मसीहीहरू तथा जातभात
भारतका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“जातप्रथा” भन्नेबित्तिकै तपाईं के सम्झनुहुन्छ? सायद तपाईं भारत र त्यहाँका ती लाखौंलाई सम्झनुहुन्छ जसको कुनै जात छैन अर्थात् जातिच्युत छन्। जातप्रथा, हिन्दू धर्मको एउटा भाग भए तापनि यसले तल्लो जात तथा जातिच्युतहरूमाथि पार्ने असरहरू निर्मूल गर्न हिन्दू सुधारकहरूले संघर्ष गरेका छन्। यसकारण, मसीही भनी दाबी गर्ने चर्चहरूमा समेत जातप्रथा प्रचलित भएको सुन्नुभयो भने तपाईंलाई कस्तो लाग्नेछ? दक्षिण भारतको कुनै एउटा सडकमा हिंडिरहेको बेला कसैले “यो परियाह चर्च हो” भनेर देखायो भने कस्तो लाग्ला?
भारतमा जातप्रथाको सम्भाव्य सुरुआत
सामाजिक वर्गीकरणले गर्दा कसै कसैले आफू अरूभन्दा ठूलो महसुस गर्ने चलन भारतमा मात्र होइन। सबै महादेशहरूमा एक न एक प्रकारको सामाजिक वर्गीकरणको आभास पाइन्छ। लगभग ३,००० वर्षअघि धर्मसित मिलेर सामाजिक दमन कार्य सुरु गरिएको हुँदा भारतको जातप्रथा अरू ठाउँको भन्दा बेग्लै हुन गयो।
जातप्रथाको सुरुआत यहीं भयो भनेर किटान गरेर भन्न नसकिए तापनि यो हाल पाकिस्तानमा अवस्थित सिन्धु उपत्यकाको पुरातन सभ्यताहरूबाट सुरु भएको हुनसक्छ भनी कोही कोही विशेषज्ञहरू बताउँछन्। पुरातत्त्वअनुसार त्यहाँका सुरु सुरुका बासिन्दाहरूलाई उत्तरपश्चिमका जातिहरूले आफ्नो कब्जामा लिए जसलाई सामान्यतया “आर्य स्थानान्तरण” भनिन्छ। आफ्नो पुस्तक भारतको आविष्कार-मा (अंग्रेजी) जवाहरलाल नेहरू यसलाई “प्रथम बृहत् सांस्कृतिक मिलन तथा एकीकरण” भन्छन् जसबाट “विभिन्न भारतीय जाति तथा मूलभूत भारतीय संस्कृतिको” सृजना भयो। तथापि, यो एकीकरणले जातीय समानता भने ल्याएन।
दी इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “अन्तरविवाह (धर्मसम्बन्धी हिन्दू शास्त्रमा यो निषेधित छ) चल्न थालेपछि चारवटा वर्ग वा वर्णलाई अझ वर्गीकरण गरेर विभिन्न जात (अक्षरसः ‘जन्म’) छुट्याउने व्यक्तिहरू हिन्दूस्तानीहरू नै हुन्। तथापि, पारिवारिक संस्कार, जातीय भिन्नता, विविध पेशाले गर्दा जातप्रथा उत्पन्न भएको हुनुपर्छ भनी आधुनिक सिद्धान्तविद्हरू अनुमान लगाउँछन्। वर्णव्यवस्था सिद्धान्तमा आधारित समाजको धार्मिक आदर्श मात्र हो र हिन्दू समाजको ३,००० जात तथा उपजातको अत्यन्तै जटिल विभाजन सायद पुरातन समयमा पनि विद्यमान थियो होला भन्ने सोचाइ थुप्रै वर्तमान् विद्वानहरूको छ।”
एकताक बेग्लाबेग्लै वर्गहरूबीच अन्तरविवाह चल्थ्यो अनि वर्णभेद कम थियो। अन्य धार्मिक परिवर्तनहरूसँगसँगै पछि मात्र जातभातसम्बन्धी कडा नियमहरू बन्न थालेका हुन् र वेद तथा हिन्दूहरूका साधु, मनुका विधान (वा संहितामा) यी उल्लेख भए। तल्लो जातबाट अलग्गै छुट्याउन चोख्याउने प्रक्रियाद्वारा ठूलो जातको आध्यात्मिक जन्म हुन्छ भनी ब्राह्मणहरूले सिकाउँथे। शुद्र अर्थात् तल्लो जातहरूले पूर्वजन्ममा खराब कामहरू गरेको हुँदा परमेश्वरले दण्डस्वरूप तुच्छ कामहरू गर्न लगाउनुभएको हो र त्यो जातिभेद तोड्न खोज्यो भने जातिच्युत हुनेछन् भन्ने सोचाइ तिनीहरूको मनमा हालिदिन्थे। अन्तरविवाह गरेमा, सँगै बसेर खाएमा, एउटै मुहानबाट पानी लिएमा वा मन्दिरमा शुद्र पसेको खण्डमा ठूलो जातको जात जान सक्थ्यो।
आधुनिक परिवेशमा जातभात
भारत सन् १९४७ मा स्वतन्त्र भएपछि जातभात गर्ने व्यक्तिलाई त्यहाँको धर्म निरपेक्ष सरकारले अपराधी ठहराउने संविधान लागू गऱ्यो। तल्लो जातका हिन्दूहरूले शताब्दीयौंदेखि भोगेका कठिनाइहरूलाई ध्यानमा राख्दै सरकारले अनुसूचित जाति तथा जनजातिहरूका लागि शैक्षिक संस्थानहरूमा, सरकारी तथा निर्वाचित पदहरूमा कोटा छुट्याउन थाले।a यी हिन्दू समूहहरूलाई बुझाउने शब्द “दलित” हो र त्यसले “दबिएका, कुल्चीमिल्ची” भएका भन्ने अर्थ बुझाउँछ। तर एउटा अखबारमा हालै यस्तो शीर्ष समाचार छापिएको थियो: “दलित इसाईहरू आरक्षण [जागिर तथा विश्वविद्यालयमा कोटा] माग्छन्।” यस्तो अवस्था आउनुको कारण के हो?
जातप्रथाको कारण तल्लो जातका हिन्दूहरूले अन्याय भोग्नुपरेको हुँदा सरकारले तिनीहरूलाई थप सुविधाहरू प्रदान गरेका हुन्। त्यसकारण, जातभात नमान्ने धर्महरूले त्यस्तो सुविधा पाउँदैनन् भन्ने तर्क गरियो। दलित इसाईहरू आफू तल्लो जात वा अछुत भएको र धर्म परिवर्तन गरेर इसाई बनेको हुँदा हिन्दूहरूबाट मात्र होइन तर आफ्नै ‘सँगी इसाईहरूबाट’ पक्षपातपूर्ण व्यवहार भोग्नु परेको बताउँछन्। के यो साँचो हो?
मसीहीजगत्का मिसनरीहरू तथा जातभात
उपनिवेशकालमा पुर्तगाली, फ्रान्सेली, बेलाइती क्याथोलिक तथा प्रोटेस्टेन्ट मिसनरीहरू भारत आए र थुप्रै हिन्दूहरूलाई धर्मपरिवर्तन गराएर इसाई बनाए। विभिन्न जातका मानिसहरू नाउँ मात्रका इसाईहरू भए र कोही कोही प्रचारकहरूतर्फ ब्राह्मण अनि अछूतहरू दुवै आकर्षित भए। मिसनरीहरूको शिक्षा तथा आचरणले जातभातसम्बन्धी गहिरो जरा गाडेको विश्वासमा कस्तो असर पाऱ्यो?
भारतका बेलाइतीहरूबारे लेखक निराद चौधरी भन्छन्, चर्चमा “हिन्दूस्तानीहरू युरोपेलीहरूसित सँगै बस्न सक्दैनथे। भारतको बेलाइती शासन त्यहाँको जातीय श्रेष्ठतामा आधारित भएको तथ्य मसीहीधर्मले ढाकछोप गर्नसकेन।” तल्लो जातका मानिसहरूको धर्म परिवर्तन गराउनु भनेको “चर्चभित्र फोहर भित्र्याउनु हो” भनी सन् १८९४ मा एक मिसनरीले संयुक्त राज्यको वैदेशिक सेवा मण्डललाई दिएको रिपोर्टबाट पनि त्यस्तै मनोवृत्ति झल्कन्छ।
स्पष्टतः सुरु सुरुका मिसनरीहरूले आफूलाई अरूभन्दा श्रेष्ठ ठानेका तथा चर्चका शिक्षाहरूसित ब्राह्मण विचारधारा छ्यासमिस गरेको हुँदा भारतका थुप्रै तथाकथित इसाईहरूले कुनै धक नमानी जातिभेद गर्छन्।
वर्तमान चर्चहरूमा जातभात
सन् १९९१ मा सम्पन्न भारतको क्याथोलिक विशपहरूको सम्मेलनलाई सम्बोधन गर्दै क्याथोलिक आर्क विशप जर्ज जरले यसो भने: “ठूलो जातका हिन्दूहरूले मात्र होइन तर ठूलो जातका इसाईहरूले पनि धर्मपरिवर्तन गरेका अनुसूचित जातिहरूसित तल्लो जातलाई जस्तो व्यवहार गर्छन्। . . . आफ्नो इलाकाको चर्च तथा चिहानमा तिनीहरूका लागि अलग्गै ठाउँ छुट्याइएको हुन्छ। अन्तरजातीय विवाह मन पराउँदैनन् . . . पादरीवर्गले जातभात मान्न छोडेका छैनन्।”
दक्षिण भारतस्थित युनाइटेड प्रोटेस्टेन्ट चर्चका विशप एम. अजरियाले आफ्नो पुस्तक भारतीय चर्चको गैरमसीही पक्ष-मा (अंग्रेजी) यसो भने: “चर्चभित्रै पनि सँगी इसाईहरूले अनुसूचित जातिका (दलित) इसाईहरूसित पक्षपाती व्यवहार गर्छन् जबकि तिनीहरूको यसमा कुनै दोष छैन र दोस्रो, तेस्रो वा चौथो पुस्तादेखि इसाई भएका हुन्। पुस्तौं बितिसक्दा पनि चर्चका अल्पसंख्यक ठूलो जातका इसाईहरू मसीही विश्वास तथा प्रचलनलाई एकातिर पन्छाएर जातिभेद गर्छन्।”
भारतको पिछडिएका वर्गहरूसित सम्बन्धित समस्याहरूको छानबिन गर्ने मण्डल आयोगले केरलामा इसाईहरू हौं भनी दाबी गर्नेहरू “जातीय पृष्ठभूमिको आधारमा विभिन्न जनजातीय समूहहरूमा विभाजित भएको पत्ता लगाए। . . . धर्म परिवर्तन गरिसकेपछि पनि तल्लो जातलाई हरिजनb ठान्छन् . . . त्यही चर्चका सिरियाली तथा पुलाया सदस्यहरूले बेग्लाबेग्लै भवनहरूमा धार्मिक विधिविधानहरू सञ्चालन गर्थे।”
दलित इसाईहरूबारे अगस्त १९९६ को इन्डियन एक्सप्रेस-ले यसो भन्यो: “तामिलनाडुमा ठूलो जात र तल्लो जातका मानिसहरू बसोबास गर्ने ठाउँ बेग्लाबेग्लै छ। केरलामा तिनीहरू प्रायजसो जग्गाजमिन नभएका श्रमिकहरू हुन् अनि सिरियाली इसाई तथा अन्य ठूलो जातका जमिनदारहरूकहाँ मजदूरी गर्छन्। दलित तथा सिरियाली इसाईहरू सँगै खाना खाने वा अन्तरविवाह गर्ने त कुरै उठ्दैन। प्रायजसो अवस्थामा दलितहरू आफ्नै चर्चमा उपासना गर्छन् र त्यसलाई ‘पुलाया चर्च’ वा ‘पराया चर्च’ भनिन्छ।” यी उपजातिहरू हुन्। “पराया” शब्दलाई अंग्रेजीमा “परियाह” भनिन्छ।
असन्तुष्टि झल्कने प्रतिक्रियाहरू
सर्वसाधारण जनताहरूद्वारा गठित एफ ए सी ई-जस्ता (इसाईहरूको नाजायज फाइदा उठाउन नदिने मञ्च) समूहहरूले दलित इसाईहरूका लागि सरकारी सुविधाहरू प्रबन्ध गर्न खोजिरहेका छन्। तिनीहरू मुख्यतया धर्म परिवर्तन गरेर इसाई भएकाहरूका लागि आर्थिक सहयोग जुटाउन चाहन्छन्। तथापि, अरू कतिपय भने चर्चमा तिनीहरूप्रति गरिने व्यवहारबारे चिन्तित छन्। लगभग १२० जनाले हस्ताक्षर गरेर पोप जोन पल द्वितीयलाई पठाएको पत्रमा “आफूले जातप्रथाबाट मुक्त हुन मसीहीधर्म अँगालेको” भए तापनि आफ्नो गाउँको चर्चमा पस्न वा उपासना कार्यक्रमहरूमा भाग लिन नपाएको कुरा उल्लिखित थियो। तिनीहरूलाई जबरजस्ती ठूलो जातको इसाई वा त्यो इलाकाको पादरीले कहिल्यै पाइला नटेक्ने सानो गल्लीमा घर बनाउन लगाइयो! यस्तै प्रकारको समस्या भोग्ने एउटी चिन्तित क्याथोलिक आइमाईले यसो भनिन्: “मेरो छोराले राम्रो कलेजमा पढ्न पाउनुपर्छ भन्ने कुरा त छँदैछ। तर त्योभन्दा महत्त्वपूर्ण कुरा के हो भने उसलाई [क्याथोलिक] सँगीविश्वासीहरूले समान व्यवहार गर्नुपर्छ।”
कसै कसैले दलित इसाईहरूको अवस्था सुधार्न खोजिरहेका भए तापनि कतिपय चाहिं दिक्क भएका छन्। विश्व हिन्दू परिषद्जस्ता राजनैतिक दलहरूले (विश्व हिन्दू महासंघ) धर्म परिवर्तन गरेर इसाई भएकाहरूलाई पुनः हिन्दू धर्ममा ल्याउन खोजिरहेका छन्। दस हजार मानिसहरू भेला भएको समारोहमा त्यस्ता ६०० भन्दा बढी “इसाई” परिवारहरूले पुनः हिन्दू धर्म स्वीकारेको इन्डियन एक्सप्रेस-ले बतायो।
साँचो मसीही मार्ग
चर्चहरूले प्रेममा आधारित येशूका शिक्षाहरू सिकाएका भए “ब्राह्मण इसाई” वा “दलित इसाई” अथवा “पराया इसाई” भन्ने भेदभाव हुने नै थिएन। (मत्ती २२:३७-४०) दलितहरूका लागि अर्कै चर्च बनाउनुपर्ने अनि अलग्गै बसेर भोजन गर्नुपर्ने कुरै उठ्नेथिएन। यस्तो वर्गीय विभाजनबाट मुक्त गराउने त्यो कस्तो बाइबल शिक्षा हो?
“परमप्रभु तिमीहरूका परमेश्वरनै ईश्वरहरूका ईश्वर . . . हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, औ उहाँलाई कहिल्यै घूस चढाउनसकिंदैन।”—व्यवस्था १०:१७.
“अब ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।”—१ कोरिन्थी १:१०.
“यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३५.
परमेश्वरले एक जना मानिसबाट सारा मानवजाति बनाउनुभयो भनी बाइबलले सिकाउँछ। त्यही मानिसका सन्तानहरूले “परमेश्वरको खोजी गरून्, र सायद छामेर भेट्टाऊन् भनेर उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न” पनि भन्छ।—प्रेरित १७:२६, २७.
प्रारम्भिक मसीही मण्डलीभित्र वर्गीय विभाजन घुस्न थालेपछि लेखक याकूबले उत्प्रेरणाद्वारा त्यस्तो चलनको खुलेआम आलोचना गरे। तिनले भने: “के तिमीहरू आफ्नै बीचमा पक्षपाती र कुविचारले न्याय गर्ने ठहरिएनौ?” (याकूब २:१-४) साँचो मसीही शिक्षाले जातभातलाई कुनै ठाउँ दिंदैन।
नयाँ विश्वको सोचाइ राख्नुपर्ने खाँचो
विभिन्न धर्मबाट सिकेका पुरानो विश्वास तथा आचरण परिवर्तन गर्न यहोवाका लाखौं साक्षीहरू तत्पर छन्। बाइबलका शिक्षाहरूले तिनीहरूको मन अनि हृदयबाट उपनिवेशीय प्रभुत्व, जाति, रंगभेद वा जातप्रथाअनुसार श्रेष्ठता वा तुच्छताका भावनाहरू हटाएका छन्। (रोमी १२:१, २) बाइबलले बताएअनुसार “धार्मिकताले बास” गर्ने “नयाँ पृथ्वी” के हो भनेर तिनीहरूले स्पष्टसित बुझेका छन्। पृथ्वीमा दुःख भोगिरहेका बहुसंख्यक व्यक्तिहरूका लागि कस्तो भव्य प्रत्याशा!—२ पत्रुस ३:१३.
[फुटनोटहरू]
a “अनुसूचित जाति” सामाजिक तथा आर्थिक तवरमा धेरै कुराबाट वञ्चित हिन्दूहरूको तल्लो जात अथवा जातिच्युत, अछूतहरूलाई बुझाउने औपचारिक पदावली हो।
b एम. के. गान्धीले तल्लो जातलाई बुझाउन प्रयोग गरेको पद। यसको अर्थ हो, “हरिका जनहरू” र हरि भनेको भगवान् विष्णुको एउटा नाउँ हो।
[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]
“परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५
[पृष्ठ १९-मा भएको पेटी/चित्र]
कस्तो लाग्छ?
मसीही हौं भनी दाबी गर्ने व्यक्तिले छुवाछुत गरेको देख्दा कस्तो लाग्छ? पुर्खाहरू हिन्दूधर्मको तल्लो जात चमार वा पुलाया भए तापनि धर्मपरिवर्तन गरेर इसाई भएको केरलाका एक व्यक्ति केही वर्षअगाडि भएको एउटा घटना यसरी बताउँछन्:
एउटा विवाह भोजमा मलाई निम्त्याइएको थियो र त्यहाँ आएका प्रायजसो पाहुनाहरू चर्चका सदस्य थिए। त्यो भोजमा तिनीहरूले मलाई देखेपछि निकै खैलाबैला भयो अनि कट्टर सिरियाली चर्चका सदस्यहरूले म त्यहाँ बसेको खण्डमा तिनीहरू त्यहाँ नबस्ने कुरा सुनाए किनभने तिनीहरू पुलायनसँग बसेर खाना खाँदैनथे। दुलहीका बुबाले तिनीहरूको कुरा नमानेपछि एक हूल मानिसहरू त्यो भोजलाई बहिष्कार गरेर निस्के। तिनीहरू गएपछि खाना बाँडियो। भोजन बाँडिरहेका व्यक्तिहरूले मेरो लपेस उठाएर टेबल सफा गरिदिन इन्कार गरे।
[चित्र]
तल्लो जातहरू मात्र भेला हुने दक्षिण भारतको साधारण चर्च