ध्वनि प्रदूषण—यसबारे तपाईं के गर्न सक्नुहुन्छ
दिनभरिको थकाइपछि राति तपाईं मस्त निदाउनुहुन्छ। तर अचानक छिमेकीको कुकुर भुकेकोले तपाईं बिउँझनुहुन्छ। कुकुरको भुकाइले गर्दा दिक्क त लाग्छ तर केहीबेरपछि कुकुर चुपो लागिहाल्ला कि भन्ने आशामा तपाईं कहिले दायाँ त कहिले बायाँ कोल्टो पर्नुहुन्छ। तर कुकुरहरू भुकेको भुकै छन्। निद्रा खलबलिएको अनि सुत्न नसकेकोले तपाईंलाई दिक्क लागेको छ, तपाईं चिढिनुहुन्छ। अनि कुकुरले यति जोरले भुक्दा पनि छिमेकीहरू कसरी सुत्न सकेका होलान् भनेर तपाईं ताज्जुब मान्नुहुन्छ होला।
आवाज सहने हद मानिसअनुसार असाध्यै फरक फरक हुन्छ। हवाईजहाजसित कुनै सरोकार नभएका कामदारहरूको तुलनामा धावनमार्ग नजिकै बस्ने विमानस्थलकै कामदारहरूलाई हवाईजहाजको आवाजले त्यति बाधा पुग्दैन। गृहिणीलाई मिक्सी ग्राइन्डरको आवाज केही पनि लाग्दैन तर पल्लो कोठामा किताब पढ्न वा टिभी हेर्न बस्नेलाई भने यो आवाज खपि नसक्नुहुन्छ।
ध्वनि प्रदूषण भनेको के हो?
ध्वनि प्रदूषणको परिभाषा देश देशअनुसार फरक फरक छ। मेक्सिकोमा “मानिसलाई दिक्क पार्ने वा हानि पुऱ्याउने जुनसुकै नमीठो आवाज” ध्वनि प्रदूषक हो। न्यु जील्याण्डमा “कुनै पनि व्यक्तिको शान्ति, आराम र सुविस्तामा बिना कारण खलल पुऱ्याउने जस्तोसुकै आवाजलाई” ध्वनि प्रदूषक मानिन्छ।
टेलिफोनका आविष्कारक एलेक्सजेन्डर ग्राहाम बेल र जर्मन भौतिकशास्त्री हिन्रिख हर्ज, यी दुई सुप्रसिद्ध वैज्ञानिकहरू ध्वनिको मात्रा नाप्ने कामसित सम्बन्धित छन्। बेल अर्थात् डेसिबलले (बेलको दशौं भाग) मुख्यतया आवाजको चर्कोपन नाप्छ भने हर्जले आवाजको तिखोपन उतारचढाउ अथवा फ्रिक्वेन्सी नाप्छ। आवाजको मात्रा अक्सर डेसिबलमा नापिएको उल्लेख गरिन्छ।a
तर ध्वनिले कति बिघ्न हैरान पार्छ भनेर निधो गर्ने को हो? तपाईं स्वयं! “ध्वनिको मात्रा यति हुँदा त्यसले कान खान्छ भनेर पत्ता लगाउने सबैभन्दा उत्तम साधन हाम्रो कान हो” भनी लण्डनको दी इण्डिपेन्डेन्ट उल्लेख गर्छ।
ध्वनि प्रदूषणको प्रभाव
ध्वनिको मात्रा पत्ता लगाउने सबैभन्दा “उत्तम साधन” हाम्रो कान भएकोले ध्वनिको कारण दुःख पाउने अंग पनि यही नै भएको छ। भित्री कानको संवेदनशील स्नायु कोषहरूमा क्षति पुग्दा सधैंको लागि श्रवणशक्ति गुम्नसक्छ। हो, मानिसको श्रवण क्षमता फरक फरक हुन्छ। तर निरन्तर ८० वा ९० डेसिबलभन्दा चर्को आवाज सुनेको खण्डमा बिस्तारै बिस्तारै श्रवणशक्ति कम हुँदै जान्छ। अतः चर्को आवाज आइरहने ठाउँमा कम समय बिताएमा तपाईं कानलाई क्षति पुग्नदेखि बचाउन सक्नुहुन्छ।
न्यु साइन्टिस्ट पत्रिकाअनुसार फ्रान्समा बिक्री हुने धेरैजसो वकम्यानले अधिकतम ११३ डेसिबल ध्वनि फ्याँक्छ। त्यहाँ गरिएका अध्ययनहरूमध्ये एउटाको उल्लेख गर्दै उक्त पत्रिकाले यसो भन्यो, “सिडीम्यानमा एक घण्टा जति रक संगीत घन्काउँदा त्यसबाट निस्कने आवाज प्रायः १०० डेसिबलभन्दा धेरै हुने र कहिलेकाहीं लगभग १२७ डेसिबलसम्म पुग्ने गरेको पाइयो।” योभन्दा पनि सांगीतिक जलसाको आवाज झन् हानिकारक हुन्छ। तहतह पारेर राखिएका लाउडस्पिकरहरू नजिकै मानिसहरू झन्डै झन्डै अचेत अवस्थामा पुगेको एक अनुसन्धानकर्ताले भेट्टाए। तिनी बताउँछन्, “मेरो दृष्टि धमिलिन थाल्यो, अंगप्रत्यंग बासको धुनसँगसँगै थर्कन थाल्यो र त्यो आवाजले मेरो कान दुख्न थाल्यो।”
ध्वनिले तपाईंलाई कस्तो असर गर्नसक्छ? एक विशेषज्ञ यसो भन्छन्: “मधुरो होस् वा चर्को, निरन्तर घन्किरहेको छ भने त्यसले तनाउग्रस्त, थकित र चिढिने स्वभावको बनाउनसक्छ।” जर्मनीस्थित गीसन विश्वविद्यालयका प्राध्यापक जेराल्ड फ्लाइशर यस्तो टिप्पणी गर्छन्, “ध्वनिले मानिसको आनन्द हर्ने मात्र होइन, शारीरिक तथा भावनात्मक तवरमा पनि थकित तुल्याउँछ।” तनाउग्रस्त अवस्थामा चर्को आवाज पनि सुन्नुपऱ्यो भने उदासी छाउँछ र रोगहरू निम्त्याउँछ।
लामो समयसम्म चर्को आवाज सुन्नुपर्दा त्यसले तपाईंको व्यक्तित्वमा पनि असर गर्छ। बेलाइतको सरकारी अनुसन्धानकर्ताहरूले ध्वनि प्रदूषण फैलाउनेहरूप्रति कस्तो भावना छ भनेर पीडित व्यक्तिहरूलाई प्रश्न गर्दा तिनीहरूले ती प्रदूषकहरूप्रति घृणा जागेको, बदला लिन र मार्नसमेत मन लागेको विचार व्यक्त गरे। अर्कोतिर, बारम्बार उजुरी परेको वा गरिएकोले प्रदूषकहरू पनि प्रायः निहुँ खोजाहा भएका छन्। “ध्वनिले मानवतालाई कम गराउँछ र रिस तथा वैरभाव बढाउँछ” भन्ने दाबी एक जना ध्वनि प्रदूषण विरोधीले गरेका छन्।
ध्वनि प्रदूषणद्वारा पीडित व्यक्तिहरूले खलबली सहनसक्ने क्षमता बिस्तारै बिस्तारै घट्दै गएको पाएका छन्। तिनीहरूको विचार, चर्को स्वरमा संगीत बजाउने छिमेकी भएकी यो आइमाईसित मिल्छ: “आफूलाई मन नपरेको आवाज सुन्न बाध्य हुँदा त्यसले शरीरमा हानि पुऱ्याउँछ। . . . त्यो आवाज बन्द हुँदा पनि अब फेरि कतिखेर सुन्नुपर्ने होला भन्ने तनाउ भइरहन्छ।”
यसको अर्थ, के ध्वनि प्रदूषणको कुनै समाधान छैन?
तपाईं के गर्न सक्नुहुन्छ
ध्वनि प्रदूषणले जताततै पखेटा फिंजाएको हुनाले आफ्नो कारण अरू हैरान भइरहेका छन् भनेर कतिपय मानिसहरूलाई थाहै हुँदैन। थाह भएको भए कसै कसैले पक्कै पनि अरूलाई हैरान पार्ने आफ्नो क्रियाकलाप बन्द गर्थे। त्यसैकारण, होहल्ला गर्ने छिमेकीसित मित्रैलो हुँदै कुरा गर्दा समस्या सुल्झनसक्छ। होहल्ला गऱ्यो भनी छिमेकीले उजुर गर्दा एक जना मानिस रिसाए। तिनले भने: “मैले गर्दा तिनीहरूलाई अप्ठ्यारो परेको भए मलाई नै बताएको भए त भइहाल्थ्यो नि। म त्यो सहर्ष स्वीकार्थें।” स-साना केटाकेटीहरूलाई खाजा खान बोलाउने एउटी आमा होहल्लाको कारण छानबिन गर्न सरकारी कर्मचारी आउँदा छक्क परिन्। तिनी भन्छिन्, “उजुर गर्नेहरूले ढोका ढकढकाएर तपाईंले गर्दा हामीलाई असुविधा पऱ्यो भनेर बताएको भए कति बेस हुन्थ्यो।” अतः घरेलु होहल्लाको उजुर गराउने ८० प्रतिशत व्यक्तिहरूले आफ्नो छिमेकीलाई हल्ला कम गरिदिन आग्रह नै नगरेको भेट्टाउँदा बेलाइतका वातावरणसम्बन्धी स्वास्थ्य अफिसर छक्क पर्नु, अचम्म मान्नुपर्ने कुरा रहेन।
होहल्ला गर्ने छिमेकीसित कुरा गर्न हिचकिचाउनुमा आपसी आदरको कमी देखिन्छ। ध्वनि प्रदूषककहाँ कुरा गर्न जाँदा, प्रदूषकले ‘म जे बजाऊँ, जसरी बजाऊँ, तपाईंलाई के मतलब? यो मेरो हक हो!’ भन्ला भन्ठान्छन् र अक्सर हुन्छ पनि त्यस्तै। अलिकता आवाज सानो पार्न सकिन्छ कि भनेर नम्रतासाथ भन्दा प्रदूषकले कति कचकच गर्नसकेको भन्ला कि भन्ने डर पीडित पक्षलाई लाग्छ। वर्तमान समाजको कति दुःखलाग्दो झलक! यी “आखिरी दिनमा डरलाग्दो” समय हुनेछ र अधिकांश मानिसहरू ‘स्वार्थी, हठी, निष्ठूर, जिद्दी’ हुन्छन् भनी बाइबलले बताएको कुरा ठ्याक्कै मिल्छ।—२ तिमोथी ३:१-४.
पीडित पक्षले कुरा गर्ने तरिकामा पनि धेरै थोक निर्भर हुन्छ। सिकायत गरेकोले दोषी पक्ष खिन्न हुँदा त्यस्तो तनाउग्रस्त अवस्था कसरी सुधार्ने, त्यसबारे एउटा काल्पनिक घटना वीमन्स विक्ली पत्रिकाले यसरी पेश गरेको थियो: “[सम्झौता गर्न चाहने छिमेकीहरूले] समझदार भएर मायालु तरिकामा ‘माफ गर्नुस्, मैले रिस खप्नै सकिनँ। सुत्न नपाउँदा नपाउँदा असाध्यै असह्य भएकोले बताउन करै लाग्यो,’ भन्दा मात्र पनि सम्झौता गर्न पर्याप्त हुनसक्छ।” सायद तिनी तपाईंको कोठासँगै जोडिएको भित्ताको एमप्लिफायर हटाएर अन्त कतै सार्न र आवाज सानो पार्न राजी हुनेछन्।
आफ्नो छिमेकीसित राम्रो सम्बन्ध राख्नु राम्रै कुरा हो। विरोधी पक्षलाई मिलाप गराउन कतै कतै स्थानीय अख्तियारवालाहरूले मध्यस्तकर्ता भइदिने प्रस्ताव राख्छन्। तथापि, उजुर दर्ता गराउँदा रिसराग उत्पन्न हुने भएकोले “केही सीप नलागेपछि” मात्र त्यसो गर्नु बेस होला।
नयाँ ठाउँमा घर सर्ने विचार गर्नुभएको छ भने कुनै करारनामा गर्नुअघि नै त्यहाँ हुनसक्ने ध्वनि प्रदूषणबारे पहिल्यै विचार पुऱ्याइहाल्नु बुद्धिमानी हुनेछ। सर्न लाग्नुभएको घरमा भिन्नाभिन्नै समयमा गएर ध्वनि प्रदूषण पत्ता लगाउने सुझाउ घरघडेरी बिक्री गर्ने दलालहरू दिन्छन्। यसबाहेक, छिमेकीहरूलाई पनि त्यहाँको अवस्थाबारे सोध्न सक्नुहुन्छ। नयाँ घरमा सरिसकेपछि समस्यामा पर्नुभयो भने मित्रैलो भएर समस्या समाधान गर्ने कोसिस गर्नुहोस्। मुद्दामामिलामा पर्नुभयो भने त्यसले आपसमा वैरभाव मात्र उत्पन्न गराउँछ।
तर तपाईं होहल्ला बढी हुने टोलमा बस्नुभएको छ र त्यहाँबाट अन्त कतै सर्न पनि सक्नुहुन्न भने के गर्ने त? के तपाईंले यो समस्या सधैं भोगिरहनुपर्छ? कदापि पर्दैन।
ध्वनि प्रदूषणबाट कसरी बच्ने
बाह्य ध्वनि प्रदूषणबाट जोगिन तपाईंले आफ्नो घरमा के गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्। भित्ता तथा भुइँमा कतै टाल्नुपर्ने प्वालहरू छन् कि, खोज्नुहोस्। विशेषगरि बिजुलीबत्ती सकेट जडान गरिएका ठाउँहरू हेर्नुहोस्। त्यहाँ भएका प्वालहरू टम्म बन्द छन् कि छैनन्?
ध्वनि प्रदूषण अक्सर झ्यालढोकाबाट घरभित्र छिर्छ। झ्यालमा दोहरो ऐना (बाक्लो ऐना) लगाएर पनि बाह्य आवाज कम गर्न सकिन्छ। ढोकाको खापामा चारैतिर एकसरो पातलो फोम लगाउँदा ढोका टम्म बन्द हुन्छ र आवाज कम हुन्छ। यसबाहेक, आफू सुत्ने वा बस्ने कोठाको मूल ढोकाअगाडि अर्को ढोका बनाउँदा पनि सवारी-साधनबाट उत्पन्न ध्वनि प्रदूषणबाट जोगिन सक्नुहुन्छ।
सवारी-साधनबाट निस्कने आवाज पनि धमाधम चर्को हुँदै गएकोले मोटरगाडी निर्माताहरूले सवारी-साधनबाट निस्कने आवाज कम गर्न नयाँ नयाँ वस्तु तथा तरिकाहरू प्रयोग गरिरहेका छन्। कम आवाज निकाल्ने टायर राख्दा पनि बेस हुन्छ। थुप्रै मुलुकहरूमा विभिन्न प्रकारका सामग्री बिछ्याएर सडकको परीक्षण गरिंदैछ। फलतः “खुसखुसे कंक्रिट” जस्ता सामग्रीहरू अब उत्पादन हुन थालेका छन्। यसले गर्दा बिछ्याइएका केही रोडाहरू र पांग्राबीचको घर्षण निकै कम हुन्छ र ध्वनि कम हुन्छ। यस्ता सतहहरूले गर्दा हलुका सवारी-साधनबाट निस्कने ध्वनिको मात्रा दुइ डेसिबल र गह्रौं ट्रकहरूबाट निस्कने ध्वनि एक डेसिबल घटेको छ। हेर्दा नगण्य देखिए तापनि तीन डेसिबल कम हुँदा सवारी-साधनबाट निस्कने आवाज ५० प्रतिशतले कम हुन्छ!
हाल सडक निर्माताहरूले राजमार्गलाई दुवैतिरबाट पर्खाल वा माटोको थुप्रोले ढाकेर प्रभावकारी ढंगमा ध्वनि प्रदूषण कम पारेका छन्। यस्तो गर्न नमिल्ने ठाउँहरूमा पनि विशेष प्रकारका बारहरू बनाइएका छन्। जस्तै, पूर्वी लण्डनमा यसको एउटा नमुना देख्न सकिन्छ। त्यहाँ नर्कट तथा हरिया बोटबिरुवाका बारहरूले राजमार्ग नजिकै बस्ने मानिसहरूलाई अनावश्यक आवाजबाट जोगाएको छ।
खलबल्याउने आवाजहरूलाई ह्वाइट नोइज अर्थात् उदाहरणका लागि, हावाको झोक्का वा विद्युतीय तरंग आदिको प्रयोगबाट कम गर्न सकिन्छ। र यो तरिका कार्यालयहरूमा फाइदाजनक साबित हुनसक्छ।b जापानमा मूक पियानोहरू बजारमा उपलब्ध छन्। यो पियानो बजाउँदा ह्याम्मरले ती पियानोका तारहरूलाई हान्नुको साटो इलेक्ट्रोनिक सर्किटलाई क्रियाशील बनाउँछ, फलतः पियानो बजाउने व्यक्तिले लगाएको इअरफोनमा ध्वनि तरंगहरू गुञ्जन्छन्।
ध्वनि प्रतिरोधक उत्पादन गर्न वैज्ञानिकहरूले निकै समय लगाइसकेका छन्। मुख्यतः यसमा कम्पन उत्पन्न गर्ने ध्वनिको अर्को स्रोत प्रयोग गरेर ध्वनि प्रदूषणलाई हटाइन्छ। हो, यस्तो प्रविधिको उपयोग गर्न थप साधन आवश्यक पर्छ, महंगो पनि हुन्छ। र यसले समस्या पूर्णतया निर्मूल पार्न पनि सक्दैन। यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट यस्तो टिप्पणी गर्छ, “मानिसहरूले ध्वनि प्रदूषणलाई फोहरकसरको रूपमा नलिएसम्म ध्वनि प्रतिरोधक क्षणिक शान्ति ल्याउने माध्यम मात्र हुनसक्छ।” सायद त्यसै होला। तर के चकमन्न शान्ति, ध्वनि प्रदूषणको प्रतिरोधक हो र?
तपाईंको घर तथा टोलछिमेकमा के साँच्चै शान्ति र चैन होला? हाम्रो यसपछिको लेखले साँचो आशा प्रदान गर्छ।
[फुटनोटहरू]
a ध्वनिको मात्रा अक्सर मापकको मदतले डेसिबलमा नापिन्छ। हाम्रो कानले कुनै कुनै फ्रिक्वेन्सीको आवाज अर्कोभन्दा प्रस्ट सुन्ने भएकोले यो मिटर पनि यस्तै प्रकारले तयार पारिएको हुन्छ।
b सातवटा रंगहरू मिलेर सेतो रंग बनेजस्तै सबै फ्रिक्वेन्सीको ध्वनि लगभग बराबर मात्रामा सुनिने चर्को आवाजलाई नै ह्वाइट नोइज भनिन्छ।
[पृष्ठ ६-मा भएको पेटी]
होहल्ला मच्चाउने छिमेकी कसरी नहुने
• हल्ला हुने केही काम गर्दै हुनुहुन्छ भने छिमेकीहरूलाई पहिल्यै खबर गरिहाल्नुहोस्।
• छिमेकीहरूले आवाज कम पारिदिने आग्रह गर्दा सहयोगी भाव देखाउनुहोस्।
• तपाईंको आनन्द छिमेकीको लागि दुःखको कारण हुनुहुँदैन भनेर स्वीकार्नुहोस्।
• हल तथा भुइँबाट सजिलै आवाज र कम्पन प्रसारण हुन्छ भनेर पनि नबिर्सनुहोस्।
• घरेलु काममा प्रयोग गर्नुपर्ने आवाज निकाल्ने सामानहरू बाक्लो गत्ता वा कपडामाथि राखेर चलाउनुहोस्।
• घरको र गाडीको खतरासूचक घण्टी बिना कारण त्यसै बज्दा त्यो बनाउन कसैलाई बोलाउन सकिन्छ कि सकिंदैन पक्का गर्नुहोस्।
• रात निकै छिप्पिसकेपछि हल्ला हुने काम वा आवाज निकाल्ने सामानहरू प्रयोग नगर्नुहोस्।
• छिमेकीलाई दिक्क लाग्नेगरि चर्को आवाजमा गीत वा बाजा नबजाउनुहोस्।
• निकै लामो समयसम्म कुकुरलाई एक्लै नथुन्नुहोस्।
• आफूमुनिको तलामा बस्नेहरूलाई माथिको हल्लाले असाध्यै दिक्क पार्नसक्ने भएकोले बच्चाहरूलाई भुइँमा उफ्रन वा दगुर्न नदिनुहोस्।
• एकनाससित गाडीको हर्न बजाइरहने, ढोका बेस्सरी थुन्ने वा राति मोटरको इन्जिन चलाउने आदि नगर्नुहोस्।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
ध्वनि प्रदूषण र तपाईं
द टाइम्स बताउँछ, “बेलाइतमा उद्योगको सबैभन्दा ठूलो हानि नै ध्वनि प्रदूषण हो र त्यसको सामान्य नतिजा बहिरोपना हो।” केही कामकाजी मानिसहरूमा गरिएको अध्ययनअनुसार ८५ डेसिबलभन्दा चर्को आवाजले भ्रूणलाई असर गर्नसक्ने संकेत भेटियो। बच्चाको श्रवणशक्ति क्षतिग्रस्त हुनु र त्यस बच्चामा हार्मोन असन्तुलन हुनुका साथै जन्मजात खराबीहरू पनि हुनसक्छ।
चर्को आवाजले रक्तनली संकुचित पार्छ। फलतः तपाईंका अंगप्रत्यंगहरूमा रगत कम बहन्छ। प्रतिक्रियास्वरूप त्यसपछि तपाईंको शरीरले रक्तचाप बढाउने हार्मोनहरू उत्पादन गर्छ। तपाईंको मुटुको धड्कन बढ्नसक्छ र कहिलेकाहीं त ढुकढुकी बढ्नसक्छ र एन्जाइनासमेत हुनसक्छ।
ध्वनिले तपाईंको तालिकामा असर गर्दा अन्य समस्याहरू पनि खडा हुन्छन्। राति राम्ररी सुत्न नसक्दा दिनमा त्यसका असरहरू देखा पर्छन्। ध्वनिले तपाईंको काम गर्ने गतिमा पूर्णरूपले बाधा त नपुऱ्याउला तर काममा देखा परेका गल्तीहरू यसैले गर्दा भएका हुनसक्छन्।
[पृष्ठ ९-मा भएको पेटी/चित्र]
काम गर्ने ठाउँमा सावधानी
काम गर्ने ठाउँमा आवाज अवश्यमभावी छ भने कानलाई जोगाउने कुनै साधन प्रयोग गर्नुहोस्।* हेडफोनजस्तै ऊनबाट बनेका साधन कानमा लगाउन सकिन्छ र यो ध्वनिको मात्रा असाध्यै चर्को हुने ठाउँहरूमा प्रयोग गर्नु अक्सर प्रभावकारी हुन्छन्। यसको फाइदा के हो भने यो ऊनको हेडफोन लगाउँदा आपसी कुराकानी र यन्त्रले दिने संकेत सुन्न कुनै अप्ठ्यारो हुँदैन। तथापि, ती आवाजहरू कताबाट आएका हुन् ठम्याउन चाहिं गाह्रो पर्नसक्छ। कानमा लाउने इएरप्लग तपाईंलाई मिल्ने साइजको हुनुपर्छ तर कान पाक्ने वा दुख्ने रोग छ भने यो साधन प्रयोग गर्नु उपयुक्त हुँदैन।
यन्त्रको राम्रो रेखदेख गरिएको छ भने पनि त्यसबाट निस्कने कम्पन कम गराउन सकिन्छ। यन्त्रलाई रबरको पाटामाथि राखेर प्रयोग गर्दा चर्को आवाज निकाल्ने यन्त्रहरूलाई अलग्गै ठाउँमा राख्दा ध्वनि प्रदूषण कम गर्न सकिन्छ।
*कतिपय मुलुकहरूमा श्रवणशक्ति जोगाउन मालिकहरूले कर्मचारीहरूलाई उपयुक्त साधन प्रयोग गराउनैपर्ने विधान बनाइएका छन्।
[पृष्ठ ८-मा भएको चित्र]
जताततै सवारी-साधन गुड्ने ठाउँमा तपाईं ध्वनि प्रदूषणबाट कसरी जोगिन सक्नुहुन्छ?