भएको मित्रलाई इ-मेल पठाउन चाहनुहुन्छ।b यो ठेगानालाई हेरेर त्यस मित्रको परिचय वा लग इन नाउँ “drg” रहेछ भन्‍ने बुझिन्छ। लग इन नाउँ लेख्न प्रायजसो मानिसहरू आफ्नो नाउँका दुइ तीनवटा अक्षरहरू वा पूरा नाउँ चलाउँछन्‌। “@” पछिको वाक्यांश चाहिं तिनीहरूको हाकिम, कम्पनीको ठेगाना वा इ-मेल सेवा उपलब्ध गराउने स्थानीय कम्पनीको नाउँ हुनसक्छ। जस्तै माथि उल्लिखित इ-मेलमा दिइएको “tekwriting” इ-मेल सेवा उपलब्ध गराउने कम्पनीको नाउँ हो। इ-मेल ठेगानाका अन्तिम अंशहरूले चाहिं इ-मेल सेवा पुऱ्‍याउने कम्पनी कस्तो किसिमको कम्पनी हो सो बुझाउँछ। जस्तै “com” ले व्यापारिक संगठनलाई, “edu” ले शैक्षिक संगठनहरूलाई संकेत गर्छ। व्यापारिक उद्देश्‍य नराखी स्थापित भएका संगठनहरूले चाहिं “org” लेख्छन्‌। इ-मेल ठेगानामा हुनुपर्ने अर्को कुरा हो, इ-मेल प्रेषकको देश सूचित गर्ने संकेत। जस्तै lvg@spicyfoods.ar इ-मेल ठेगानाले ठेगानावालको लग इन नाउँ “lvg”, काम गर्ने ठाउँ “spicyfoods” र त्यो कम्पनी अर्जेन्टिनामा रहेछ भन्‍ने बुझाउँछ।

अर्को प्रकारको ठेगानाले चाहिं इन्टरनेटमा वेब लेखहरू फेला पार्न मदत गर्छ। उदाहरणका लागि मानि लिनुहोस्‌, उष्ण कटिबन्धीय सदाबहार जंगलहरूबारे http://www.ecosystems.com/research/forests/rf भन्‍ने इन्टरनेट ठेगानामा विभिन्‍न लेखहरू छन्‌। “http” (हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकोल) अक्षरले त्यस्ता जंगलबारे कुन माध्यम प्रयोग गरी वेब लेखहरू पठाइएको हो, सो बुझाउँछ। अनि “www.ecosystems.com” ले चाहिं वेब सर्भर वा कम्प्युटरको नाउँ बुझाउँछ। जस्तै, यो ठेगानाबाट हामीले मागेका जानकारी “ecosystems” भन्‍ने व्यापारिक संगठनसित रहेछ भन्‍ने थाह हुन्छ। वेब लेखको नाउँ चाहिं, ठेगानाको अन्तिम अंश जस्तै यस उदाहरणमा “/research/forests/rf” बाट बुझ्न सकिन्छ। वेब ठेगानाहरूलाई प्रायः युनिफर्म रिसोर्स लोकेटर्स वा छोटकरीमा युआरएल भनिन्छ।

[फुटनोट]

b यी काल्पनिक इन्टरनेट ठेगानाहरू हुन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने