बाइबलको दृष्टिकोण
के परमेश्वरको नाउँ उच्चारण गर्नु गलत हो?
शताब्दीयौंदेखि यहूदीधर्मले ईश्वरीय नाउँ अर्थात् यहोवा अत्यन्तै पवित्र भएको हुनाले उच्चारण गर्नु हुँदैन भनेर सिकाउँदै आएको छ।a (भजन ८३:१८) थुप्रै धर्मविद्हरू महिमित सृष्टिकर्ताको नाउँ निसंकोच लिनु भनेको उहाँको अनादर गर्नु हो साथै “परमेश्वरको नाउँ व्यर्थैमा नलिनू” भन्ने दस आज्ञाहरूमध्ये तेस्रो आज्ञा उल्लंघन गर्नु पनि हो भन्ने तर्क गर्छन्। (प्रस्थान २०:७) सा.यु. तेस्रो शताब्दीमा मिस्नाहले “ईश्वरीय नाउँ उच्चारण गर्नेले अब आउने संसारमा जीवन पाउने छैनन्” भनी घोषणा गऱ्यो।—सेन्हेड्रिन १०:१.
चाखलाग्दो कुरा, मसीहीजगत्का थुप्रै शास्त्रविद्हरूले बाइबल अनुवाद गर्दा यहूदी परम्परा अंगालेका छन्। उदाहरणका लागि, द न्यू अक्सफर्ड एनोटेटेड बाइबल-को प्रस्तावनामा यसो भनिएको छ: “अन्य देवदेवताहरूभन्दा साँचो परमेश्वर भिन्नै हुनुहुन्छ। यद्यपि, मसीही युगअघिदेखि यहूदीधर्ममा परमेश्वरको सही नाउँ प्रयोग गर्न छाडियो साथै सम्पूर्ण मसीही चर्चको विश्वासको लागि अनुपयुक्त ठानियो।” तसर्थ, उक्त अनुवादमा ईश्वरीय नाउँको सट्टा “परमप्रभु” प्रयोग गरिएको छ।
परमेश्वरको दृष्टिकोण के हो?
तर के यस्ता अनुवादक र शास्त्रविद्हरूको दृष्टिकोणले परमेश्वरको सोचविचार झल्काउँछ? भनौं भने, परमेश्वरले आफ्नो नाउँ मानिसजातिदेखि लुकाउनुको सट्टा प्रकट गर्नुहुन्छ। साधारणतया पुरानो नियम भनिने हिब्रू बाइबलमा परमेश्वरको नाउँ यहोवा ६,८०० पटकभन्दा बढी प्रयोग गरिएको छ। परमेश्वरको नाउँ जान्ने र प्रयोग गर्नेहरूमध्ये प्रथम मानव जोडी आदम र हव्वा पनि हुन् भनेर बाइबल लेखोटले देखाउँछ। जेठो छोरा जन्माएपछि हव्वाले यस्तो उद्घोषणा गरिन्: “परमप्रभुको [“यहोवा,” NW] आशीर्वादले एक पुरुष प्राप्त गरें।”—उत्पत्ति ४:१.
शताब्दीयौंपछि इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउन परमेश्वरले मोशालाई अह्राउनुहुँदा तिनले परमेश्वरलाई यस्तो प्रश्न गरे: “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पितापुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो, तब तिनीहरूले “उहाँको नाउँ के हो ता?” भनेर सोधे भने मैंले तिनीहरूलाई के भन्ने?’ ” कतै परमेश्वरले आफूलाई नयाँ नाउँले पो चिनाउनुहुने हो कि भनेर मोशाले सोचेको हुनसक्छ। तब परमेश्वरले मोशालाई यसो भन्नुभयो: “इस्राएलीहरूलाई भन्, ‘तिमीहरूका पिता-पुर्खाका परमप्रभु [“यहोवा,” NW] परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।’ ” (प्रस्थान ३:१३, १५) स्पष्टतः परमेश्वरले आफ्नो नाउँ आफ्ना जनहरूले उच्चारण गर्नै नहुने अत्यन्त पवित्र छ भन्ने सोच्नुहुन्न।
भनौं भने, परमेश्वरका प्रत्येक पुस्ताका सेवकहरूले खुल्लमखुल्ला तथा आदरसाथ उहाँको नाउँ उच्चारण गरेका छन्। परमेश्वरको वफादार सेवक बोअजले सधैं आफ्ना खेतका कामदारहरूलाई “परमप्रभु [“यहोवा,” NW] तिमीहरूसँग होऊन्” भनेर अभिवादन गर्थे। के यस्तो अभिवादनले ती कामदारहरू चकित पर्थे? अहँ, पर्दैनथे। लेखोट यसो भन्छ: “तिनीहरूले जवाफ दिए, ‘परमप्रभुले [“यहोवा,” NW] तपाईंलाई आशिष देऊन्।’ ” (रूथ २:४) तिनीहरूले यसरी अभिवादनलाई परमेश्वरको अपमान ठान्नुको सट्टा दिनप्रति दिनको क्रियाकलापमा उहाँको महिमा र आदर गर्ने एउटा तरिका ठाने। त्यस्तै मनोभाव राख्नुहुँदै येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।”—मत्ती ६:९.
तेस्रो आज्ञा
तर दस आज्ञाहरूमध्ये तेस्रो आज्ञाले गरेको निषेधबारे नि के भन्न सकिन्छ? प्रस्थान २०:७ ले सशक्त शब्दहरूमा यसो भन्छ: “तैंले परमप्रभु [“यहोवा,” NW] आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।”
परमेश्वरको नाउँ ‘व्यर्थैमा लिनुको’ खास अर्थ के हो? जुविस पब्लिकेशन सोसाइटीद्वारा प्रकाशित द जेपिएस तोरह कमेन्ट्री-ले माथि उल्लिखित ‘व्यर्थमा लिनु’ ( लाश्व) भन्ने हिब्रू वाक्यांशको अर्थ “झूटो” वा “बिना काममा, बेकारमा” हुनसक्छ भनी बताउँछ। उक्त सन्दर्भिका अझ यसो भन्छ: “[यो हिब्रू वाक्यांश] स्पष्ट नभएकोले परमेश्वरको नाउँ व्यर्थैमा लिनु हुँदैन भन्नेहरूले ईश्वरको नाउँमा झूटो शपथ खानु अनि अनावश्यक वा तुच्छ ढंगमा ईश्वरीय नाउँ लिन निषेध गरे।”
यहूदी धर्मशास्त्रमाथि गरिएको उक्त टिप्पणीले ‘परमेश्वरको नाउँ व्यर्थैमा नलिनुमा’ अनुचित ढंगले उहाँको नाउँ प्रयोग नगर्नु समावेश छ भनी सही कुरा बताएको छ। तर के अरूलाई परमेश्वरबारे सिकाउँदा वा प्रार्थनामा हाम्रो स्वर्गमा हुनुहुने पितालाई पुकार्दा उहाँको नाउँ उच्चारण गर्नु “अनावश्यक वा तुच्छ” कुरा हो? यहोवा आफ्नो दृष्टिकोण भजन ९१:१४ का शब्दहरूमा यसरी व्यक्त गर्नुहुन्छ: “उनले मसित प्रेम गरेको हुनाले म उनलाई छुटाउनेछु, उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु।”
परमेश्वरको नाउँ उच्चारण गर्नु नगर्नुले कुनै फरक पार्छ?
मोशाका पाँच पुस्तकहरू नामक आधुनिक-अंग्रेजी अनुवादमा एभरेट फक्सले पहिलेदेखि चल्दै आएको परम्परालाई चटक्क त्यागेको छ। यस अनुवादमा “हिब्रूमा पढ्दा कस्तो हुन्थ्यो भनेर पाठकलाई बुझाउन” परम्परागत रूपमा प्रयोग गरिंदै आएको परमेश्वरको नाउँ “परमप्रभु” प्रयोग नगरेर “YHWH” अर्थात् “यहवे” प्रयोग गरिएको छ। फक्स यसरी जोड दिन्छन्: “पाठकहरूले यस पुस्तकमा बाइबल आधारित परमेश्वरको व्यक्तिगत नाउँ ‘YHWH’ प्रयोग गरिएको छ भनेर तुरुन्तै थाह पाउनेछन्।” परमेश्वरको नाउँ देखेर पाठकहरू “अलमल्ल” पर्नसक्छन् भनी तिनी मानिलिन्छन्। तर आफ्नो अनुवादमा परमेश्वरको नाउँ नहटाउने प्रशंसनीय काम गरेपछि तिनी यसो भन्छन्: “म परम्परागत रूपमा प्रयोग गरिंदै आएको ‘परमप्रभु’ भनेर पढ्ने सुझाउ दिन्छु तर कतिपयले आफ्नै परम्पराअनुसार पढ्न रुचाउलान्।” तथापि, के परमेश्वरको नाउँ व्यक्तिगत छनौट, परम्परा वा आ-आफ्नो चलनअनुसारै उच्चारण गर्दा हुन्छ?
अहँ, हुँदैन। बाइबलले हामीलाई परमेश्वरको नाउँ सही ढंगमा प्रयोग गर्ने प्रोत्साहन मात्र होइन तर आज्ञा पनि दिन्छ। यशैया १२:४क मा परमेश्वरका जनहरूले यसो भन्नेछन् भनी चित्रण गरिएको छ: “परमप्रभुलाई [“यहोवा,” NW] धन्यवाद देऊ। उहाँको नाउँको पुकारा गर।” यसबाहेक, परमेश्वरको प्रतिकूल न्याय भोग्नेहरूबारे भजनहारले यसो भने: “तपाईंलाई नचिन्ने अन्यजातिमाथि तपाईंको क्रोध खन्याउनुहोस्, र ती राज्यहरूमाथि, जसले तपाईंको नाउँ लिंदैनन्।”—भजन ७९:६; हेर्नुहोस् हितोपदेश १८:१०; सपन्याह ३:९.
अतः कसै कसैले तेस्रो आज्ञाको गलत अर्थ लगाएर परमेश्वरको महिमित नाउँ उच्चारण गर्न छाडे तापनि परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू उहाँको नाउँ पुकार्छन्। हो, तिनीहरू प्रत्येक सुअवसरमा ‘जाति जातिहरूका बीचमा उहाँका कार्यहरूको प्रचार गर्छन्, उहाँको नाउँ उच्च पारिएको छ भनी चर्चा गर्छन्।’—यशैया १२:४ख.
[फुटनोट]
a हिब्रू बाइबलमा (पुरानो नियम) परमेश्वरको नाउँ चार अक्षरमा YHWH लेखिएको छ। तर परमेश्वरको नाउँको सही उच्चारण भने थाह छैन। अंग्रेजीमा साधारणतया “जेहोभा” भनिन्छ।
[पृष्ठ २६-मा भएको चित्र]
मृत सागर पाण्डुलिपिमा भएको भजनसंग्रहको एक अंश। अन्य पाण्डुलिपिमा भन्दा हिब्रू हस्तलिपिमा पहिला परमेश्वरको नाउँ यहोवा (YHWH) प्रयोग गरिएको छ
[स्रोत]
Courtesy of the Shrine of the Book, Israel Museum, Jerusalem