किन यति धेरै घृणा?
जर्मनीका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“किन”—यो शब्द अति सानो छ, तर यसको जवाफ अत्यावश्यक छ। उदाहरणका लागि, मार्च १९९६ मा स्कटल्याण्डस्थित डनब्लेनको स्कूलबाहिर फूलको गुच्छा तथा खेलौना भालुसँग एउटा सानो कागजमा उक्त शब्द लेखिएको देख्दा मानिसहरूले त्यसको कारण बुझ्न चाहे। केही दिनअघि मात्र स्कूलको हाताभित्र पसेर एक व्यक्तिले १६ जना विद्यार्थी र तिनीहरूको शिक्षिकालाई गोली हानेको थियो। उसले अन्य थुप्रैलाई घाइते बनायो अनि स्वयंलाई पनि गोली हान्यो। स्पष्टतया, उसले आफैलाई, अरूलाई अथवा समाजलाई नै असाध्यै घृणा गर्थ्यो। ती मर्नेहरूका शोकसन्तप्त आमाबाबु र मित्रहरूका साथसाथै विश्वभरिका करोडौं मानिसहरू एउटै प्रश्न गर्छन्, ‘आखिर किन? किन निर्दोष बच्चाहरूको यसरी हत्या गरियो?’
संसारभरि भइरहेको अव्यवहारिक र अचाक्ली घृणा त तपाईंले पनि देखिरहनुभएकै होला। वास्तवमा, तपाईं स्वयं कुनै न कुनै किसिमले घृणाको शिकार हुनुभएको होला। निश्चय नै तपाईंले पनि धेरै पल्ट ‘किन’ भनेर प्रश्न गर्नुभएको होला।
सकारात्मक र नकारात्मक घृणा
“घृणा” शब्दलाई “घोर वैरभाव र अरुचि” भनी परिभाषित गरिएको छ। निस्सन्देह, हानिकारक कुराहरू वा अरूसितको सम्बन्धमा आघात पुऱ्याउने कुराहरूप्रति “घोर वैरभाव र अरुचि” राख्नु फाइदाजनक हो। प्रत्येकसँग यस्तो किसिमको घृणा हुने हो भने, यो संसार साँच्चै बस्न लायकको ठाउँ हुनेथियो। तर दुःखको कुरा, असिद्ध मानिसहरूले गलत कारणको लागि गलत कुराहरूलाई घृणा गर्छन्।
पूर्वाग्रह, अज्ञानता, तथा गलत जानकारीले गर्दा विनाशकारी घृणाले जन्म लिन्छ र एउटा परिभाषाअनुसार त्यो “डर, रीस, वा घात गर्ने भावना”-द्वारा प्रेरित भएको हुन्छ। यस्तो घृणाको कुनै ठोस आधारै हुँदैन। फलतः यसको परिणाम खराब हुन्छ। अनि घरीघरी ‘किन?’ भन्दै प्रश्न तेर्साउन घचघच्याउँछ।
हामी सबैले त्यस्ता व्यक्तिहरू भेटेका छौं जसका गुण वा आनीबानीहरूदेखि हामी बेलाबखत चिढिन सक्छौं। हामीलाई तिनीहरूसँग हेलमेल गर्न गाह्रो लाग्छ। तर चिढिनु र मानिसहरूलाई शारीरिक रूपमा हानि गर्न चाहनुमा धेरै अन्तर छ। त्यसकारण, सबै वर्गका मानिसहरू तथा अपरिचित मानिसहरूलाई समेत व्यक्तिविशेषले घृणा गर्नुको कारण बुझ्न गाह्रो छ। आफ्नो र अर्को व्यक्तिको राजनैतिक विचारधारा बेग्लाबेग्लै हुनसक्छ साथै धर्म वा जाति पनि भिन्न हुनसक्छ। तर के यसो भन्दैमा तिनीहरूलाई घृणा गर्न मिल्छ र?
तथापि, यही कारणहरूले पनि घृणा गर्ने गरिन्छ! सन् १९९४ मा अफ्रिकाको रूवाण्डामा घृणाले गर्दा हुटु र टुट्सीहरूबीच काटमार भयो। यसबारे एक संवाददाताले सोधिन्: “यो सानो देशमा कसरी यत्ति बिघ्न घृणा फैलियो?” मध्यपूर्वी देशहरूमा अरब र इस्राएली आतंकवादीहरूले हमला गर्नुको जड घृणा नै हो। युरोपमा घृणाकै कटु परिणामस्वरूप भूतपूर्व युगोस्लाभिया विघटित हुनुपऱ्यो। एउटा समाचारपत्रको रिपोर्टअनुसार, संयुक्त राज्यमा मात्र “घृणालाई बढावा दिने करिब २५० समूहहरूले जातिभेदवादी भावनाको बीउ छरिरहेछन्।” किन यत्ति बिघ्न घृणा? आखिर किन?
घृणाले यत्ति गहिरो जरा गाडेको छ कि यसले उब्जाएका विवादहरू हल भइसकेपछि पनि घृणा चाहिं यथावतै रहन्छ। युद्धग्रस्त अनि आतंकवादी तुफान मच्चिएको देशहरूमा शान्ति कायम गर्न तथा युद्धविराम गर्न नसक्नुमा अरू के कारण होला र? बोस्निया र हर्जगोभिना-क्रोट फेडरेशनअन्तर्गत, सराइभो शहर पुनः संयुक्त गरिनेछ भनेर १९९५ को अन्ततिर पेरिसमा शान्ति सम्झौता हस्ताक्षर गरिसकेपछि पनि दुःखद घटनाहरू हुनुको अर्को कुनै कारण छ? त्यहाँ बसोबास गर्ने सर्बियालीहरू प्रतिशोधको त्रासले शहर र उपनगरहरू छोडेर भाग्न थाले। तिनीहरूले त्यागेका घरहरू लुटेको र जलाइएको कुरा बताउँदै टाइम-ले यसो भन्यो: “सराइभोलाई त एकीकरण गरियो, तर त्यहाँका मानिसहरूबीच भने अझै वैरभाव छँदैछ।”
एकअर्कालाई घृणा गर्ने मानिसहरूमाझ शान्ति छ भनी कसैले भन्छ भने त्यो भ्रम मात्र हो, मानौं जाली नोटझैं। त्यस्तो शान्तिको कुनै खास मूल्य नै नहुने हुँदा त्यो सानोतिनो दबाबमै भताभुंग हुनसक्छ। यस संसारमा घृणा फालाफाल छ र प्रेमको चाहिं हाहाकार। किन?
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
पूर्वाग्रह, अज्ञानता, तथा गलत जानकारीले गर्दा विनाशकारी घृणाले जन्म लिन्छ