युवा जनहरू सोध्छन्
मेरो साथीबाट उकुसमुकुस नहुन के गर्ने होला?
“मेरो साथीले त मलाई उसकै सम्पत्ति जस्तो व्यवहार गर्थी। मलाई आफै केही गर्नै दिंदैनथी।”—होली।
“मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ” भनी एक ज्ञानवर्द्धक हितोपदेश बताउँछ। (हितोपदेश १८:२४) अनि तपाईंको साथी र तपाईंको विश्वास, हँसी मिजास वा चासोहरू उस्तै उस्तै छन् भने सँगै बस्न मन पर्नु त स्वाभाविकै हो। क्यारोलिन नाउँ गरेको केटी यसो भन्छिन्: “मसीही मण्डलीका कोही कोहीसित मिलेर विभिन्न कामकुरा गरिने भएकोले पनि यत्तिको घनिष्ठ भएको हो।” क्यारोलिन यहोवाको साक्षी भएकीले एक महिना प्रचारकार्यमा ६० घण्टा बिताउने निर्णय गरिन्। यस कार्यमा साथ दिन तिनका साथीहरूले पनि आ-आफ्नो तालिकामा छाँटकाँट गरे!
सँगै हुँदाका लाभहरू त छन् तर कहिलेकाहीं अचाक्ली भएको महसुस हुनसक्छ। सुरुमा उल्लिखित होलीले आफ्नो एक जना साथीसित बस्दा उकुसमुकुस महसुस गरिन्। अनि यस्तो महसुस गर्ने तिनी मात्रै होइनन्। होली भन्छिन्: “अरू केटाकेटीहरू पनि त्यस्तै महसुस गर्छन्। कुनै कुरा नमिलेर झगडा नहुञ्जेल त तिनीहरू नङ र मासुझैं हुन्छन्। अनि झगडा परेपछि तिनीहरूको एकअर्कासित हप्तौंसम्म बोलचाल हुँदैन।”
तर समस्या के हुनसक्छ भने थिचोमिचो गरेजस्तो महसुस भयो र आफ्नो व्यक्तिगत कामकुराको लागि समय चाहियो भनी साथीलाई थाह नदिंदा यस्तो समस्या हुन्छ। त्यसो भन्यो भने साथीको चित्त दुख्ला भन्ने पीर पर्ला। तपाईंहरूको सम्बन्धमा खटपट होला भन्ने डर पनि लाग्नसक्छ। तथापि, सधैंभरि सँगै नबसेर आ-आफ्नो कामकुरा आफै गर्दा चित्त दुख्नुको सट्टा फाइदा नै हुन्छ।
उदाहरणका लागि, अष्ट्रेलियाको सिड्नीमा एउटा सार्वजनिक बगैंचामा रोपेको ठूलो रूखलाई सांग्लोले छेकबार लाउनुपऱ्यो। किन? किनभने हूलका हूल आगन्तुकहरूले माटोलाई थिच्नुका साथै जरा नै निस्सासिनेगरि कुल्चीमिल्ची गरिरहेका थिए। त्यत्तिकै छोडेको भए त्यो रूख मर्ने थियो।
साँचो मित्रताबारे पनि त्यस्तै हो। धेरै समय सँगै बितायो भने पनि मित्रता निस्सासिनसक्छ। राजा सुलेमानले यस्तो लेखे: “तेरो छिमेकीको घरमा घरिघरि नजा, तँलाई ज्यादै देख्ता त्यसले तँलाई घृणा गर्नलाग्छ।”—हितोपदेश २५:१७.
व्यक्तिगत समय र गोपनीयताको आवश्यकता
सुलेमानले किन यसो भने? एउटा कारण त हामी सबैलाई आफ्नो व्यक्तिगत कामकुरा गर्न निजी समय र गोपनीयता चाहिन्छ। येशू ख्रीष्टले समेत त्यस्तो आवश्यकता महसुस गर्नुभयो। उहाँ आफ्ना चेलाहरूसित घनिष्ठ हुनुभए तापनि समय समयमा उहाँ एक्लै “अलग्गै प्रार्थना गर्नालाई” उक्लनुहुन्थ्यो। (मत्ती १४:२३; मर्कूस १:३५) त्यस्तैगरि, ईश्वरभीरु इसहाकले पनि एक्लै बस्न समय निकाल्थे। (उत्पत्ति २४:६३) गृहकार्य, घरधन्दा र व्यक्तिगत बाइबल अध्ययनजस्ता कामहरू गर्न तपाईंलाई पनि समय चाहिन्छ। अनि तपाईंको यस आवश्यकताको साथीहरूले बेवास्ता गर्छन् भने द्वेष उत्पन्न हुन बेर लाग्दैन।
अतः आफ्ना व्यक्तिगत कामकुराहरू गर्न समय चाहिंदा साथीलाई भन्न नडराउनुहोस्। मसीही प्रेमले “आफ्नै भलाई” नखोज्ने भएको हुँदा साँचो साथीले अक्सर कुरा बुझ्ने कोसिस गर्छन्। (१ कोरिन्थी १३:४, ५; हितोपदेश १७:१७) एक युवती यसरी लेख्छिन्: “मेरो वार्षिक परीक्षाको समयमा साथीहरूले मेरो कुरा बुझे अनि मलाई सहयोग पनि गरे। मेरो पढ्ने समयमा उनीहरूलाई जाऊ भन्न मलाई केही अप्ठ्यारो लागेन। साथीहरूसित इमानदार हुँदा आफैलाई सजिलो हुन्छ र हामी सबैका आ-आफ्ना जिम्मेवारीहरू छन् भनेर तिनीहरूलाई पनि थाह छ।”
निस्सन्देह, सुनौलो नियमअनुसार तपाईंले पनि आफ्नो साथीको कुरा बुझ्नुपर्छ। (मत्ती ७:१२) तामारा नाउँकी युवती यस्तो लेख्छिन्: “आफ्ना जिम्मेवारीहरूले गर्दा मेरो साथीलाई पनि उसका व्यक्तिगत कामकुराहरू गर्न समय अवश्य चाहिन्छ भनी बुझ्न सकेकी छु।” अनि तामाराको घरमा काम पर्दा उनका साथीहरूले हतारपतार गर्न वा पछि आएर गरे भइहाल्छ नि भन्दैनन्। तामारा यसो भन्छिन्, “बरु पछि सँगै अरू कुराहरू गर्नको निम्ति अक्सर मलाई सघाउँछन्।” त्यस्ता निस्वार्थ साथीहरू कस्तो अनमोल हुन्छन् अनि समयको पनि सदुपयोग!
“ठूला मनका होओ”
मित्रतामा एकअर्कालाई अलि ठाउँ दिनुमा अर्को एउटा पनि बुद्धिमानीपूर्ण कुरा छ। हामीले एउटै मित्रतामा मात्रै आफ्नो सबै समय लगायौं र भावनात्मक तवरमा पनि त्यसैमा मात्र लीन भयौं भने आमाबाबु, भाइबहिनी तथा अन्य मसीहीहरूसितको सम्बन्धजस्ता महत्त्वपूर्ण सम्बन्धहरूलाई बेवास्ता गरिरहेका हुनसक्छौं। अनि आफ्नो भावनात्मक तथा आध्यात्मिक वृद्धिमा पनि निकै बाधा पुऱ्याइरहेका हुनसक्छौं। बाइबल यसो भन्छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) स्पष्टतः तपाईंले एउटै मानिससित मात्र संगत गरिरहनुभयो र अझ त्यो पनि आफ्नै उमेरको साथी हो भने तपाईंको बुद्धि पूर्णतया ‘तिखारिंदैन।’
अतः बाइबलले एउटा समूहमा मात्र सीमित हुने, वा विशेष केही साथीहरू मात्र छान्न प्रोत्साहन दिंदैन। यसले हामीलाई “ठूलो मनका होओ” भनी आग्रह गर्छ। (२ कोरिन्थी ६:१३) मूड तथा भावनाहरू (अंग्रेजी) नामक पुस्तकले यस्तो सल्लाह दिन्छ, “कसैसित तपाईंको विशेष प्रकारको मित्रता भए तापनि अरू साथीहरूलाई पनि समय दिनु जरुरी छ।”
यस्तो सल्लाह व्यवहारमा उतार्न हर घडी सजिलो हुँदैन। माइकल नाउँ गरेका एक मसीही युवा यसो भन्छन्: “ट्रोइ र म जत्तिखेर पनि सँगै हुन्थ्यौं। मण्डलीका तथा अन्य सम्पूर्ण क्रियाकलाप हामी सँगै गर्थ्यौं। हामी नङ र मासुझैं मिल्थ्यौं। हाम्रो मण्डलीमा अर्को एक जना जवान साक्षी आए। पूर्ण-समय प्रचारकको रूपमा हामीसँगै सेवा गर्न चाहन्थ्यौं त्यसैले हामी दुई जनाले बढी समय सँगै बिताउन थाल्यौं।” नतिजा? माइकल भन्छन्: “ट्रोइले मसित कुरा गर्नै छोड्यो र पुनर्मिलाप गर्न लाख कोसिस गरे तापनि केही नलागेपछि मैले पनि ट्रोइसित कुरा गर्नै छाडें। एक वर्षसम्म यस्तै भयो।” ट्रोइ “डाहले जलेको” माइकल बताउँछन्।
तथापि, सन्तुलित मित्रतामा साथीहरूले एकअर्कालाई आफ्नो निजी सम्पत्ति जस्तो व्यवहार गर्दैनन्। अतः तपाईंको साथीले तपाईं अरूसित घुलमिल भएको चाहँदैन भने ऊसित खुलस्त कुराकानी गर्नुपर्छ। सायद साथीलाई तपाईंहरूको मित्रताको तपाईं कदर गर्नुहुन्छ भन्ने आश्वासन चाहिएको होला। अझै तिनीसँगै कामकुराहरू गर्नुहुनेछ भनी स्पष्ट पार्नुहोस्।
हो, यो कुरा बुझ्न तपाईंको साथीलाई केही समय लाग्ला। उदाहरणका लागि, १६ वर्षीया ज्यानेटाकी मिल्ने साथीले अरूसित समय बिताउन थाल्दा उनी भित्रभित्रै जल्न थालिन्। तर ज्यानेटाको भनाइअनुसार “प्रार्थना र व्यक्तिगत बाइबल अध्ययनद्वारा” ती भावनाहरूलाई हटाइन्। अतः तिनले आफ्नो साथीसित घनिष्ठ मित्रता कायम राख्नसकिन्। माइकलको साथी ट्रोइले पनि सुरुमा अनुभव गरेको ईर्ष्यालाई मनबाट हटाए र तिनीहरू फेरि असल मित्रहरू भए। सायद तपाईंको साथीले पनि त्यस्तै गर्नसक्छन्। साँच्चै ठूलो मनका हुँदा अन्ततः सम्बन्धित सबै व्यक्तिहरूले फाइदा उठाउनेछन्। सत्र वर्षीया डेबीका साथीहरूले अरू नयाँ साथीहरू बनाउँदा तिनीहरू “मेरा पनि साथी भए” भन्छिन्।
तर तपाईंको साथीले तपाईं र ऊबीचको सम्बन्धमा आवश्यक यी छाँटकाँटहरू पटक्कै गर्न चाहँदैन भने नि? त्यतिबेला आ-आफ्नो बाटो लाग्नुबाहेक अरू केही उपाय नहुनसक्छ। तथापि, तपाईंको मित्रता खत्तम भयो भन्ने निष्कर्षमा पुग्नुअघि यस विषयमा आमाबाबुको विचार बुझे कसो होला? आखिर ईश्वरभीरु आमाबाबु नै तपाईंका सबैभन्दा साँचो मित्रहरू हुन्। अनि आफ्नो निजी समयमा कुनै सम्झौता नगरी तपाईंले आफ्नो मित्रतालाई कायम राख्ने केही व्यवहारिक सल्लाहहरू उहाँहरूबाट पाउन सक्नुहुन्छ।
असल साथीहरूसित समय बिताउनुहोस्
चेताउनीका केही शब्द: ठूलो मनका हुनुको अर्थ जो पायो त्यो सबैलाई साथी बनाउँदै हिंड्ने चाहिं होइन। मित्रताबारे एउटा पुस्तक यसो भन्छ: “तपाईंले जुन व्यक्तिसित धेरै समय बिताउनुहुन्छ समयमा ऊ जस्तै हुन थाल्नु स्वाभाविक हो। कहिलेकाहीं यो परिवर्तन तपाईंले चालै नपाई हुन्छ। तपाईंले आफ्ना भावनाहरूको पर्वाह नगरी साथीभाइकै जस्तो सोचाइ अनि चालढाल गर्न थाल्नुहोला। यसप्रकार आफ्ना साथीहरूले तपाईंलाई नियन्त्रण गरिरहेका हुनसक्छन्।” बाइबलले यही कुरा हजारौं वर्षअघि यसरी औंल्याएको थियो: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.
तपाईंको स्कूल वा जागिरमा यहोवालाई सेवा गर्न इच्छा नभएका मानिसहरूसित समय बिताउनुपर्छ होला। तर घनिष्ठ साथीहरू छान्दा बाइबलको यस सल्लाहलाई सम्झनुहोस्: “खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।”—१ कोरिन्थी १५:३३.
अनि स्मरण रहोस्, कुनै मानव मित्रताभन्दा पनि एउटा मित्रता अत्यन्तै महत्त्वपूर्ण छ। त्यो हो, हाम्रा सृष्टिकर्ता यहोवा परमेश्वरसितको मित्रता। पहिला पनि उल्लिखित डेबीका थुप्रै मिल्ने साथीहरू छन्। तैपनि, तिनी यस्तो सल्लाह दिन्छन्, “यहोवालाई सधैं प्रथम स्थानमा राख्न नबिर्सनुहोस्।” पुरातन समयका विश्वासी अब्राहामले त्यसै गरे र यहोवाले तिनलाई “मेरो मित्र” भन्नुभयो। (यशैया ४१:८) अनि यो विचार गर्नुहोस्: तपाईंले अरू साथीहरूसित समय बिताउनुहुँदा यहोवाले ईर्ष्या गर्नुहुन्न, वास्तवमा उहाँले प्रोत्साहित गर्नुहुन्छ। उहाँ कस्तो साँचो मित्र हुनुहुन्छ!
[पृष्ठ २६-मा भएको चित्र]
साँचो मित्रहरूले एकअर्कालाई व्यक्तिगत कामकुराहरू गर्न समय चाहिन्छ भनी बुझ्छन्