विश्वदर्शन
के नैतिकता पुनः सुध्रिंदैछ?
हालै चीनमा गरिएको सर्वेक्षणअनुसार “चिनियाँ वयस्कहरू परपुरुष वा परस्त्रीसित यौन सम्पर्क राख्नेप्रति त्यति आपत्ति जनाउँदैनन् तर अधिकांश किशोरहरू अझै पनि त्यस्तो आचरणको विरोध गर्छन्” भनी चाइना टुडे पत्रिकाले रिपोर्ट गर्छ। यो जानकारी झन्डै ८,००० मानिसहरूमा गरिएको सर्वेक्षणमा आधारित थियो। “अनैतिक सम्बन्ध राखेर अरूको विवाह तोड्ने मानिसहरूलाई आर्थिक वा अन्य तरिकामा सजाय दिनुपर्छ भन्ने कुरामा पाँच भागमा तीन भाग किशोरहरू सहमत भए भने ३७ देखि ४५ वर्षबीचका ७० प्रतिशत मानिसहरूले त्यस्ता कार्यको निम्ति कुनै सजाय दिनु हुँदैन” भनेको उक्त सर्वेक्षणले देखायो।
दयाको रूपरेखा तयार गर्ने
“साधारणतया केटाकेटीहरू ४ वर्षको नहोउञ्जेल स्वार्थी हुन्छन् तर त्यसपछि तिनीहरू समानुभूति देखाउनसक्ने हुन थाल्छन्” भनी द टरोन्टो स्टार-मा प्रकाशित रिपोर्टले बतायो। केटाकेटीलाई अरूको ख्याल राख्ने गुण विकास गर्ने मदत दिन दयालु कार्यहरू गर्न घरमै सिकाउनुपर्छ भन्ने सुझाउ दिइएको छ। सायद परिवारका सदस्यहरूले दिनभरिमा स्वेच्छाले गरेको कम्तीमा पनि दुइटा दयाका कार्यहरू रेखाचित्रमा चिह्न लगाउनसक्छन्। आफ्नो बच्चाले गरेको दयालु कार्य पनि आमाबाबुले रेखाचित्रमा चिह्न लगाउनसक्छन्। कतिपय स्कूलहरूले दादागिरीको समस्या हटाउन त्यस्ता रेखाचित्रहरू चलाउँछन्। विद्यार्थीहरूलाई अरू केटाकेटीहरूले गरेका दयालु कार्यहरू चिह्न लगाउन सिकाइन्छ। रिपोर्टअनुसार “यो कार्यले अनुकम्पा भन्ने गुण के हो भनी बुझ्न मदत गर्छ र यो कस्तो अनुभूति हो अनि व्यवहारमा उतार्नु कत्तिको महत्त्वपूर्ण छ भनी स्पष्ट पार्छ।”
परेवाहरूको पत्रमञ्जूषा अझै उपयोगी
भारतको ओरिसा प्रान्तको प्रहरी विभागसित अत्याधुनिक सञ्चार नेटवर्क सुविधा छ तर अझै “परेवा सेवा विभाग” बन्द गरेको छैन र त्यो विभागमा ८०० वटा परेवाहरू छन् भनी दी इन्डियन एक्सप्रेस रिपोर्ट गर्छ। ओरिसा प्रहरी महानिर्देशक श्री बि. बि. पान्डेअनुसार परेवाले बाढी र तुफानको बेला विगत ५० वर्षदेखि एकदमै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ र वायरलेस सञ्चार माध्यमहरूले काम नगर्दा पनि बन्द हुँदैनन्। उदाहरणका लागि, १९८२ मा बाढीले बाँकी शहर क्षतिग्रस्त हुँदा शहर र जिल्ला मुख्य कार्यालय कट्टकबीच सम्पर्क कायम गर्ने एक मात्र माध्यम यी परेवाहरू थिए। प्रथम ओरिसा परेवा विभाग १९४६ मा सुरु गरिएको थियो र ती बेल्जियन जातका घरपालुवा परेवाहरू थिए अनि यी जातका परेवा कतै नरोकी प्रति घण्टा ८०-९० किलोमिटरको दरमा ८०० किलोमिटरसम्म उड्नसक्छन्। पन्ध्रदेखि बीस वर्ष आयु भएका यी परेवाहरूलाई हाल तीन वटा केन्द्रमा ३४ जना प्रहरी जवानको निगरानीमा राखिएको छ। श्री पान्डेले यसो भने: “सेलुलर फोनको दुनियाँमा परेवाहरूको प्रयोग अत्यन्तै पुरानो लाग्ला तर तिनीहरूले यस प्रान्तमा अझै ठूलो सेवा पुऱ्याउँदै आएका छन्।”
बच्चाहरूलाई स्कूले शिक्षाको अभाव
संयुक्त राष्ट्र संघको साधारण सभाले १९४८ मा पारित गरेको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा शिक्षा पाउनुपर्ने आधारभूत अधिकार परिभाषित गरिएको थियो। थुप्रै सराहनीय प्रयासहरू गरिए तापनि लक्ष्य पूरा हुन अझ धेरै बाँकी छ। जर्मन दैनिकी आलजेमाइन जाइटुंग माइन्ज रिपोर्टअनुसार “मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र लागू गरेको ५० वर्षपछि पनि प्राथमिक शिक्षा प्राप्त गर्न नसकेका अझै १३ करोड केटाकेटीहरू छन्। यसको अर्थ विश्वका केटाकेटीको कूल संख्यामध्ये २० प्रतिशतले प्राथमिक शिक्षा पाएनन्।” संयुक्त राष्ट्र बाल कोष, जर्मनीका प्रमुख राइनहार्ट श्लाजिन्टभिटका अनुसार विश्वका सबै केटाकेटीलाई प्राथमिक शिक्षा दिन सालाखाला ७ अरब अमेरिकी डलर लाग्छ। यो रकम प्रति वर्ष युरोपेलीहरूले आइसक्रिम वा अमेरिकीहरूले श्रृंगार सामग्रीमा गर्ने खर्चभन्दा कम छ र विश्वले हातहतियारको लागि गर्ने खर्चको तुलनामा नगण्य छ।
बारम्बार विपत्ति आइपर्ने एसिया
“गत वर्ष संसारमा भएको ठूलठूला १० वटा विपत्तिमध्ये ६ वटा एसियामा भयो र यसले २७,००० को ज्यान लियो अनि ३८ अरब अमेरिकी डलर बराबरको धनमाल नोक्सान गऱ्यो” भनी साउथ चाइना मर्निङ पोस्ट बताउँछ। यसमा बंगलादेश र चीनमा आएको भयानक बाढी र इन्डोनेसियाको जंगलमा लागेको आगलागीको कारण छिमेकी राष्ट्रहरूसम्म फैलिएको तुवाँलो पनि पर्छ। एसिया तथा प्रशान्त क्षेत्रको निम्ति संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक आयोगका अनुसार “संसारका अन्य कुनै भागमा भन्दा एसियामा सबैभन्दा धेरै प्राकृतिक प्रकोपहरू हुने गर्छन्। यस २१ औं शताब्दीमा विशेष गरी एसियामा खतरा कम गर्नु सबैभन्दा ठूलो चुनौती हुनेछ।”
किन तपाईंले आफैलाई काउकुती लाउन सक्नुहुन्न
“काउकुती लाग्ने ठ्याक्क ठाउँमा पऱ्यो भने वयस्कहरू पनि चलमलाउन थाल्छन्। तर असाध्यै काउकुती लाग्ने मानिस पनि यो कुरा सुनेर ढुक्क हुनसक्छन्, आफूले आफैलाई कहिल्यै काउकुती लगाउन सकिंदैन” भनी दी इकोनमिस्ट बताउँछ। किन? हालै गरिएको अनुसन्धानअनुसार मांसपेशी समन्वय गर्ने मस्तिष्कको सेरिबेलमले गर्दा त्यसो हुन्छ। अनुसन्धानकर्ताहरूको भनाइअनुसार सेरिबेलमले चालहरू मात्र समन्वय गर्ने होइन तर परिणाम कस्तो हुनेछ भन्ने संकेतहरू पनि दिने गर्छ। अतः आफैलाई काउकुती लाउन खोज्दा सेरिबेलमले चाल त पाउँछ तर त्यसलाई दबाउँछ। अरूले काउकुती लाउँदा उत्तेजक र सेरिबेलमको हिसाबबीच तालमेल मिल्दैन र त्यस अनुभूतिलाई दबाउन सक्दैन। यसैसित मिल्दोजुल्दो न्यु योर्क टाइम्स-को एउटा लेखले यसो भन्यो: “आफैले र अरूले लगाइदिएको काउकुतीबीच मस्तिष्कले भिन्नता छुट्ट्याउन सक्छ, त्यसैकारण आफूले लगाएको काउकुतीलाई त्यति वास्ता गर्दैन र बाह्य स्रोतले गर्दा हुने अनुभूतिलाई प्राथमिकता दिन्छ।”
मोर्स कोडको उत्तराधिकारी
सन् १८३२ मा आविष्कार गरिएको मोर्स कोडले “व्यापारको विकास तथा इतिहासमै निकै ठूलो भूमिका खेलेको छ” भनी विश्वभरिका सामुद्रिक ढुवानीको नियमहरू मिलाउने संयुक्त राष्ट्रको निकायका रजर कोन भन्छन्। टाइटानिकले एस ओ एस अर्थात् तीन थोप्लो, तीन धर्को, तीन थोप्लोको संकेत १९१२ देखि समस्यामा परेका जहाजहरूले चलाउने अन्तरराष्ट्रिय स्तर नै भइसक्यो भनी द टरोन्टो स्टार बताउँछ। तर फेब्रुअरी १, १९९९ देखि अन्तरराष्ट्रिय सामुद्रिक संगठनले नयाँ भू-उपग्रह प्रणाली प्रयोगमा ल्यायो। यसले “विश्वभरिका उद्धार समन्वय केन्द्रहरूमा” जहाजको “यात्राको निम्ति तयार बटन” थिच्ने बित्तिकै स्वतः तथ्यांकहरू प्रसारण गर्छ। जहाजको नौ अंक चिनारीबाहेक “समय, जहाजको स्थान, समस्याको प्रकार वा आगलागी, बाढीदेखि लिएर जहाजमा भएको डकैती जस्ता १२ विभिन्न प्रकारका समस्याहरू” इत्यादि तथ्यांकहरू पनि प्रसारण गर्छ भनी स्टार बताउँछ। अतीतलाई सम्झँदै अझ यसो भन्छ: “राम्रा राम्रा खबरहरू संसारलाई बताउन मोर्स कोड प्रयोग गरिन्थ्यो: दुवै विश्वयुद्ध अन्त भएको घोषणा गर्न पनि यही प्रयोग गरिएको थियो।”
जुत्ताले गर्दा हुने स्वास्थ्य समस्याहरू
“चिकित्सा जगत्अनुसार हरेक ६ जना मानिसमध्ये एक जनाको खुट्टाको गम्भीर समस्या हुन्छ र यो अक्सर जुत्ताले गर्दा हो” भनी द टरोन्टो स्टार रिपोर्ट गर्छ। घुँडा, कम्मर, ढाड वा टाउको दुख्नु पनि तपाईंको जुत्ताले गर्दा हुनसक्छ। “सम्झनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, नमिल्ने जुत्ता लगाउँदा जुत्ता होइन तर तपाईंको खुट्टालाई मर्का परिरहेको हुन्छ” भनी स्टार बताउँछ। “पछि जुत्ता फुल्छ अनि ठिक्क भइहाल्छ नि भन्ने सोचेर जुत्ता नकिन्नुहोस्। पसलमा जुत्ता लगाएर हेर्दा सजिलो लाग्दैन भने नकिन्नुहोस्।” दिउँसोतिर जुत्ता किन्न जानुहोस् किनभने “अक्सर दिन ढल्कँदै जाँदा खुट्टा अलि फुक्छ” र “जुत्ता लम्बाइमा ठीक छ, छैन हेर्नुको सट्टा फाँट हेर्नुहोस्।” तथ्यांकअनुसार आइमाईहरूको खुट्टासम्बन्धी समस्या धेरै हुन्छ। भनिन्छ, ९० प्रतिशत आइमाईहरूले प्रायजसो “सानो वा अत्यन्तै कस्सिएको जुत्ता लगाउँछन्” र “चुच्चो हिल भएका जुत्ताहरूले गम्भीर समस्याहरू ल्याउँछ।” उक्त अखबारले अझ यसो भन्छ: “खुट्टामा चोट लागिसकेपछि मात्र दुख्न थाल्छ भनी सम्झनु पनि महत्त्वपूर्ण छ।”
चीनमा बाइबल प्रकाशन
“गत दुई दशकमा चीनले दुई करोडभन्दा बढी बाइबलहरू प्रकाशित गरेको छ र १९९० को दशकको सुरुदेखि यहाँ सबैभन्दा लोकप्रिय पुस्तक बाइबल भएको छ” भनी सिन्ह्वा समाचार निकाय बताउँछ। चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत विश्व धर्म संस्थाका प्राध्यापक फेङ जुयानअनुसार चीनका मसीहीहरूले दुई वटा बाइबल किन्न पाउँछन्। त्यहाँ २० वटा बेग्लाबेग्लै संस्करणहरू प्रकाशित भइसकेका छन्। जस्तै “चिनियाँ अनुवाद भएको अंग्रेजी संस्करण, परम्परागत र सरल अक्षरहरू भएको चिनियाँ संस्करण, स-साना जातीय समूहहरूको भाषामा संस्करण र सानो ठूलो दुवै प्रकारका छन्।” साथै, बाइबल कथाहरू भएका थुप्रै पुस्तकहरू पनि प्रकाशित भएका छन् र यिनीहरू बाइबलभन्दा बढी बिक्री हुने अनुमान लगाइएको छ। उक्त लेख यसो भन्छ, “१९९० को दशकदेखि बाइबल सबैभन्दा प्रभावकारी पुस्तकहरूको सूचीमा ३२ औं स्थानमा छ तर साधारणतया पश्चिमी मुलुकका मानिसहरूभन्दा चिनियाँहरू धर्मबाट एकदमै कम मात्र प्रभावित छन्।”