बडेमानको सेतो चरा फेरि देखियो
जापानका ब्यूँझनुहोस्! संवाददाताद्वारा
ती मानिसहरू हातमा लट्ठी हल्लाउँदै सुन्दर सेता चराहरूलाई एक एक गरेर मार्न सुरिए। ती आल्बाट्रस चराहरू थिए। ती मानिसहरू थिए, हानिमोन तामाओकी र तिनका मतियारहरू। स्थान: टोकियोभन्दा झन्डै ६०० किलोमिटर दक्षिणमा पर्ने टोरीशिमा टापु। साल थियो १८८७।
तामाओकीले वर्षौंअघि यसो गर्ने योजना बनाएका थिए। डस्ना बनाउनका लागि स्वदेश तथा विदेशमा यी चराहरूको मुलायम प्वाँखको निकै माग थियो अनि टोरीशिमा अत्यन्तै अनकन्टार टापु भएको हुँदा त्यहाँका निवासीहरू भन्नु नै चल्ला कोरल्न नियमित तवरमा आउने हजारौं आल्बाट्रसहरू थिए। तीमध्ये तामाओकीलाई सबैभन्दा मन परेको छोटो पुच्छ्रे आल्बाट्रस थियो। यो उत्तरी गोलार्द्धको सबैभन्दा ठूलो समुद्री चरा हो। कल्पना गर्नुहोस्, आठ किलोग्राम वजन भएको पुष्ट जीउ र साढे दुई मिटर पखेटा फिंजिने शरीरलाई कति धेरै प्वाँखहरूले ढाकेका होलान्! साथै, यो चरा सुधो भएको हुँदा ज्यान खतरामा पर्दा समेत भाग्ने सुरसार गर्दैनन्।
यी चराहरू मारेर प्वाँख उखेल्न तामाओकीले यस टापुमा कम्तीमा ३०० जना कर्मचारीहरू ल्याए। तिनीहरूले एउटा गाउँ र यी मारिएका पंक्षीहरू ओसारपसार गर्न सानो रेलमार्गसमेत निर्माण गरे। यो काम यति सफल भयो कि तामाओकी असाध्यै धनी बन्न धेरै समय लागेन। तर त्यसका लागि झन्डै ५० लाख चराहरूले ज्यान गुमाउनुपऱ्यो। यो नोक्सानी यति ठूलो थियो कि सन् १९०२ मा ज्वालामुखी विष्फोट भएर गाउँलेहरूसहित पूरै गाउँ ध्वस्त हुँदा कसै कसैले “आल्बाट्रस मारेको पाप लागेको” भन्थे। तैपनि, मानिसहरू चेतेनन्। बाँकी रहेका चराहरू मार्न अर्को वर्ष मानिसहरू फेरि फर्के।
झन्डै १५०० किलोमिटर टाढा पूर्वी चीनको समुद्री इलाकानेर ताइवान र ओकिनावाबीचमा पर्ने निर्जन, चट्टाने टापुहरूमा तात्सुहिरो कोगा नाउँको मानिसले त्यस्तै मुनाफादायी व्यापार गरिरहेका थिए। तामाओकीले जस्तै कोगाले पनि चराहरू रित्तिदैं गएको अनुभव गरे। अन्ततः सन् १९०० मा तिनी टापु छोडेर गए तर त्यहाँ रहुञ्जेल तिनले दस लाखजति आल्बाट्रस सखाप पारिसकेका थिए।
लोभको कहालीलाग्दो परिणाम
त्यति धेरै चराहरूको विनाशका दारुण परिणामहरू भए। विभिन्न प्रकारका आल्बाट्रसमध्ये उत्तर प्रशान्तमा तीन प्रकारका पाइन्छ र ती चराहरूले गुँड बसाल्ने खास ठाउँहरू तामाओकी र कोगाले स्वाहा पारेका टापुहरू हुन्। त्यसमध्ये छोटो पुच्छर भएको आल्बाट्रसले (डायोमेडिया अल्बाट्रस) संसारको अरू कुनै भागमा गुँड बनाएको पाइँदैन।
कुनै समय नाविकहरूले आल्बाट्रसलाई निकै आश्चर्यचकित भएर हेर्ने गर्थे। समुद्री दन्त्यकथाहरूमा यी चराहरूलाई बतास, कुइरो र हुस्सुको अग्रदूतको रूपमा चित्रण गरिएको छ। तथापि, यसलाई चाहिं दन्त्यकथा नसम्झनुहोस्। यी असाध्यै लामा पखेटा हुने बडेमानका सेता चराहरू केही दिनभित्रै समुद्र पार गर्नसक्छन् र प्रायः पखेटा धेरै नफट्फटाई आकाशमा उड्छन्। हावामा उड्न र लामो समयसम्म समुद्रमा बस्नसक्ने यी चराहरूको क्षमतालाई कसैले उछिन्नसक्दैन।
आल्बाट्रस मनमोहक ढंगमा उड्ने भए तापनि जमीनमा लोसे तथा अप्ठ्यारो किसिमले चलहल गर्छ। यसका लामा पखेटा तथा अलि लोसे जीउले गर्दा जमिनबाट छिटो उड्नसक्दैन। साथै, मानिससित डराउनुपर्छ भन्ने थाह नभएको हुँदा यिनीहरू सजिलै शिकार बन्छन्। त्यसैले मानिसहरूले यसलाई मूर्ख, लोसे भन्ने जस्ता अनेक उपनाउँहरू दिएका छन्।
आल्बाट्रस मारेर निकै पैसा कमाउन सकिन्छ भन्ने चाल पाउने लापरवाह मानिसहरूले मार्नुसम्म मारे। एउटा सर्वेक्षणअनुसार सन् १९३३ तिर टोरीशिमामा ६०० वटा चराहरू पनि थिएनन्। अति विचलित भएर जापानी सरकारले उक्त टापुमा मानिसहरूको प्रवेश निषेध गऱ्यो। तर त्यो निषेधाज्ञा लागू हुनुअघि सकेसम्म बढी चराहरू हात पार्न दुष्ट मानिसहरू त्यसतर्फ दौडिहाले। एक विशेषज्ञअनुसार १९३५ तिर जम्मा ५० वटा चरा बाँकी थियो। अन्ततः छोटो पुच्छर भएको आल्बाट्रस लोप भएका प्राणीहरूको सूचीमा पर्न गयो। मानव लोभको कस्तो कहालीलाग्दो परिणाम! तर कसैले सोच्दै नसोचेको कुरा हुनै लागेको थियो।
फेरि देखा पर्छ
जनवरी १९५१ मा एक साँझको कुरा हो, टोरिशीमाका चट्टानहरू उक्लिरहेका एक जना मान्छे अकस्मात् कल्याङकुलुङ आवाज सुनेर झस्किए। के रहेछ भनेर हेर्न जाँदा आल्बाट्रससित तिनको आँखा जुध्न पुग्यो! कसो कसो यो छोटो पुच्छ्रे आल्बाट्रस बचेछ र टोरीशिमामा पुनः चल्ला कोरल्न लागिरहेको रहेछ। यसपटक चराहरूले ठाडो भीरमा गुँड बनाएको हुँदा मानिसहरू त्यहाँ पुग्न असम्भव थियो। अनि तिनीहरू मानिसहरूप्रति अलि सतर्क पनि देखिन्थे। यो देखेर प्रकृतिप्रेमीहरू कति रमाए होलान्!
जापानी सरकारले ढिलासुस्ती नगरी कदम चालिहाल्यो। यी चराहरूलाई जमीनमा गुँड बनाउन सजिलो होस् भनेर पाम्पास घाँस रोपे अनि टोरीशिमामा प्रवेश निषेध गरियो। आल्बाट्रसलाई राष्ट्रिय चरा घोषणा गरियो अनि अन्तरराष्ट्रिय तवरमा संरक्षित चरा भयो।
जापानको टोहो विश्वविद्यालयका हिरोशी हासिगावाले १९७६ देखि ती चराहरूबारे अध्ययन गरिरहेका छन् र अहिले तिनीहरूको निरीक्षण गर्न वर्षको तीनचोटि तिनी त्यहाँ जान्छन्। ती चराहरूको खुट्टामा हरेक वर्ष विभिन्न रंगको रिङ लगाइदिएपछि छोटो पुच्छर भएका आल्बाट्रस तीन चार वर्षको एकचोटि मात्र त्यहाँ आएर चल्ला कोरल्ने गरेको पत्ता लागेको छ भनी तिनले ब्यूँझनुहोस्!-लाई बताए। यी चराहरू छ वर्ष पुगेपछि मात्र फूल पार्न थाल्छन् र एकचोटिमा एउटा फूल मात्र पार्छन्। त्यसकारण, तिनीहरूको औसत आयु २० वर्ष भए तापनि संख्या बढाउन धेरै समय लाग्छ। सन् १९९६/९७ को हिउँदमा टोरीशिमामा १७६ वटा फूलमध्ये ९० वटा कोरलियो।
बाँकी समय यी आल्बाट्रसहरू के गर्छन्? यसबारे खासै पत्ता लागेको छैन भनी हासेगावा बताउँछन्। तर एउटा कुरा भने पक्का छ, तिनीहरू जमिन र मानिसहरूबाट टाढै बस्छन्। आल्बाट्रसहरू जहाजहरूलाई पछ्याएर जहाजमा बस्ने गर्छन् कि? त्यो निराधार दन्त्यकथा मात्र हो भनी हासेगावा बताउँछन्। “जापानी आल्बाट्रसहरू जहाजमा बस्दैनन्” भनेर तिनी जोड दिन्छन्। तर यसो पनि भन्छन्, संसारको अन्य भागहरूमा “कुनै कुनै चराहरू चारो पाएपछि जहाजमाथि एक छिन मँडारिन्छन् होला।” प्रायजसो समय त, तिनीहरू जुन काममा पोख्त छन्, त्यही गर्छन् मतलब आकाशमा उड्दै विशाल समुद्र चहार्छन्। थकाइ लागेपछि समुद्रमाथि तैरिएर सुत्ने गर्छन्। तिनीहरू स्क्वीड, उड्ने माछा, गंगटो तथा चिंगडी खान्छन्। हासेगावाले रिंग लगाइदिएका चराहरूलाई बेरिङ समुद्र तथा अलास्काको खाडीमा निकै खेप भेटिएको छ। अनि सन् १९९५ मा क्यालिफोर्नियाको समुद्री तटमा यी छोटो पुच्छ्रे आल्बाट्रसहरू झन्डै एक शताब्दीपछि देखा पर्दा त्यहाँका चराप्रेमीहरू खुसीले गद्गद भए।
भविष्य नि?
राम्रो पक्ष हेर्ने हो भने छोटो पुच्छ्रे आल्बाट्रसहरूको संख्या एक नासले वृद्धि भइरहेको छ। गत मे महिनामा हासेगावाको अनुमानअनुसार “बचेराहरूसमेत गरेर ९०० भन्दा बढी” आल्बाट्रसहरू थिए। तिनले थप यसो भने: “सन् २००० सम्म टोरीशिमामा मात्र १,००० भन्दा बढी चराहरू हुनेछन् होला र वर्षेनी १०० भन्दा बढी बचेराहरू जन्मनेछन्।” अर्को रोमाञ्चकारी तथ्य हो, ८८ वर्षपछि १९८८ मा ती चराहरूले पूर्वी चीनको समुद्रमा फेरि चल्ला कोरल्न थाले। यी चराहरूले विवादास्पद इलाकाका चट्टाने भीर रोजेको हुँदा केही समयको लागि भए पनि मानिसहरूको अतिक्रमणबाट सुरक्षित हुनेछन्।
सय वर्षअघि गरिएका कर्तुतहरू अहिले बिस्तारै सच्याउन थालिएका छन्। साँच्चै हो के? यी चराहरूको खुट्टामा रिङ लगाउन समात्दा अक्सर तिनीहरू अत्तालिएर बान्ता गर्छन्। तिनीहरूको बान्तामा प्लास्टिकका टुक्राटाक्री, एकचोटि प्रयोग गरेर फ्याँकिने लाइटरहरू अनि चारो खोज्ने ठाउँ अर्थात् समुद्रमा जथाभावी फ्याँकेका फोहरहरू पाइयो।
मानिसका कर्तुतहरूको कारण यी बडेमानका सेता चराहरू फेरि लोप हुने हुन् कि?
[पृष्ठ १६-मा भएको चित्र]
टोरीशिमा, छोटो पुच्छ्रे आल्बाट्रसको घर
[पृष्ठ १६-मा भएको चित्र]
लामो, पातलो पखेटाले गर्दा आल्बाट्रस विश्वको सबैभन्दा निपुण कावाबाज हुनसकेका छन्
[पृष्ठ १७-मा भएको चित्र]
छोटो पुच्छ्रे आल्बाट्रसहरू टोरीशिमा पुनः फर्केका छन्