मेरा पाँच छोराहरूका निम्ति यहोवालाई धन्यवाद दिन्छु
हेलेन सोल्सबरीको वृत्तान्तमा आधारित
मेरो जीवनको सबैभन्दा दुःखलाग्दो दिनहरूमध्ये एक मार्च २, १९९७ थियो। मेरो प्रिय पति, डिनको अन्त्येष्टिको लागि लगभग ६०० जना साथीहरू र परिवारका सदस्यहरू विल्मिंग्टन, डेलावेर, संयुक्त राज्यमा भेला भएका थिए। उहाँ यहोवाका साक्षीहरूका मण्डलीको मसीही प्राचीन अनि अध्यक्ष हुनुहुन्थ्यो। चालीस वर्ष लामो मेरो सुखमय वैवाहिक जीवन सम्झँदा म असाध्यै कृतज्ञ हुन्छु। डिन सबैभन्दा सुरक्षित ठाउँ अर्थात् सर्वशक्तिमान्, यहोवा परमेश्वरको सम्झनामा हुनुहुन्छ र भविष्यमा उहाँलाई भेट्न पाउनेछु भनेर मलाई थाह छ।
उच्च माध्यमिक विद्यालयबाट उत्तीर्ण हुनुभएपछि १९५० मा डिन वायुसेनामा भर्ती हुनुभयो। उहाँ नास्तिक हुनुहुन्थ्यो। अतः मैले त्यतिबेला मान्ने क्याथोलिक धर्मका धार्मिक विश्वासहरूलाई लिएर आफ्नो असहमति जनाइरहनु हुन्थ्यो। तर हाम्रा बच्चाहरूलाई भने क्याथोलिक धर्ममा नै हुर्काउने हामीले निर्णय गऱ्यौं। हरेक रात हामी घुँडा टेकेर प्रार्थना गर्थ्यौं। म आफ्नो क्याथोलिक धर्मअनुसार प्रार्थना गर्थें भने डिन आफ्नो मनमा भएका कुराहरू भन्नुहुन्थ्यो। केही वर्षहरूभित्रै हाम्रा पाँच छोराहरू जन्मे: बिल, जिम, सानो डिन, जो र चार्ली।
म सधैं चर्च जान्थें र छोराहरूलाई पनि सँगै लान्थें। तर भियतनाम युद्धमा चर्चहरू मुछिएको देख्दा म अलमल्लमा परें। सं.रा. त्यसरी युद्धमा मुछिनु गलत हो भन्ने मानिसहरूलाई सम्बोधन गर्दै पूर्व कार्डिनल स्पेलम्यानले यसो भने: “मेरो देशले गरेको काम सही होस् या गलत, म त्यसको समर्थन गर्छु।” मेरो चर्चले युद्धहरूमा भाग लिए तापनि मेरा छोराहरूले भाग लिएको चाहँदिनथें। तैपनि, मेरो एक जना छोरा पादरी बनोस् र मेरो पतिले पनि क्याथोलिक धर्ममा विश्वास गरोस् भनेर म प्रार्थना गर्थें।
मेरो विचार बद्लियो
एक चोटि शनिवार साँझ मेरा साथीहरू र स्थानीय पादरीसँग म गफसफ गरिरहेको थिएँ। हामी पिएर आनन्द मनाइरहेको बेला एक जना आइमाईले पादरीलाई यो प्रश्न गरिन्: “यसरी आनन्द मनाएर भोलि बिहान उठेर मास मनाउन जान सकिएन भने के त्यो पाप हो?”
तिनले भने, “होइन।” “केही फरक पर्दैन। आउँदो मंगलवार राति मेरो घरमा मास हुँदैछ। त्यतिबेला तिमी पनि आएर आफ्नो जिम्मेवारी पूरा गरे हुन्छ।”
जुनै हालतमा पनि आइतवार मासमा जानै पर्छ भनेर बाल्यकालदेखि नै मलाई सिकाइएको थियो। जब मैले तिनको कुरा काटें तब तिनले मलाई सरापे र आइमाई भएर पादरी विरुद्ध बोल्नु हुँदैन भनेर रिसाउँदै भन्यो।
मैले मनमनै सोचें, ‘के मेरा छोराहरू यस्तै होस् भनेर मैले प्रार्थना गरेकी हुँ र?’ सबै पादरीहरू यस्तै हुँदैन भनेर थाह भए तापनि मलाई यसमा शंका लाग्न थाल्यो।
सन् १९६० बीचतिर फिलाडेल्फिया र पेन्सिल्भानियामा अनि पछि न्यु योर्क र डेलावेरमा यहोवाका साक्षीहरूसँग हाम्रो भेट भयो। तिनीहरूको मसीही जोसको मूल्यांकन गरे तापनि म भन्थें: “माफ गर्नुहोस्। क्याथोलिक भएकोले मलाई यसमा कुनै चासो छैन।”
त्यसपछि, १९७० मा नोभेम्बरको चिसो बिहान साक्षीहरू फेरि मेरो घरमा आए। तिनीहरूले बाइबलबारे एउटा प्रश्न सोधे र भजन ११९:१०५ पढे: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” यी शब्दहरूले मलाई प्रभाव पाऱ्यो। त्यतिबेला मैले मनमनै सोंचेको मलाई अझै पनि याद छ, ‘बाइबल! मेरा प्रश्नहरूको उत्तर त्यसमा हुनसक्छ। तर मसित बाइबल नै छैन।’ बाइबल पढ्दा क्याथोलिकहरू अलमलिन्छ भनेर तिनीहरूलाई बाइबल चाहिंदैन र पादरीहरूले मात्र बाइबल पढेर बुझाउनुपर्छ भनेर मलाई सिकाइएको थियो। बाइबल नराखेर क्याथोलिक भक्त भएँ भन्ने मेरो सोचाइ थियो।
त्यस दिन साक्षीहरूसित अनन्त जीवनतर्फ डोऱ्याउने सत्य भन्ने (अंग्रेजी) बाइबल अध्ययन सहायक पुस्तक स्वीकारें। त्यही हप्ता मैले त्यो पुस्तक पढें र सत्य पाएँ भनेर मलाई थाह भयो! दुईवटा बाइबल लिएर ती साक्षीहरू फेरि आए। एउटा बाइबल क्याथोलिक अनुवाद थियो। बाइबल अध्ययन गर्ने पुस्तकमा दिइएका शास्त्रपदहरू क्याथोलिक बाइबलमा पनि देख्दा म छक्क परें। त्यस समयदेखि मैले बाइबल अध्ययनमा प्रगति गर्दै गएँ र अगस्त १९७२ मा मेरी दिदी, स्यालीसित बप्तिस्मा लिएँ। तिनले पनि मसँगै बाइबल अध्ययन सुरु गरेकी थिइन्।
मेरो पति, डिनले कहिल्यै विरोध गर्नुभएन तर क्याथोलिक धर्ममा चासो नराखेर अरू कुनै धर्ममा चासो राखेको देखेर अचम्म मान्नुभयो। उहाँले मेरो हरेक क्रियाकलापलाई ध्यान दिएर हेरिहनुहुन्थ्यो। पहिले पहिले छोराहरूसित कुरा गर्दा जहिले पनि चर्को स्वरले कराउँथे। तर बाइबलले “रीस, हो-हल्ला, निन्दा” नगर्नु भनेको रहेछ भनेर मैले सिकें। (एफिसी ४:३१, ३२) यसबाहेक, बच्चाहरूसित चर्को स्वरले कराएर तालिम दिनुहुँदैन भनेर पनि सिक्नसकें। एक चोटि यहोवाका साक्षीहरूबारे मेरो पतिले आफ्नो मुमालाई यसो भन्नुहुँदै गरेको सुने: “मुमा, यी मानिसहरू जे प्रचार गर्छन्, त्यही आफै पनि गर्छन्।” त्यसको केही समयपछि उहाँले पनि बाइबल अध्ययन स्वीकार्नुभयो। जनवरी १९७५ मा डिन बप्तिस्मा प्राप्त साक्षी हुनुभयो।
हाम्रा पाँच छोराहरूलाई सिकाउँदै
सुरुमा राज्यभवन जाँदा मेरा छोराहरूको लागि सभाहरू असाध्यै लामो हुन्छ होला जस्तो मलाई लाग्थ्यो। त्यसकारण तिनीहरूलाई बुबासित घरमा नै छोडिराख्थें। एकलै जाँदा मलाई रमाइलो र सजिलो लाग्थ्यो। तर एक दिन मसीही सभाको समयबारे छलफल गर्दै एक जना वक्ताले सोधे: “तपाईंका बच्चाहरूले कति समयसम्म टिभी हेर्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?” म सभामा भएको बेला मेरा छोराहरू टिभी नै हेरिरहेका हुन्थे! त्यसकारण मैले सोचें, ‘अबदेखि त्यसो हुनेछैन! तिनीहरू पनि मसँगै सभामा आउने छन्!’ त्यस कुरामा मेरो पति पनि सहमत हुनुभयो र केही समयपछि उहाँ पनि उपस्थित हुन थाल्नुभयो।
नियमित तवरमा सभाहरूमा उपस्थित हुँदा हाम्रो पारिवारिक जीवन सुव्यवस्थित र स्थायी हुनसक्यो। तर फाइदाहरू त्यति मात्र थिएन। बच्चाहरूलाई हुर्काउने हाम्रो तरिका सुधार्नको निम्ति डिन र म सधैं आफूले गरेका गल्तीहरू स्वीकार्थ्यौं र होसियारीपूर्वक बाइबलका निर्देशनहरू प्रयोग गर्थ्यौं। हामीले दोहोरो जीवन कहिल्यै बिताएनौं। म र मेरो पतिको निम्ति जे ठीक थियो त्यही नै हाम्रा छोराहरूको निम्ति पनि ठीक हुन्थ्यो। हामी प्रचारको काममा नियमित तवरमा भेला हुने गर्थ्यौं।
मनोरञ्जन गर्नुपर्दा हिंस्रक र अनैतिक चलचित्रहरू हेर्दैनथ्यौं। स्केटिङ, बलिङ र गल्फ खेलेर, रमाइलो मेला गएर, वनभोज मनाएर अनि शुक्रवार राति पिजा खाएर हामी सपरिवार रमाइलो गर्थ्यौं। अनि डिनले मायालु ढंगमा परिवारको नेतृत्व लिनुहुन्थ्यो। अहिलेसम्म हामीले बिताएको वैवाहिक जीवनलाई हेर्दा पारिवारिक जीवन यस्तै हुनुपर्छ भनेर हामीले बुझेका छौं।—एफिसी ५:२२, २३.
सन् १९७० मा यहोवाका साक्षीहरूसित मैले बाइबल अध्ययन सुरु गर्दा बिल्ली, जिम्मी, सानो डिन, जो र चार्ली क्रमशः १२, ११, ९, ७ र २ वर्षका थिए। तिनीहरूलाई चर्च जाने बानी भइसकेको थियो तर अहिले भने तिनीहरूले बाइबल पढ्दै थिए। हाम्रो निम्ति यो रोमाञ्चकारी थियो। तिनीहरूलाई भन्थें: “यहाँ आएर हेर त!” तिनीहरू आउँथे र हामीलाई नयाँ लागेका विषयहरूबारे चाखलाग्दो ढंगमा छलफल गर्थ्यौं। हाम्रा छोराहरूले सबैभन्दा श्रेष्ठ पुस्तक, बाइबलको अध्ययन गर्दै जाँदा हामीलाई मात्र नभएर यहोवालाई पनि प्रेम गर्नुको साथै उहाँ हाम्रो परमेश्वर र सृष्टिकर्ता हुनुभएकोले उहाँप्रति जवाफदेही महसुस गर्न सिकिरहेका थिए।
बाइबलको सत्य सिक्नुभन्दा पहिला हामीले थुप्रै ऋण लिएका थियौं। केही ऋण तिर्न हामीले घर बेचेर भाडाको घरमा बस्न थाल्यौं। नयाँ कार बेचेर पुरानो किन्यौं। हाम्रो जीवनलाई सकभर सरल बनाउने कोसिस गऱ्यौं। त्यसो गर्दा जागिर खानुको सट्टा छोराहरूसित घरमै बस्न सकें। हाम्रा छोराहरूलाई घरमा मुमाको आवश्यकता परेको हामीले महसुस गऱ्यौं। त्यसो गर्दा तिनीहरू स्कूल गएकोबेला मसीही सेवकाईमा पनि भाग लिन सकें। अन्ततः सेप्टेम्बर १९८३ मा मैले अग्रगामीको काम (पूर्ण-समय सेवकाई) गर्न सकें। हो, हाम्रा छोराहरूले चाहेजस्तो सबै चीज पाउन सकेन। तैपनि, तिनीहरूले कहिल्यै अनावश्यक कमी महसुस गरेनन्। तिनीहरू सबैले प्राविधिक स्कूलमा पढे र बागवानी, सिकर्मी, गाडी मेकानिक्स र ग्राफिक आर्ट जस्ता कामहरू सिके। यसरी तिनीहरू आ-आफ्नो जीविका चलाउन सक्ने भए।
‘भौतिक चीजहरू हामीसित धेरै नभए तापनि यस पृथ्वीमा सबैभन्दा खुसी परिवारहरूमध्ये हामी पनि एक हौं’ भनेर म आफ्नो पारिवारिक जीवनबारे प्रायजसो सोच्थें। केही समयपछि डिन र छोराहरूले मण्डलीका जिम्मेवारीहरू वहन गर्न थाले। सन् १९८२ मा डिन मसीही प्राचीन नियुक्त हुनुभयो। त्यसको आठ वर्षपछि १९९० मा हाम्रो जेठो छोरा, बिल पनि प्राचीन नियुक्त भयो। त्यही वर्ष जो पनि नियुक्त भयो भने सानो डिन, चार्ली र जिम पनि क्रमशः १९९१, १९९२ र १९९३ मा नियुक्त भए।
हामीले मुमाबुबाको जिम्मेवारी पूर्ण रूपमा पूरा गर्न सकेनौं भनेर मलाई थाह छ र हामीले गरेका राम्रा कामहरू सधैं याद राख्नु सजिलो छैन। भर्खर भर्खर मसीही जीवन सुरु गर्दाका दिनहरूबारे याद भएका कुराहरू अनि मसीही प्राचीन हुन तिनीहरूलाई प्रोत्साहन दिने बाइबलका कस्ता सिद्धान्तहरू मुमाबुबाबाट सिक्यौ भनेर एक जना साथीले मेरा छोराहरूलाई सोधे। तिनीहरूका जवाफहरूले मेरो हृदयलाई अति नै आनन्दित बनाउँछ।
मेरा छोराहरूले भनेका कुराहरू
बिल: “रोमी १२:९-१२ बाट हामीले सिकेका कुराहरूले मेरो हृदयमा गहिरो प्रभाव पारेको छ। यसको केही भागले यसो भन्छ: ‘भातृप्रेममा एक दोस्रोतर्फ मयालु होओ। मानमा एउटाले अर्कोको बढ़ता कदर गर, . . . आत्मामा जोशिलो होओ, . . . आशामा आनन्द गर।’ मेरा मुमाबुबाले मानिसहरूलाई प्रेम गर्नुको अर्थ के हो भनेर देखाउनु भयो। अरूलाई प्रेम देखाउँदा उहाँहरू खुसी हुनुहुन्थ्यो। हाम्रो घरमा भएको यही मायालु वातावरणले बाइबल सत्यलाई हाम्रो सोचाइको भाग बनाउन मदत गऱ्यो। सत्यलाई पक्रिराख्न हामीलाई यसैले मदत दियो। मेरा मुमाबुबाले बाइबल सत्यलाई अभिन्न भाग बनाउनु भएको थियो। फलस्वरूप, सत्यलाई प्रेम गर्न मलाई कहिल्यै गाह्रो भएन र यसलाई पक्रिराख्न पनि कहिल्यै गाह्रो भएको छैन।”
जिम: “मेरो सम्झनामा आउने प्रमुख सिद्धान्तहरूमध्ये मत्ती ५:३७ हो: ‘तिमीहरूको वचन चाहिं, “हो भने, हो” “होइन भने, होइन” होस्। औ यीभन्दा बढ़ता चाहिं दुष्टतर्फबाट हो।’ हाम्रा मुमाबुबाले हामीबाट के चाहनुहुन्छ भनेर मलाई र मेरा दाजुभाइहरूलाई सधैं थाह हुन्थ्यो। मसीहीहरू कस्तो हुनुपर्छ, मुमाबुबा त्यसको जीवन्त उदाहरण हुनुहुन्थ्यो। उहाँहरूको कुरा कहिल्यै बाझिंदैनथ्यो। उहाँहरू कहिल्यै झगडा गर्नुहुन्नथ्यो। झगडा भईहाल्यो भने पनि हामीहरूलाई कहिल्यै थाह हुँदैनथ्यो। उहाँहरू मिलेर बस्नुभएकोले हामी सबैलाई राम्रो प्रभाव पऱ्यो। हामी मुमाबुबालाई अनि विशेष गरेर यहोवालाई निराश तुल्याउन चाहँदैनथ्यौं।”
डिन: “हितोपदेश १५:१ ले यसो भन्छ: ‘मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।’ बुबा विनयी हुनुहुन्थ्यो। मैले उहाँसित कहिल्यै झगडा गरिन—म किशोरावस्थामा हुँदा समेत। कुनै कुरामा चित्त नबुझ्दा पनि उहाँ कहिल्यै रिसाउनु हुन्नथ्यो। कहिलेकाहीं सजाय दिन मलाई मेरो कोठामा थुनिदिनुहुन्थ्यो वा मैले पाएको कुनै कुनै सुविधाहरू बन्द गरिदिनुहुन्थ्यो। तैपनि, हामी कहिल्यै झगडा गरेनौं। उहाँ हाम्रो बुबा मात्र होइन हाम्रो साथी पनि हुनुहुन्थ्यो र उहाँलाई निराश तुल्याउन चाहँदैनथ्यौं।”
जो: “दोस्रो कोरिन्थी १०:५ मा ‘हरेक विचारलाई ख्रीष्टको आज्ञा मान्नालाई अधीनमा’ पार्न बाइबलले बताएको छ। यहोवाको स्तर र निर्देशन पालन गर्नु पर्छ भनेर हामीलाई घरमा सिकाइएको थियो। सत्य नै हाम्रो जीवन थियो। सभामा उपस्थित हुनु हाम्रो जीवनको शैली थियो। अहिले पनि म अन्य कुनै व्यक्तिगत काम गर्नको निम्ति सभा छोड्ने गर्दिन। मसीही सेवकाईमा भाग लिनु पनि मनलागे मात्र जाने कुरा नभएर हाम्रो जीवनको अभिन्न भाग भयो। हाम्रा साथीहरू राज्यभवनमा नै थिए। साथी खोज्न अरू ठाउँहरूमा जानु पर्दैनथ्यो। एक जना बुबाले आफ्ना छोराहरूलाई जीवनको मार्गमा डोऱ्याउनुभन्दा ठूलो काम अरू के नै गर्न सक्छ र!”
चार्ली: “म हितोपदेश १:७ सम्झन्छु। यसले भन्छ: ‘परमप्रभुको भय ज्ञानको शुरू हो। तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।’ मेरा मुमाबुबाले यहोवा साँच्चै नै हुनुहुन्छ भनेर विश्वास गर्न अनि उहाँको भय राख्नु र उहाँलाई प्रेम गर्नु कत्तिको महत्त्वपूर्ण छ, सो बुझ्न हामीलाई मदत दिनुभयो। उहाँहरूले हामीलाई यसो भनेर सम्झाउनु हुन्थ्यो: ‘हामीले भन्यो भन्दैमा त्यसै गर्नुपर्छ भन्ने छैन। तिमीहरूलाई कस्तो लाग्छ? यसो गर्दा यहोवालाई कस्तो लाग्छ? शैतानलाई कस्तो लाग्ला?’
“त्यसरी तर्क गर्दा हामीलाई वास्तविक कुरा बुझ्न सजिलो हुन्थ्यो। मुमाबुबाले हर समय हामीसितै बिताउन सक्नुहुन्नथ्यो। बाइबल सत्यलाई हाम्रो हृदय र मनमा बसाल्न उहाँहरूले गर्न सक्नुहुने कुराहरूको पनि सीमा थियो। हामी स्कूल र काममा अनि साथीहरूसित हुँदा आफ्नै भरमा हुन्थ्यौं। यहोवाको स्वस्थकर भयले हामीमा ठूलो परिवर्तन ल्यायो र आज पनि हामी त्यही भय राख्छौं।
“यसबाहेक मुमाले आफ्नो अग्रगामी सेवकाईबारे राम्रा राम्रा अनुभवहरू सुनाइरहनुहुन्थ्यो। उहाँले सेवकाईप्रति सधैं सकारात्मक दृष्टिकोण राख्नुहुन्थ्यो र त्यसले हामीमा राम्रो असर पाऱ्यो। उहाँले जस्तै हामीले पनि मानिसहरूलाई माया गर्न सिक्यौं र घर-घरमा गएर प्रचार गर्नु आनन्दमय हुनसक्छ भनेर मूल्यांकन गर्न पनि जान्यौं।”
धन्यवादी हुने कारण
आज मेरा सबै छोराहरूको विवाह भइसक्यो र यहोवालाई विश्वासपूर्वक सेवा गर्ने पाँचै जना मायालु बुहारीहरू पनि छन्। मेरा अरू पाँच छोराहरू पनि छन्—हो, मेरा पाँच नातिहरू छन्! सबै जना नै यहोवालाई प्रेम गर्न र उहाँको राज्यलाई आफ्नो जीवनमा पूर्णतया प्रथम स्थान दिन अघि बढिरहेका छन्। तिनीहरू पनि आ-आफ्ना बुबा र बाजेजस्तै कुनै दिन प्राचीन नियुक्त होस् भनेर हामी प्रार्थना गर्छौं।
डिन बित्नु भएको केही दिनपछि मेरो एक जना छोराले यस्तो लेखे: “मेरो बुबा लामो निद्रामा पर्नु भएकोले अब मलाई उहाँको कमी असाध्यै महसुस हुनेछ। अब उहाँलाई कुनै दुःख हुनेछैन। कष्ट हुनेछैन। शल्य उपचार गर्नु, सूई लगाउनु र पाइप लगाएर खुवाउनु पर्नेछैन—शान्ति मात्र हुनेछ। मृत्यु हुनुअघि उहाँलाई मैले भेट्न समेत पाइनँ। हामीले सोचेजस्तो सधैं हुँदैन। म यति भन्न चाहन्छु कि, उहाँको पुनरुत्थान हुँदा उहाँलाई स्वागत गर्न सकूँ!”
मेरो मायालु पति र उहाँको पुनरुत्थानको आशाको निम्ति म यहोवालाई धन्यवाद दिन्छु। (यूहन्ना ५:२८, २९) र मेरा पाँच छोराहरूको निम्ति पनि उहाँलाई धन्यवाद दिन्छु!
[पृष्ठ १७-मा भएको चित्र]
आज हेलेन सोल्सबरी र तिनको परिवार