के तपाईं दाह्रा किट्नुहुन्छ?
पहिले पहिलेका मानिसहरू पनि तनाउग्रस्त हुँदा दाह्रा किट्ने गर्थे। बाइबलमा प्रायजसो क्रोध वा वेदना व्यक्त गर्न दाह्रा किट्नु वा रगड्नु जस्ता अभिव्यक्तिहरू प्रयोग गरिएका छन्। (अय्यूब १६:९; मत्ती १३:४२, ५०) अहिलेको रिस तथा तनाउले भरिएको संसारमा करोडौं मानिसहरू साँच्चै दाह्रा किट्छन् र प्रायजसोलाई त आफूले यसो गरेको होसै हुँदैन। यसो गर्दा दाँत खिइनसक्छ।
कोही कोही मानिस किन दाह्रा किट्छन्? यसका कारणहरू जटिल छन् र पूर्णतया बुझ्न सकिएको छैन। तर कुनै कुनै अवस्थामा भावनात्मक तनाउ यसको कारण हुनसक्छ। बर्क्ली विश्वविद्यालयको स्वास्थ्य पत्र (अंग्रेजी) यस्तो बताउँछ: “वैवाहिक वा आर्थिक कठिनाइ भोगिरहेका, वार्षिक परीक्षा दिन लागिरहेका, जागिर जाला कि भनेर डराइरहेका वा अन्य दबाबहरू भोगिरहेका व्यक्तिहरूले अक्सर दाह्रा किट्ने गरेको पाइएको छ।” तल्लो र माथिल्लो बंगरा राम्ररी नमिल्नु, राति मस्त निदाउन नसक्नु वा मद्यपान पनि यसका अन्य सम्भाव्य कारणहरू हुन्। त्यसकारण, स्वास्थ्य पत्र त्यस्ता दुःख भोग्नेहरूलाई मद्यपान कम गर्ने, सुत्नुअघि तनाउग्रस्त नभई शान्त हुने जस्ता केही सामान्य कदमहरू चाल्ने सुझाउ दिन्छन्। जस्तै, सुत्नुअघि तातो पानीले नुहाउने वा आफूलाई व्याकुल पारिरहेको समस्याबारे साथी वा भरपर्दो सल्लाहकारसित कुरा गर्ने इत्यादि।
दिउँसो पनि दाह्रा किट्ने वा रगड्ने बानी परेको छ भने सजिलै चाल पाउन सकिन्छ। तर सुतेको बेला कसरी चाल पाउने? कहिलेकाहीं आफूले चालै नपाई दाह्रा किट्दा, जसलाई अंग्रेजीमा ब्रक्सिजम भनिन्छ, त्यही कोठामा सुतिरहेको अर्को व्यक्तिको निद्रै खोल्ने चर्को आवाज आउँछ। ब्यूँझदा कन्सिरी दुख्नसक्छ वा बंगाराले क्याटक्याट आवाज निकाल्नसक्छ।a दन्तचिकित्सकले तपाईंको दाँत असाध्यै खिइएको छ भनेर पनि बताउनसक्छ। केही राहतको लागि राति दाँतमा कुनै उपकरण लगाउने सुझाउ तिनले दिनसक्छन्। मुखमा यस्तो सुरक्षा उपकरण लगाउँदैमा दाह्रा किट्न बन्द हुने त होइन तर दाँत अझ बिग्रनदेखि यसले जोगाउनसक्छ। कुरा जेसुकै होस्, नहडबडाउनुहोस्! जति चिन्ता कम गर्नुहुन्छ, दाह्रा किट्ने पनि त्यति नै कम हुन्छ।
[फुटनोट]
a थप जानकारीका लागि कृपया जून २२, १९९१ ब्यूँझनुहोस्! (अंग्रेजी) पृष्ठ २०-२ हेर्नुहोस्।