युवा जनहरू सोध्छन् . . .
कुरा काटेर के भो त?
“मेरो हाई-स्कूलमा सबै जना कुरा काट्न खप्पिस छन्। हामी लागू पदार्थ सेवन गर्ने, बन्दुक चलाउने वा झगडा गर्ने गर्दैनौं तर हामी अर्काको कुरा काट्छौं। त्यो ठूलो समस्या हो।”—१६ वर्षीया मीशेल।a
कसैले यो मनोरञ्जक छ भन्छन् भने कसैले हानिकारक। प्रायः पत्रिका, अखबार, अनि टेलिभिजन कार्यक्रमहरूमा यस्ता गफहरू दिने गरेको पाइन्छ। साथै यसले वार्तालाप मसलेदार पनि बनाउँछ। यो के हो? मानिसहरू तथा तिनीहरूका व्यक्तिगत सम्पर्कहरूबारे अनावश्यक कुराकानी गर्नु, जसलाई कुरा काट्नु पनि भनिन्छ।
हाम्रो ध्यान अरू कुराले त्यति मोड्न सक्दैन जति “ए, तिमीले एउटा कुरा सुन्यौ?” भन्दा मोडिन्छ। त्यसपछि भनिने कुरा साँचो पनि हुनसक्छ झूटो पनि अथवा बढाइचढाइ गरिएको नै हुनसक्छ। जे भए तापनि यस्तो गफमा लाग्ने प्रलोभन निकै शक्तिशाली हुनसक्छ। “अरूबारे जिज्ञासु नहुनु निकै कठिन छ,” १७ वर्षीया लोरी भन्छिन्। “मानौं, आपसमा कुनै बाचा बाँधिएझैं रहरलाग्दो कुरा थाह पाउने बित्तिकै साथीलाई बताइहाल्नुपर्छ।”
हामी किन त्यसो गर्छौं
हामीलाई अरूको कुरा गर्न किन त्यस्तो सकसक लागेको? एउटा कारण मानवजाति सामाजिक प्राणी भएकोले हो। अर्को शब्दमा भन्दा मानिसहरू मानिसहरूमाथि नै चासो राख्छन्। त्यसैले चाँडो वा ढिलो हाम्रो कुराकानी आफ्ना साथीहरू वा परिचित मानिसहरूको जीवनमा भर्खरै भएका घटनाहरूतिर मोडिनु स्वाभाविक हो।
के यो गलत हो? सधैं गलत होइन। प्रायः कुराकानी गर्दा उपयोगी जानकारीहरू पाउन सकिन्छ। जस्तै कसले बिहे गर्न लागेको छ, कसले बच्चा जन्मायो अनि को बिरामी छ आदि। प्रथम शताब्दीका मसीहीहरू पनि आफ्ना सँगी विश्वासीहरूको जीवनमा भर्खरै भएका घटनाहरूबारे छलफल गर्थे। (एफिसी ६:२१, २२; कलस्सी ४:८, ९) वास्तवमा, वार्तालाप कायम गर्न र राम्रो सम्बन्ध गाँस्न आफ्ना मित्र तथा परिचितहरूबारे कुराकानी गर्नैपर्ने हुन्छ।
हानिकारक गफका पासोहरू
तथापि, चासो लागेर त होइन तर अन्य कुराबाट प्रेरित भएर पनि अरूको जीवनबारे छलफल गरिन्छ। उदाहरणका लागि, १८ वर्षीया डीएड्रा भन्छिन्: “मानिसहरू [लोकप्रिय] हुन पनि अर्काको कुरा काट्छन्। भर्खरै सुनेका कुराहरूभन्दा पनि सबैलाई आकर्षित गर्ने खालको कथा बताउँदा आफू सबैअघि लोकप्रिय होइन्छ भन्ने विचार तिनीहरू गर्छन्।” अरूलाई प्रभावित पार्ने इच्छाले पनि कुरौटेहरूलाई तथ्य कुरा बंग्याउन उत्प्रेरित गर्छ। “तपाईंलाई वास्तविक कुरा थाह छ भने त्यसलाई काँटछाँट गर्न सक्नुहुन्छ,” १७ वर्षीया रेचेल वर्णन गर्छिन्। “यो त एउटा मञ्च जस्तो मात्र हो, जहाँ तपाईं कथावस्तुलाई जसरी मन लाग्यो त्यसरी प्रस्तुत गर्न सक्नुहुन्छ।”
समय समयमा, झूटा हल्लाहरूलाई बदला लिने माध्यम बनाइन्छ। “एकपल्ट मैले मेरी साथीबारे अफवाह फैलाइ दिएँ। तिनले मेरो चित्त दुख्ने कुरा गरेकीले मैले त्यसो गरें,” १२ वर्षीया एमीले भनिन्। त्यसको परिणाम? “सुरु सुरुमा त वाह, म मात्र के कम छु र भनेजस्तो लागिरहेको थियो।” तथापि, एमीले कुरा थप्दै भनिन्: “चाँडै कुरा नियन्त्रण बाहिर गयो अनि म चुप लागेको भए पनि भइहाल्थ्यो नि बेकारमा दुःखी हुने काम गरें भनेर पछुताउन थालें।”
एक मानसिक स्वास्थ्य विशेषज्ञाका अनुसार यसरी कुरा काट्नु “तुरुन्तै चारैतिर फैलिने अनियन्त्रित आगो जस्तै हो।” (याकूब ३:५, ६ तुलना गर्नुहोस्।) यस्तो भयो भने, परिणाम ध्वंसात्मक हुनसक्छ। उदाहरणका लागि, कुनै गोप्य रहनुपर्ने कुरा चारैतिर फैलियो भने के हुन्छ? अथवा झूटा कुराहरू प्रसारित गर्दा कसैको राम्रो प्रतिष्ठामा धब्बा लाग्छ भने नि? बाऱ्ह वर्षीय बील भन्छन्, “मेरो साथीले म लागू पदार्थको दुर्व्यसनमा लागेको छु भनेर अफवाह फैलाइ दियो। त्यसले, असाध्यै चित्त दुख्यो।”
अर्कालाई ठेस पुऱ्याउने गफ रोक्ने
बाइबलले “जीवन र मृत्युको शक्ति बोलीमा रहन्छ,” भन्ने उचित तर्क पेस गर्छ। (हितोपदेश १८:२१) हो, हामीले बोलेका शब्दहरू निर्माण सामग्री वा विनाशकारी हातहतियार बन्नसक्छन्। दुःखको कुरा थुप्रै मानिसहरू आज केही सीप नलागेपछि अन्तिम हतियारको रूपमा जिब्रो प्रयोग गर्छन्। तिनीहरू भजनहार दाऊदले भनेका ती मानिसहरू जस्तै छन् जसले “आफ्ना जिब्रोलाई तरवारझैं शान लगाएका छन्, औ तीता वचनरूपी काँड़हरूले ताकेका छन्। गुप्त ठाउँहरूमा सुधाहरूलाई हान्नाको निम्ति।”—भजन ६४:२-४.
बाइबलले “झूट बोल्नेलाई परमप्रभु घीन गर्नुहुन्छ” भनेकोले परमेश्वरलाई खुसी तुल्याउन चाहनेले गलत कुरा फैलाउनु हुँदैन। (हितोपदेश १२:२२) गलत भनी थाह हुँदाहुँदै कुनै कुरा सुरु गर्ने वा फैलाउने विचार गर्दै हुनुहुन्छ भने झूटो बोल्नुहुँदैछ जबकी, बाइबलले मसीहीहरूलाई “झूट त्यागेर” “आफ्नो छिमेकीसित सत्य बोल” भन्छ।—एफिसी ४:२५.
त्यसैले अरूबारे केही भन्नु अगाडि आफैलाई सोध्नुहोस्: ‘के मलाई तथ्य कुरा साँच्चै थाह छ? मैले भनेका कुराहरूले गर्दा मेरो कुरा सुन्ने मानिसले त्यस व्यक्तिलाई अनादर पो गर्ने हो कि? उसोभए, मैले यो कुरा गर्नुको उदेश्य के हो?’ कुनै कुरा साँचो हो भन्दैमा त्यसलाई फैलाउनु व्यवहारिक होइन भन्ने कुरा पनि नबिर्सनुहोस्। अझ विशेषगरि त्यसले कसैको प्रतिष्ठामा नै ठेस पुऱ्याउँछ भने।
विचार गर्नुपर्ने अर्को प्रश्न हो, ‘अर्काको कुरा काट्दा मेरो आफ्नै प्रतिष्ठामा चाहिं कस्तो असर पर्छ नि?’ हो, अर्काको कुरा काट्दा तपाईंले आफैबारे पनि केही बताउनुहुन्छ। उदाहरणका लागि क्रिस्टन भन्छिन्: “अरूको कुरा काट्न त्यतिका समय बिताउनुहुन्छ भने तपाईंको जीवन त असाध्यै नीरस हुनुपर्छ।” अरूले कुरौटे भनेर चिन्ने हुनाले लीसाले आफ्नै घनिष्ठ मित्रको भरोसासमेत गुमाउनु पऱ्यो। तिनी भन्छिन्: “यस्तोसम्म भयो कि तिनले मलाई भरोसा गर्नसक्ने हो कि होइन भनेर शंका गर्न थालिन्। यो असाध्यै दुःखलाग्दो कुरा थियो। तिनले ममाथि भरोसा गर्नसक्छिन् भनेर मैले प्रमाणित गरेर देखाउनुपऱ्यो।”
तपाईं कुरौटे भनेर चिनिनुहुन्छ भने मानिसहरूले तपाईंलाई आफ्नो मानहानी गर्ने व्यक्तिको रूपमा हेर्नेछन् र तपाईंसित संगत गर्न रूचाउने छैनन्। बाइबलको हितोपदेश भन्छ: “कुरौटेले घरघर डुलेर गुप्त कुरा प्रकट गर्छ, त्यस्तासित संगतै नगर।” (हितोपदेश २०:१९, बेक) तर एक शब्द पनि उच्चारण नगरी तपाईंले त्यस्तो घात पुऱ्याउनसक्ने गफमा मदत गर्नसक्नुहुन्छ भनेर के तपाईंलाई थाह थियो?
कुरा काट्नुको अर्को पक्ष—सुन्नु
अर्काको कुरा काट्न कम्तीमा दुई व्यक्ति हुनुपर्छ अर्थात् वक्ता र स्रोता। हुन त, यसमा सुन्नेभन्दा निन्दा गर्नेचाहिं नै दोषी देखिनसक्छ तर यस सन्दर्भमा बाइबलले भिन्नै दृष्टिकोण प्रकट गर्छ। हितोपदेश १७:४ मा हामी यसो भनेको पाउँछौं: “खराब कुरा सुन्न बदमाश मानिस आफ्नो कान ठाड़ो पार्छ, औ झूट बोल्नेले चुक्ली सुन्छ।” त्यसैले सुन्ने मानिस पनि धेरै हदसम्म दोषी हुन्छ। लेखक स्टेफन एम. वाइलन भन्छन्, “एक किसिमले कसैको निन्दा गरेको सुन्नु भन्नुभन्दा पनि खराब हो।” किन त? तिनी फेरि भन्छन्, “तपाईंले उत्सुकता साथ सुनिदिनु हुँदा कुरा काट्ने मानिस झन् बढी प्रोत्साहित हुन्छ।”
उसोभए, तपाईंले त्यस्तै घातक गफ सुन्नुहुँदा के गर्नुपर्छ? आत्मधर्मी देखिने गरी कुरा मोड्नुको सट्टा तपाईं यसो भन्न सक्नुहुन्छ: ‘हामी यो कुरा छोडौं’ वा, ‘यो कुरा गर्दा मलाई असाध्यै अप्ठ्यारो लागिरहेछ। सच्चाइ के हो प्रस्ट पार्न तिनी यहाँ छँदा पनि छैनन् नि।’
यस्तो वार्तालापमा साथ नदिनु भएकोले तिनीहरू तपाईंबाट टाढा भए भने नि? एक अर्थमा यसो हुँदा तपाईंको झनै सुरक्षा हुनसक्छ। कसरी? हो, तपाईंसित अरूको कुरा काट्ने मानिसले अरूसित तपाईंको पनि कुरा काट्नसक्छ भनी सम्झनुहोस्। तसर्थ, आफ्नो बोलीद्वारा अरूको प्रतिष्ठामा क्षति नपुऱ्याउने जवान तथा वयस्कहरूसित घनिष्ठ भएर तपाईं आफूमाथि आउनसक्ने थुप्रै पीडाबाट जोगिन सक्नुहुनेछ। वाइलन भन्छन्: “कुरा नकाट्दा तपाईंले बेहोर्नुपर्ने क्षति केही रहेनछ। बरु, जोखिमबाट जोगिने मौका रहेछ भनी तुरुन्तै बुझ्नुहुनेछ। अन्तमा तपाईंले झन् भरोसायोग्य व्यक्ति भन्ने नाउँ कमाउनुहुनेछ।”
अझ महत्त्वपूर्ण कुरा, तपाईंले परमेश्वरसित असल नाउँ कमाउनुहुनेछ। हामी अरूबारे कसरी कुरा गर्छौं उहाँ त्यसमा चासो लिनुहुन्छ, किनभने येशूले यसरी चेताउनी दिनुभयो: “ ‘हरेक व्यर्थ कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले सबको हिसाब दिनु पर्नेछ।’ किनकि तिम्रा आफ्नै वचनहरूले तिमी धर्मी ठहरिनेछौ, औ तिम्रा आफ्नै वचनहरूले तिमी दोषी ठहरिनेछौ।”—मत्ती १२:३६, ३७.
त्यसोभए, प्रेरित पावलको यो सल्लाह पालन गर्नु बुद्धिमानी हुनेछ: “चूपचाप रहन, तिमीहरूको आफ्नो आफ्नो काम गर्न, . . . प्रयत्न गर।” (१ थिस्सलोनिकी ४:११) यसो गर्दा तपाईंले अरूसित राम्रो सम्बन्ध बनाउन अनि परमेश्वरसमक्ष राम्रो स्थान हासिल गर्न मदत पाउनुहुनेछ।
[फुटनोट]
a यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ २२-मा भएको पेटी]
“संसारको सबैभन्दा विशाल कुरौटे मेसिन”
ए, तिमीले एउटा कुरा सुन्यौ? इलेक्ट्रोनिक मेलको विकाससँगसँगै इ-मेलको गफ उच्च प्रविधिको संसारमा पनि प्रवेश गरेको छ। वास्तवमा, लेखक शेठ गोडेन इ-मेललाई “संसारको सबैभन्दा विशाल कुरौटे मेसिन” भन्ने संज्ञा दिन्छन्। यसका फाइदाहरू बताउँदै तिनी चेताउनी दिन्छन्: “कसैकसैले सत्य वा बंग्याइएका कुराहरू फैलाउनसक्छ अनि तुरुन्तै हजारौं मानिसहरूले यस्ता गोप्य कुराहरू थाह पाउनसक्छन्।”
इ-मेल विशाल स्रोताहरूसमक्ष पुग्नसक्छ त्यो पनि छिटोभन्दा छिटो। गोडेन भन्छन्: “कुराकानी गर्ने यो एउटा पहिलो तथा नयाँ तरिका हो। यसले महत्त्वपूर्ण अनि गहन सोचविचार गरी लेखिएको कुरा तुरुन्तातुरुन्तै फोनबाट पुऱ्याउने काम गर्छ।” इ-मेल पठाउँदा आफ्नो सूचनाको भाव स्पष्ट बनाउन नबिर्सनु बुद्धिमानी हुनेछ। अनि कुनै पनि माध्यमबाट राम्ररी थाह नभएका कुराहरू आफ्ना साथीहरूलाई नपठाउनुहोस्।
[पृष्ठ २१-मा भएको चित्र]
तपाईंसित अरूको कुरा काट्ने मानिसले . . . तपाईंको कुरा काट्न पनि बेर छैन