विश्वभरि वृद्धहरूको संख्या बढ्दैछ
स्पेनी अन्वेषक हुआन पोन्स डे लीओन १५१३ मा उत्तर अमेरिकाको समुद्री तट पुगे र यसअघि त्यहाँ कोही पनि पुगेका थिएनन्। एउटा रिपोर्टअनुसार तिनले पत्ता लगाएको ठाउँमा फूलैफूल भएकोले तिनले त्यस ठाउँको नाउँ फ्लोरिडा राखे। स्पेनी भाषामा फ्लोरिडाको अर्थ “फूलैफूल भएको” ठाउँ हो। यो नाउँ राख्नु त त्यति गाह्रो काम थिएन। तर तिनको यात्राको लक्ष्य अर्थात् वृद्धहरूलाई पुनः जवान पार्न सक्ने पानीको मुहान पत्ता लगाउनु भने असम्भव भयो। महिनौंसम्म त्यस ठाउँमा धुइँधुइँती खोजेपछि त्यस अन्वेषकले यौवनको कल्पित मुहानको खोज त्यत्तिकै छाडेर फर्के।
पोन्स डे लीओनको समयमा जस्तै आज पनि यौवनको मुहान मानिसहरूले भेट्टाउन सकेका छैनन्। बरु “बुढ्यौलीको मुहान” पो पत्ता लागेको छ भनी बेटी फ्रीडान भन्छिन्। विश्वभरि वृद्धहरूको संख्यामा अत्यधिक वृद्धि भएको हुँदा तिनले यसो भनेकी हुन्। आज यति बिघ्न मानिसहरू बूढा-बूढी हुँदैछन् कि विश्व जनसंख्याको संरचना नै परिवर्तन हुँदैछ। साँच्चै, विश्वभरि वृद्धहरूको संख्या बढ्दैछ।
“मानिसजातिको एउटा ठूलो विजय”
जनसांख्यिकीहरूले पत्ता लगाएका कुराहरूबाट हामीले थाह पाएअनुसार यस शताब्दीको सुरुतिर असाध्यै धनी देशहरूमा पनि मानिसको आयु ५० वर्षभन्दा कम थियो। आज यो बढेर ७५ वर्षभन्दा बढी भएको छ। त्यस्तै गरी, चीन, होन्डुरस, इन्डोनेसिया र भियतनामजस्ता विकासोन्मुख देशहरूमा मानिसको आयु चार दशकअघिको भन्दा २५ वर्ष लामो भएको छ। विश्वभरि ६० वर्ष पुग्नेहरूको संख्या हरेक महिना दस लाखको दरले वृद्धि भइरहेको छ। अचम्मको कुरा, विश्वभरिको जनसंख्यामा जवानहरूको नभई ८० वर्ष पुगेका वा त्योभन्दा बढी उमेर पुगेका अर्थात् ‘एकदमै वृद्धहरूको’ संख्या द्रुत गतिमा वृद्धि भइरहेको छ।
“मानिसको आयु लम्ब्याउन सक्नु मानिसजातिको लागि एउटा ठूलो विजय हो” भनी जनसाङ्ख्यक आइलिन क्रिमिन्सले साइन्स पत्रिकामा भनिन्। यो कुरामा संयुक्त राष्ट्रले पनि सहमति जनाएको छ र यस उपलब्धिमा ध्यान केन्द्रित गर्न १९९९ वर्षलाई अन्तरराष्ट्रिय वृद्ध वर्ष भनेर नामाकरण गरिएको छ।—पृष्ठ ३ को पेटी हेर्नुहोस्।
दृष्टिकोणमा परिवर्तन आउनु खाँचो छ
तथापि, यस विजयले मानिसको आयु मात्र लम्ब्याएको छैन। यसले बुढ्यौलीप्रति मानिसको दृष्टिकोण पनि परिवर्तन गर्छ। हो, बुढ्यौलीबारे सोच्दा थुप्रै मानिसहरूलाई चिन्ताका साथै डर पनि लाग्छ। किनभने वृद्धावस्थालाई शिथिल शरीर र सुस्त मनसित मिलान गर्ने गरिन्छ। तथापि, बुढ्यौलीसम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ताहरू बूढा-बूढी हुनु र बिरामी हुनु बेग्लाबेग्लै कुरा हो भन्ने कुरामा जोड दिन्छन्। मानिसहरू भिन्नाभिन्नै तरिकामा बूढा-बूढी हुन्छन्। जन्ममितिले बताउने उमेर र शारीरिक अस्वस्थताले गर्दा देखिने उमेर-मा फरक छ भनी अनुसन्धानकर्ताहरू भन्छन्। (“उमेर ढल्कनु भनेको के हो?” पेटी हेर्नुहोस्।) अर्को शब्दमा भन्ने हो भने बूढा-बूढी हुनु र शरीर कमजोर हुँदै जानु दुई बेग्लाबेग्लै कुरा हुन्।
भनौं भने, तपाईंको उमेर ढल्कँदै जाँदा आफ्नो जीवनको गुणस्तर बढाउन तपाईंले केही उपायहरू अपनाउन सक्नुहुन्छ। हुन त ती उपायहरूले तपाईंलाई जवान बनाउन सक्दैन तर वृद्धावस्थामा तपाईंलाई स्वस्थ रहन मदत गर्नसक्छ। अर्को लेखले ती केही उपायहरूबारे छलफल गर्छ। अहिले तपाईंलाई बुढ्यौलीसम्बन्धी कुराहरूप्रति त्यति चासो नलाग्ला तापनि त्यो दिन सबैले सामना गर्नु पर्ने हुँदा तपाईंले पनि अहिले नै पढ्नु बेस हुन्छ।
[पृष्ठ ३-मा भएको पेटी/चित्र]
अन्तरराष्ट्रिय वृद्ध वर्ष
अन्तरराष्ट्रिय वृद्ध वर्ष उद्घाटन गर्दा सं.रा.-को महासचिव कोफी अन्नानले भने, “मेरो उमेर पनि ६० वर्ष भएकोले . . . पहिला मैले उल्लेख गरेको तथ्यांकमा अब म पनि समावेश छु।” श्री अन्नानजस्तै यो उमेर पुगेका अरू थुप्रै छन्। अनुसन्धानकर्ताहरूले भनेअनुसार यस शताब्दीपछि थुप्रै देशहरूमा ५ मध्ये १ मानिस ६० वा त्योभन्दा बढी उमेरका हुनेछन्। तीमध्ये केहीलाई रेखदेखको खाँचो पर्नेछ तर तिनीहरू सबैको स्वतन्त्रता, मान-मर्यादा र कामको आदर गरेको तिनीहरू चाहन्छन्। अहिले ‘जनसंख्याको संरचनामा आमूल परिवर्तन’ भएको छ। यसकारण नीतिनिर्माताहरूलाई यस्तो परिस्थितिको चुनौती सामना गर्न र “समाजमा वृद्धहरूको महत्त्व” बुझ्न सं.रा.-को साधारण सभाले १९९२ मा १९९९ वर्षलाई अन्तरराष्ट्रिय वृद्ध वर्ष घोषणा गर्ने निर्णय गऱ्यो। यो विशेष वर्षको विषय हो, “समाजमा विभिन्न उमेरका मानिसहरू हुन्छन्।”
[चित्र]
कोफी अन्नान
[स्रोत]
UN photo
UN/DPI photo by Milton Grant
[पृष्ठ ४-मा भएको पेटी/चित्र]
उमेर ढल्कनु के हो?
एक जना अनुसन्धानकर्ता भन्छन्, “मानिसको उमेर ढल्कनु वास्तवमा के हो भनेर थाह लगाउनै सकिएको छैन।” अर्को अनुसन्धानकर्ता भन्छन्, “यसबारे कसैले पनि राम्ररी बुझेको छैन।” तापनि, वृद्धत्वशास्त्रीहरूले (वृद्धावस्थाबारे अध्ययन गर्ने वैज्ञानिकहरू) यसको व्याख्या गर्ने कोसिस गरेका छन्। सरल भाषामा भन्ने हो भने तिनीहरू भन्छन्, उमेर ढल्कनु भनेको आफू जन्मेदेखिको उमेर हो। तर उमेर ढल्कनु भनेको वर्ष बित्दै जानु मात्र होइन। साधारणतया कसैले पनि हुर्कंदो बच्चाको उमेर ढल्क्यो भन्दैन किनभने उमेर ढल्क्यो भन्ने बित्तिकै शरीर सुस्त हुनु भनेर हामी बुझ्छौं। उमेर ढल्कंदै जाँदा त्यसका असरहरू देखिन थाल्छन्। केही मानिसहरूको उमेर धेरै हुँदा पनि तिनीहरू कम उमेरका देखिन्छन्। उदाहरणका लागि, कोही कोही मानिसहरू “कस्तो जवान देखिन्छ, त्यत्तिको उमेर भएजस्तो देखिंदैन” भन्ने गर्छौं। जन्ममितिले बताउने उमेर र शारीरिक अस्वस्थताले गर्दा देखिने उमेरमा भिन्नता देखाउन अनुसन्धानकर्ताहरूले शारीरिक अस्वस्थताले गर्दा देखिने उमेरलाई वृद्धावस्था भनेर वर्णन गरेका छन्।
“समय बित्दै जाँदा मानिसको शरीरको सबैजसो अंगले बिस्तारै काम गर्न छोड्ने” अवस्था नै वृद्धावस्था हो भनी जीवविज्ञानका प्राध्यापक स्टीभन एन. अस्टाड व्याख्या गर्छन्। अनि बुढ्यौलीको राष्ट्रिय संस्थाका सह-निर्देशक डा. रिचार्ड एल. स्प्रटले भनेअनुसार बुढ्यौली भनेको “शारीरिक कमजोरीहरूको सामना गर्नसक्ने अंगहरूको क्षमता सुस्त हुनु हो।” तथापि, बुढ्यौलीलाई स्पष्टसँग व्याख्या गर्नु गाह्रो छ भन्ने कुरामा थुप्रै विशेषज्ञहरू सहमति जनाउछन्। परमाणु जीवशास्त्री डा. जोन मेडीनाले यसको कारण यसप्रकार बताउँछन्: “मानिसको टाउकोदेखि खुट्टासम्म, प्रोटिनदेखि डि एन ए-सम्म, जन्मदेखि मृत्युसम्म अनगिन्ती प्रक्रियाहरूले गर्दा मानिस बूढो हुन्छ र यी प्रक्रियाहरूमा ६०० खरब कोष समावेश हुन्छ।” थुप्रै अनुसन्धानकर्ताहरू बुढ्यौली “शारीरिक परिवर्तनहरूमध्ये सबैभन्दा जटिल” हो भन्ने निष्कर्षमा पुग्नु कुनै अचम्मको कुरा होइन!