बाइबलको दृष्टिकोण
के मृतकहरूको आदर गर्नु उचित हो?
“गहिरो भावनाले गर्दा अधिकांश मानिसहरू मरेका मानिसहरूलाई आदर गर्छन् तर त्यस्तो आदर मृत पशुप्राणीहरूलाई गर्दैनन्।”—इनसाइक्लोपीडिया ब्रिटानिका।
अधिकांश मानिसहरू आफ्ना प्रिय मृत जनहरूको कुनै न कुनै तरिकामा आदर गर्छन्। मरेकाहरूबारे अखबारहरूमा समवेदना प्रकाशित गरेर अनि उसको गुणगान गरेर मृतकलाई आदर गरिन्छ। कुनै कुनै मुलुकहरूमा धार्मिक वा परम्परागत विधिअनुसार भव्यसँग अन्त्येष्टि गरिन्छ। मृतकको संस्कार केही दिन, हप्ता अनि महिनौंसम्म पनि गर्ने गरिन्छ। स्कूल, विमानस्थल, सडक, अनि शहरहरूको नाउँ प्रसिद्ध मृतकहरूको नाउँमा राखिन्छ। वीर पुरुष र स्त्रीहरूको स्मारक बनाइन्छ अनि तिनीहरूको स्मृतिमा बिदा दिनहरू घोषणा गरिन्छ।
तथापि, बाइबलअनुसार मृतकहरूको निम्ति जे जति गरिन्छ तिनीहरूलाई केही पनि थाह हुँदैन। (अय्यूब १४:१०, २१; भजन ४९:१७) मृतकहरू त तिनीहरूलाई सम्झिने व्यक्तिहरूको सम्झनामा मात्र जीवित हुन्छन्। बाइबल भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्।” (उपदेशक ९:५) धर्मशास्त्रले भविष्यमा पुनरुत्थान हुनेछ भन्ने आशा पनि प्रदान गर्छ। (यूहन्ना ५:२८, २९; ११:२५) तर त्यो समय नआउञ्जेल मृतकहरूको कुनै अस्तित्व हुँदैन। तिनीहरू वास्तवमा माटै भई जानेछन्।—उत्पत्ति ३:१९; अय्यूब ३४:१५.
मृतकहरूबारे बाइबलको यो स्पष्ट दृष्टिकोण ध्यानमा राख्दा के तिनीहरूलाई आदर गर्नुको कुनै औचित्य छ र? के मसीहीहरूले आफ्नो प्रिय मृत जनहरूको अन्त्येष्टि गर्दा परम्परागत रीति अपनाउनु हुन्छ?
झूटमा आधारित रीतिहरू
मृतकहरूसँग सम्बन्धित धेरैजसो परम्परागत रीतिहरू गैरबाइबलीय धार्मिक शिक्षाहरूमा आधारित छन्। कुनै कुनै धार्मिक संस्कारहरूको उद्देश्य “मृतकहरूलाई प्रेतहरूको आक्रमणबाट बचाउनु, कहिलेकाहीं जीवित व्यक्तिहरूलाई मृतकहरूको प्रभावबाट वा द्वेषबाट जोगाउनु हो” भनेर इनसाइक्लोपीडिया ब्रिटानिका बताउँछ। मृतकहरू अदृश्य रूपमा जीवित हुन्छन् भन्ने झूटमा आधारित यस्ता रीति सरासर बाइबल विपरीत छन्।—उपदेशक ९:१०.
थुप्रै मानिसहरू आफ्ना मृत जनहरूको श्रद्धा गर्छन्। यस्तो उपासनामा मृतक पूर्वजहरूका नाउँमा बलिदान चढाउनु र प्रार्थनाहरू गर्नु समावेश छन्। यस्ता रीतिथितिहरूमा भाग लिनेहरू त्यसलाई उपासना ठान्दैनन्। बरु, मृत जनहरूलाई गरिएको हार्दिक श्रद्धा वा आदरको अभिव्यक्ति ठान्छन्। तैपनि, यसरी मृतक पूर्वजहरूलाई श्रद्धा गर्नु धर्ममा आधारित छ र त्यो बाइबल शिक्षाहरूसँग मेल खाँदैन। येशू ख्रीष्टले यसो भन्नुभयो: “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँकै मात्र सेवा गर्नू”—लूका ४:८.
सन्तुलित दृष्टिकोण
मृत जनहरूलाई आदर अनि सम्मान गर्नु सधैं झूटो शिक्षाहरूसँग सम्बन्धित हुँदैन। उदाहरणका लागि, विश्वासी राजा हिजकियाहलाई तिनको मृत्युपछि कसरी आदर गरियो भनेर बाइबल लेखोटले बताउँछ। परमेश्वरका जनहरूद्वारा तिनी “दाऊदका छोराहरूका चिहानहरूको सबैभन्दा माथिल्लो ठाउँमा गाड़िए। तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धाञ्जलि चढ़ाए।” (२ इतिहास ३२:३३) अर्को उदाहरण, येशू ख्रीष्टको हो। उहाँका चेलाहरूले “येशूको लाश लगेर यहूदीहरूको लाश गाड़ने रीतिअनुसार सुगन्धित मसालाहरूसित सुती कपड़ामा बाँधे” भनेर बाइबल बताउँछ।—यूहन्ना १९:४०.
बाइबलमा मृतकहरू अनि मृतकहरू गाड्दा विशेष प्रक्रिया अपनाएको अरू पनि थुप्रै उदाहरणहरू छन्। ती चलनहरू पितृ उपासना थिएनन्, नता मृतकहरूले जीवितहरूलाई असर गर्छ भन्ने झूटो विश्वासमा नै आधारित थिए। बरु, शोकाकुल व्यक्तिहरूले आफूले प्रेम गर्ने व्यक्तिहरूलाई गहिरो आदर देखाएका थिए। बाइबलले अन्त्येष्टिमा फजुल खर्च गर्न वा उच्छृङ्खल किसिमको हुन मनाही गरे तापनि शोक मनाउन निषेध गर्दैन किनकि त्यो मानिसजातिको स्वाभाविक भावनाहरूबाट निस्केको आदर हो। अर्कोतिर, यसले मसीहीहरूलाई आफ्नो प्रिय जनको मृत्यु हुँदा चुपचापसँग दुःख सहनुपर्छ अनि शान्त रहनु पर्छ भनेर बताउँदैन।
अतः यहोवाका साक्षीहरू आफ्नो प्रिय जनहरूको अन्त्येष्टिमा उपस्थित हुँदा मृतकहरूलाई उचित आदर अनि इज्जत गर्छन्। (उपदेशक ७:२) मृतकहरूलाई फूल अर्पण गर्ने, शोक सभा अनि अन्य स्थानीय रीतिथितिहरूबारे मसीहीहरूले व्यक्तिगत छनौट गर्नुपर्छ। यस्तो छनौट गर्दा बाइबलका शिक्षाहरूसँग मेल नखाने चलनहरूबाट अलग रहनुपर्छ। यसको लागि, राम्रो विचार र सन्तुलन आवश्यक छ। धर्म र नीतिको विश्वकोश (अंग्रेजी) यसो भन्छ, “समय समयमा धार्मिक रीतिको अर्थ र महत्त्व परिवर्तन हुँदै आएको छ। फलतः समयको दौडान त्यसको मौलिक अर्थ अर्कै भएको हुनसक्छ। अनि ती रीतिहरूको प्रचलित व्याख्याले त्यसको मौलिकताबारे केही पनि स्पष्ट पार्दैन।”a
के गुणगान गर्नु गलत हो?
सन्तुलित हुनुपर्ने सिद्धान्त मृतकहरूको गुणगान गाउने कुरामा पनि लागू हुन्छ। शोक सभामा यहोवाका साक्षीहरू शोक सन्तप्त व्यक्तिहरूलाई सान्त्वना दिने प्रयास गर्छन्। (२ कोरिन्थी १:३-५) औपचारिक कार्यक्रममा एक वा बढी वक्ताहरूले भाषण दिनसक्छन्। तर यो कार्यक्रममा थुप्रै मानिसहरूले भाषण दिएर मृतकको जोरदार प्रशंसा गर्नु उपयुक्त हुँदैन। बरु, अन्त्येष्टिले त परमेश्वरले पुनरुत्थानको आशा दिनुभएर हामीप्रति देखाउनुभएको दयालगायत उहाँका अन्य अद्भुत गुणहरूको प्रशंसा गर्ने मौका प्रदान गर्नुपर्छ।
तथापि, यसको मतलब अन्त्येष्टि भाषणमा मृतकका असल गुणहरूको सम्झना गर्नु गलत हो भन्ने होइन। (२ शमूएल १:१७-२७ तुलना गर्नुहोस्।) आफ्नो मृत्युसम्मै परमेश्वरप्रति विश्वासी रहने व्यक्ति अनुकरणीय उत्कृष्ट नमुना हुन्छ। (हिब्रू ६:१२) परमेश्वरका निष्ठावान् सेवकहरूबारे विचार गर्नु असल हुन्छ। ती सकारात्मक विचारहरू शोक सभाको दौडान अरूसँग बाँड्नाले जीवित रहनेहरूलाई सान्त्वना दिन्छ भने मृतकको स्मृतिलाई आदर गर्छ।
साँचो मसीहीहरू मृतकको उपासना गर्दैनन्। तिनीहरू बाइबल सत्यसित मेल नखाने प्रचलित धार्मिक रीतिहरूमा भाग लिंदैनन्। अर्कोतिर, परमेश्वरका सेवकहरू मृतकहरू माटो भइजान्छन् भन्दैमा सबै अन्त्येष्टि रीतितिथिहरू उद्देश्यहीन र अनावश्यक छन् भन्ने दृष्टिकोण राख्दैनन्। तिनीहरू शोक मनाउँछन् अनि आफ्ना मृत जनलाई सम्झन्छन्। तर मरेकाहरूले शासना भोग्नुपर्दैन अनि पुनरुत्थानको आशा छ भन्ने बाइबल सत्यले गर्दा तिनीहरूको पीडा र दुःख हल्का बनाउँछ।
[फुटनोट]
a अक्टोबर १५, १९९१ को प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ ३१ मा निम्न निर्देशन दिइएको छ: “साँचो मसीहीहरूले यी कुराहरू विचार गर्नुपर्छ: मैले अपनाएको कुनै रीतिथितिलाई अरूले गैरशास्त्रीय विश्वास वा चलनहरू ठान्छन् कि? यसको जवाफ समय अनि स्थानअनुसार फरक पर्छ। अहिलेको कुनै रीतिथिति हजारौं वर्षअघि झूटो धर्ममा आधारित भएको हुनसक्छ वा कुनै टाढाको मुलुकमा अहिले पनि झूटो धर्ममा आधारित हुनसक्छ। तर त्यस्तो रीतिथिति जान्न समय खेर फाल्नुको साटो आफूलाई सोध्नुहोस्: ‘म बसेको ठाउँमा सबैको दृष्टिकोण कस्तो छ?’—१ कोरिन्थी १०:२५-२९ तुलना गर्नुहोस्।”
[पृष्ठ १०-मा भएको चित्र]
सन् १६३२ मा स्वीडेनका राजा गुस्ताभ दोस्रोको अन्त्येष्टिमा तिनलाई सम्मान गरिएको दृश्य
[स्रोत]
Bildersaal deutscher Geschichte पुस्तकबाट