सं.रा.सं. युवा कार्यक्रमहरू—कत्तिको सफल छन्?
करिब १५ वर्षअघि, सं.रा.सं. ले सन् १९८५ साललाई अन्तरराष्ट्रिय युवा वर्ष घोषित गरेको थियो। साथै, चार वर्षअघि पनि यसले सन् २००० र त्यसपछिका लागि विश्वव्यापी युवा कार्यक्रमहरू संचालन गर्ने निधो गरेको थियो। यी कार्यक्रमहरूले संसारका एक अरब भन्दा धेरै युवाहरूको समस्या कम गर्नुका साथै उन्नति गर्ने मौका प्रदान गर्ने आशा गरिएको थियो। के यी कार्यक्रमहरूले युवाजनहरूको स्थितिमा कुनै परिवर्त्तन ल्यायो?
निस्सन्देह, केही ठाउँहरूमा परिवर्त्तन ल्याएको छ। संयुक्त राष्ट्र संघ विकास परियोजनाद्वारा प्रकाशित च्वाइसेस पत्रिकाले केही उदाहरणहरू प्रस्तुत गर्छ: थाइल्याण्डमा १९८२ मा निम्न माध्यमिक विद्यालयहरूमा पढ्ने विद्यार्थीहरूमध्ये आधाजसो कुपोषणको सिकार भएका थिए। तथापि, करिब १० वर्षभित्रै साधारण तथा गम्भीर कुपोषणलाई झन्डै झन्डै निर्मूलै गरियो। अनि ओमान देशमा १९७० तिर जम्मा तीनवटा स्कूल मात्र थिए र त्यहाँ ९०० केटाहरू मात्र पढ्थे। तर १९९४ मा झन्डै ५,००,००० केटाकेटीहरू स्कूल जान थाले र त्यसमध्ये ४९ प्रतिशत त केटीहरू मात्रै छन्। यी सफलताका उदाहरणहरू हुन् भन्ने कुरामा दुई मत छैन।
तथापि, सं.रा.सं.-कै संयुक्त राष्ट्र संघ युवा कार्यक्रम नामक अर्को प्रकाशनले विकासोन्मुख देशमा शिक्षा, रोजगार अनि गरिबीसम्बन्धी समस्याहरू यथावतै रहेकोले विश्वव्यापी कार्यक्रमले उन्नति गर्ने लक्ष्य राखेका यी तथा अन्य क्षेत्रहरूमा सुस्पष्ट प्रभाव परेको देखिंदैन भन्ने टिप्पणी गरेको छ।
उदाहरणका लागि, विकासोन्मुख देशहरूमा सबै केटाकेटीहरूलाई सन् २००० सम्ममा प्राथमिक शिक्षा प्रदान गर्ने लक्ष्य पूरा हुनेछैन। प्रायः यस्ता राष्ट्रहरूमा बसोबास गर्ने आमाबाबुहरू आफ्ना बालबच्चाहरूलाई स्कूल पठाउन सक्ने स्थितिमा छैनन्। फलतः, यस्ता समस्याहरूले गर्दा “थुप्रै अशिक्षित मानिसहरू अझै बढ्दै जानेछन्,” भनी संयुक्त राष्ट्र संघ युवा कार्यक्रम टिप्पणी गर्छ। अशिक्षितले गर्दा बेरोजगारीको समस्या बढ्नेछ र बेरोजगारीले थुप्रै सामाजिक विकृतिहरू ल्याउने छ जस्तै, “आत्म विश्वासको कमी, श्रेणी विभाजन,” युवावस्थाका सीपहरूको सदुपयोग हुन नसक्नु तथा चर्को गरिबी। गरिबीले जवान तथा वृद्धहरूलाई समान रूपमा असर गर्ने भए तापनि जवानहरू विशेषगरि त्यसको चपेटामा पर्छन्। सं.रा.सं.-को सोही लेखले यस्तो निष्कर्ष निकाल्छ, ठूलो प्रयासको बावजूद “भोक अनि कुपोषण मानव मात्रको लागि सबैभन्दा ठूलो खतरा नै भइरहेको छ।”
उज्ज्वल भविष्य ल्याउने उद्देश्यले संचालित कार्यक्रमहरू तथा परिश्रमी पेशेवरहरूले केही परिवर्त्तन गर्न सके तापनि, सामाजिक विकृतिहरू हटाउन सकेका छैनन्। त्यसको लागि अरू कुराहरू पनि चाहिन्छ। मेन्सनरेक्टन एन द नटजाक भान भेरलवस्टुर (मानव अधिकार तथा विश्व सरकारको आवश्यकता) नामक पुस्तकले भनेझैं ‘संसारभरि प्रभावकारि रूपमा काम गर्नसक्ने विश्व सरकार आएमा’ मात्र संसारका समस्याहरू समाधान हुनसक्छन्। तसर्थ, के जवान के वृद्ध सबैले आगामी परमेश्वरको राज्यको प्रतिक्षा गरिरहेकोमा अचम्म मान्नुपर्दैन। किनभने येशूले आफ्ना चेलाहरूलाई त्यसै विश्वसरकारका लागि प्रार्थना गर्न सिकाउनु भएको थियो। (दानियल २:४४; मत्ती ६:९, १०) त्यो राज्यले साँच्चै परिवर्त्तन ल्याउने छ।
[पृष्ठ ३१-मा भएको चित्र]
शिक्षा सबै केटाकेटीहरूको मौलिक अधिकार तथा आवश्यकता हो
[स्रोत]
FAO photo/F. Mattioli
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
WHO photo by J. Mohr
Logo: UN photo