तपाईंको जीवनस्तर उकास्ने पाँच तरिका
मध्य अफ्रिकी गणतन्त्रका ब्यूँझनुहोस्! संवाददाताद्वारा
मुद्रास्फीति, रोग, कुपोषण, गरिबी—यी समस्याहरू विकासोन्मुख राष्ट्रहरूमा व्यापक छन्। मानिसको दृष्टिकोणमा तत्काल यसको कुनै समाधान देखिंदैन। तपाईं विकासोन्मनुख मुलुकमा बस्नुहुन्छ भने तपाईंको जीवनस्तर उकास्न तपाईंले गर्नसक्ने केही छ? अवश्य छ! तल दिइएका पाँचवटा सुझाउहरू तपाईंको लागि मदतकारी अनि व्यवहारिक हुनसक्छ।
नम्बर १: बारी लगाउनुहोस्
“आफ्नो बारी कमाउनेसित प्रशस्त खानेकुरा हुन्छ, तर आलस्य गर्नाले कंगाली हुन्छ” भनी बाइबलको हितोपदेश २८:१९ ले बताउँछ। हो सानो टुक्रा जमीनमा बारी लगाएर हेर्नुहोस्। त्यसपछि, कति धेरै उमार्न सकिंदो रहेछ त्यो देखेर तपाईं छक्कै पर्नुहुनेछ। ला झार्डान पोटाझा सु ला ट्रोपेक (उष्ण इलाकाहरूमा तरकारी बारी) पुस्तकका लेखक हेंक भायनबर्कले दाबी गरेअनुसार ५० देखि १०० वर्ग मिटर जमिनमा उमारेको तरकारीले छ जनाको एउटा परिवार पाल्न पुग्छ!
आफैले उमार्नसक्ने कुरा, किन किनेर पैसा खर्च गर्ने? माटो र मौसमअनुसार आफ्नै बारीमा ओक्रा, खुर्सानी, पालुंगो, ज्वानु, लेमनग्रास, प्याज, कासावा, फर्सी, सखरखन्ड, ऊखु, गोलभेंडा, काँक्रो अनि मकै रोप्न सकिन्छ। अरू केही योगदान नपुऱ्याए कम्तीमा पनि त्यस्तो बारीले तपाईंको परिवारको भोजनलाई अझ स्वास्थ्यकर बनाउनसक्छ। अनि बचेको तरकारी बेच्न पनि सक्नुहुन्छ।
प्रशस्त जमिन छ भने बेग्लाबेग्लै फलफूलका बोट-बिरूवाहरू पनि रोप्ने योजना बनाउन सक्नुहुन्छ। कुनै कुनै फलफूलको एउटै बोटले तपाईं र तपाईंको परिवारलाई छेलोखेलो हुने फल फलाउँछ। फोहोर-मैला, पात-पतिंगर जस्ता जैविक वस्तुलाई मल बनाउन सिकेर उत्पादन बढाउन सकिन्छ। रूखहरूले फलफूल फलाउने, परिवारको आयश्रोत बढाउने मात्र होइन, ठीक ठीक ठाउँमा रोपेको खण्डमा छहारी पनि प्रदान गर्छ, हावा स्वच्छ पार्छ अनि वातावरणलाई सुन्दर तथा मनोहर बनाउँछ।
तर तपाईंलाई बगैंचाको हेरचाहबारे त्यति राम्रो ज्ञान छैन भने नि? यस क्षेत्रमा अनुभवी साथी, छिमेकी वा चिनजानहरू छन् कि? तिनीहरूसित मदत वा सल्लाह मागे कसो होला? बगैंचाको हेरचाहसम्बन्धी दुई चारवटा पुस्तक किन्न वा कसैबाट सापटी लिएर पढ्न सकिन्छ कि?—ब्यूँझनुहोस्! (अंग्रेजी) मे २२, १९७४ को अंकमा “तरकारी बारी लगाए कसो होला?” लेख हेर्नुहोस्।
नम्बर २: एकै खेपमा किन्नुहोस्
के तपाईं पीठो, चामल, तेलजस्ता मुख्य कुराहरू अलि अलि गरेर किन्नुहुन्छ? त्यसो हो भने तपाईंको फजुल खर्च भइरहेको हुनसक्छ। बरु, सम्भव भएमा त्यस्ता खाद्यान्नहरू एकै खेपमा किन्नुहोस्। सायद दुई, तीन वा त्योभन्दा बढी परिवारसित मिलेर त्यसरी किन्न सकिन्छ कि। एकै खेपमा किन्दा मौसमअनुसारको तरकारी वा फलफूल किन्न पैसा बच्छ। कहिलेकाहीं सुपथ मूल्यमा मालतालहरू पनि किन्न सकिन्छ।
नम्बर ३: खाद्यान्न संचय गर्न सिक्नुहोस्
एकै खेपमा मालताल किनेपछि त्यसलाई संचय गर्ने कुरा पनि आउँछ। एउटा लोकप्रिय तथा व्यवहारिक तरिका हो, खाद्यान्न सुकाउनु। अफ्रिकाका अधिकांश स्त्रीहरू फलफूल, ओक्रा, सिमी, इस्कुस, फर्सीको बीउ तथा मसलाहरू सुकाएर आफ्नो जीविका चलाउँछन्। सुकाउन कुनै विशेष उपकरण चाहिंदैन। खाद्यान्नमा झिंगा नभन्कोस् भनेर पातलो कपडाले छोपेर सफा भुइँमा बिछ्याउन वा झुन्ड्याउन सकिन्छ। बाँकी काम त हावा र सूर्यले गरिहाल्छ।—ब्यूँझनुहोस्! (अंग्रेजी) अगस्त ८, १९७५ को अंकमा “के कम आयश्रोतले पनि जीविका चलाउन सक्नुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।
नम्बर ४: थोरै भए पनि पशुपन्छी पाल्नुहोस्
के कुखुरा, बाख्रा, परेवा वा अन्य जनावरहरू पाल्न मिल्छ? थुप्रै ठाउँमा मासु एकदमै महँगो छ। तर अरूसित अलिकता मदत लिएर तपाईंले दुई चारटा भए पनि पशुपन्छी पाल्न सिक्न सक्नुहुन्छ। के तपाईंलाई माछा मन पर्छ? त्यसो हो भने माछा पाल्ने पोखरी बनाउन सिक्नुहोस्। माछामासु र अण्डामा फलाम, क्याल्सियम, भिटामिन, खनिज तथा प्रोटिन हुन्छ र यो तपाईंको परिवारको स्वास्थ्यको लागि अत्यावश्यक कुराहरू हुन्।
नम्बर ५: उचित सरसफाइ कायम गर्नुहोस्
तपाईंको परिवारको स्वास्थ्यको लागि सरसफाइ पनि महत्त्वपूर्ण छ। फोहोर ठाउँमा मुसा, झिंगा तथा साङ्ला आउँछन् र यिनीहरूले अनेक प्रकारका रोगहरू सार्छन्। सरसफाइमा ध्यान दिन तपाईंले समय लगाउनुका साथै प्रयास गर्नुपर्छ। तर त्यसमा लागेको खर्च औषधी वा डाक्टरको खर्चभन्दा निकै कम हुन्छ। सरसफाइको स्तर व्यक्तिपिच्छे अनि देशपिच्छे केही हदसम्म फरक फरक हुनसक्छ। तथापि, केही सामान्य सिद्धान्तहरू जुनसुकै ठाउँमा पनि लागू हुन्छन्।
उदाहरणका लागि, शौचालयलाई लिनुहोस्। ग्रामीण इलाकामा मानिसहरूले शौचालयलाई फोहोर तथा जीर्ण अवस्थामा छोडेका हुन्छन् र यो रोगबिमारको प्रमुख कारण हो। स्थानीय स्वास्थ्यकर्मीहरूले तपाईंलाई घरबाहिर वा भित्र एकदमै कम लागतमा सफा चर्पी बनाउने तरिका बताउनसक्छन्।
तपाईंको घर नि? के त्यो सफा तथा व्यवस्थित छ? दुर्गन्धमय छ कि? भान्छा नि? के त्यो सफा तथा चट्ट मिलेको छ? सफा गरेर राम्ररी पकाएको भोजन मात्र स्वास्थ्यकर हुन्छ। प्रदूषित पानीमा किटाणु तथा जीवाणुहरू प्रशस्तै हुन्छन्। त्यसकारण, पानी पिउनुअघि छान्नुहोस् या उमाल्नुहोस्। उम्लेको पानीले भाँडाकुँडा पखाल्नुहोस् अनि खानेकुरा चलाउनुअघि राम्ररी हात धुनुहोस्। सफा तथा ढकनी भएको भाँडोमा पानी जम्मा गर्नुहोस्।
कुकुर, बिरालो, कुखुरा तथा बाख्राहरूलाई भान्छामा पस्न नदिनुहोस्। भान्छा सफा राख्ने हो भने तिनीहरूलाई त्यहाँ पस्नै दिनु हुँदैन। मुसालाई भाँडाकुँडामाथि दौडन दिनु हुँदैन किनभने तिनीहरूले खानालाई दूषित बनाउँछन्। यो समस्या हटाउन मुसा समात्ने खोर मात्र पनि पर्याप्त हुन्छ।—ब्यूँझनुहोस्! (अंग्रेजी) सेप्टेम्बर २२, १९८८ को अंकमा “सफा हुन सिक्ने” लेख हेर्नुहोस्।
अन्ततः मानिसजातिका सारा समस्याहरू परमेश्वरको राज्यले मात्र पूर्णतया समाधान गर्नेछ। (मत्ती ६:९, १०) तथापि, त्यतिञ्जेल यी सरल सुझाउहरूले तपाईंको जीवनस्तर उकास्न मदत पुऱ्याउनसक्छन्।
[पृष्ठ १८-मा भएको चित्र]
बारी लगाउनुहोस्
[पृष्ठ १९-मा भएको चित्र]
एकै खेपमा किन्नुहोस्
[पृष्ठ १९-मा भएको चित्र]
खाद्यान्न संचय गर्न सिक्नुहोस्
[पृष्ठ २०-मा भएको चित्र]
थोरै भए पनि पशुपन्छी पाल्नुहोस्
[पृष्ठ २०-मा भएको चित्र]
उचित सरसफाइ कायम गर्नुहोस्