युवा जनहरू सोध्छन् . . .
मैले चाहेजस्तो चीज किन पाउँदिन?
“कुनै कुनै चीजहरू देखेर मेरो मनै लोभिन्छ। तर के गर्ने मेरो मुमाबुबाले ती चीजहरू किनिदिन सक्नुहुन्न।”—माइक।
तपाईंलाई असाध्यै मनपरेको तर किन्न नसकेको कुनै चीज छ? सायद कुनै नयाँ स्टेरियो, सबैले लगाउने जुत्ता वा डिजाइनर लोगो भएको जीन पाइन्ट तपाईंलाई किन्न असाध्यै मनपरेको होला। तपाईंका कोही कोही साथीहरूसँग यस्ता चीजहरू होला र फूर्ति गर्दै देखाउँछ पनि होला। अतः तपाईंको मुमाबुबाले ती चीजहरू किन्न सक्नुहुन्न भन्दा तपाईं निराश हुनुहुन्छ होला।
कुनै कुनै भौतिक चीजहरू मनपराउनु सामान्य कुरा भए तापनि थुप्रै जवानहरूलाई ती चीजहरू प्राप्त गर्ने चाहनाले ग्रस्त पार्छ। प्रायजसो विज्ञापनहरूले गर्दा यस्तो हुन्छ। यदि तपाईंले आफू केही हुँ भनेर देखाउन चाहनुहुन्छ भने कुनै खास ब्राण्डको लुगा वा चीजहरू लगाउनै पर्छ भन्ने सन्देश प्रभावकारी टिभी, पत्रिका अनि रेडियो विज्ञापनहरूले दिइरहेका हुन्छन्। संयुक्त राज्यमा मात्र जवानहरूले वर्षेनी एक खरब अमेरिकी डलर खर्च गर्छन्!
यसबाहेक, साथीभाइहरूबाट पनि उत्तिकै दबाउ आइपर्छ। मार्केटिङ टुल्स पत्रिकाको एउटा लेखले यसो भन्छ, सामाजिक वा सांस्कृतिक बाधावन्धन नभएको किशोरकिशोरीहरूको संसारमा आफ्नो साथीभाइको वाहवाही नपाउने व्यक्ति तिनीहरूको हाराहारीमा पुग्न नसक्ने वा समूहबाट तिरस्कृत हुने व्यक्ति भन्ठान्ने भात्र होइन तर काम नलाग्ने जस्तो गनिन्छ। साथीहरूको “वाहवाही” कसरी पाउने? सो पाउन आफूसित उत्तम र नयाँ चीजहरू हुनैपर्छ भन्ने थुप्रै युवायुवतीहरूको विचार छ। यदि तपाईंले ती चीजहरू किन्न सक्नुहुन्न भने नि? एक जना मसीही युवक भन्छन्, “असाध्यै गाह्रो हुन्छ। स्कूल जाँदा लोकप्रिय डिजाइनरहरूको लुगा लगाएन भने सबैले जिस्क्याउँछ।” अर्की युवती भन्छिन्, “कहिलेकाहीं साथीभाइबीच कागको बीचमा बकुल्लो भए जस्तो लाग्छ।”
आफ्नो जीवन धान्न मात्र पनि घण्टौं काम गर्नुपर्ने विकासोन्मुख मुलुकहरूमा बस्ने जवानहरूले यस्तै प्रकारका दबाउहरू महसुस गरेको हुनुपर्छ। यदि तपाईंको परिवारको अवस्था पनि यस्तै छ भने स्वाभाविकतः उत्तम जीवन बिताउने तपाईंको चाहना हुनसक्छ। सम्पन्न देशहरूका टिभी कार्यक्रम र चलचित्रहरूमा देखाइने महँगो लुगाफाटा, घर अनि कारहरू हेरेपछि, यस्ता चीजहरू किन्ने रहर तपाईंमा पनि जागेको हुनुपर्छ। यस्ता चीजहरू किन्ने क्षमता तपाईंमा नभएकोले तपाईंलाई निराश लाग्नसक्छ वा खिन्न महसुस हुनसक्छ।
तपाईं विकासोन्मुख वा सम्पन्न देश, जहाँ कै भए पनि भनेजस्तो चीज पाउन नसकेकोमा रिसाउँदा वा निराश हुँदा आफैलाई हानि हुनसक्छ। यसले गर्दा मुमाबुबासित कचकच भइरहनसक्छ। अतः अब प्रश्न उठ्छ, तपाईंले यसको सामना कसरी गर्नसक्नु हुन्छ?
भौतिक चीजहरूप्रति सन्तुलित दृष्टिकोण
सबैभन्दा पहिला, आफ्ना जनहरू दरिद्र होस् वा आफूलाई चाहिने चीजहरू बिना नै बाँचोस् भन्ने यहोवा परमेश्वरको इच्छा छैन भन्ने कुरा बुझ्नुहोस्। आखिर, परमेश्वरले आदम र हव्वालाई पनि फोहरको पहाडमा होइन तर हेर्नमा राम्रा रूखहरू भएको बगैंचामा राख्नुभएको थियो। (उत्पत्ति २:९) पछि, अब्राहाम, अय्यूब र सुलेमान जस्ता परमेश्वरका सेवकहरूले थुप्रै सम्पत्तिहरू पाए। (उत्पत्ति १३:२; अय्यूब १:३) सुलेमानसित यति धेरै सुन थियो कि त्यतिबेला चाँदीको “केही मोलै थिएन।”—१ राजा १०:२१, २३.
तथापि परमेश्वरका धेरैजसो जनहरू भने सीमित स्रोत साधनहरूमा नै गुजारा गरेका छन्। येशू पनि धनी हुनुहुन्न थियो। उहाँको लागि “शिर अड़ाउने ठाउँ” समेत थिएन। (मत्ती ८:२०) तैपनि, आफूले चाहनुभएको चीजहरू किन्न सक्नुभएन भनेर उहाँले गुनासो गर्नुभएको तपाईंले कहिल्यै पढ्नु भएको छैन। बरु उहाँले यो सिकाउनुभयो: “के खाउँला? कि के पिऔंला? कि के पहिरौंला? भनेर फिक्री नगर, . . . किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:३१-३३.
यसको अर्थ परमेश्वरले डिजाइनर लुगा वा इलेक्ट्रोनिक सर-सामान किन्ने कसैको इच्छा पूरा गरिदिनुहुन्छ भन्ने होइन। परमेश्वरले हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ—हाम्रो चाहना होइन। त्यसैकारण हामीलाई बाइबलले “खान र लाउन” मात्र भएपछि सन्तुष्ट हुनु भनेर आग्रह गर्दछ। (१ तिमोथी ६:८) तर साँच्चै भन्ने हो भने, सन्तुष्ट हुनु सजिलो छैन। माइक नाउँ गरेको युवक भन्छन्, “तपाईंले आफ्नो चाहना र आवश्यकताहरूबीच निरन्तर संघर्ष गरिरहनुपर्छ।” आफ्नो स्वार्थी चाहनाहरू बाहेक परमेश्वरको मुख्य शत्रु, शैतान अर्थात् दियाबलको दबाउसित पनि हामीले संघर्ष गर्नुपर्छ। (१ यूहन्ना ५:१९) अनि हामीलाई केही कुराको कमी महसुस गराउनु नै त्यसको छल गर्ने सबैभन्दा पुरानो तरिका हो। एउटा सिद्ध प्रमोदवनमा बसेको भए तापनि केही कुराको कमी महसुस गराएर त्यसले हव्वालाई लोभ्याएको थियो!—उत्पत्ति ३:२-६.
त्यसो भए असन्तुष्टिको खाडलमा खस्नदेखि तपाईं कसरी बच्न सक्नुहुन्छ त? तपाईंलाई यो कुरा भनाइ मात्र जस्तो लाग्ला तर आफूसित भएका चीजहरूबारे सोच्नुहोस्। आफूसित नभएका चीजहरू सम्झेर नकारात्मक सोचाइको दलदलमा नफस्नुहोस्। सकारात्मक हुनुहोस् र आफूसित भएका चीजहरूबारे आफैलाई याद दिलाउनुहोस्। (फिलिप्पी ४:८ तुलना गर्नुहोस्।) माइक भन्छन्: “मलाई असाध्यै मनपर्ने चीजहरू थुप्रै छन् तर म त्यसैमा मन खेलाइरहन्न।”
तपाईंको भावनासित खेल्ने चतुर विज्ञापनहरूदेखि सजग हुँदा पनि मदत पाइन्छ।a (हितोपदेश १४:१५) विज्ञापनमा देख्नु भएको त्यो नयाँ जुत्ता वा कम्प्याक्ट डिस्क प्लेयरबिना बाँच्नै सक्दिन भन्ने निष्कर्षमा पुग्नुको सट्टा त्यसबारे ठन्डा दिमागले सोच्ने कोसिस गर्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘के मलाई त्यो साँच्चै चाहिएको छ? के त्यो मलाई कामलाग्ने सामान हो? के मसँग भएका सामानहरू पर्याप्त छैनन् र?’ ती सामानहरू आफूसित भए इज्जत बढ्नेछ भन्ने जस्ता विज्ञापनहरूदेखि विशेष सजग हुनुहोस्। पहिलो यूहन्ना २:१६ मा प्रेरित यूहन्नाका यी शब्दहरू सोचनीय छन्: “किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।”
जब तपाईंलाई साँच्चै खाँचो पर्छ
तपाईंको आवश्यकता जायज छ भने नि? त्यसबारे मुमाबुबासित कुरा गर्नुभन्दा पहिले केही कुरा आफै विचार गर्नुहोस्। त्यो चीज तपाईंलाई किन चाहिएको छ, त्यसलाई कसरी चलाउने योजना बनाउनु भएको छ र त्यसले तपाईंलाई के फाइदा दिन्छ जस्ता कुराहरू बताउन तयार हुनुहोस्। यसो गर्दा तपाईंको मुमाबुबाले परिवारको लागि चलाउने घर खर्चबाट किनिदिनु हुन्छ कि। तर तपाईंले भन्ने बित्तिकै उहाँहरूले किनिदिनु सक्नुभएन भने नि? तपाईं धीरजी हुनुबाहेक अरू केही उपाय छैन। (उपदेशक ७:८) यो “डरलाग्दो समय” हो र थुप्रै मुमाबुबाहरूले आफ्ना छोराछोरीहरूले भनेअनुसार सबै चीजहरू किन्न सक्दैनन्। (२ तिमोथी ३:१) तपाईंले आफ्ना मुमाबुबासित नचाहिंदो माग गर्न छोड्नुभयो भने उहाँहरूलाई धेरै सजिलो बनाइरहनुभएको हुनेछ।
तथापि, तपाईं आफैले पनि केही गर्न सक्नुहुन्छ। उदाहरणका लागि, के तपाईंले पाकेट खर्च पाउनुहुन्छ? पाउनुहुन्छ भने हरेक महिना केही बचत गर्न त्यो पैसालाई जतनसँग चलाउन सिक्नुहोस्। नजिकैको बैंकमा खाता खोल्न पनि सक्नुहुन्छ। (लूका १९:२३ तुलना गर्नुहोस्।) अबिगेल नाउँ गरेकी एक युवतीले त्यसै गरिन्। तिनी भन्छिन्: “म मेरो पैसालाई दुई भाग गरेर चलाउँछु—एक भाग बैंकमा राख्छु र अर्को खर्च गर्छु।” यदि तपाईं वयस्क हुनुहुन्छ भने सानोतिनो काम वा आंशिक जागिर खाने कोसिस पनि गर्न सक्नुहुन्छ।b तपाईं साँच्चै नै कुनै चीज किन्न चाहनुहुन्छ अनि त्यसका लागि पैसा बचत गर्दै हुनुहुन्छ भनेर तपाईंको मुमाबुबाले देख्नुभएमा उहाँहरूले सो चीज किन्न पैसा थपिदिन पनि सक्छन्।
किनमेल गर्ने ढंगमा परिवर्तन ल्याउँदा पनि तपाईंलाई फाइदा हुनसक्छ। उदाहरणका लागि, यदि कुनै सामान महँगो छ भने त्यसको मूल्य घटाउने कोसिस गर्न सक्नुहुन्छ। त्यसो गर्न सकिएन भने त्यो सामानको मूल्य घट्ने समय पर्खनुहोस्। त्यही सामान कम मूल्यमा पाइन्छ कि भनेर अरू पसलहरूमा गएर हेर्नुहोस्। सामानहरूको गुणस्तर राम्ररी हेर्न सिक्नुहोस्। कहिलेकाहीं लोकप्रिय ब्राण्ड नभएका सामानहरू पनि असाध्यै राम्रा हुनसक्छन्।c
सन्तुष्ट हुन सिक्नुहोस्
हितोपदेश २७:२० ले यो चेताउनी दिन्छ: “पाताल र विनाश कहिल्यै नअघाएझैं मानिसको आँखा पनि कहिल्यै सन्तुष्ट हुँदैन।” हो, जसरी चिहानमा जति नै मुर्दा गाडे तापनि त्यसले कहिल्यै पुग्यो भन्दैन, त्यसरी नै कुनै कुनै मानिसहरूसँग जति नै चीजहरू भए तापनि अझ धेरै पाउने चाहना गरिरहेका हुन्छन्। त्यस्तो स्वार्थी विचार नराख्नुहोस्। अन्तमा, लोभले निराश र दुःखबाहेक केही पनि दिंदैन। जोनाथान नाउँ गरेको युवक भन्छन्: “यदि चीजहरू पाउनुमा नै तपाईंको खुसी निर्भर छ भन्ठान्नुहुन्छ भने तपाईं कहिल्यै खुसी हुनसक्नुहुन्न। तपाईंलाई मनपर्ने कुनै न कुनै नयाँ चीज जहिले पनि भइरहेकै हुन्छ। तपाईंसित भएका चीजहरूसित खुसी हुन सिक्नुपर्छ।”
यदि तपाईं सन्तुष्ट हुनुहुन्छ भने तपाईंले साथीहरूबाट आउने दबाउको सामना गर्न सक्नुहुन्छ। भिन्सेन्ट नाउँ गरेको युवक भन्छन्: “कसैले लोकप्रिय ब्राण्ड भएको जुत्ता लगाएको देख्दैमा मैले पनि किन्नै पर्छ भन्ने छैन।” तैपनि आफूले चाहेजस्तो चीज नपाउँदा कहिलेकाहीं अवश्य पनि निराश लाग्नसक्छ। तर यहोवालाई तपाईंको दरकार थाह छ भनेर कहिल्यै नबिर्सनुहोस्। (मत्ती ६:३२) उहाँले चाँडै नै भविष्यमा “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजन १४५:१६.
[फुटनोट]
a सेप्टेम्बर ८, १९९८ ब्यूँझनुहोस्!-मा “विज्ञापन—तपाईं कसरी प्रभावित हुनुहुन्छ?” लेख हेर्नुहोस्।
b सेप्टेम्बर ८, १९९८ अंकको “युवा जनहरू सोध्छन् . . . म कसरी पैसा कमाउन सक्छु?” लेख हेर्नुहोस्।
c थप उपयोगी जानकारीको लागि जनवरी २२, १९९५ अंकको “युवा जनहरू सोध्छन् . . . मेरो लुगाफाटोमा कसरी सुधार ल्याउनसक्छु?” (अंग्रेजी) लेख हेर्नुहोस्।
[पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]
“स्कूल जाँदा लोकप्रिय डिजाइनरहरूको लुगा लगाएन भने सबैले जिस्क्याउँछ।”
[पृष्ठ २०-मा भएको चित्र]
आफूले चाहेको हर चीज नपाए पनि तपाईं खुसी हुन सक्नुहुन्छ