युवा जनहरू सोध्छन् . . .
काल्पनिक चरित्र अभिनय गर्ने खेलहरू खेल्नुमा के कुनै खतरा छ?
“यो सबै कल्पना मात्र हो। तपाईं कुनै बेला जादुगर त कुनै बेला योद्धा बन्नुहुन्छ। कल्पनामा तपाईं जे पनि बन्न सक्नुहुन्छ। के के बन्न सक्नुहुन्छ, भनेर साध्यै छैन।”—क्रिस्टफ।
“तपाईं वास्तविक जीवनमा जे बन्न सक्नुहुन्न, सबै बन्नुहोस्।” काल्पनिक चरित्र अभिनय गर्ने लोकप्रिय खेलबारे वर्णन गर्दा एउटा पत्रिकाले उक्त नारा उद्धरण गऱ्यो। लाखौं युवाजनहरूले काल्पनिक चरित्र भएका विभिन्न खेलहरू अत्यन्तै मन पराउँछन्। यद्यपि, वास्तवमा काल्पनिक चरित्र भएका खेलहरू के हुन् त?
झो डे रोल (काल्पनिक चरित्र भएका खेलहरू) नामक पुस्तकअनुसार, “खेल खेल्ने व्यक्तिले दन्त्य कथाहरूमा भएको विशेष उद्देश्यका कुनै पनि व्यक्तिको कल्पना गर्दै काल्पानिक संसारमा त्यस्तै गर्न खोज्छ।” यस्तो खेलको उद्देश्य आफूले कल्पना गरेको पात्रको जस्तै काम गर्न अनुभव, धनसम्पत्ति, हातहतियार वा जादुको शक्ति पाउनु खोज्छ।
सन् १९७० को दशकको डन्जीयन्स र ड्रागन भन्ने खेलहरूले गर्दा काल्पनिक चरित्र भएका खेलहरू लोकप्रिय हुन थालेका हुन्।a त्यहाँदेखि यता बोर्ड गेम, ट्रेडिङ कार्ड, इन्टराक्टिभ बुक, कम्प्युटर गेम र खेल खेल्ने व्यक्तिहरूले नै साहसिक कार्यहरूको अभिनय गर्नुपर्ने जीवन्त खेलहरू बनिएपछि काल्पनिक चरित्र भएका खेलहरूले अरबौं डलर कमाएका छन्। स्पष्टतया, यस्ता खेलहरू नियमित तवरमा खेल्नेहरू संयुक्त राज्यमा ६० लाखभन्दा बढी छन् भने युरोपमा चाहिं लाखौंको संख्यामा छन्। फ्रान्सका थुप्रै स्कूलहरूमा यस्ता खेलहरू खेल्ने क्लबहरू छन् भने जापानमा यस्ता खेलहरूमा सबैभन्दा लोकप्रिय भिडियो गेमहरू भएका छन्।
यस्ता खेलहरूले कल्पना गर्ने शक्ति बढाउँछ, समस्या समाधान गर्ने कौशलता विकास गर्छ अनि सामूहिक रूपमा काम गर्न प्रोत्साहित गर्छ भनी यी खेलका समर्थकहरू दाबी गर्छन्। तर अर्कोतिर यस्तो खेलको समर्थन नगर्नेहरू चाहिं यी खेलहरूले गर्दा आत्महत्या, हत्या, बलात्कार, चिहानमा जथाभाबी गर्ने र शैतानवाद जस्ता कुराहरू भएका छन् भन्छन्। स्पेनको मेड्रीडमा दुई जवानहरूलाई काल्पनिक चरित्र भएको खेल खेल्दा एक जना ५२ वर्षीय वृद्धलाई हत्या गरेको आशंकामा पक्रियो। जापानमा एक किशोरले यस्तो खेल खेल्दा खेल्दा यति बिघ्न भयो कि उसले आफ्नो आमाबाबुको हत्या गर्नुका साथै आफ्नै नाडी पनि छिनाले। हो, यस्ता घटनाहरू सामान्यतया हुने गर्दैनन् र यो खेल खेल्ने प्रायजसो मानिसहरू बुद्धिमान् र मिलनसार नै हुन्छन्। तैपनि, जवान मसीहीहरूले आफैलाई यस्ता प्रश्नहरू सोध्नु उचित छ, ‘के मैले काल्पनिक चरित्र भएका खेलहरू खेल्नु ठीक होला? के सावधानी अपनाउनु पर्ने आवश्यकता छ?’
हिंसा अनि तन्त्रमन्त्र
काल्पनिक चरित्र भएका खेलहरू विभिन्न किसिमका हुन्छन्। यसका प्रकार र विषयवस्तु पनि भिन्नाभिन्नै हुन्छन्। तथापि, यस्ता खेलमध्ये सबैमा हिंसा त नहोला तर अधिकांश खेल हिंस्रक नै हुन्छन्। साँच्चै भन्ने हो भने, यस्ता खेलहरूको काल्पनिक दुनियाँमा आफ्नो सुरक्षाको लागि हिंसा चाहिं हुन्छ हुन्छ। त्यसोभए, के यस्ता खेलहरू खेल्नु बाइबलको सल्लाहसँग मेल खान्छ? हितोपदेश ३:३१ ले भन्छ, “उपद्रव गर्ने मानिसको अनुसरण नगर्। त्यसकै चालमा चल्ने इच्छा नगर्।” बाइबलले हामीलाई हिंसाको पछि होइन ‘असलको पछि लाग्न’ आग्रह गर्छ।—१ पत्रुस ३:११.
ध्यान दिनुपर्ने अर्को कुरा हो, थुप्रै खेलहरूमा कुनै न कुनै प्रकारको जादु हुन्छ। खेल खेल्नेहरू अक्सर बिजुवा वा जादुगरहरू जस्तै बन्न पनि सकिन्छ। त्यसपछि अवरोध तथा शत्रुहरूलाई तन्त्रमन्त्रद्वारा हटाउँछन्। प्राप्त रिपोर्टअनुसार, एउटा लोकप्रिय खेलमा “प्रधान दूत वा दानव राजकुमारहरूको सेवा गर्न खेल खेल्ने व्यक्तिरूले दूत वा दानवहरूको भूमिका निर्वाह गर्ने मौका पाउँछन् . . . यो खेलले धार्मिक कुराहरूलाई जथाभाबी गरेर देखाउने हुँदा रमाइलो देखिन्छ।” एउटा कम्प्युटर गेममा त झन् “शैतान” शब्द टाइप गर्नेबित्तिकै खेल खेल्ने व्यक्ति अति शक्तिशाली भइहाल्छ।
कहिलेकाहीं मात्र खेल्नाले यस्ता खेलहरू खेल्नुमा कुनै हानि छैन भनी केही जवान मसीहीहरू तर्क गर्छन्। एक जना युवक भन्छन्, “यो एउटा खेल त हो नि।” त्यसो होला तर परमेश्वरले इस्राएलीहरूलाई तन्त्रमन्त्रमा भाग नलिनु भनेर चेतावनी दिनुभयो। “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री . . . परमप्रभुको अगि घृणित हो” भनेर मोशालाई दिएको व्यवस्थामा घोषणा गरियो।—व्यवस्था १८:१०-१२.
त्यसोभए, तन्त्रमन्त्रलाई बढावा दिने खेल खेल्नु बुद्धिमानी हो? त्यस्तो खेलमा जादुगरको भूमिका निर्वाह गर्दा “शैतानको विषय[मा] गहिरा गहिरा कुराहरू” खोतलिंदैन र? (प्रकाश २:२४) एक जना युवक यसो भन्छन्: “काल्पनिक चरित्र भएको खेल दिनभरि खेलेपछि त घरबाट बाहिर निस्कन पनि असाध्यै डर लाग्यो। मलाई कसैले हमला पो गरिहाल्छ कि जस्तो लाग्यो।” के यस्तो त्रास उत्पन्न गराउने खेल स्वस्थकर हुनसक्ला त?
अन्य कारणहरू
“समय अल्प भएको छ” भनी १ कोरिन्थी ७:२९ बताउँछ। अतः ध्यान दिनुपर्ने अर्को मुख्य कुरा हो, ती खेलहरू खेल्दा खर्च हुने समय। कुनै कुनै खेलहरू खेल्न घण्टौं, दिनौं वा हप्तौंसम्म लाग्छ। यसबाहेक, आफूले खेल्नुपर्ने कुनै भूमिका त यति मग्न र लग्गु बनाउने हुन्छ कि अन्य तमाम कामकुराहरू कम महत्त्वपूर्ण लाग्नथाल्छ। एक युवक यसो भन्छन्, “खेलको हरेक चरण पार गरेपिच्छे झन् अप्ठ्यारो चुनौतीहरू पार गर्न र खेल वास्तविक घटनाजस्तै होस् भन्ने चाहन्थें। म खेलमा लग्गू भएँ।” यस्तो लतले युवा जनहरूको स्कूलको काम र आध्यात्मिक क्रियाकलापहरूलाई कत्तिको असर गर्छ?—एफिसी ५:१५-१७.
जापानका एक युवक यसरी स्मरण गर्छन्: “खेल नखेलेको समयमा समेत म खेलको अर्को चरण कसरी खेल्नुपर्ला भनेर सोचिरहन्थें। स्कूलमा अनि सभाहरूमा पनि खेलबारे मात्र सोचिरहन्थें। यहाँसम्म कि मेरो दिमागमा खेलबाहेक अरू कुनै कुरा हुँदैनथ्यो। मेरो आध्यात्मिकता खस्किसकेको थियो।” सुरुमा उल्लिखित क्रिस्टफ तिनी कसरी “काल्पानिक संसारमा डुबेका थिए” भनी बताउँछन्। हो, ‘हाँस्ने एउटा समय र नाच्ने एउटा समय छ।’ तर मनोरञ्जनले गर्दा आध्यात्मिक क्रियाकलापहरूलाई बेवास्ता गर्नु मिल्छ र?—उपदेशक ३:४.
खेलले कस्तो मनोभावलाई बढावा दिन्छ, त्यसबारे पनि सोच्नुहोस्। फ्रान्सको एउटा पत्रिकाले काल्पनिक चरित्र भएका खेलबारे यसरी निकै प्रचारप्रसार गऱ्यो: “यसमा तपाईंले हानिकारक र भ्रष्ट अनुभव गर्नसक्नुहुन्छ, यसले तपाईंको आङै सिरिङ पार्छ र संसारप्रतिको तपाईंको दृष्टिकोण नै परिवर्तन गरिदिन्छ। के यस्तो मनोभाव “खराबीमा बालकहरू होओ” भन्ने बाइबलको सल्लाहसित मेल खान्छ? (१ कोरिन्थी १४:२०) आफूले खेलिरहेका खेलहरू “मसीही आचरणसित मेल खाँदैन” भनी अन्ततः क्रिस्टफले बुझे। तिनी अझै यसो भन्छन्: “एकातिर प्रचारमा जाने, सभाहरू धाउँने र मसीही प्रेमजस्ता राम्रा राम्रा कुराहरू सिक्ने र अर्कोतिर मसीही धर्मसित मेलै नखाने काल्पानिक चरित्र भएका खेलहरू खेल्न मेरो विवेकले नै दिएन। यो त हुनै नसक्ने कुरा थियो।”
भ्रम कि वास्तविकता
थुप्रै युवा जनहरू वास्तविकतादेखि टाढिनका लागि यस्ता खेलहरूप्रति आकर्षित हुन्छन्। तर के आफूलाई काल्पनिक दुनियाँमा धकेल्नु स्वस्थकर कुरा हो? फ्रान्सेली समाजशास्त्री लरँ ट्रमेल यस्तो टिप्पणी गर्छन्: “अनिश्चित भविष्यले रंगिएको यो वास्तविक दुनियाँ . . . र यी काल्पनिक तर अति व्यवहारिक देखिने दुनियाँबीच आकाश जमीनको फरक छ। तपाईं यी काल्पनिक तर अति व्यवहारिक देखिने दुनियाँको खेलमा खप्पिस भएर आफूले चाहेको काल्पनिक पात्रले जस्तै गर्नसक्नुहुन्छ।” मानसिक स्वास्थ्य विशेषज्ञ इटी बूजिन अझ यसो भन्छिन्: “काल्पनिक चरित्र भएका खेलहरू खेल्दा युवा जनहरू आफूले खतरापूर्ण जिन्दगी बिताइरहेको अनि संसार पुनर्निमाण गरिरहेका छौं भन्ठान्छन् तर वास्तवमा तिनीहरू एउटै खतरा पनि मोल्न सक्दैनन्। तिनीहरू समाज र समाजको दायरादेखि भागिरहेका छन्।”
यसरी भाग्दा आखिरमा निराश हुनुपर्छ किनकि खेल सिद्धिनासाथ जीवनका वास्तविकताहरू जहाँको त्यहीं हुन्छन्। ती वास्तविकताहरूबाट भाग्न सकिंदैन। साँच्चै भन्ने हो भने, काल्पनिक चरित्र अभिनय गर्दा जतिसुकै सफलता प्राप्त गरे तापनि वा जुनसुकै साहसिक कार्य गरे तापनि त्यसले वास्तविक जीवनका असफलताहरूको क्षतिपूर्ति गर्दैन। अतः जीवनका वास्तविकताहरू सामना गर्नु नै सबैभन्दा बुद्धिमानी कार्य हो! जीवनका वास्तविक परिस्थितिहरू सामना गरेर आफ्नो ज्ञानेन्द्रिय तिखार्नुहोस्। (हिब्रू ५:१४) समस्याहरू सामना गर्न सक्षम बनाउने आध्यात्मिक गुणहरू विकास गर्नुहोस्। (गलाती ५:२२, २३) यसो गर्नु खेल खेल्नुभन्दा कता हो कता सन्तोषजनक र इनामदायी हुन्छ।
यसको मतलब, काल्पनिक चरित्र भएका सबै खेलहरू हानिकारक हुन्छन् भन्ने होइन। बाइबल समयमा स-साना केटाकेटीहरू काल्पनिक तथा काल्पनिक चरित्र भएका खेलहरू खेल्थे र त्यसबारे येशूसमेतले कुरा गर्नुभयो। (लूका ७:३२) येशूले अहानिकारक मनोरञ्जनको निन्दा गर्नुभएन। तथापि, जवान मसीहीहरू तथा आमाबुबाहरूले ‘प्रभुलाई मनपर्ने के हो, सो जाँच्नुपर्छ।’ (एफिसी ५:१०) कुनै खेल खेल्नुअघि आफूलाई यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘के यसले “शरीरको काम” झल्काउँछ? यसले परमेश्वरसँगको सम्बन्धमा बाधा पो पुऱ्याउँछ कि?’ (गलाती ५:१९-२१) यस्ता कुराहरू विचार गरेर काल्पनिक चरित्र भएका खेलहरूबारे तपाईं बुद्धिमानी निर्णय गर्न सक्नुहुन्छ।
[फुटनोट]
a मार्च २२, १९८२ को ब्यूँझनुहोस्! पृष्ठ २६-२७ हेर्नुहोस्।
[पृष्ठ १५-मा भएको चित्र]
काल्पनिक चरित्र भएका खेलहरूले कस्तो मनोभावलाई बढावा दिन्छ?