युवा जनहरू सोध्छन्. . .
म कसरी ध्यान दिनसक्छु?
“मैले सभाहरू वर्षौं धाएँ तर खास केही लाभ उठाइनँ। मेरो मन त कता कता डुलिरहेको हुन्थ्यो।”—म्याथ्यु।
तपाईं कक्षामा वा मसीही सभामा बसिरहनुभएको छ तर छलफल भइरहेको विषय एउटै पनि दिमागमा नघुसेको के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ? समय समयमा तपाईंको मन कता कता डुल्छ भने, यो समस्या तपाईंको मात्र होइन। अघिका लेखमा औंल्याएझैं ध्यान दिन नसक्नु युवाहरूको सामान्य समस्या हो।a तथापि, अलिकता प्रयासका साथै आफ्नो मनोवृत्तिमा छाँटकाँट गरेर तपाईंले एकाग्र हुने क्षमतालाई बढाउन सिक्न सक्नुहुनेछ।
चासो लिनुहोस्
तालिम प्राप्त खेलाडीलाई विचार गर्नुहोस्। “खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ,” प्रेरित पावल भन्छन्। एकछिन मात्र ध्यान भंग हुँदा पनि खेलाडी हार्नसक्छन्। कराइरहेको हुलको आवाज, आफ्नो पीडा र थकानलाई वास्ता नगरी साथै हार्ने सम्भावनाको कल्पनासमेत नगरी उसले जित्नको निम्ति एकाग्रचित्त हुन सिक्नुपर्छ। तर यसरी दिलोज्यान दिन खेलाडीहरू कुन कुराबाट प्रेरित हुन्छन्? प्रेरित पावलअनुसार “तिनीहरू नाश हुने मुकुट” अर्थात् पुरस्कार तथा प्रशंसा पाउनालाई त्यसरी दिलोज्यान दिन्छन्।—१ कोरिन्थी ९:२५.
त्यसैगरि, तपाईं पनि ध्यान दिन प्रेरित हुनुपर्छ! पढ्नु कठिन कार्य हो (अंग्रेजी) भन्ने पुस्तकमा विलियम एच. आर्मस्टंग भन्छन्: “कुनै पनि विषयमा चासो लिने नलिने जिम्मेवारी विद्यार्थीकै हो। तपाईंको निम्ति अरू कसैले चासो लिएर हुँदैन र तपाईंको इच्छै छैन भने अरू कसैले तपाईंको इच्छा जगाउन सक्दैन।” तपाईंले आफू वरपरको संसार बुझ्ने मुख्य आधार नै ज्ञान हो। तपाईंले जत्ति बढी थाह पाउनुहुन्छ त्यत्ति नै बढी सिक्न सक्नुहुन्छ। “समझ-शक्ति भएकोलाई ज्ञान सजिलैसित आउँछ” भनी हितोपदेश १४:६ बताउँछ। तपाईंले स्कूलमा सिक्नुभएका सबै कुरा सम्झन सक्नुहुन्न होला तर कमसे कम स्कूलले तपाईंलाई सोच्ने क्षमता विकास गर्न मदत त गर्छ। (हितोपदेश १:४ तुलना गर्नुहोस्।) मानसिक अनुशासन तथा ध्यान दिने क्षमता विकास गर्नुभयो भने तपाईंलाई जीवनभर फाइदा हुनेछ।
पट्टाइ लाग्नु र पट्टाइलाग्दा शिक्षकहरू
तथापि, केही किशोरहरूले शिक्षकहरूलाई समेत कुनै जोस नभएको गुनासो गर्छन्। जेसी नाउँ भएका युवा भन्छन्: “शिक्षकहरू हाम्रो अगाडि उभिएर केही शब्द बरबराउँछन्, हामीलाई गृहकार्य दिन्छन् अनि सिद्धियो। तिनीहरू पनि सुस्त भइरहेको जस्तो लाग्छ। शिक्षकहरूले ध्यान दिनु महत्त्वपूर्ण छ भन्ने हामीलाई संकेतसम्म गर्दैनन् त्यसैले हामी पनि ध्यान दिने आवश्यकता नै देख्दैनौं।”
त्यसोभए के तपाईं ध्यान दिनु भनेको समयको बर्बादी हो भन्ने निष्कर्षमा पुग्नुहुन्छ? त्यस्तो निष्कर्षमा पुग्नु जरुरी छैन। थुप्रै शिक्षकहरू केवल दुष्चक्रको शिकार भएका हुनसक्छन्। कोलेन नाउँका किशोर भन्छन्: “शिक्षकले भनिरहेको कुरामा कसैले ध्यानै नदिएकोले शिक्षकले कसैको सिक्ने चासो नै छैन भन्ठान्छ। त्यसपछि शिक्षकहरूले सिकाउन कुनै जोस अनि जाँगर नै देखाउँदैनन्।”
विश्वास गर्नुहोस् या नगर्नुहोस्, तपाईंले यस पद्धतिमा परिवर्तन ल्याउन सक्नुहुन्छ। कसरी? ध्यान दिएर। शिक्षक पुनः आफ्नो काममा जोसिन ध्यान दिने एक जना विद्यार्थी मात्र पनि पर्याप्त हुनसक्छ। हो, कुनै कुनै शिक्षकसित सम्पूर्ण कक्षाको लामो समयसम्म ध्यान खिच्ने क्षमता नै हुँदैन। तर दिवास्वप्न देख्न थाल्नुअघि आफूलाई यो प्रश्न गर्नुहोस्, ‘आफूले कुरा गरिरहेको विषयबारे के तिनलाई ज्ञान छ?’ छ भने, तिनीबाट केही सिक्ने जमर्को गर्नुहोस्। ध्यान दिनुहोस्। एकाग्र हुनुहोस्! कक्षामा हुने छलफलहरूमा भाग लिनुहोस्। विषयसित सम्बन्धित प्रश्नहरू सोध्नुहोस्। उच्च माध्यमिक विद्यालयमा कसरी पढ्ने (अंग्रेजी) पुस्तक टिप्पणी गर्छ: “शिक्षकले कालोपाटीमा लेखेको वा जोड दिएका कुराहरूको चित्र, चार्ट, परिभाषा र मुख्य सार लेख्नु थुप्रैले मदतकारी पाएका छन्।”
“झन् बढ़ी उत्कट ध्यान” दिने
तथापि, मसीही सभामा ध्यान दिनु नदिनुमा अझ महत्त्वपूर्ण कुरा मुछिएको छ। जेसी स्वीकार्छन्: “कहिलेकाहीं जवान मानिसहरू सभाहरूमा ध्यान दिंदैनन् किनभने तिनीहरूले सभाहरू कत्तिको महत्त्वपूर्ण छन् भनेर बुझेकै हुँदैनन्।” हिब्रू २:१ मा हामीलाई “सुनेका कुराहरूलाई . . . झन् बढ़ी उत्कट ध्यान दिन” आज्ञा दिइएको छ। मण्डलीका सभाहरूमा उपस्थित भएपछि के तपाईंले हरेक प्रस्तुतिबाट केही न केही कुरा सम्झन सक्नुहुन्छ? वा तपाईंले कहिलेकाहीं कार्यक्रममा को को सहभागी थिए, त्यो नै सम्झन सक्नुहुन्न?
यहाँ पनि सिकिरहेको विषयको महत्त्व बुझ्ने कुरा नै आउँछ। आखिर, यसमा तपाईंको जीवन मुछिएको छ! (यूहन्ना १७:३) विचार गर्नुपर्ने अर्को बुँदा: तपाईंले बाइबलबारे सिक्नुहुँदा परमेश्वरले जस्तै सोच्न सिकिरहनुभएको हुनुहुनेछ! (यशैया ५५:८, ९) तपाईंले सिकिरहेको कुरा व्यवहारमा उतार्दा बाइबलले भनेझैं “नयाँ चोला धारण” गरिरहनुभएको हुनुहुनेछ। (कलस्सी ३:९, १०) अर्कोतर्फ, ध्यान दिनुभएन भने सायद जीवनमा आवश्यक उन्नति गर्न सक्नुहुने छैन र तपाईंले आध्यात्मिक प्रगतिमा बाधा पुऱ्याइरहनुभएको हुन्छ। हाम्रो ध्यान अलमलिनसक्छ भनेर यहोवालाई थाह छ। अतः उहाँ आग्रह गर्नुहुन्छ: “ध्यान दिएर मेरो कुरा सुन, र . . . कान थाप, र मकहाँ आऊ। सुन, र तिमीहरू जिउनेछौ।”—यशैया ५५:२, ३.
सभाहरूबाट कसरी अत्यधिक फाइदा उठाउने
तरैपनि, सभाहरूमा ध्यान दिनु सुरुसुरुमा गाह्रै हुनसक्छ। तर हामीले जत्ति बढी ध्यान दिने बानी बसाल्छौं हाम्रो दिमाग त्यस काममा त्यति नै सिपालु हुन्छ भनी अनुसन्धानकर्ताहरू दाबी गर्छन्। सुरुमा उल्लिखित म्याथ्युले मन डुल्ने बानीलाई हटाए। तिनी भन्छन्: “ध्यान दिन आफूलाई अनुशासनमा राख्नुपर्ने कुरा मैले थाह पाएँ। सुरुमा त अलि गाह्रो हुन्छ तर पछि सजिलो हुँदै जान्छ अनि तपाईंले लामो समयसम्म ध्यान दिन सक्नुहुन्छ।” तिनलाई सभाहरू रमाइलो लाग्न थाल्नुको अर्को महत्त्वपूर्ण कारण पनि म्याथ्यु बताउँछन्। तिनी भन्छन्: “म पहिल्यै अध्ययन गर्छु।” त्यस्तैगरि सेरस नाउँ गरेकी युवती भन्छिन्: “पूर्वतयारी गरेर सभामा गएको दिन आफू पनि सभामा सहभागी भएको महसुस गर्छु। भाषणहरू अझ बढी चाखलाग्दा र अर्थपूर्ण लाग्छन्।”
ध्यान भंग गर्ने कुराहरू मनमा आउन नदिनु पनि महत्त्वपूर्ण छ। हो, तपाईंको कतिपय चिन्ताहरू तार्किक होलान्, जस्तै: अर्को हप्ताको जाँच, कसैसित आफ्नो व्यक्तित्व नमिल्दा हुने तनाउ, आउँदा दिनहरूमा बेहोर्नुपर्ने केही खर्चहरू इत्यादि। तर येशूले यस्तो सल्लाह दिनुभयो: “तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ? यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको बुराइ आजको निम्ति यथेष्ट छ।” (मत्ती ६:२७, ३४) मण्डलीका सभाहरूमा ध्यान दिंदा तपाईंको समस्या चटक्कै हराइहाल्ने त होइन तर समस्याहरूसित जुझ्न तपाईंले आध्यात्मिक तवरमा पुनर्जागृत हुन भने मदत पाउन सक्नुहुनेछ।—२ कोरिन्थी ४:१६ तुलना गर्नुहोस्।
ध्यान दिएर सुन्दा तपाईंले एकाग्र हुन पनि मदत पाउन सक्नुहुन्छ। म्याथ्यु भन्छन्: “वक्ताले भाषणको दौडान कुन बुँदा कसरी प्रस्तुत गर्नेछन्, अनुमान लाउने कोसिस गर्छु।” आफैलाई सोध्नुहोस्, “छलफल भइरहेका मुख्य बुदाँ के के हुन्? सिकाइरहेको कुरा मैले कसरी व्यवहारमा उतार्नसक्छु?’ वक्ताले त्यसपछि के भन्लान् भनी अनुमान लाएर पनि ध्यान दिन मदत मिल्नेछ। तिनको तर्कलाई बुझ्ने कोसिस गर्नुहोस्। तिनले चलाउने धर्मशास्त्रीय तर्कमा ध्यान दिनुहोस्। विचार गर्नुहोस् अनि तिनले प्रस्तुत गरेका मुख्य बुँदाहरूको सार निकाल्नुहोस्। छोटो, अर्थपूर्ण टिपोटहरू लिनुहोस्। श्रोताले भाग लिनसक्ने मौकामा भाग लिनुहोस्! त्यसो गर्दा तपाईंको मनलाई व्यस्त राख्न र मन डुल्नदेखि रोक्न सक्नुहुनेछ।
हो, कुनै वक्तामा जोसको कमी छ वा अल्छी पाराले भाषण दिइरहेका छन् भने ध्यान दिनु चुनौतीपूर्ण हुनसक्छ। प्रथम शताब्दीका केही मसीहीहरूले प्रेरित पावलको बोल्ने क्षमताबारे के भने, सम्झनुहोस्: “सामनेमा शरीरको निर्धो र बोलीचाहिं केही कामको छैन।” (२ कोरिन्थी १०:१०) तर त्यस्तो आलोचनाको प्रत्युत्तरमा पावलले भने: “म बोली वचनमा अशिक्षित भए तापनि ज्ञानमा ता त्यस्तो छैनँ।” (२ कोरिन्थी ११:६) हो, पावलका श्रोताहरूले तिनको बोल्ने क्षमतामा ध्यान दिनुको साटो तिनले बताइरहेका कुरामा ध्यान दिएको भए “परमेश्वरका गहीरा गहीरा कुराहरू” सिक्नसक्थे। (१ कोरिन्थी २:१०) त्यसैगरि, “अल्छीलाग्दो” वक्ताको भाषण ध्यान दिएर सुन्नुभयो भने तपाईंले पनि केही सिक्न सक्नुहुन्छ। तिनले तपाईंले पहिला कहिल्यै विचार नगर्नुभएको ढंगमा कुनै शास्त्रपद प्रस्तुत गर्लान्।
लूका ८:१८ का येशूका शब्दहरूले यी सबै कुराको राम्रो निष्कर्ष निकाल्छ: “होशियार रहो, तिमीहरू कसरी सुन्छौ।” हो, मन डुल्न नदिई ध्यान दिन सिक्न प्रयास र अभ्यास आवश्यक पर्छ। तर समय बित्दै जाँदा तपाईंले फाइदा उठाउनुहुनेछ। ध्यान दिन सिक्दा तपाईंले पढाइमा राम्रो अंक प्राप्त गर्न सक्नुहुन्छ र अझ महत्त्वपूर्ण आध्यात्मिक उन्नति!
[फुटनोट]
a हाम्रो अगस्त ८, १९९८ अंकको “युवा जनहरू सोध्छन्. . . मैले किन ध्यान दिन नसकेको?” हेर्नुहोस्।
[पृष्ठ २१-मा भएको चित्र]
ध्यान दिन सिक्ने मुख्य तरिका आफूले सुनिरहेको कुरामा चासो बढाउनु हो