आँधीबेहरीपछि मसीहीधर्म अझ प्रस्ट देखियो
मोजाम्बिकका ब्यूँझनुहोस्! संवाददाताद्वारा
मोजाम्बिकस्थित मापुटो शहरमा मार्च २, १९९८ को साँझ डरलाग्दो आँधीबेहरी आयो। भोलि बिहान आँधीबेहरीले गरेको नोक्सानी जताततै देखिन्थ्यो। रूखहरू जताततै ढलेका थिए, मुसलधार पानीले गर्दा सडकहरू भत्किएका थिए, कुनै कुनै घरका छानाहरू हुरीले उडाइदिएका थिए भने कतिपय घरहरू भत्केका थिए।
यहोवाका साक्षीहरूका शाखा कार्यालयलाई भने केही भएको थिएन। तर छिमेकीको जस्ताको छाना भएको साधारण काठको घरले भने आँधीबेहरी थाम्न सकेन। हुरीको झोक्का थाम्न नसकेर त्यो नाजुक घर ढल्यो। आनन्दको कुरा, त्यस घरकी आइमाई र तिनका पाँच जना बच्चाहरूलाई केही चोटपटक लागेको थिएन। तथापि, तिनीहरूले आफ्ना सबै सर-सामानहरू गुमाउनु पऱ्यो।
बिहान सबेरै वाचटावर सोसाइटी शाखा कार्यलायका स्वयंसेवकहरू त्यस परिवारलाई भेट्न जाँदा तिनीहरू घरको भग्नावशेषबाट मालतालहरू निकाल्दै थिए। भौतिक सामानहरूको क्षति भएकोले तिनीहरूलाई धेरै चिन्ता भयो किनभने तिनीहरूसँग फेरि घर बनाउने पैसा थिएन। घरमा बाबु नभएकोले तिनीहरूको आय एकदमै कम थियो। तिनीहरू आफ्नो इलाकाको बजारमा खाद्य सामग्रीहरू बेचेर पैसा कमाउँथे।
तिनीहरूको अवस्था थाह पाउने बित्तिकै यहोवाका साक्षीहरूले मदत गरे। पहिलेको घर भत्केर बाँकी रहेका सामग्रीहरू कामै नलाग्ने भइसकेका थिए। तसर्थ ती स्वयंसेवकहरूले चाहिने जति सबै निर्माण सामग्रीहरू जम्मा गरेर सानो पक्की घर निर्माण गर्न थाले।
सुरुमा त छिमेकीहरूको मनमा कौतूहल जाग्यो तर पछि घरको निर्माण काममा यति चाँडो प्रगति भएको देख्दा तिनीहरू छक्क परे। पाँच दिनभित्रै घर पुनर्निर्माण गरियो र बस्नको निम्ति तयार भयो। आफ्नो नयाँ घरभित्र पस्दा ती आइमाई छक्क परेर बोल्नै सकिनन्। तथापि, तिनले केही भनिरहने कुनै आवश्यकता नै परेन किनकि तिनी र तिनका बच्चाहरूको हँसिलो मुहार र गहिरो मूल्यांकन भरिएको आँखाबाटै तिनीहरू खुसी छन् भन्ने कुरा ती स्वयंसेवकहरूले देखिरहेका थिए।
ती स्वयंसेवकहरू पनि खुसी भए। साँचो मसीहीधर्मलाई यसरी व्यवहारमा उतारेर देखाउने मौका पाएकोमा तिनीहरू आनन्दित थिए।—गलाती ६:१०
[पृष्ठ १३-मा भएको चित्र]
मार्च ५
मार्च ६
मार्च ७
स्थानीय साक्षीहरूले यस परिवारको घर पुनर्निर्माण गरे