महिलाहरू तथा तिनीहरूको कामको मूल्यांकन
तीन हजार वर्षअघि लमूएल नाउँ गरेका एक व्यक्तिले सुयोग्य पत्नीबारे ज्वलन्त वर्णन गरे। यो हामी बाइबलको हितोपदेश अध्याय ३१ मा पाउँछौं। तिनले जोरदार तारीफ गरेकी त्यस महिला साँच्चै अति व्यस्त थिइन्। उनले आफ्नो परिवारको हेरचाह गर्नुका साथै बजारमा गएर व्यापार गर्थिन्, जग्गा-जमिन किनबेच गर्थिन्, परिवारका सदस्यहरूका लागि लुगा बनाउँथिन् र खेतमा काम गर्थिन्।
उक्त महिलाको मूल्यांकन गरिन्थ्यो। ‘छोराछोरीले तिनलाई आशिषित् ठान्थे र तिनका पतिले तिनको प्रशंसा गर्थे।’ त्यस्ती पत्नी अमूल्य धन हुन् जसलाई बाइबलमा “मूगा-मोतीभन्दा पनि ज्यादा बहुमूल्य” भनिएको छ।—हितोपदेश ३१:१०-२८.
लमूएलको समयदेखि यता महिलाहरूको काममा केही परिवर्तन त भएको छ तर यो सुगम हुनुको साटो झन् जटिल भएको छ। यस २० औं शताब्दीमा तिनीहरूले थुप्रै भूमिका निर्वाह गर्नुपर्छ। जस्तै तिनीहरू पत्नी, आमा, परिचारिका, शिक्षिका, अन्नदाता र खेताला सबै हुनुपर्छ। आफ्ना छोराछोरीले पेटभरी खान पाऊन् भन्ने हेतुले मात्रै पनि असंख्य महिलाहरू ठूलठूला त्याग गर्छन्। के यी सबै महिलाहरूले तिनीहरूको काममा जस पाउनुपर्ने होइन र?
अन्नदाताको रूपमा महिला
आफ्नो परिवारको खर्च टार्न आज थुप्रै महिलाले जागिर खानुपर्छ या तिनीहरू एक्लैले परिवार धानिरहेका हुन्छन्। महिला तथा विश्व आर्थिक संकट (अंग्रेजी) नामक पुस्तक यस्तो प्रतिवेदन उल्लेख गर्छ: “महिलाहरूले घरायसी काम मात्र गर्दैनन्। ‘गृहणी मात्रै’ भनी चिनाउनसक्ने महिलाहरू विश्वमा कमै होलान्।” अनि महिलाहरूको काम त्यति चहकमहक हुँदैन। पत्रपत्रिका वा टेलिभिजनका धारावाहिक श्रृंखलाहरूमा महिलाहरू एकदमै भव्य अफिसहरूमा उच्च ओहदामा काम गरिरहेको देखाए तापनि अक्सर वास्तविकता अर्कै हुन्छ। विश्वका अधिकांश महिलाहरू अत्यन्तै कम पैसाको निम्ति निकै लामो समय खटिन्छन्।
करोडौं महिलाहरूले बाली लगाउने, आफ्नो परिवारको सानो खेतको देखभाल गर्ने वा गाईबस्तुको हेरविचार गर्ने काम गर्छन्। उनीहरूको यस कामले विश्वको आधा जनसंख्याको निम्ति अन्न उत्पादन हुन्छ तर यसको लागि अक्सर कम पैसा पाउँछन् वा एक पैसा पनि पाउँदैनन्। महिला तथा वातावरण (अंग्रेजी) नामक पुस्तकको रिपोर्टअनुसार “महिलाहरू अफ्रिकामा ७० प्रतिशत, एसियामा ५०/६० प्रतिशत र ल्याटिन अमेरिकामा ३० प्रतिशत अन्न उत्पादन गर्छन्।”
महिलाहरूले तलबी जागिर खाए तापनि तिनीहरू महिला भएकै कारण प्रायजसो पुरुषहरूको दाँजोमा कम तलब पाउँछन्। विशेषगरि, परिवारको अन्नदाताको भूमिका निर्वाह गरिरहेकी आमालाई यो भेदभाव असह्य हुन्छ अनि अहिले महिलाहरूले यसरी अन्नदाताको भूमिका निर्वाह गर्नु कुनै नौलो कुरा होइन। संयुक्त राष्ट्रको प्रतिवेदनअनुसार अफ्रिका, क्यारेबियन र ल्याटिन अमेरिकामा ३० देखि ५० प्रतिशत परिवारहरू हातमुख जोड्न महिलाहरूमै भर पर्छन्। अनि विकसित देशहरूमा समेत महिलाहरूको बढ्दो संख्याले परिवार धान्न परिरहेको छ।
विकासोन्मुख मुलुकहरूका गरिबीले गर्दा थुप्रै गाउँहरूमा यो परिपाटी दिनप्रतिदिन बढिरहेको छ। आफ्नो परिवारको निम्ति खानाको प्रबन्ध गर्न निरन्तर संघर्ष गर्नुपर्ने पतिले नजिकैको शहर वा अर्कै देशमा गएर काम गर्ने निर्णय गर्नसक्छन्। यसो गर्दा तिनले परिवारको हेरविचार गर्ने जिम्मा चाहिं स्वास्नीको थाप्लोमा बोकाउँछन्। कथंकदाचित् तिनले काम पाइहाले भने घरमा पैसा पठाउँछन्। तर तिनले चाहेर पनि अक्सर पैसा पठाइरहन सक्दैनन्। अनि यता तिनको परिवार चाहिं झन् झनै गरिबीमा धस्सिंदै जान्छ र अब तिनीहरूको स्याहारसुसार गर्ने काम आमाकै थाप्लोमा पर्छ।
यस दर्दनाक चक्रलाई “गरिबीको महिला रूप” भन्ने सुहाउँदो नाउँ दिइएको छ र यसले गर्दा लाखौं महिलाहरूले ठूलो बोझ उठाउनुपर्छ। महिला तथा स्वास्थ्य नामक पुस्तकले यसो भन्छ: “विश्वमा एक तिहाइ परिवार महिलाहरूले नै धानिरहेको अनुमान लगाइएको छ र यस्ता परिवारहरू पुरुषहरूले धानिरहेको परिवारभन्दा गरिब हुने सम्भावना धेरै छ अनि यस्ता परिवारहरूको संख्या बढ्दो छ।” परिवारलाई भोजनको प्रबन्ध गर्न गाह्रो त छँदैछ तर महिलाहरू अन्य चुनौतीहरू पनि सामना गर्छन्।
आमा तथा शिक्षिका
आमाले आफ्ना छोराछोरीको भावनात्मक हितको पनि ख्याल गर्नुपर्छ। बच्चालाई प्रेम र स्नेहबारे सिकाउने कुरामा आमाले महत्त्वपूर्ण भूमिका खेल्छिन् र यो शिक्षा शारीरिक आवश्यकताहरू पूरा गर्नु जत्तिकै महत्त्वपूर्ण हुनसक्छ। पछि गएर एक सन्तुलित वयस्क हुन बच्चालाई न्यानो र सुरक्षित वातावरण चाहिन्छ। यसको निम्ति पनि आमाको भूमिका उत्तिकै महत्त्वपूर्ण छ।
हुर्कंदो उमेरका केटाकेटी (अंग्रेजी) नामक पुस्तकमा हेलेन बी लेख्छिन्: “मायालु आमाबाबुले बच्चाको हेरचाह गर्छन्, स्नेह देखाउँछन्, बारम्बार वा सधैंजसो बच्चाको आवश्यकतालाई प्राथमिकता दिन्छन्, बच्चाको क्रियाकलापमा उत्साह देखाउँछन् तथा बच्चाको भावनाहरूप्रति सचेत र समानुभूतिशील हुन्छन्।” मायालु आमाबाट यस्तो स्नेह पाएको बच्चाहरूले अवश्य पनि आमाको मूल्यांकन गर्नुपर्छ।—हितोपदेश २३:२२.
स्तनपानद्वारा पनि थुप्रै आमाहरूले आफ्नो बच्चाको निम्ति जन्मैदेखि स्नेही वातावरण सृजना गर्छन्। विशेषगरि, गरिब परिवारमा नवजात शिशुको निम्ति आमाले दिनसक्ने अमूल्य उपहार आमाको दूध हो। (पृष्ठ १०-११ को पेटी हेर्नुहोस्।) चाखलाग्दो कुरा के छ भने प्रेरित पावलले थिस्सलोनिकीका मसीहीहरूप्रतिको प्रेमलाई “आफ्ना बालकहरूलाई पोषण” गर्ने धाईआमासित तुलना गरेका छन् भनी बाइबलले बताउँछ।—१ थिस्सलोनिकी २:७, ८.
आमाले आफ्ना छोराछोरीको पालनपोषण गर्नुका साथसाथै तिनीहरूको प्रमुख शिक्षिका पनि हुन्। “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन् र आफ्नी आमाको अर्ती इन्कार नगर्” भनी बाइबलले सल्लाह दिन्छ। यसबाट पनि आफ्ना छोराछोरीलाई शिक्षा दिने काममा आमाको भूमिका कत्तिको महत्त्वपूर्ण छ भन्ने संकेत पाउँछौं। (हितोपदेश १:८) धैर्य नगुमाई अक्सर आमा वा बज्यैले नै बच्चालाई बोल्न, हिंड्न, घरको कामकाज गर्न र अन्य थुप्रै कुराहरू सिकाउँछन्।
ममता अत्यावश्यक
महिलाहरूले आफ्नो परिवारलाई दिनसक्ने सबैभन्दा उत्तम उपहारहरूमध्ये एउटा ममता हो। परिवारमा कोही बिरामी हुँदा आमाले परिचारिकाको भूमिका पनि निभाउँदै घरका अन्य कामकाजहरू पनि गर्छिन्। महिला तथा स्वास्थ्य पुस्तक यसो भन्छ: “वास्तवमा विश्वमा प्रायजसो स्वास्थ्य स्याहारमा महिलाहरूको ठूलो हात छ।”
एक आमाको ममताले तिनलाई आफू अलिकति मात्र खाएर भए पनि आफ्ना छोराछोरीलाई भोकै रहन नदिन प्रेरित गर्नसक्छ। वास्तवमा कुपोषित भए तापनि कतिपय महिलाहरू आफूले पर्याप्त खाइरहेकी छु भन्ठान्छन् भनी अनुसन्धानकर्ताहरूले बताउँछन्। आफ्ना पति तथा बच्चाहरूलाई पेटभरी खान दिने तिनको बानी भइसकेकोले आफू काम गर्नसक्ने होउञ्जेल पर्याप्त खाना खाइरहेको छु भन्ठान्छिन्।
कहिलेकाहीं महिलाहरूको ममता आफू वरपरको वातावरणप्रति देखाइएको चिन्तामा पनि प्रदर्शित हुन्छ। वातावरणबारे तिनले पनि ख्याल राख्छिन् किनभने खडेरी पर्दा, जमिन बञ्जर हुँदा र वन विनाश हुँदा यसको असर तिनले पनि भोग्नुपर्छ। भारतको एउटा शहरमा काठ कम्पनीले नजिकैको जंगलको झन्डै २,५०० रूखहरू काट्न लागेको थाह पाउँदा महिलाहरू आक्रोशित भए। महिलाहरूलाई ती रूखहरू खाना, दाउरा तथा घाँसपातको निम्ति चाहिन्थ्यो। रूख काट्ने मानिसहरू आइपुग्दा महिलाहरू हातेमालो गरेर रूख जोगाउन तम्तयार भइसकेका थिए। ती महिलाहरूले ‘रूख काट्नुअघि हाम्रो टाउको काट’ भनी रूख काट्नेहरूलाई भने। यसरी जंगल विनाश हुनबाट बच्यो।
“तिनको मेहनतको फलको निम्ति तिनको प्रशंसा गर्”
कुनै एक महिलाले अन्नदाता, आमा, शिक्षिका वा ममताको खानी जुनसुकै भूमिका निर्वाह गरे तापनि तिनी र तिनको काम आदर अनि कदरको योग्य छ। सुयोग्य पत्नीबारे वर्णन गर्ने बुद्धिमान् पुरुष लमूएलले महिलाको काम र तिनको राय दुवैलाई मूल्यवान् ठाने। वास्तवमा, तिनको सल्लाह धेरै हदसम्म आफ्नो आमाले दिएको निर्देशनमा आधारित थियो भनी बाइबलले बताउँछ। (हितोपदेश ३१:१) कर्तव्यनिष्ठ पत्नी तथा आमालाई तुच्छ ठान्नु हुँदैन भनी लमूएललाई पक्का थाह थियो। तिनले यसरी लेखे: “तिनको मेहनतको फलको निम्ति तिनको प्रशंसा गर्, र तिनको परिश्रमबाट तिनले . . . आदर पाऊन्।”—हितोपदेश ३१:३१.
तथापि, लमूएलले लेखेका ती धारणाहरू मानव सोचाइ मात्र थिएनन्। ती परमेश्वरको वचन बाइबलमा लिपिबद्ध छन्। ‘हरेक धर्मशास्त्र परमेश्वरबाट प्रेरणा भएको हो।’ (२ तिमोथी ३:१६) अतः ती भावनाहरूले सर्वोच्च परमेश्वरको महिलाहरूप्रतिको विचारलाई प्रतिबिम्बित गर्छ किनभने ती विवरणहरू हाम्रो निर्देशनको निम्ति बाइबलमा लेखाउनुभएको छ।
यसबाहेक, परमेश्वरको प्रेरित वचनले बताएअनुसार पतिहरूले “[पत्नीलाई] आदर” गर्नुपर्छ। (१ पत्रुस ३:७) अनि एफिसी ५:३३ मा पतिलाई यसो भनिएको छ: “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर।” साँच्चै एफिसी ५:२५ मा यसो भनिएको छ: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” हो, ख्रीष्टले आफ्ना अनुयायीहरूका निम्ति त्यस्तो प्रेम अभिव्यक्त गर्नुभयो जसको निम्ति उहाँ मर्नसमेत तयार हुनुहुन्थ्यो। उहाँले पतिहरूका निम्ति कस्तो असल अनि निःस्वार्थ नमुना बसाल्नुभयो! अनि येशूले सिकाउनुभएका स्तरहरूमा परमेश्वरका स्तरहरू प्रतिबिम्बित हुन्छन् जुन हाम्रो लाभको निम्ति बाइबलमा लिपिबद्ध गरिएका छन्।
थुप्रै क्षेत्रमा महिलाहरूले जत्ति नै कडा परिश्रम गरे तापनि विरलै श्रेय पाउँछन्। तिनीहरूले आफ्नो जीवनस्तर कसरी उकास्नसक्छन्? अनि तिनीहरूप्रतिको मनोवृत्तिमा परिवर्तन हुने के कुनै सम्भावना छ? महिलाहरूका निम्ति भविष्य कस्तो छ?
[पृष्ठ १०, ११-मा भएको चित्रको स्रोत]
महिलाले आफ्नो जीवनस्तर उकास्नसक्ने तीन तरिकाहरू
शिक्षा। विश्वमा झन्डै ६० करोड महिलाहरू निरक्षर छन्। तीमध्ये प्रायजसोले स्कूलसमेत जाने मौका पाएनन्। तपाईंले स्कूलको शिक्षादीक्षा पाउनुभएन होला तर यसको अर्थ तपाईं शिक्षित हुनै सक्नुहुन्न भन्ने होइन। यसो गर्न सजिलो त छैन तर थुप्रै महिलाहरू सफल भएका छन्। महिला तथा साक्षरता (अंग्रेजी) नामक पुस्तकले यस्तो बताउँछ, “वयस्कहरूलाई लेखपढ गर्न उत्प्रेरित गर्ने एउटा महत्त्वपूर्ण तत्त्व धर्म हो।” पढ्न सिकेपछि आफैले बाइबल पढ्नसक्नु एउटा असल इनाम हो। तर अरू पनि थुप्रै लाभहरू छन्।
साक्षर आमाले आर्थिक तवरमा थुप्रै अवसरहरू मात्र पाउने नभई तिनले स्वस्थ रहने तरिकाहरू पनि सिक्नसक्छिन्। शिक्षाका फाइदाहरू भारतको केराला राज्यको उदाहरणबाट प्रदर्शित हुन्छ। यस राज्यको आयस्रोत सामान्यतया अत्यन्तै कम भए तापनि ८७ प्रतिशत महिलाहरू साक्षर छन्। चाखलाग्दो कुरा के छ भने भारतका अन्य राज्यहरूभन्दा केरलामा बाल मृत्युदर पाँच गुना कम छ, महिलाहरू सालाखाला १५ वर्ष बढी बाँच्छन् र सबै बालिकाहरू स्कूल जान्छन्।
साक्षर आमाले आफ्नो छोराछोरीलाई सिक्न स्वतः प्रोत्साहन दिई हाल्छिन्। यो चानचुने सफलता पक्कै होइन। केटीहरूलाई शिक्षा दिनु एउटा ठूलो लगानी हो। महिलाहरूले जत्तिको अरू कुनै पनि कुराले परिवारको स्वास्थ्य तथा महिलाहरूको आफ्नै जीवनस्तरलाई उकास्नसक्दैन भनी संयुक्त राष्ट्रसंघीय बाल कोषको (युनिसेफ) प्रकाशन विश्वका बालबालिकाको अवस्था १९९१ (अंग्रेजी) बताउँछ। निस्सन्देह, लेखपढ गर्न जानेमा तपाईं असल आमा तथा प्रबन्धक बन्न सक्नुहुनेछ।a
स्वास्थ्य। तपाईं आमा हुनुभएकोले र अझ तपाईं गर्भवती वा स्तनपान गराउँदै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ। के तपाईं आफ्नो भोजनलाई अझ पोषिलो बनाउन सक्नुहुन्छ? चिकित्सकहरूअनुसार अफ्रिकालगायत दक्षिण तथा पश्चिम एसियामा झन्डै दुई तिहाइ गर्भवती महिलाहरू रक्तअल्पताले ग्रसित छन्। रक्तअल्पताको कारण तपाईंलाई थकित बनाउनुका साथै बच्चा जन्मँदा अनेक खतराहरू उत्पन्न हुनसक्छन् र औलो लाग्ने सम्भावना पनि धेरै हुन्छ। माछामासु हतपति पाइँदैन वा मँहगो छ भने अण्डा वा आइरन धेरै भएको फलफूल वा तरकारीहरू त पाइन्छ होला। अन्धविश्वासले गर्दा पोषिलो खानाहरू खानबाट वञ्चित नहुनुहोस् र जहान परिवारलाई मात्र खान दिएर आफू चाहिं भोकभोकै नबस्नुहोस्।b
स्तनपान गराउनु तपाईं र तपाईंको बच्चा दुवैको लागि लाभदायक हो। आमाको दूध सस्तो, स्वच्छ र अरू खानेकुराभन्दा धेरै पोषिलो हुन्छ। युनिसेफअनुसार यदि आमाहरूले बच्चा जन्मेको पहिलो चार महिनादेखि छ महिनासम्म स्तनपान गराउने हो भने वर्षेनी १० लाख बच्चाहरूको ज्यान जोगिने थियो। तर आमालाई कुनै सरुवा रोग लागेको छ र यो दूधबाट बच्चालाई सर्नसक्छ भने त अवश्य पनि अर्को राम्रो विकल्प खोज्नुपर्छ।
तपाईं घरभित्रै दाउरा बालेर खाना पकाउनुहुन्छ भने कोठामा हावाको आवतजावत हुनुपर्छ। महिला तथा स्वास्थ्य नामक पुस्तकले यस्तो चेताउनी दिन्छ: “खाना पकाउँदा निस्कने धूँवा र विषालु ग्याँसहरू स्वास्थ्यको निम्ति सबैभन्दा हानिकारक भएको हाल थाह हुन आएको छ।”
जस्तोसुकै दबाब आए तापनि धूम्रपान नगर्नुहोस्। चुरोटको व्यापक विज्ञापनले विकासोन्मुख देशहरूका महिलाहरूलाई लक्षित गर्छ र चुरोट सेवन गर्नु अन्यन्तै सौखिन कुरा हो भनी देखाउन खोज्छ। तर यो सरासर झूट हो। चुरोटले बच्चालाई हानि गर्छ र तपाईंको ज्यान समेत लिनसक्छ। चुरोट सेवन गर्ने मानिसहरूमध्ये एक चौथाइ अन्ततः सुर्तीको अम्मलबाट नै मर्ने अनुमान लगाइएको छ। यसबाहेक, प्रायः प्रथमचोटि चुरोट सेवन गरेपछि मानिसलाई त्यसकै लत लाग्ने सम्भावना धेरै हुन्छ भनी विषेशज्ञहरू चेताउनी दिन्छन्।
सरसफाइ। सरसफाइको सन्दर्भमा तपाईंको उदाहरण र तपाईंको सल्लाह परिवारको स्वास्थ्यको निम्ति महत्त्वपूर्ण छ। जीवनको यथार्थ (अंग्रेजी) नामक प्रकाशनले सरसफाइको निम्ति केही आधारभूत तरिकाहरू यसप्रकार औंल्याएको छ:
• दिसा बसेपछि र खाना छुनुअघि साबुन पानीले हात धुनुहोस्। तपाईंको छोराछोरीलाई पनि खानुअघि हात धुन लाउनुहोस्।
• चर्पीको प्रयोग गर्नुहोस् र यसलाई सफा तथा छोपेर राख्नुहोस्। यो सम्भव छैन भने सकेसम्म घरबाट टाढा दिसा बस्नुहोस् र तुरुन्तै पुरिहाल्नुहोस्।—व्यवस्था २३:१२, १३ तुलना गर्नुहोस्।
• घरमा सकेसम्म सफा पानी चलाउने गर्नुहोस्। यसो गर्न इनार छोपेर राख्नुहोस् र पानी ओसार्नको निम्ति सफा भाँडो चलाउनुहोस्।
• सफा पिउने पानीको प्रबन्ध छैन भने पानी उमाल्नुहोस् र पिउनुअघि सेलाउन दिनुहोस्। उमालेको पानी सफा देखिएला तरै पनि दूषित हुनसक्छ।
• नपकाएको खानाबाट रोग सर्ने सम्भावना धेरै हुन्छ भनी नबिर्सनुहोस्। काँचै खाने खाना पहिला पखाल्नुपर्छ र सकेसम्म चाँडै खाइहाल्नुपर्छ। अरू खानेकुरा र अझ विशेषगरि माछामासु राम्ररी पकाउनुपर्छ।
• खानेकुरा सफा राख्नुहोस् र कीरा वा जनावरहरूले फोहर पार्न नदिन खानालाई छोपेर राख्नुहोस्।
• घरको फोहरमैला जलाउनुहोस् वा पुर्नुहोस्।c
[फुटनोटहरू]
a यहोवाका साक्षीहरू आफ्नो विस्तृत बाइबल शिक्षा कार्यक्रम अन्तर्गत निश्शुल्क साक्षरता कक्षाहरू पनि सञ्चालन गर्छन्।
b कुनै कुनै मुलुकहरूमा गर्भको बच्चालाई हानि गर्छ भन्ने अन्धविश्वासको कारण गर्भवती महिलाहरूले माछा, अण्डा वा कुखुराको मासु खानु हुँदैन भन्ने विचारधारा छ। कहीं कहीं श्रीमान् तथा छोराहरूले खाइसकेपछि बचेखुचेको मात्र खाने चलन छ।
c अझ विस्तृत जानकारीको निम्ति अप्रिल-जून १९९५ ब्यूँझनुहोस्!-को पृष्ठ ६-११ हेर्नुहोस्।
[पृष्ठ ८-मा भएको चित्र]
पश्चिमी मुलुकका थुप्रै महिलाहरू अफिसमा काम गर्छन्
[स्रोत]
Godo-Foto
[पृष्ठ ९-मा भएको चित्र]
थुप्रै महिलाहरूले दयनीय अवस्थामा काम गर्नुपर्छ
[पृष्ठ ९-मा भएको चित्र]
आमाहरू घरमा शिक्षिका पनि हुन्