बाइबलको दृष्टिकोण
सन् २००० कत्तिको महत्त्वपूर्ण छ?
पश्चिमी मुलुकका मानिसहरूले सन् २००० लाई जति महत्त्व दिइरहेका छन्, अरू थुप्रै मानिसहरू त्यसमा कुनै धार्मिक महत्त्व देख्दैनन्। उदाहरणका लागि, यहूदी, मुसलमान तथा हिन्दूहरूको आ-आफ्नै धार्मिक पात्रो छ र यो पश्चिमी पात्रोसित मिल्दैन। धार्मिक तथा परम्परागत मितिहरूका लागि चिनियाँहरू चान्द्र पात्रो चलाउँछन्। यसर्थ, अहिले अरबौं मानिसहरू अर्थात् अधिकांश विश्व जनसंख्या सन् २००० लाई खास महत्त्व दिंदैनन्।a
तैपनि, विशेषगरि पश्चिमी मुलुकका थुप्रै मानिसहरू अंग्रेजी पात्रोअनुसार आउँदो सहस्राब्दीको सुरुआत कस्तो होला भनेर कौतूहलमा छन्। कसै कसैको लागि यो एउटा सामान्य कुतूहलता मात्र होइन। तिनीहरू सन् २००० लाई नयाँ युगमा प्रवेश गर्ने वर्ष अर्थात् इतिहासमै एउटा नयाँ मोड भन्ठान्छन्। बाइबलमा विश्वास गर्छु भनी दाबी गर्ने थुप्रैको सोचाइअनुसार सन् २००० मा भविष्यवाणीहरू पूरा हुनेछन्। कोही कोही भने एकदमै ठूलठूला आध्यात्मिक प्रकटीकरणको आशा राख्छन्। अरू कतिपयलाई भने महा विपत्ति अर्थात् संसारको अन्त होला भन्ने डर छ। के यस्ता प्रत्याशाहरू बाइबलमा आधारित छन्?
समयको ख्याल राख्नुहुने यहोवा
बाइबलको परमेश्वरलाई “अति वृद्ध व्यक्ति” भनिएको छ। (दानियल ७:९) उहाँले पल पलको ख्याल राख्नुभएर समयको परिचालन गर्नुहुन्छ र यो तथ्य ग्रहहरूको चक्रदेखि लिएर परमाणुभन्दा पनि सुक्ष्म कणहरूको गतिबाट झल्कन्छ। उहाँ आफ्नै समयतालिकामा कार्यसञ्चालन गर्नुहुन्छ। बाइबल भन्छ, “मानिसहरूका निम्ति ठहराएको समय र बासका सीमानाहरू निश्चय गरेर पृथ्वीको सतहमाथि बास गर्नालाई . . . बनाउनुभयो।” (प्रेरित १७:२६) यहोवाले सबै कुरा ठीक ठीक समयमा गर्नुहुन्छ।
बाइबलले कालक्रमलाई पनि विशेष ध्यान दिन्छ। सिलसिलेवार ढंगमा मानव इतिहासको सुरुआतसम्म पुग्न सकिने विवरण प्रदान गर्छ। त्यस्तो गणनाअनुसार परमेश्वरले आदमलाई सा.यु.पू. ४०२६ मा सृष्टि गर्नुभयो। त्यसको लगभग २,००० वर्षपछि अब्राहामको जन्म भयो। अनि अर्को २,००० वर्षको अन्तरालमा येशूको जन्म भयो।
बाइबलको कालक्रम अध्ययन गर्ने कसै कसैले अन्धाधुन्ध भावी मितिहरू तोकेका छन्। उदाहरणका लागि, आदम, अब्राहाम र येशूको जन्मबीच २,००० वर्षको अन्तर भएको आधारमा कसै कसैले येशूको जन्मदेखि २,००० वर्ष पछि पनि कुनै अनिष्ट घटना हुने अगमवाणी गर्छन्। तथाकथित बाइबल कालक्रमको आधारमा अनुमान लगाएको यो एउटा उदाहरण हो।
हो, यहोवा परमेश्वरले मानव गतिविधिमा हस्तक्षेप गर्नुहुन्छ र सारा दुष्टता हटाउनुभएर नयाँ संसार स्थापना गर्नुहुने समयबारे बाइबल बताउँछ। बाइबल भविष्यवाणीहरूले “अन्तको समय,” “जगत्को अन्त,” “आखिरी दिन,” र “परमप्रभुको दिन[बारे]” बताउँछन्। (दानियल ८:१७; मत्ती २४:३; २ तिमोथी ३:१; २ पत्रुस ३:१२) तथापि, बाइबलमा भविष्यवाणी गरिएको “अन्त” सन् २,००० सित सम्बन्धित छैन। ग्रेगोरियन पात्रोको गणनाअनुसार दोस्रो सहस्राब्दीको अन्तलाई विशेष महत्त्व दिइनुपर्ने कुनै पनि धर्मशास्त्रीय आधार पाइँदैन।
“यो कुरा कहिले हुनेछन्?”
येशूका प्रेरितहरूले परमेश्वरको समयतालिकामा गहिरो चासो देखाउँदै यो प्रश्न गरे: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३) आज थुप्रै मानिसहरू भविष्यबारे त्यस्तै कुतूहलता व्यक्त गर्छन्। ती महत्त्वपूर्ण बाइबल भविष्याणीहरू तथा त्यसको पूर्तिप्रति त्यस्तो गहिरो चासो हुनु स्वाभाविक हो। तथापि, यस सन्दर्भमा परमेश्वरको दृष्टिकोण बुझेर त्यसप्रति आदर देखाउनु बुद्धिमानी हो।
यहोवाले पुत्रद्वारा आफ्नो मनसाय प्रकट गर्नुभएको छ र यस विषयमा सुस्पष्ट जवाफ दिनुभएको छ। येशूको स्वर्गारोहणभन्दा अलिक समयअघि उहाँका चेलाहरूले परमेश्वरका प्रतिज्ञाहरू पूरा हुने समयबारे फेरि सोधेका थिए। येशूले यस्तो जवाफ दिनुभयो: “पिताले जुन जुन समय वा बखत आफ्नो अधिकारभित्र राख्नुभएको छ, सो जान्नखोज्नु तिमीहरूको काम होइन।” (प्रेरित १:७) यसअघि येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभएको थियो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।”—मत्ती २४:३६.
स्पष्टतः विशेषगरि बाइबल प्रतिज्ञाहरूको भावी पूर्तिसम्बन्धी “समय वा बखत[को]” ज्ञान लिन खोज्नु मानिसहरूको अधिकारको कुरा होइन। परमेश्वरले हामीलाई त्यस्तो जानकारी प्रकट नगर्ने विचार गर्नुभएको छ। (मत्ती २४:२२-४४) परमेश्वरको इच्छा विपरीत हाम्रो आफ्नै अड्कलको भरमा “त्यस दिन र घडी” बताउन खोज्दैमा के उहाँको उद्देश्यमा कुनै फरक पर्ला र? पटक्कै पर्नेछैन। (गन्ती २३:१९; रोमी ११:३३, ३४) बाइबल यसो भन्छ: “परमप्रभुको सल्लाह ता सदा स्थिर रहन्छ।” (भजन ३३:११) परमेश्वर सर्वशक्तिमान् हुनुभएकोले उहाँले सधैं आफ्नो काम पूरा गर्नुहुन्छ।—यशैया ५५:८-११.
‘पिताले आफ्नो अधिकारभित्र राख्नुभएको समय वा बखतलाई’ वास्ता नराखी कोही कोही अझै पनि अड्कल काट्न खोज्छन्। कोही कोही सर्वनाशबारे अगमवाणी गर्ने अगमवक्ता भएका छन्। यसकारण, प्रेरित पावलले मितिहरूको अड्कल काट्नेहरूको कुरा सुन्नदेखि होसियार रहन थिस्सलोनिकीहरूलाई विशेष निर्देशन दिए। तिनले यसप्रकार लेखे: “अब हे भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन, र हाम्रो एकसाथ उहाकहाँ भेला हुने विषयमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ति गर्दछौं, कि आत्मा, वा वचन, या हामीले लेखेजस्तो पत्रबाट, प्रभुको दिन आएको छ भनी तिमीहरूको मन अचानक चञ्चल नहोस्, र तिमीहरू नघबराओ। कुनै मानिसले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्, किनभने पहिले धर्मत्याग नभईकन, र पापको मानिस, अर्थात् सर्वनाशको सन्तान प्रकट नहोउञ्जेल यो हुनेछैन।”—२ थिस्सलोनिकी २:१-३.
परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको समयमा उहाँका उद्देश्यहरू पूरा हुनेछन् अनि त्यसमा दिन र घण्टासमेत फरक पर्नेछैन भनेर यहोवाका साक्षीहरूलाई दृढ विश्वास छ। (हबकूक २:३; २ पत्रुस ३:९, १०) अनि यी घटनाहरू हुन धेरै पर्खनु पर्नेछैन भन्ने हाम्रो विश्वास छ। (२ तिमोथी ३:१-५) तथापि, आज छ्यासछ्यासती देखा परिरहेका सिद्धान्तहरू केरकार वा समर्थन गर्ने गर्दैनौं।b मानिसहरूले तोकेअनुसार सन् २००० वा सन् २००१ वा अरू कुनै सालसित यहोवाको समयतालिकाको कुनै सम्बन्ध छैन।
[फुटनोटहरू]
a प्राविधिक दृष्टिकोणबाट हेर्ने हो भने कथित तेस्रो सहस्राब्दी जनवरी १, २००१ मा सुरु हुन्छ। प्रथम सहस्राब्दी शून्य वर्षबाट नभई १ बाट सुरु भयो। तथापि, जनसाधारणले “तेस्रो सहस्राब्दी” भन्ने पद सन् २००० सित गाभेको छ। सन् २००० सम्बन्धी प्रचलित प्रत्याशाहरूबारे यो लेखमा छलफल गरिएको छ।
b प्रहरीधरहरा सेप्टेम्बर १, १९९७, पृष्ठ २१-२ मा यसो भनिएको थियो: “यहोवाको दिन कहिले आउनेछ भनेर जान्न यहोवाका साक्षीहरू उत्सुक छन्। उत्सुकताकै कारण तिनीहरूले अन्त कहिले आउला भनेर बेला बेलामा अनुमान लगाउन खोजेका पनि छन्। तर त्यसो गरेर येशूका प्रारम्भिक चेलाहरूजस्तै तिनीहरू पनि “त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ” भनेर मालिकले दिनुभएको चेताउनीलाई ध्यान दिन चुकेका छन्। (मर्कूस १३:३२, ३३) गिल्ला गर्नेहरूले विश्वासी मसीहीहरूलाई तिनीहरूको यस्तो असामयिक प्रत्याशाको कारण ठट्टामा उडाएका छन्। (२ पत्रुस ३:३, ४) तथापि, यहोवाको दिन आउने नै छ, र यो उहाँको समय तालिकाअनुसार आउनेछ भनी पत्रुस निश्चिन्त भई बताउँछन्।”