म अन्धी भए तापनि अरूको सेवा गर्दै खुसी छु
पोलिटिमी भेनीटिसियानोसको वृत्तान्तमा आधारित
म सानै छँदा मेरो दाइ, दिदी, भाइ र काकाको छोरीसँग खेलिरहेको बेला एउटा सानो चीज हाम्रो झ्यालबाट स्वाट्ट भित्र छिऱ्यो। त्यो हातेबम रहेछ र त्यो विस्फोट हुँदा मेरो दाइ, दिदी र भाइ तीनै जना मारिए र मचाहिं अन्धी भएँ।
त्यो दिन थियो, जुलाई १६, १९४२ र म पाँच वर्षकी मात्र थिएँ। कति दिनसम्म त मेरो होस थिएन, छिनछिनमा होस खोल्ने र बेहोस हुने भइरहेको थियो। पूरा होस खुलेपछि मैले आफ्ना दाजुभाइहरू खोज्न थालें। तिनीहरू मरिसकेको थाह पाउँदा म पनि मरेको भए हुन्थ्यो जस्तो लाग्यो।
म जन्मँदा मेरो परिवार ग्रीक टापु सालिमासको एथेन्स बन्दरगाहको पिरालेभेस नजिकै बस्थ्यो। गरिब भए पनि हामीले शान्तमय जीवन नै बिताइरहेका थियौं। तर त्यो सबै १९३९ मा सुरुभएको दोस्रो विश्वयुद्धले भताभुंग पाऱ्यो। बुबा भूमध्यसागरमा कार्यरत नौसेनामा हुनुहुन्थ्यो। उहाँले अक्सर पनडुब्बी, लडाकू जहाज र एक्सिस तथा संयुक्त सेनाबाट प्रहार हुने गोली तथा बमहरूबाट छल्नुपर्थ्यो। ग्रीस समाजवाद र नाजीवाद दुवैको अधीनमा थियो।
परमेश्वरलाई घृणा गर्न सिकाइएको
युद्धको समयका कठिन परिस्थितिहरूले गर्दा मेरो काइँलो भाइको मृत्यु भयो। यसले गर्दा आमा अत्यन्तै निराश हुनुभयो र उहाँलाई क्षयरोग लाग्यो अनि कान्छी बहिनी जन्मिएपछि अगस्त १९४५ मा बित्नुभयो। धर्मप्रति बढी आस्था भएका छिमेकीहरूले हामीलाई परमेश्वरले सजाय दिनुभएको भन्न थाले। हामीलाई प्रोत्साहन दिने हेतुले केही ग्रीक अर्थोडक्स पूजाहारीहरूले मेरा दाइभाइ र दिदीहरूलाई परमेश्वरले स-साना स्वर्गदूतहरू बनाउन स्वर्ग लग्नुभएको भने तर त्यसले गर्दा कुरा झनै बिग्रियो।
बुबा क्रोधित हुनुभयो। परमेश्वरसित करोडौं स्वर्गदूतहरू हुँदाहुँदै पनि उहाँलाई ती चार स-साना बच्चाहरू किन चाहिएको? अर्थोडक्स चर्चका यस्ता विश्वासहरूले गर्दा परमेश्वर र धर्मविरुद्धका भावनाहरूले बुबामा झनै जरा गाड्यो। त्यसपछि, उहाँले धर्मसित कुनै सम्बन्ध नै राख्न चाहनुभएन। हाम्रो सबै पीडा र दुःखको कारण नै परमेश्वर हुनुहुन्छ भनेर जोड दिंदै उहाँले मलाई पनि परमेश्वरलाई घृणा गर्न र तुच्छ ठान्न सिकाउनुभयो।
खोरमा राखिएको जंगली जनावरजस्तै
सन् १९४५ मा आमा बित्नुभएको केही समयपछि बुबालाई पनि क्षयरोग लाग्यो र उहाँलाई त्यस्ता बिरामीहरूलाई राख्न अलग्गै छुट्याइएको ठाउँमा राखियो। मेरी सानी बहिनीलाई चाहिं सार्वजनिक शिशु स्याहार केन्द्रमा लगियो। पछि, बुबा निको भएर त्यस शिशु स्याहार केन्द्रमा बहिनीलाई लिन जाँदा उनको मृत्यु भइसकेको थाह पाउनुभयो। मलाई अन्धाहरूको स्कूलमा भर्ना गरियो र मैले त्यहाँ आठ वर्ष बिताएँ। सुरुमा त म अत्यन्तै दुःखित भएकी थिएँ। विशेषगरि, आमाबाबुहरू बच्चाहरूलाई भेट्न आउने दिनमा असह्य हुन्थ्यो। मेरा सबै अन्धा साथीहरूको प्रायः कोही न कोही भेट्न आउँथे तर मलाई भेट्न आउने कोही हुँदैनथ्यो।
मैले खोरमा राखिएको जंगली जनावरले जस्तो व्यवहार गर्थें। स्कूलमा सबैले मलाई बदमासनी भनेर बोलाउँथे। फलस्वरूप मैले निकै पिटाइ खाएँ र बदमासहरूलाई मात्र राख्ने मेचमा बस्नुपर्थ्यो। अक्सर म मर्ने विचार गर्थें। तर समयमा मैले आफू आत्मनिर्भर हुनुपर्ने कुरा स्पष्टसित बुझें। स्कूलमा अन्धो साथीहरूलाई लुगा लगाउन वा ओछ्यान मिलाउन मदत गर्दा सन्तुष्ट महसुस गर्न थालें।
हाम्रा आमाबाबुले अक्षम्य पाप गरेकाले हामी अन्धाअन्धीहरू भएको भनेर पादरीहरूले हामीलाई भन्ने गर्थे। यसले गर्दा मलाई परमेश्वरदेखि झनै घृणा लाग्नथाल्यो। उहाँ मेरोनिम्ति अत्यन्तै छुच्चो र क्रूर हुनुहुन्थ्यो। मृतात्माहरूले जीवितहरूलाई तर्साउँछन् भन्ने धार्मिक विश्वासले गर्दा पनि म त्रसित हुनुका साथै ममा द्वेषका भावनाहरू आउन थाले। अतः मेरा मरिसकेका दिदी, दाइ, भाइ र आमाको माया लागे तापनि तिनीहरूको “आत्मा”-देखि डराउँथें।
बुबाबाट मदत पाएँ
यति नै बेला यहोवाका साक्षीहरूसित बुबाको भेट भएछ। पीडा तथा मृत्युको स्रोत यहोवा नभई शैतान हो भन्ने कुरा बाइबलबाट थाह पाउँदा बुबा छक्क पर्नुभयो। (भजन १००:३; याकूब १:१३, १७; प्रकाश १२:९, १२) नयाँ ज्योति पाउनुभएको मेरो बुबा चाँडै यहोवाका साक्षीहरूको सभाहरू धाउन थाल्नुभयो अनि आध्यात्मिक प्रगति गर्नुभयो र १९४७ मा बप्तिस्मा लिनुभयो। त्यसको केही महिनाअघि उहाँले फेरि विवाह गर्नुभएको थियो र एउटा छोरा पनि थियो। पछि उहाँको नयाँ श्रीमतीले पनि यहोवाको उपासनामा उहाँलाई साथ दिन थाल्नुभयो।
सोऱ्ह वर्षको उमेरमा मैले अन्धाहरूको स्कूल छोडें। एउटा न्यानो मसीही परिवारकहाँ फर्कन पाउनु कस्तो सान्त्वनादायी कुरा थियो! उहाँहरूको पारिवारिक बाइबल अध्ययन भन्ने हुन्थ्यो र मलाई पनि बस्न बोलाउनुहुन्थ्यो। मलाई खास कुनै चासो नभए तापनि आदर र शिष्टता देखाउनको लागि मात्र भए पनि बस्थें। परमेश्वर र धर्मविरुद्ध ममा अझै कटु भावनाहरू प्रबल थियो।
त्यतिबेला उहाँहरूले परमेश्वरको मार्ग प्रेम हो (अंग्रेजी) भन्ने पुस्तिका अध्ययन गरिरहनुभएको थियो। सुरुमा त मैले केही चासो लिइनँ तर त्यति नै बेला बुबाले मरेकाहरूको अवस्थाबारे छलफल गर्न थाल्नुभयो। यसले मेरो ध्यान आकर्षण गऱ्यो। बाइबलबाट उपदेशक ९:५, १० पढियो: “मरेकाहरूले ता केही पनि जान्दैनन्। . . . किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।”
म त बेकारमा डराइरहेकी रहेछु भनेर थाह पाएँ। मेरा मरिसकेका आमा, दाइ, भाइ र दिदीले केही हानि पुऱ्याउन नसक्ने रहेछन्। त्यसपछि पुनरुत्थानबारे छलफल गर्न थालियो। अनि त मेरो कान ठाडो हुन थाल्यो। ख्रीष्टको शासनमा मरेकाहरू पनि ब्यूँतनेछन् भन्ने बाइबलको प्रतिज्ञा सुन्दा म हर्षले गद्गद भएँ। (यूहन्ना ५:२८, २९; प्रकाश २०:१२, १३) अबचाहिं मलाई अध्ययन चाखलाग्दो लाग्न थाल्यो। पारिवारिक अध्ययनको दिन फेरि कहिले आउला जस्तो लाग्न थाल्यो अनि अन्धी भए तापनि राम्ररी तयारी गर्थें।
आध्यात्मिक दृष्टि प्राप्त गर्दा
आध्यात्मिक ज्ञानमा उन्नति गर्दै जाँदा परमेश्वर तथा उहाँको व्यवहारबारे गलत सोचाइहरू सबै हराउँदै गए। म र अरू जो जो व्यक्ति अन्धा छन्, त्यसको कारण परमेश्वर नभई सबै दुष्ट कार्यको जड उहाँको विरोधी शैतान अर्थात् दियाबल हो भनेर सिकें। अनजानमा मैले परमेश्वरलाई दोषी ठहऱ्याइरहेकोमा साह्रै दुःख लाग्यो! उत्सुकतासाथ मैले बाइबलबाट सही ज्ञान लिंदै गएँ। हामी राज्यभवनभन्दा धेरै किलोमिटर टाढा भए तापनि सबै मसीही सभाहरू धाउँथ्यौं। अन्धी भए तापनि सक्रियतासाथ प्रचारकार्यमा भाग लिन्थें।
म अन्धी भएको त्यस दुःखद् घटनाको झन्डै १६ वर्षपछि जुलाई २७, १९५८ का दिन बप्तिस्मा लिनु मेरोनिम्ति अत्यन्तै खुसीको कुरा थियो! मेरो जीवनले नयाँ मोड लियो र पूर्णतया आशावादी हुन सकें। अब भने मेरो जीवन उद्देश्यपूर्ण भयो। त्यो हो, स्वर्गमा हुनुहुने मायालु परमेश्वरको सेवा गर्ने। उहाँको ज्ञानले मलाई झूटा शिक्षाहरूबाट स्वतन्त्र तुल्यायो र अन्धी भएको कारण हुने कठिनाइहरू कटिबद्धता तथा साहससित सामना गर्ने मदत पाएँ। त्यो अत्युत्तम सुसमाचार सुनाउन म नियमित तवरमा महिनामा ७५ वा त्योभन्दा बढी घण्टा बिताउँथें।
विवाह टुक्रियो
सन् १९६६ मा मैले बिहे गरें र हामी दुईको लक्ष्य एउटै थियो। हामीले आफ्नो प्रचार गतिविधिमा गरेको वृद्धि हेर्दा त हाम्रो दाम्पत्य जीवन सुखमय हुनेछ जस्तो लागेको थियो। कुनै कुनै महिनामा त हामीले यस जीवन बचाउने कार्यमा निकै घण्टा बिताउँथ्यौं। हामी ग्रीसको बीच भाग नजिकैको दुर्गम ठाउँ लिभादिया सऱ्यौं। हामी त्यहाँ बसेका वर्षहरू अर्थात् १९७० देखि १९७२ सम्म ग्रीसमा दमनकारी सैन्य शक्तिको राज भए तापनि थुप्रै मानिसहरूलाई बाइबल सत्य सिकाउन तथा बप्तिस्माप्राप्त मसीही हुन मदत गऱ्यौं। त्यस इलाकामा भएका यहोवाका साक्षीहरूको सानो मण्डलीलाई मदत गर्न पनि हामी खुसी थियौं।
तथापि, केही समयपछि मेरो श्रीमान्ले बाइबल अध्ययन तथा हाम्रो मसीही सभाहरूलाई बेवास्ता गर्न थाल्नुभयो र अन्ततः उहाँले बाइबल शिक्षालाई चटक्कै छोड्नुभयो। यसले गर्दा हाम्रो विवाहमा निकै तनाउ भयो र १९७७ मा सम्बन्धविच्छेद गऱ्यौं। मेरो त बेहालै भयो।
फलदायी सुखमय जीवन
मेरो जीवनको यस अत्यन्तै निराशाजनक समयमा यहोवा अनि उहाँको संगठनले फेरि मेरो उद्धार गऱ्यो। एक मायालु भाइले म यदि मेरो पहिलेको श्रीमान्को कारण दुःखित भइरहें भने वास्तवमा म उनको दास भइरहेकी हुनेछु भने। म सुखी हुने, नहुने कुरा उनमा नै निर्भर भइरहेको हुनेछ। यही समयताका मसीही मण्डलीको एउटी बहिनीले उनको प्रचार कार्यमा उन्नति गर्न मसित मदत मागिन्। चाँडै म सबैभन्दा खुसी हुने कुरामा व्यस्त हुन थालें—त्यो हो सेवकाईमा भाग लिएर!
त्यसपछि, अर्को एक मसीही भाइले यस्तो सल्लाह दिए: “तपाईंले जहाँ धेरै आवश्यकता छ, त्यहाँ सेवा गर्न सक्नुहुन्छ। तपाईं यहोवा परमेश्वरद्वारा चलाइएको ज्योति हुन सक्नुहुन्छ।” कस्तो रोमाञ्चकारी विचार! एक अन्धी व्यक्ति “संसारमा ज्योतिहरूझैं देखा[पर्ने]!” (फिलिप्पी २:१५) केही ढिलाइ नगरी म तुरुन्तै एथेन्सबाट गइहालें र दक्षिणी इवोयाको अमारिथोसमा बस्न गएँ र त्यहाँ थोरै मात्र बाइबल शिक्षकहरू थिए। त्यहाँका भाइबहिनीहरूको मदतद्वारा मैले घर बनाएँ र आफ्ना आवश्यकताहरू पूरा गर्न सकें।
हरेक वर्ष केही महिना सेवकाईमा सधैंभन्दा अलि धेरै समय बिताइरहेको २० वर्षभन्दा बढी भइसक्यो। यहोवाको बलद्वारा मैले सेवकाईको हर पक्षमा भाग लिन सकिरहेकी छु। जस्तै घरघर जाने, जिज्ञासु व्यक्तिहरूसित गृह बाइबल अध्ययन गर्ने र सडक साक्षीकार्यमा भाग लिने। हाल मैले हाम्रो सृष्टिकर्ताबारे जान्न इच्छुक चार व्यक्तिहरूसित बाइबल अध्ययन गर्ने सुअवसर पाइरहेकी छु। बीस वर्षअघि हातैमा गन्न मिल्ने भाइबहिनीहरू मात्र भएको ठाउँमा अहिले तीन वटा मण्डली भएको देख्न पाउदाँ म साह्रै खुसी छु!
हप्ताको दुईचोटि म मसीही सभाहरू धाउन ३० किलोमिटरभन्दा बढी यात्रा गर्छु र एउटा पनि सभा नछुटाउन कटिबद्ध छु। वक्तालाई देख्न असमर्थ भएको कारण कहिलेकाहीं सभाको दौडान मेरो मन डुल्न थाल्दा म नोट लिन विशेष प्रकारको ब्रेल नोट कापी चलाउँछु। यसरी मैले मन नडुलाइ ध्यान दिनसक्छु। यसबाहेक, मेरो घरमा नै मण्डलीको एउटा सभा गर्ने सुअवसर पाएकी छु। छेउछाउ गाउँका मानिसहरू मण्डली पुस्तक अध्ययनको निम्ति आउँछन्। सधैं अरूहरू मेरो घरमा आओस् भन्ने आशा गर्नुको सट्टा म आफै अग्रसर भएर अरूलाई भेट्न जान्छु, जसको फलस्वरूप हामी सबै प्रोत्साहित हुन्छौं।—रोमी १:१२.
किशोरावस्थामा म बुबासँग बस्दा उहाँले मलाई कहिल्यै अन्धी जस्तो व्यवहार गर्नुभएन। धैर्य र दृढताका साथ उहाँ आफैले मलाई कतिपय कामहरू गर्न सिकाउनुभयो। त्यस व्यवहारिक प्रशिक्षणले मलाई आफ्नो बगैंचा र अलिकति भएको गाईबस्तुको देखभाल गर्न मदत पुऱ्याएको छ। घर सफा राख्न र खाना तयार पार्न म निकै मेहनत गर्छु। आफूसित भएको स-साना कुरामा पनि खुसी हुनसक्ने रहेछ भनेर मैले सिकेकी छु। मसित भएका चार बाँकी ज्ञानेन्द्रियहरू सुन्ने, सुंग्ने, स्वाद लिने र स्पर्शको मदतद्वारा मैले थुप्रै कुरा हासिल गर्न सकेकी छु र अत्यन्तै सन्तुष्ट पनि छु। यसले मण्डली बाहिरका मानिसहरूलाई पनि ठूलो साक्षी दिएको छ।
परमेश्वरद्वारा सँभालिएकी
मेरा सीमितताहरूको बावजूद म कसरी सकारात्मक तथा आत्मसन्तुष्ट हुन सकेकी होला भनी थुप्रै अचम्ममा पर्छन्। यो सबैको श्रेय यहोवालाई नै दिनुपर्छ जो “सबै सान्त्वनाका परमेश्वर” हुनुहुन्छ। (२ कोरिन्थी १:३) मैले आफ्नो दृष्टि गुमाएपछि अक्सर मर्ने विचार गर्थें। अतः यहोवा र बाइबल सत्य थाह नभएको भए म अहिलेसम्म जीवित पनि हुन्नथें होला। सृष्टिकर्ताले हामीलाई दृष्टि मात्र नभई अन्य थुप्रै वरदानहरू दिनुभएको छ भनी मैले अहिले बुझेकी छु र त्यसबाट हामी आनन्दित हुनसक्छौं। एकचोटि साक्षीहरू मेरो गाउँमा प्रचार गर्न जाँदा एउटी महिलाले मेरोबारे यसो भनिछिन्: “उसले उपासना गर्ने परमेश्वरले गर्दा नै उसले त्यो सबै गर्नसकेकी हो नि।”
मैले जति पनि परीक्षाहरू भोगें त्यसले गर्दा म परमेश्वरसित झन् घनिष्ठ हुन सकेकी छु। यसले गर्दा मेरो विश्वास झनै बलियो भएको छ। प्रेरित पावल पनि “शरीरमा एक किसिमको छेस्को” अर्थात् आँखाको समस्याबाट पीडित थिए भनी मैले बिर्सेकी छैनँ। (२ कोरिन्थी १२:७; गलाती ४:१३) तैपनि तिनलाई सुसमाचार कार्यमा ‘जोसिलो’ हुनदेखि रोकेन। तिनले जस्तै मैले पनि यस्तो भन्नसक्छु: “म बरु मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु। . . . किनभने दुर्बल हुँदा, म शक्तिमान हुन्छु।”—प्रेरित १८:५; २ कोरिन्थी १२:९, १०.
सबैभन्दा त मेरो आफ्नै आँखाले प्यारी आमा, दाइ, दिदी र भाइलाई देख्नसक्ने बाइबल आधारित आशाले मलाई निश्चय पनि सकारात्मक र लाभदायी प्रभाव पारेको छ। “अन्धाहरूका आँखा खोलिनेछन्” र “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ” भनी बाइबल प्रतिज्ञा गर्छ। (यशैया ३५:५; प्रेरित २४:१५) त्यस्तो प्रत्याशाले म पूर्णतया आशावादी हुन्छु र उत्सुकतासाथ परमेश्वरको राज्यअन्तर्गत हुने महिमित भविष्य पर्खिन्छु!
[पृष्ठ १५-मा भएको चित्र]
मेरो बुबा, मैले उहाँसँगै बाइबल अध्ययन गरें
[पृष्ठ १५-मा भएको चित्र]
मेरो भान्छामा
[पृष्ठ १५-मा भएको चित्र]
साथीसित सेवकाईमा