प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १०/८ पृ. २५-२७
  • सुन—यसको रहस्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुन—यसको रहस्य
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुन र इतिहास
  • रक्‍तपातले भरिएको इतिहास
  • १९ औं शताब्दीमा   सुनको खानीतिर ओइरिनेहरू
  • डुबेको सम्पत्ति
  • युद्धहरूमा सुनको लुटपाट
  • सुनप्रतिको मोह कहिल्यै घट्‌दैन
    ब्यूँझनुहोस्‌!—२००५
  • के राजा सुलेमानको धनबारे बढाइ-चढाइ कुरा गरिएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • सुनभन्दा पनि बहुमूल्य कुराको खोजी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १०/८ पृ. २५-२७

सुन—यसको रहस्य

सुन—प्राचीन समयदेखि नै यो नरम, चहकिलो पहेंलो रंगको धातुलाई यसका विशिष्ट गुनहरूका कारण निकै महत्त्व दिइएको छ। यसको रंग, चमक, जुनसुकै आकारमा ढाल्न सकिने यसको क्षमता, खिया नलाग्ने जस्ता गुनहरूका कारण अरू धातुहरूभन्दा यसलाई भिन्‍नै मानिन्छ। यसको खोजीमा लाग्नेहरूले यसलाई अति महत्त्व दिएकाले पनि सुनको इतिहास अरू धातुहरूको इतिहासभन्दा बेग्लै छ।

“सुन!, सुन पाइयो!, यो पक्कै सुन हो!” सुन भेटिएको खबरले मानिसको मन पुलकित पारेको छ, हृदयको धड्‌कनलाई बढाएको छ अनि निकै रोमाञ्चित तुल्याएको छ। जुनसुकै ठाउँमा यसको खोजि भएको छ—जमिनमा, नदी र खोल्साहरूमा, अनि पृथ्वीको सतहभन्दा हजारौं मिटरमुनि पनि।

अरू बहुमूल्य गरगहनाले झैं सुनले पनि राजा रानीहरूलाई सिंगारेको छ। यसले दरवारका सिंहासनहरू र भित्ताहरूलाई सिंगारेको छ। सुनका माछा, चरा, जनावर अनि अरू थुप्रै वस्तुहरूलाई भगवान ठान्दै पूजिएका छन्‌। सुन खोज्न गरिएका अथक प्रयासले व्यापक असर पारेको छ। जस्तो कि मानव सभ्यतामा यसले पारेको प्रभावलाई नै लिनसक्छौं।

सुन र इतिहास

प्राचीन समयमा मिश्रका राजाहरूले आफ्ना व्यापारी र सेनाहरूलाई टाढा टाढा मुलुकहरूमा सुन खोज्न पठाउँथे। यसरी भेट्टाएका सुनलाई मिश्रका देवताहरू र राजाहरूको हक लाग्ने सम्पत्ति ठानिन्थ्यो। सन्‌ १९२२ मा पत्ता लागेको टुटानखामेनको चिहान बहुमूल्य सुनले भरिएको थियो। यतिसम्म कि, तिनको मुर्दाबाकस पनि निखुर सुनले बनेको थियो।

केही इतिहासकारहरूअनुसार “फारसको सुन खानीको ख्याति सुनेर नै महान्‌ सिकन्दर एसियाप्रति लालायित भएका हुन्‌।” भनिन्छ, तिनका सिपाहीहरूले पर्सियाको सुन ग्रीसमा लैजान थुप्रै जनावरहरूलाई पनि काममा लगाए। अनि त सुनमा धनी राष्ट्र भनेर ग्रीसले नाउँ कमाइहाल्यो।

एक इतिहासकार भन्छन्‌, रोमका “सम्राटहरूले आफ्ना कर्मचारीहरूलाई देशभक्‍त बनाउन र अन्य मुलुकका उच्चपदस्थहरूलाई प्रभावित पार्न सुनको अत्यधिक प्रयोग गर्थे। तिनीहरूले निकै प्रभाव पारे पनि, कहिलेकाहीं त तिनीहरूको अपार सम्पत्ति भनौं, सुनका भव्य र आकर्षक गरगहनाहरू देखेर त्यहाँका जनसाधारण झस्कन्थे।” एउटा पुस्तकअनुसार रोमीहरूले स्पेन र स्पेनका सुन खानीहरूमाथि विजय हासिल गरेर निकै सुन हात पारे।

यद्यपि, सुनको खोजीको सिलसिलामा रक्‍तपातले भरिएको इतिहासलाई नकेलाएसम्म सुनको कथा अधूरो नै हुनेछ। यो विजय, निर्ममता, दासत्व अनि मृत्युको कथा हो।

रक्‍तपातले भरिएको इतिहास

मानव सभ्यता विकास भएपछि नयाँ मुलुकहरू पत्ता लगाउन, नयाँ आवादी बसाउन र सुन खोजी गर्न निकै ठूलठूला र शक्‍तिशाली समुद्री जहाजहरू काममा लगाइए। थुप्रै अन्वेषकहरूका लागि सुन खोज्नु नै प्रमुख आकर्षण बन्‍न पुग्यो। अन्वेषण कार्यमा अग्रगामी (नाविक) क्रिस्टोफर कोलम्बस (१४५१-१५०६) पनि यसै कुरामा आकर्षित भए।

सुनको खोजमा लाग्दा कोलम्बसलाई स्थानीय बासिन्दाहरूको जीवनशैली केही जस्तो पनि लागेन। तिनको खोज यात्राको खर्च बेहोर्न स्पेनका राजा रानीलाई एउटा टापुको अनुभव सुनाउँदै तिनले यात्रा दैनिकीमा यस्तो वर्णन लेखे: “यहाँ शासन गर्न केही गाह्रो छैन, यहीं बसोबास गरेर स्थानीय बासिन्दाहरूमाथि अधिकार जमाए पुगिहाल्छ। जे आदेश दिनुभए पनि तिनीहरू खुरुखुरु पालन गर्छन्‌। इन्डियनहरू निस्सहाय छन्‌, अतः तिनीहरूलाई जुनै पनि आदेश दिएर काममा लगाउन सकिन्छ।” कोलम्बसले आफूमाथि परमेश्‍वरको आशिष्‌ छ भन्ठान्थे। सुन खानीले स्पेनलाई धार्मिक युद्धहरूको खर्च टार्न सघाउने थियो। सुनको मखुन्डो उपहार पाएपछि तिनले एक पटक यसो भने, ‘परमेश्‍वरले दया गरेर मलाई सुन भेट्टाउन मदत गरून्‌।’

कोलम्बसको लहैलहैमा लागेर सुन खोज्न समुद्री यात्रा गर्ने स्पेनी विजेताहरूलाई स्पेनका राजा फर्डिनान्डले यस्तो आदेश दिएः “तिमीहरूले सुन लिएर आउनू। सक्छौ भने, राम्रै तरिकाले ल्याउनू। तर मलाई त्यो जसरी भएपनि चाहिन्छ, चाहिन्छ।” यसै क्रममा यी निष्ठूर अन्वेषकहरूले मेक्सिको तथा मध्य र दक्षिण अमेरिकाका हजारौं बासिन्दाहरूलाई मारे। स्पेनी विजेताहरूले स्पेन पठाएका सुनहरू साँच्चै नै रगतको खोलो बगाएर आर्जन गरिएका थिए।

अर्कोतिर, समुद्री डाँकूहरू पनि थिए। तिनीहरू खास कुनै एउटा राष्ट्रका मात्र थिएनन्‌। तिनीहरूले सुन र अरू बहुमूल्य सरसम्पत्तिहरूले टन्‍न भरिएका ठूलठूला स्पेनी जहाजहरू लुटपाट गरे। जहाजहरूमा प्रायजसो थोरै मात्र हातहतियार र मानिसहरू हुन्थे। अतः सशस्त्र समुद्री डाँकूहरूले हमला गर्दा तिनीहरू जोगिन सकेनन्‌। सत्रौं र अठारौं शताब्दीमा विशेषगरि वेस्ट इन्डिज र अमेरिकाको आसपासका समुद्रहरूमा समुद्री लुटपाट निकै मच्चियो।

१९ औं शताब्दीमा   सुनको खानीतिर ओइरिनेहरू

क्यालिफोर्निया, साक्रामेन्टो उपत्यकामा १८४८ मा ठूलो सुन खानी पत्ता लाग्यो। तुरुन्तै हल्लाखल्ला मच्चियो। त्यो सम्पत्तिको दाबी गर्न देश विदेशका थुप्रै मानिसहरूको घुइँचो लाग्यो। अर्को वर्ष त “सुन हात पार्न” चारैतिरबाट आएका सयौं हजारौं मानिसहरूको क्यालिफोर्नियामा ओइरो लाग्यो। सन्‌ १८४८ मा क्यालिफोर्नियाको जनसंख्या २६,००० थियो भने १८६० मा वृद्धि भएर झन्डै ३,८०,००० पुग्यो। सुन हात पार्नकै लागि किसानहरूले जग्गाजमिन त्यागे, नाविकहरूले डुंगा छोडे, सिपाहीहरूले सेना परित्याग गरे। भनिन्छ, कोही कोही त “रक्‍तपिपासु जंगली पशु” जस्तै भए। मानिसहरूमा आएको यस्तो अवस्थाले अपराध र हिंसा बढायो। सुनको मोहमा फसेका तर सुन पाउन काम गर्न नचाहनेहरूले रेल तथा बग्गीहरूमा लुटपाट गर्न थाले।

सन्‌ १८५१ तिरको कुरा हो, मानिसहरू सुन हात पार्न क्यालिफोर्निया ओइरिएको लगत्तैपछि अस्ट्रेलियामा सुनको ठूलो खानी पत्ता लागेको खबर फैलियो। “नतिजा साँच्चै राम्रो भयो” भनी रिपोर्ट बताउँछ। केही समयको लागि अस्ट्रेलिया विश्‍वको सबैभन्दा ठूलो सुन उत्पादक राष्ट्र भयो। क्यालिफोर्नियामा बसाइँ सरेका कसै कसैले झटपट आफ्नो गुन्टा कसे अनि अस्ट्रेलियातिर लागे। अस्ट्रेलियाको जनसंख्या ह्वात्तै बढ्यो—१८५० मा ४,००,००० थियो भने १८६० मा ११,००,००० भन्दा बढी पुग्यो। थुप्रै मानिसहरू सुन खोज्न पल्केपछि खेतीपाती र अन्य कामकुराहरू ठप्प भए।

उन्‍नाइसौं शताब्दीको अन्ततिर युकोन र अलास्कामा पनि सुन छ भन्‍ने पत्ता लागेपछि हुलका हुल मानिसहरू त्यतै बसाइँ सरे। कठांग्रिने जाडोसित लड्‌नु परे तापनि हजारौं मानिसहरू सुन हात पार्न सुदूर उत्तर, क्लन्डाइक इलाका र अलास्कातिर लागे।

डुबेको सम्पत्ति

बीसौं शताब्दीमा आएर समुद्रको गहिराइमा गोता लाउन सुरु भएपछि अब सुन खोज्नेहरूको ध्यान समुद्रमुनि पर्न थाल्यो। तिनीहरूले त्यहाँ सयौं वर्षअघि बनाइएको सुनका गरगहना र अरू शिल्पकलाहरू भेट्टाउन डुबेका जहाजहरूको भग्नावशेषहरू खोज्न थाले।

सेप्टेम्बर २०, १६३८ मा खराब मौसमको कारण कन्सेपसियोन नामक स्पेनी जहाज साइपान तटको एउटा चट्टानमा ठोक्किएर प्रशान्त महासागरमा डुब्यो। त्यसमा सुन र अरू थुप्रै सम्पत्तिहरू थिए। अहिले ती सुन र अन्य सम्पत्तिको मूल्य लगाउने हो भने करोडौं डलर पर्न आउँछ। जहाजमा यात्रा गरिरहेका ४०० भन्दा बढी मानिसहरू मरे। गोताखोरहरूले जहाजको भग्नावशेषमा सुनका ३२ वटा सिक्रीहरू भेट्टाए। प्रत्येक सिक्री १.५ मिटर लामो र निकै गह्रौं थियो। गोताखोरहरूले सिक्री, क्रस, टाँक, ब्रोच, औंठी र खीपहरू गरेर जम्मा १,३०० टुक्रा सुनका गरगहनाहरू निकाले।

अरू भग्नावशेषहरू पनि भेटिएका छन्‌। सन्‌ १९८० मा गोताखोरहरूले संयुक्‍त राज्य, फ्लोरिडाको किनारतिर सत्रौं शताब्दीको स्पेनी जहाज सान्ता मार्गरिता-को भग्नावशेष भेट्टाए। लगत्तै अर्को वर्षको अन्ततिर गोताखोरहरूले ५३.५ किलोग्राम सुन र सुनका अन्य शिल्पकलाहरू भेट्टाए।

युद्धहरूमा सुनको लुटपाट

सन्‌ १९४५ मा जर्मन सरकारको सन्धिपश्‍चात्‌ संयुक्‍त सेनाहरूले थुरनजिया, जर्मनीको काइजर नुन खानीमा सुन भेट्टाउँदा चकित परे। द एटलान्टा जर्नल-अनुसार त्यहाँ भेट्टाइएको “सुन, कलाकृति, मुद्रा अनि तमसुकको मोल गर्दा त्यस खानीको मूल्य २.१ अरब अमेरिकी डलर पर्न आयो।” साथै नाजी नरसंहारमा मरेका मानिसहरूको सुन र चाँदीका दाँतहरू पनि थुप्रै मात्रामा भेट्टाइयो जसमध्ये कतिपय चाहिं पग्लिसकेका थिए। यसरी लुकाएर राखिएका अपार सुनको थुप्रोले नाजी प्रधान सेनापतिहरूलाई लामो समयसम्म चलेका युद्धहरूमा खर्च बेहोर्न मदत गऱ्‍यो। जर्नल-अनुसार, हिटलरले एक समय कब्जामा पारेका दसवटा जति राष्ट्रहरूलाई लगभग २.५ अरब अमेरिकी डलर बराबरको सुन फर्काइएको छ। लुकाइका नाजी सुनहरू सबै भेटिएको छैन भन्‍ने आशामा अझै पनि खोजतलाश जारी छ।

हो, सुन मूल्यवान्‌ छ। तर बाइबल भन्छ, अरू भौतिक सम्पत्तिहरूले झैं सुनले पनि त्यसलाई खोज्नेहरूलाई जीवन दिन सक्दैन। (भजन ४९:६-८; सपन्याह १:१८) बाइबलको हितोपदेश भन्छ: “बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो”! (हितोपदेश १६:१६) साँचो बुद्धि सृष्टिकर्ता, यहोवा परमेश्‍वरले मात्र दिन सक्नुहुन्छ। अनि यो उहाँको वचन बाइबलमा पाइन्छ। परमेश्‍वरको वचन अध्ययन गरेर यस्तो बुद्धि खोज्नेहरूले परमेश्‍वरको व्यवस्था, सिद्धान्त, सल्लाह सिकेर आफ्नो जीवनमा उतार्नसक्छन्‌। त्यसैकारण, मानिसहरूले अहिलेसम्म पत्ता लगाएका सुनभन्दा पनि यस्तो बुद्धि हासिल गर्नु निकै लाभकारी छ। यस्तो बुद्धिले वर्तमान समयमा उत्तम जीवन जिउन सिकाउँछ भने भविष्यमा अनन्त जीवन पनि पाउन सकिन्छ।—हितोपदेश ३:१३-१८.

[पृष्ठ २७-मा भएको पेटी]

सुनसम्बन्धी केही तथ्यहरू

• विभिन्‍न आकारमा ढाल्न सकिने लचकदार धातुहरूमा सुनलाई प्रमुख मानिन्छ। यसलाई ०.१ माइक्रोमिटरको मोटाइसम्ममा ढाल्न सकिन्छ। अठ्ठाइस ग्राम सुनले १७ वर्ग मिटर ढाक्न सकिन्छ। एक औंस सुनलाई ७० किलोमिटरसम्म तन्काउन सकिन्छ।

• शुद्ध सुन निकै नरम हुने भएकोले गरगहना र अन्य चीजबीजहरू बनाउँदा कडा पार्न प्रायजसो अरू धातुहरू मिसाइन्छ। सुनको मिश्रणलाई २४ क्यारेटमा बताइन्छ। अतः १२ क्यारेटको सुनमा ५० प्रतिशत सुन हुन्छ, १८ क्यारेटको सुनमा ७५ प्रतिशत सुन हुन्छ अनि २४ क्यारेटको सुनमा अरू कुनै मिसावट नभएको शुद्ध मानिन्छ।

• सुन उत्पादन गर्ने राष्ट्रहरूमा दक्षिण अफ्रिका र संयुक्‍त राज्य अग्रस्थानमा आउँछ।

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

महान्‌ सिकन्दर: The Walters Art Gallery, Baltimore

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १४९२ मा सुन खोज्ने सिलसिलामा क्रिस्टोफर कोलम्बस बहामास पुगेको चित्रण गरिएको चित्रकला

[स्रोत]

म्युसियो नाभाल, माड्रिड (स्पेन) साभार तथा डन म्यान्युएल गनजालेज लोपेजको अनुमतिद्वारा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने