तेल-खजूर—बहुउद्देश्यीय रूख
सोलोमन टापुहरूका ब्यूँझनुहोस्! सम्वाददाताबाट
ग्वाडलक्यानल—थुप्रै मानिसहरू यस टापुको नाम लिने बित्तिकै दोस्रो विश्वयुद्धका केही पाश्विक युद्धहरू सम्झिहाल्छन्। तथापि, आज सोलोमन टापुहरूको यो पुरानो युद्धभूमिमा फर्कने जो कोही पनि सिपाहीहरूको सट्टा बडेमानका अग्लाअग्ला तेल-खजूरका विशाल दलहरू भएको भिन्नै दृश्य देखेर छक्क पर्नेछन्।
यी हराभरा बडेमानका तेल उत्पादन गर्ने तेल-खजूरका रूखहरूमुनि कुनै समय टनका टन बमहरू तथा युद्धका विनाशकारी सामग्रीहरू गाडिएका थिए। तर यी युद्धका हतियारहरू तेल-खजूरका रूखहरू रोप्न त्यहाँबाट हटाइएका थिए। यी रूखहरू कसरी रोप्न थालिए? अनि यो मनै लोभ्याउने अग्लो रूख बहुउद्देश्यीय छ भनेर किन भन्नसक्छौं?
जगमगाउँदो इतिहास
तेल-खजूरको रूखबारे पहिलो आधुनिक जानकारी १५ औं शताब्दीको मध्यतिर मात्र पश्चिमी अफ्रिकी तटको निरीक्षण गर्ने भेनेटियन अल्भीजा काडामोस्टोले लेखेका थिए। पछि, झन्डै ५०० वर्षअघि अफ्रिकाबाट आन्द्र महासागर पार लगिएका दासहरूले आफूसँगै यसका फलहरू पनि लगेका थिए। तसर्थ, आज संसारभर तेल-खजूरको तेल वनस्पति तेलको रूपमा ज्यादै प्रयोग गरिन्छ। एक एकड जमिनमा अरू बोटबिरुवाबाट भन्दा तेल-खजूरको रूखबाट धेरै तेल उत्पादन हुन्छ। त्यसका साथै तेल-खजूरको रूखले २५ देखि ३० वर्षसम्म हर मौसममा फल अनि तेल दिन्छ।
विशेषगरि सुदूर पूर्वका केही मुलुकहरूमा यस तेल-खजूरको तेलको उत्पादनसम्बन्धी महत्त्वपूर्ण कुरा १९७० दशकको अन्ततिर मात्र पत्ता लागेको थियो। पहिलापहिला तेल-खजूरको परागसेचन क्रियामा हावाको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने विश्वास गरिएको थियो। तसर्थ, प्रतिकूल मौसमका कारण बीउहरू गुणस्तरहीन हुनपुग्थ्यो। तथापि, हालैका अध्ययनहरूले कीराफटेंग्राबाट पनि परागसेचन हुन्छ भन्ने कुरा प्रस्ट पारेको छ! अतः, पश्चिम अफ्रिका अनि सुदूर पूर्वीय रूखहरूबीच कीराफटेंग्राहरूले परागसेचन गर्दा निकै राम्रो हुन्छ।
तेल-खजूरको चहकिलो सुन्तला रंगको फलहरूबाट दुई किसिमको तेल उत्पादन गर्न सकिन्छ। दुवै किसिमको तेल तपाईंले पनि उपभोग गर्नुहुने विभिन्न उत्पादनहरूमा प्रयोग गरिन्छन्। ती के के हुन् जान्नुअघि आउनुहोस् हामी तेल-खजूरको तेल उत्पादन मिलमा जाऔं अनि कसरी तेल प्रशोधन गरिन्छ, हेरौं।
सुनौला रंगका तरल पदार्थ प्रशोधित गर्ने
हामी जसै मिलमा पुग्छौं त्यहाँको टुर गाइडले अभिवादन गरेर भित्र लैजान्छ। हामी वरपर जटिल मेसिनहरू चलाइराखेको थियो। तेल-खजूरको फल प्रशोधन गर्न चाल्नुपर्ने पहिलो कदम ती फलहरूलाई एउटा ठूलो सिलिन्डर जस्तो वाष्पीय भट्टीमा राख्नु हो भनेर तिनी वर्णन गर्छन्। फलको हरेक झुप्पामा करिब २०० वटा छोहोरा आकारका फलफूलहरू टाँसिएर रहेका हुन्छन्। वाष्पीय भट्टीले ती फलहरूलाई गुम्साएर झुप्पाबाट छुट्ट्याउन मदत गर्छ।
चाल्नुपर्ने अर्को कदम फलहरूलाई स्ट्रिपर नामक मेसिन प्रयोग गरी झुप्पाबाट छुट्ट्याउनु हो। त्यसपछि छुट्ट्याइसकेका ती फलहरूलाई विशाल ब्लेन्डरमा हालेर गुदी र बियाँ छुट्ट्याइन्छ। अनि कच्चा तेल निकाल्न ती लस्सेदार गुदीहरूलाई ठूलो एक्सट्रुडरमा राखिन्छ अर्थात् निचोरिन्छ। प्रशोधित गरेपछि यो तेल-खजूरको तेल ढुवानी गर्न तयार हुन्छ।
तथापि, यसबाहेक अर्को किसिमको तेल पनि हुन्छ। यसलाई कोयोबाट निकालिन्छ। सबैभन्दा पहिला यी कोयोहरू फुटाएर यसको गुदी निकाल्नुपर्छ। त्यसपछि यी गुदीहरूलाई निचोरेर यसका बहुमूल्य तरल पदार्थ निकालिन्छ। यस तेललाई पाम कर्नेल तेल भनिन्छ।
अनि यी खोस्टाहरूचाहिं पाल्तु पशुहरूका लागि पोसिलो दाना बनाउन प्रयोग गरिन्छ। त्यस्तै गरी फलफूलहरू छुट्ट्याइसकेपछि यसका हाँगाहरू खेतमा मल हुने भएकोले त्यत्तिकै फ्याँकिन्छन्। त्यस्तै फलका छोक्राछोक्री तथा बियाँका टुक्राटाक्री मिलको भट्टीमा इन्धनको रूपमा पुनःप्रयोग गरिन्छ। यसरी यो प्रक्रिया पूरा हुन्छ!
आइसक्रिम देखि फेसक्रिमसम्म
संसारमा भट्मासको तेलपछि सबैभन्दा बढी प्रयोग हुने दोस्रो वनस्पति तेल तेल-खजूरको तेल हो। द वर्ल्ड बूक इन्साइक्लोपिडिया भन्छ: “सा.यु. १७०० को दौडान अंग्रेजहरूले तेल-खजूरको तेललाई औषधी अनि हाते क्रिमको रूपमा प्रयोग गर्थे।” तथापि, आज आइसक्रिम, मार्जारिन, तेल तथा खाने तेलका साथसाथै साबुन अनि सिंगारपटारका सामग्री जस्ता अखाद्य वस्तुहरूमा समेत प्रयोग गरिएको पाइन्छ।
मार्जारिनलगायत चकलेट तथा अन्य मिठाईहरू उत्पादन गर्न पनि पाम कर्नेल तेल प्रयोग गरिन्छ। तर यी तेलहरूको प्रयोग त्यत्तिमै सिमित छैन। अझ थप प्रशोधन गरेर तेल-खजूर तथा कर्नेल तेलका पदार्थहरूलाई औषधी, साबुन, डिटर्जेन्ट, मैनबत्तीका साथै विष्फोटक पदार्थहरू बनाउनसमेत प्रयोग गरिन्छ!
वास्तवमा, सोलोमन टापुहरूमा तेल-खजूर असाध्यै लोकप्रिय छ। निर्यातबाट आर्जन गरिने १३ प्रतिशत आय यसै रूखबाट प्राप्त हुने भएकोले देशको अर्थतन्त्रमा पनि यसले कत्तिको प्रभाव पारेको छ स्पष्ट देखिन्छ।
हामीले तेल-खजूरलाई हेर्दा यसको चहकिलो सुन्तला रंगका फलहरूबाट उत्पादित आइसक्रिम बच्चाले रमाइरमाइ चाटिरहेको र यसकै तेल सिंगारपटार गर्दा तिनकी आमाले आफ्नो अनुहारमा दलेकी कल्पना गर्नु निकै अचम्मको कुरा हो। हो, यो बहुप्रायोगिक रूख हो जसका प्रशस्त फलहरूका लागि हामी कृतज्ञ हुनसक्छौं।
[पृष्ठ २७ -मा भएको पेटी]
हातबाट मात्र दिनको दुई टन झार्ने
भ्यात्त . . . भ्यात्त। भ्यात्त . . . भ्यात्त! जसै कामदारहरू तेल-खजूरको खेतमा खजूर झार्छन्, चारैतिर फलका झुप्पाहरू खसेको आवाज गुञ्जिन्छ। त्यत्रो ठूलो रूखको टुप्पामा तिनीहरू कसरी पुग्छन्?
लामो बाँसको टुप्पामा जोडिएको धारिलो हँसियाको माध्यमबाट ती मानिसहरू झन्डै चार तल्ले घर जत्रो अग्लो रूखबाट फलहरू झार्छन्। सालाखाला एकदिनमा हरेक कामदारहरूले ८० देखि १०० झुप्पाहरू झार्छन् र ढुवानी गर्न सडकसम्म बोकेर ल्याउँछन्। एक झुप्पाकै तौल करिब २५ किलोग्राम हुने हुनाले ती थुप्रै झुप्पाहरूको तौल झन् कति धेरै हुने होला! एक टन तेल-खजूरको तेल उत्पादन गर्न यस्ता साढे चार टन फल खपत हुन्छन्।