विश्वदर्शन
नवजात शिशु र पीडा
नवजात शिशुहरूलाई व्यस्कहरू भन्दा बढी र लामो समयसम्म पीडा हुन्छ भनेर लन्डनको विश्वविद्यालय कलेजमा अनुसन्धानकर्ताहरूले प्रमाणित गरेका छन्। “शिशु र बालकहरूले पीडा अनुभव गर्छन् भन्ने तथ्य विगत १० वर्षदेखि मात्र स्वीकार्न थालिएको छ,” भनेर लन्डनको द सन्डे टेलिग्राफ ले बताउँछ। अन्यथा त्यसअघि कलिला शिशुहरूलाई पीडा कम हुने औषधीको प्रयोगबिना नै पीडादायी ओखतीमूलो र चिरफार गरिन्थ्यो। सम्भवतः यसरी उपचार गर्नाले बच्चाहरू हुर्केर ठूलो भइसकेपछि पनि कतिको दुख्छ त्यसमा ठूलो असर पर्न सक्छ भनी चिकित्सकहरू विश्वास गर्छन्। यसको खास कारण हुर्किसकेका बच्चाहरू र वयस्कसित पीडा कम महसुस गराउने प्रणाली, शैशवकालमा राम्ररी विकसित नहुनु हो। बच्चाहरूले चोट लागेको ठाउँदेखि वरिपरिको ठूलो भागसम्म पीडा महसुस गर्छन्। सानो घाउ निको भइसक्दा पनि अत्यन्त संवेदनशील भइरहन्छ भनेर उक्त समाचारपत्र रिपोर्ट गर्छ।
फुटबल खेलमा हिंसा
गतवर्ष विभिन्न टोलीहरूले भाग लिएको विश्वकप फुटबल प्रतियोगिता उत्साह र उमंगसाथ सुरु भए तापनि प्रतिद्वन्द्वी माझ उब्जिएको दुश्मनीको कारण खेलको अन्त हिंसात्मक हुनगयो। मेक्सिकोमा, मेक्सिको टोली प्रशंसकहरूलाई नियन्त्रण गर्न १,५०० भन्दा बढी प्रहरीहरू बोलाइएका थिए। मेक्सिकोको एल उनीभेर्साल समाचारपत्रको रिपोर्टअनुसार २०० भन्दा बढी मानिसहरूलाई प्रहरीले पक्रे। त्यस गडबडीको बेलामा कसैले फालेको पटका एक जवान प्रशंसकको छेवैमा पड्कँदा उसको टाउकोमा ठूलो चोट लाग्यो। त्यसै गरी अर्जेन्टिना, बेल्जियम र ब्राजिलमा पनि हूलदंगा भयो र थुप्रै घाइते भए अनि पक्राउमा परे। मेक्सिको शहरको समाचारपत्र एक्सेल्स्योर को रिपोर्टअनुसार फ्रान्समा, विश्वकपकै सम्बन्धमा लगभग १,००० मानिसहरू गिरफ्तार गरिए र १,५८६ जनालाई फ्रान्समा फेरि कहिले पस्न नपाउने गरी प्रतिबन्ध लगाइयो।
धेरै हर्ष अनि बढी काम
“धेरै जवान दम्पतिहरूले बच्चा भएपछि थपिने कामलाई त्यति गम्भीरतासाथ सोचेकै हुँदैनन्। यसैले बच्चा जन्मेपछि पति-पत्नी बीच घरीघरी झगडा भइरहन्छ,” भनेर जर्मनीको नासोइच नोय प्रेस लेख्छ। नेदरल्याण्डमा ग्रोनिन्जेन विश्वविद्यालयमा गरिएको अध्ययनअनुसार बच्चा जन्मेपछि हुने आमूल परिवर्तनको कारण तरुणी आमाहरू असन्तोष प्रकट गर्छन्। आमाहरूलाई बच्चाहरूको निम्ति हप्तामा औसतन ४० घण्टाभन्दा बढी समय चाहिन्छ, त्यसमध्ये ६ घण्टा सरसफाइ गर्न, लुगा धुन र खाना पकाउनमा लाग्छ भने ३४ घण्टा बच्चाको स्याहारसुसारमै लाग्छ। बुबाहरूले हप्ताभरि बच्चासँग १७ घण्टा बिताए पुग्छ। रिपोर्टअनुसार, वैवाहिक तनाव “बच्चाको थाङ्ना फेर्ने र राती उठेर बोतलबाट दूध खुवाउने जस्ता कुराहरू नभई घर-धन्धा कसले के कति गर्ने भन्ने विषयलाई लिएर हुन्छ।”
तपाईंको हात अनि स्वास्थ्य
जब कुनैपनि व्यक्तिले मुख छोपेर हाच्छिउँ गर्दा वा सिंगान फाल्दा उसले टेलिफोन उठाउन वा ढोकाको ह्याण्डल समाउन अघि हात राम्ररी धुनु अत्यावश्यक छ भनेर क्यानाडाको द मेडिकल पोष्ट ले बताउँछ। सं.रा.को संक्रमण तथा महामारी नियन्त्रणसम्बन्धी पेशेवरहरूको संस्थाले भनेको कुरालाई उद्धरण गर्दै द पोष्ट भन्छ, “लगभग ८० प्रतिशत जस्ता रोगहरू हावाद्वारा होइनन् तर सीधै हात र यसको स्पर्शबाट सर्छन्।” टोरोन्टो विश्वविद्यालयका डा. अड्रे कार्लिन्सके यस्तो सल्लाह दिन्छिन्, छिन-छिनमा हात धुनुहोस् र हात धुँदा साबुन दलेर “१० देखि १५ सेकेण्ड जति माडेर धुँदा औंलाको बीच-बीचमा र नङको काप-काप पनि राम्ररी सफा गर्नुहोस्।” त्यसपछि तातो पानीले राम्ररी हात पखाल्नुहोस् अन्तमा कागजको रूमाल प्रयोग गरेर धारा बन्द गर्नुहोस्। बच्चाहरूलाई त्यसरी निकै बेरसम्म कसरी हात धुन लगाउनुपर्छ? पूरै वर्णमाला दोहोऱ्याउन नसकुञ्जेल हात धुन लगाउन भनि डा. कार्लिन्सके सल्लाह दिन्छिन्।
टिभी र त्यसको प्रभाव
टिभीअगि धेरै समय बिताउने बच्चाहरू आफूले हेरेका राम्रा-नराम्रा सबै कुराहरूको नक्कल गर्न खोज्छन्। स्पेनी अनुसन्धानकर्ता डा. होसे उम्बेरोस फर्नानदेजद्वारा गरिएको अध्ययनअनुसार, बच्चाले जति धेरै टिभी हेर्न समय बिताउँछ उति नै चोटपटक लाग्ने सम्भावना बढी हुनसक्छ। टिभीले वास्तविकताको विकृति रूप प्रस्तुत गर्ने भएकोले यस्तो भएको हो भनेर फर्नानदेज भन्छन्। यस्तो प्रभावबाट बचाउन छोराछोरीलाई आमाबाबुले के गरे बेस होला? ग्रीक समाचारपत्र ट भीम अनुसार, छोराछोरीसँगै बसेर आमाबाबुले उनीहरूले कस्तो कार्यक्रम छान्नुपर्छ सो सिकाउने र आफूले देखेजति सबै कुरालाई वास्तविक नठानी, विचार पुऱ्याएर हेर्न मदत दिनुपर्छ।
केटाकेटी अनि क्याफीन
द न्यु योर्क टाइम्स ले रिपोर्ट दिन्छ, बच्चाहरूले कफी र चिया नपिएता पनि धेरैले कोकाकोला र चकलेट जस्ता पेयपदार्थबाट प्रशस्त मात्रामा क्याफीन लिइरहेका हुन्छन्। फलतः त्यस्ता पेयपदार्थ नपिइ नहुने लत बस्छ। मनोवैज्ञानिकहरूको एउटा टोलीले मिनेसोटा मेडिकल स्कूल विश्वविद्यालयका डा. गैल ए. वर्नस्टैनको नेतृत्वमा स्कूल जाने ३० जना केटाकेटीहरूको ध्यान दिनसक्ने क्षमतामा क्याफीनले कस्तो असर गर्छ त्यसबारे अध्ययन गरे। केटाकेटीहरूले लिने क्याफीनको मात्रा दिनमा तीन शीशी कोकोकोला पिए बराबरी खानामा थपियो। एक हप्ता पछि ती केटाकेटीहरू त्यसदिन क्याफीन पट्टकै लिएनन्। यी स्कूले केटाकेटीहरूलाई त्यसदिन, र एक हप्ता पछिसम्म जाँचिरहँदा उनीहरूको ध्यान दिनसक्ने क्षमता एकदम घटेको पाइयो। अनुसन्धानकर्ताहरूले टिप्पणी गरेअनुसार, “केटाकेटीहरूलाई क्याफीनयुक्त पेय धेरै पिउन नदिनु नै यसबाट बचाउने उत्तम तरिका हो।”
शिशुलाई मह खुवाउनेबारे चेताउनी
महमा भिटामिन, खनिजपदार्थ तथा एन्टिअक्सिडेन्टजस्ता तत्त्वहरू हुन्छन् भनेर साइन्स न्युज ले रिपोर्ट दिन्छ। सामान्यतया महको रंग जति गाडा हुन्छ उत्ति नै एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ। तथापि, “एक वर्षभन्दा कम उमेरका बच्चाहरूलाई भूलेर पनि मह नदिनुहोस्” भनेर यूसी वर्क्ले वेल्नेश लेटर ले सल्लाह दिन्छ। महमा लगभग १० प्रतिशत जति निष्क्रिय क्लस्ट्रिडियम बटुलिनम वीजाणु हुन्छन् जसको असरले बच्चाहरू मांसपेशी पक्षाघातको रोगी बन्नसक्छन्। वेल्नेस लेटर भन्छ, “यसरी शिशुलाई मह खुवाउँदा साधारण बिमारीदेखि पक्षाघातसम्म हुनसक्छ र समयमा उपचार नगरेको खण्डमा एक्कासी मृत्युसमेत हुनसक्छ।” तर हुर्केका बच्चाहरूलाई चाहिं महले केही नोक्सानी गर्दैन।
पातलो बन्न धूम्रपान गर्ने
“पातली बन्ने रहर” ले युवतीहरू धूम्रपान गर्छन्, भनेर क्यानाडाको समाचार पत्र द ग्लोब एण्ड मेल ले रिपोर्ट दिन्छ। क्यानाडाका ८३२ जना र बेलायतका १,९३६ जना १० देखि १७ वर्षउमेरका केटीहरूको सर्वेक्षण गर्दा धेरैजसोले “खानाको सट्टा धूम्रपान” गर्ने गरेको र यसले भोकलाई दबाउँछ भन्ने गरेको पाइयो। अरू थुप्रै युवतीहरूले चाहिं “धूम्रपान गर्न छोडे खाना बढी रूच्नेछ र वजन बढ्नेछ” भनेर विश्वास गरेको बताए। “रिपोर्टअनुसार धूम्रपान गर्ने युवतीहरूको संख्या वृद्धि भएकोले थुप्रै महिलाहरूलाई फोक्सो क्यान्सर भएको हो भनेर ग्लोब ले टिप्पणी गऱ्यो।”
असुरक्षित जागिरले स्वास्थ्यमा हानि पुऱ्याउँछ
जागिर खोसिने डरले तपाईंको स्वास्थ्यलाई हानि पुऱ्याउनसक्छ, भनेर साइन्स न्युज ले रिपोर्ट गर्छ। स्वास्थ्य सर्वेक्षणमा भाग लिने १०,००० बेलाइती निजामती कर्मचारीहरूमध्ये लगभग ६०० जना पुरुष तथा महिलाहरूको एक समूहले आफ्नो विभाग निजीकरण गरिने हो-हल्ला सुनेको चार वर्ष भइसकेको थियो। यसै दौडान जागिर सुरक्षित भएकाहरूसँग यो समूहलाई तुलना गरेरहेर्दा उनीहरूको स्वास्थ्य बिग्रँदै गइरहेको भेट्टाइयो। जागिर खोसिने डर भएको टोलीको रगतमा कोलेस्ट्रलको मात्रा बढी भएको र हृदय रोग लाग्नसक्ने सम्भावना ४० देखि ६० प्रतिशत बढेको पाइयो। साइन्स न्युज यस्तो टिप्पणी गर्छ: “यी कामदारहरूले व्यायाम गर्न छोड्ने, उनीहरूको वजन बढ्ने, ९ घण्टा भन्दा बढी सुत्ने साथै सम्बन्ध विच्छेद गर्ने वा आफ्नो जीवनसाथीलाई छोड्नसक्ने सम्भावना भएको पाइयो।”
दूरी उल्लिखित भएको सबैभन्दा पुरानो मानचित्र
चीनको पुरातत्वविद्हरूले २,३०० वर्ष पुरानो तामाको पाटी खोतलेर निकालेका छन्, जुन वास्तवमा दूरी सूचित मानचित्र हो भनेर एझाँस फ्रान्स प्रेसले रिपोर्ट गर्छ। त्यो मानचित्रमा उत्तरी चीनको होबा प्रान्तलाई देखाउन लगभग १ सेन्टीमिटर देखि ५ मिटर को स्केल प्रयोग गरिएको छ। यसमा सा.यु.पू. चौथो शताब्दीका राजा वाङ्ग सुओको भव्य राजकीय समाधिको नक्सा पनि छ। चीनको प्रतिबन्धित शहरको अनुसन्धानकर्ता डू नेशङले यसो भने: “चीनमा भेट्टाइएको यो मानचित्र सबैभन्दा पुरानो मात्र नभई दूरी उल्लिखित सबैभन्दा पुरानो मानचित्र पनि हो।”
सन् १९९९ मा छ अरब जनसंख्या
यही वर्षभित्र विश्व जनसंख्या छ अरबभन्दा बढी हुनेछ भनेर ले मण्ड फ्रान्सेली दैनिक अखबारले रिपोर्ट दिन्छ। तथापि, आज जनसंख्या वृद्धि विस्तारै कम हुँदै गइरहेको छ। सन् १९६० को दशकसँग तुलना गर्दा अहिले वर्षेनी जनसंख्या वृद्धी त्यत्तिबेलाको भन्दा ३० प्रतिशत घटेको छ। यसरी कम हुनुको एउटा कारण गर्भ निरोधक साधनहरूको प्रयोग तथा नारी शिक्षा हो। रिपोर्टअनुसार, १५ देखि २४ वर्षका जवानहरू एक अरब छन् भने ६० भन्दा बढी उमेरकाहरू ५७.८ करोडभन्दा बढी छन्।