फ्रान्सेली बाइबलको संघर्ष
फ्रान्सका ब्यूँझनुहोस्! संवाददाताद्वारा
संसारमा दश करोडभन्दा बढी मानिसहरू फ्रान्सेली भाषा बोल्छन्। तपाईं त्यो भाषा जान्नुहुन्न भने पनि फ्रान्सेली बाइबलले के-कस्ता संघर्ष गर्नुपऱ्यो भन्ने विवरण पढ्नु रोचक लाग्ला किनभने यो केही हदसम्म धार्मिक स्वतन्त्रतासित सम्बन्धित छ। शताब्दीयौंको दौडान शत्रु तथा धोकेबाज मित्रहरूको हातबाट थुप्रै फ्रान्सेली बाइबल क्रूरतापूर्वक सर्वनाश भए। यस्ता अनेकन् धम्कीहरूको बावजूद अनुवादक तथा मुद्रकहरूले बाइबल जगेर्ना गर्न ज्यानको खतरा मोलेर संघर्ष गरे।
बाह्रौं शताब्दीमा बाइबलका केही अंशहरू फ्रान्सेलीलगायत अन्य स्थानीय भाषाहरूमा अनुवाद भइसकेका थिए। क्याथोलिक चर्चले धर्मविरोधी ठहराएका समूहहरूले ती बाइबलको प्रयोग गर्न प्रोत्साहन दिए। तर १९ औं शताब्दीमा मात्र फ्रान्सेली बाइबलको व्यापक वितरण हुन थाल्यो। यतिका धेरै समयसम्म फ्रान्सेली बाइबल प्रकाशमा आउन नसक्नुबाट यसले के-कस्ता खतरनाक परीक्षाहरू सामना गर्नुपऱ्यो होला भनी बुझ्नसक्छौं।
फ्रान्सेली भाषामा प्रकाशित प्रथम पुस्तकहरूमध्ये सा.यु. ९०० तिर प्रकाशित बाइबल शब्दकोश पनि हो। पाठकहरूलाई क्योथोलिक चर्चले प्रयोग गर्ने ल्याटिन भाषाको बाइबल बुझ्न सजिलो होस् भनेर यो तयार पारिएको थियो। तर त्यतिञ्जेल सर्वसाधारणले ल्याटिनको साटो अनेकन् उपभाषाहरू बोल्न थालिसकेका थिए। तसर्थ, तिनीहरूले परमेश्वरको वचनको कुरा बुझ्न सकेनन्। यो ल्याटिन भाषामा दक्ष पादरीवर्गको स्वाधीकार रह्यो र तिनीहरूले मात्रै त्यो पढ्नसक्थे।
फ्रान्सेली भाषाको प्रथम सरकारी कागतपत्र सा.यु. ८४२ मा देखा पऱ्यो। अधिकांश मानिसहरूले ल्याटिन भाषा बोल्न छोडिसकेका थिए भन्ने तथ्यको यो मूक स्वीकारोक्ति थियो। सा.यु. ८८० तिर फ्रान्सका स्थानीय भाषाहरूमा धार्मिक कविताहरू प्रकाशित हुन थाले। तथापि, अर्को दुई शताब्दीसम्म एउटै पनि बाइबल अनुवादहरू छापिएनन्। सुरु सुरुका कृतिहरूमध्ये १२ औं शताब्दीको सुरुतिर नर्मन-फ्रान्सेली भाषामा अनुवादित बाइबलका केही अंशहरू थिए।
कटिबद्ध संघर्षको सुरुआत
फ्रान्सका मानिसहरूले पढ्नसक्ने भाषामा पवित्र धर्मशास्त्र उपलब्ध गराउने प्रयासमा सफल भएका प्रथम व्यक्ति, मध्य फ्रान्सस्थित लिओन्जका १२ औं शताब्दीका व्यापारी पिटर भाल्डो थिए। भाल्डोले दक्षिणपूर्वी फ्रान्सको उपभाषा प्रोभन्कलमा बाइबलका केही अंशहरू अनुवाद गर्न अह्राए। सन् ११७९ को तेस्रो लाटरन काउन्सिलमा तिनले आदरपूर्वक पोप एलेक्जेन्डर तृतीयसमक्ष बाइबलका आंशिक अनुवादहरू प्रस्तुत गरे।
पछि चर्चले भाल्डो र तिनका अनुयायीहरूलाई धर्मविरोधी ठहराए र तिनले अनुवाद गर्न अह्राएका सम्पूर्ण बाइबल भिक्षुहरूले जलाए। चर्चले त्यतिबेलादेखि परमेश्वरको वचन आमजनतासमक्ष प्रस्तुत गर्ने हर प्रयासको विरोध गऱ्यो।
पूर्वी फ्रान्सको मेट्ज शहरमा बाइबलहरू जलाएर चर्चले १२११ मा आफ्नो नीति स्पष्ट पाऱ्यो। टुलुजको धर्मसभाले १२२९ मा कुनै पनि स्थानीय भाषाको बाइबल सर्वसाधारणले प्रयोग गर्न नपाउने कुरा प्रस्ट पारे। यसपछि स्पेनको टारागोना धर्मसभाले १२३४ मा सर्वसाधारणलगायत पादरीवर्गले समेत रोमान्स भाषाहरूमा (ल्याटिनबाट निस्केको उपभाषा) बाइबल राख्न नपाउने निषेधाज्ञा जारी गऱ्यो।
त्यस्तो कठोर विरोधको बावजूद फ्रान्सेली भाषामा सम्पूर्ण बाइबलको अनुवाद १३ औं शताब्दीको अन्ततिर देखा पऱ्यो। अनुवादकको नाउँ उल्लेख नभएको यो बाइबल त्यति धेरै वितरण हुन सकेन। त्यतिबेला सर्वसाधारणको लागि कुनै पनि रूपमा बाइबल उपलब्ध थिएन। उपलब्ध सबै प्रतिहरू हातैले सारेर बनाएका थिए। असाध्यै महँगो तथा यथेष्ट उपलब्ध नभएको हुँदा गन्यमान्य तथा पादरीवर्गसित मात्र बाइबल हुन्थ्यो।
बाइबलको पक्षमा आवाज उठाउन तयार
योहानेस गुटेनबर्गले १४५० तिर मुभेबल प्रेस आविष्कार गरेपछि युरोपको मुद्रण जगत्मा भएको परिवर्तनले फ्रान्सलाई निकै असर गऱ्यो। फ्रान्सका तीनवटा शहरहरू पेरिस, लिओन्ज तथा रुअन मुद्रणका प्रमुख केन्द्रहरू अर्थात् बाइबलको पक्षमा आवाज उठाउन संगठित गढीहरू भए।a
संघर्षको यस चरणसम्म फ्रान्सेली बाइबल अनुवादहरू ल्याटिन भल्गेट-मा आधारित थिए। हजार वर्षको दौडान अनेकन् प्रतिहरू बनाइएको हुँदा ल्याटिन अनुवादमा थुप्रै त्रुटिहरू घुसिसकेका थिए तर चर्चले भल्गेट-लाई आफ्नो आधार मान्न छोडेन। तथापि, फ्रेन्च क्याथोलिक झाक लेफब्रे डाटाप्लेले सर्वसाधारणका लागि बाइबल उपलब्ध गराउने निर्णय गरे। तिनले १५३० मा फ्रान्सेली भाषामा भल्गेट अनुवाद गरे र त्यतिबेला उपलब्ध भएका हिब्रू तथा युनानी हस्तलिपिहरूको आधारमा केही त्रुटिहरू पनि सच्याए। चर्चले समावेश गरेका केही गोलमालपूर्ण सैद्धान्तिक स्पष्टिकरणहरू पनि हटाए।
लेफब्रेको अनुवादप्रति तुरुन्तै विरोध जनाइयो। केही संस्करणहरू फ्रान्सबाहिर छपाउनु पऱ्यो। चर्चद्वारा निषेधित पुस्तकहरूको सूचीमा यी पनि थिए। केही समयको लागि लेफब्रेले पूर्वी फ्रान्सको तत्कालीन स्वतन्त्र शाही शहर स्ट्रासवर्गमा शरण लिनुपऱ्यो। तर जे होस् तिनको अनुवाद सफल साबित भयो।
मौलिक भाषामा आधारित बाइबलको प्रथम फ्रान्सेली अनुवाद १५३५ मा छापियो। यो बाइबल धर्मसुधारक जोन क्याल्भिनका नातेदार तथा फ्रेन्स प्रोटेस्टेन्ट प्येर रबर ओलिभाटानले अनुवाद गरेका थिए। चर्चको विरोधले गर्दा यो फ्रान्समा छाप्न सम्भव भएन। त्यसकारण, यो अनुवाद भर्खरै मात्र प्रोटेस्टेन्ट समुदाय बसोबास गर्न थालेको नोइचाटेल, स्वीट्जरल्याण्डमा छापियो। ओलिभाटानको फ्रान्सेली बाइबल त्यसपछिका नयाँ संस्करण तथा अन्य भाषाहरूमा बाइबल अनुवादको लागि आधार बन्न पुग्यो।
खतरनाक संघर्ष
बाइबल छापेकोमा एट्येन डोलेजस्ता बहादुर फ्रान्सेली मुद्रकलाई १५४६ मा खाँबामा जिउँदै जलाइयो। ट्रेन्टको धर्मसभाले १५४६ मा भल्गेट-का त्रुटिहरूको बावजूद यसको “प्रमाणिकता” पुष्टि गरे र चर्चले त्यतिबेलादेखि स्थानीय अनुवादहरू विरुद्ध अझ कडा अडान लिन थाले। स्पेनी इन्क्वीजिशनले १६१२ मा स्थानीय बाइबलहरू निर्मूल गर्ने भयंकर अभियान थाले।
सतावटहरूले गर्दा कहिलेकाहीं साँचो कुराहरू पत्ता लागे। “शेन्यन” अथवा “जुरो” बाइबलहरू उत्पादन भए, यी यति साना हुन्थे कि आइमाईको कपालको जुरोमा लुकाउन सकिन्थ्यो। अनि १७५४ मा हिब्रू तथा युनानी धर्मशास्त्रका अंशहरू तीन सेन्टिमिटर चौडा, पाँच सेन्टिमिटर लामो पुस्तकको रूपमा छापिए।
विरोधको प्रतिकार
समयको दौडान महत्त्वपूर्ण परिवर्तनहरू भए। बाइबलको विरुद्धमा शताब्दीयौंसम्म क्रूर आक्रमणहरू भएपछि यसको पक्षमा निर्णायक प्रतिरोधहरू भए। फ्रान्सेली आन्दोलनपछि नयाँ धारणाहरू अपनाउने तथा उपासना गर्ने स्वतन्त्रता दिइयो र यसले चर्चको मुटु छेड्यो। तसर्थ, १८०३ मा फ्रान्समा प्रोटेस्टेन्ट नयाँ नियम छापियो र यो १२५ वर्ष लामो संघर्षपछिको प्रथम उपलब्धि थियो!
बाइबल सोसाइटीहरूबाट पनि मदत प्राप्त भयो। “आफूले बुझ्नसक्ने भाषामा यस ईश्वरीय खजाना नभएका फ्रान्सेलीहरूका लागि फ्रान्सेली बाइबल यथासम्भव उपलब्ध गराउन” १७९२ मा लण्डन, इंग्ल्याण्डमा फ्रान्सेली बाइबल सोसाइटी गठन गरियो। यस संघर्षमा अन्य बाइबल सोसाइटीहरूले पनि साथ दिए। फ्रान्सेली भाषामा बाइबल उत्पादन गर्नुका साथै वितरण गर्ने तिनीहरूको लक्ष्यले अझ बढी सफलता हासिल गऱ्यो।
घातक प्रहार
क्याथोलिक चर्च आफ्नो विरोध नीतिमा अटल रहे तर यसले यो संघर्ष जित्नेवाला थिएन। पोपहरूले १९ औं शताब्दीभरि स्थानीय भाषाका बाइबलहरूको विरोध गरी नै रहे। सन् १८९७ मा मात्र पोप लियो तेह्रौंले “गैरक्याथोलिक लेखकहरूले जुनसुकै स्थानीय भाषामा प्रकाशित यस पवित्र पुस्तकका सबै संस्करणहरू र त्यसमा पनि विशेषगरि बाइबल सोसाइटीहरूले छापेका अनि रोमको विशपले बारम्बार आलोचना गरेका पुस्तकहरू निषेधित छन्” भनी पुनः पुष्टि गरे।
तथापि, बाइबल सोसाइटीहरूद्वारा प्रकाशित प्रोटेस्टेन्ट बाइबलहरू सस्तो हुनुका साथै सजिलै उपलब्ध भएकोले क्याथोलिक चर्चले क्याथोलिक शास्त्रविद्हरूलाई फ्रान्सेली भाषामा बाइबल अनुवाद गर्ने अनुमति दिए। अगस्टीन क्राम्पनले गरेको अनुवाद सात खण्ड (१८९४-१९०४) गरेर प्रथम चोटि प्रकाशित गरिएको थियो र पछि मौलिक पदमा आधारित पहिलो फ्रान्सेली क्याथोलिक अनुवाद एउटा खण्डको रूपमा (१९०४) प्रकाशित गरियो। यसमा समावेश गरिएका अनगिन्ती जानिफकार टिप्पणी तथा क्राम्पनले व्यापक तवरमा परमेश्वरको नाउँको फ्रान्सेली रूपान्तर झाओभा प्रयोग गर्नु यसका उल्लेखनीय पक्षहरू हुन्।
अन्ततः भ्याटिकनले आफ्नो अडानमा आमूल परिवर्तन गरेर १९४३ को डेभेनो आफ्लान्ते स्पिरेटु पोप परिपत्रमा स्थानीय भाषाहरूमा बाइबल अनुवाद गर्नेसम्बन्धी निर्देशनहरू उल्लेख गऱ्यो। त्यतिबेलादेखि थुप्रै क्याथोलिक अनुवादहरू प्रकाशित भएका छन्। जस्तै, सर्वप्रथम फ्रान्सेली भाषामा प्रकाशित लोकप्रिय जेरूशलेम बाइबल जुन पछि अंग्रेजीलगायत अन्य थुप्रै भाषाहरूमा अनुवाद भयो।
संसारभरिका फ्रान्सेली भाषा बोल्ने मानिसहरूलाई मदत गर्ने एउटा बाइबल हो, पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद-को फ्रान्सेली संस्करण। सम्पूर्ण बाइबल सर्वप्रथम १९७४ मा प्रकाशित भयो र पछि १९९५ मा संशोधन गरियो। अहिलेसम्म थुप्रै भाषाहरूमा प्रकाशित भइसकेको नयाँ विश्व अनुवाद-ले हिब्रू धर्मशास्त्र र उपयुक्त ठाउँहरूमा युनानी धर्मशास्त्रमा बाइबलका लेखक, यहोवाका नाउँ पुनः उल्लेख गरेर उहाँलाई श्रेय प्रदान गरिएको छ। अहिलेसम्म फ्रान्सेली संस्करणको ५० लाखभन्दा बढी प्रतिहरू छापिइसकेका छन्। निस्सन्देह, फ्रान्सेली भाषामा बाइबल जोगाउने संघर्षमा बाइबलले विजय हासिल गरेको छ।
[फुटनोट]
a फ्रान्सेली मुद्रणकार्य यति सफल भयो कि स्पेनी इन्क्वीजिशनले १५५२ मा सारा विदेशी बाइबलहरू जफत गर्ने आदेश दिंदा त्यसमध्ये ९० प्रतिशत जति फ्रान्समा छापिएको थियो भनेर सेभिलको विशेष अदालतले रिपोर्ट दियो।
[पृष्ठ १३-मा भएको चित्र]
लेफब्रे डाटाप्लेको १५३० बाइबल
[पृष्ठ १३-मा भएको चित्र]
ओलिभाटानको १५३५ बाइबल
[पृष्ठ १४-मा भएको चित्र]
“१३ औं शताब्दी बाइबल”-को दुर्लभ नमुना
[पृष्ठ १४-मा भएको चित्रको स्रोत]
बाइबलहरू: Bibliothèque Nationale de France