प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ११/८ पृ. ४-७
  • युद्ध, यो पछि के हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्ध, यो पछि के हुनेछ?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • युद्धहरू बेकार हुन्‌ भन्‍ने धारणा
  • शान्ति ल्याउने विश्‍वव्यापी प्रयास
  • भावी युद्धको रूप
  • समस्या के हो?
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • युद्ध
    ब्यूँझनुहोस्‌!—२०१७
  • एउटा डरलाग्दो रहस्यको समाधान
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ११/८ पृ. ४-७

युद्ध, यो पछि के हुनेछ?

“विगत ४,००० वर्षको दौडान दोहऱ्‍याई तेहऱ्‍याई गरिएको परीक्षणको कारण युद्ध गर्ने बानी नै बसिसक्यो” भनी सैन्य इतिहासकार जोन किगनले टिप्पणी गरे। के त्यो बानी छोड्‌न सकिन्छ? युद्धले गर्दा असंख्य जीवन बलिदान भएका छन्‌। युद्धमा अत्यन्तै धेरै उर्जा र स्रोत खर्च गरिएको छ। मार्ने र नाश गर्ने नयाँ उत्तम तरिकाहरू पत्ता लगाउन थुप्रै बुद्धिमान्‌ मानिसहरू खट्टिइरहेको शताब्दीऔं भइसक्यो। के मानिसहरू शान्ति फैलाउन पनि त्यस्तै उत्सुकता देखाउँछन्‌ त? अहँ, पटक्कै देखाउँदैनन्‌! तैपनि आशा राख्ने केही आधार छ भनी थुप्रैले सावधानीसाथ तर्क गर्छन्‌।

युद्धहरू बेकार हुन्‌ भन्‍ने धारणा

यस्तो आशा राख्नुको एउटा कारण हो, सभ्य मानिसहरूको आजभोलि युद्धबारे दृष्टिकोण परिवर्तन भइसक्यो। भनिन्छ, १३ औं शताब्दीका मंगोली योद्धा गेन्गिस खानले यसो भने: “आनन्द भनेकै आफ्नो शत्रुमाथि विजय हासिल गर्नु, आफ्नो उपस्थितिबाटै तिनीहरूलाई भगाउनु, तिनीहरूको सम्पति खोस्नु, तिनीहरूको दुःखमा मजा लिनु र तिनीहरूका पत्नी तथा छोरीहरूलाई बलात्कार गर्नु हो।”

वर्तमान समयका विश्‍व नेताहरूले अहिले त्यस्तो वक्‍तव्य दिने कल्पनासमेत गर्न सक्दैनौं! युद्धको इतिहास नामक पुस्तक यसो भन्छ: “युद्ध गर्नु उचित कुरा हो भनेर तर्कपूर्ण समर्थन गर्ने मानिस अहिले विश्‍वभरिमा एक जना भेट्टाउन पनि धौधौ पर्छ।” आजकाल युद्ध गर्नु स्वाभाविक, महिमित वा महान्‌ कार्य हो भन्‍ने विचार राखिंदैन। यस २० औं शताब्दीका युद्धहरूमा भएका मारकाटहरूको कारण मानिसजातिले युद्धलाई घृणा गर्नुका साथै डरले थरथर भएका छन्‌। हिंसाप्रति यस्तो घृणाको कारण थुप्रै देशहरूमा मृत्युदण्ड नै हटाइएको छ र सैन्य गतिविधिहरूमा भाग लिन अस्वीकार गर्ने मानिसहरूप्रति सहानुभूति देखाउन थालिएको छ भनी एक लेखकले बताए।

मनोवृत्तिहरूमा परिवर्तन हुनुको कारण मारकाटप्रति घोर घृणा मात्र होइन। अर्को महत्त्वपूर्ण कारण आफ्नो बचाउ पनि हो। साधारण तथा आधुनिक आणविक हतियारहरू यति शक्‍तिशाली छन्‌ कि कुनै दुई प्रमुख शक्‍तिहरूबीच युद्ध भएमा दुवै पक्ष स्वाहा हुने खतरा छ। ठूलो युद्ध सुरु गर्नु भनेको पागलपन हो र यो आत्मघाती हुन्छ। विगत ५० वर्षमा आणविक युद्ध सुरु नगर्नुको कारण यही हो भनी थुप्रै मानिसहरू बताउँछन्‌।

कोही कोही मानिसहरूले भविष्यबारे बेग्लै विचारधारा राख्नुको अर्को कारण पनि छ। सबै स्वाहा हुने भएकाले मात्र ठूलठूला युद्धहरू बेकार भनिएको होइन तर यसमा विजयी हुने कुनै कुरा छैन। ठूलो युद्धको सम्भाव्यता विरुद्ध यस्तो आर्थिक तर्क दिइन्छ: विश्‍वका धनी तथा शक्‍तिशाली राष्ट्रहरूबीच आर्थिक सहयोग भएमा धेरै लाभ हुन्छ। यी राष्ट्रहरूले शान्तिको बेला पाउने भौतिक लाभहरू युद्धको बेला हुने लाभहरूसित तुलना गर्नै मिल्दैन। अतः शक्‍तिशाली राष्ट्रहरूले एकअर्कासित शान्तिमय सम्बन्ध कायम राख्नुपर्ने ठोस कारण छ। यसबाहेक, तिनीहरूको विद्यमान आर्थिक स्थितिलाई खतरामा पुऱ्‍याउने कुनै पनि कम शक्‍तिशाली राष्ट्रहरूबीचको झगडालाई रोक्दा पनि तिनीहरूकै भलाइ हुन्छ।

शान्ति ल्याउने विश्‍वव्यापी प्रयास

युद्ध अन्त गर्ने चाहना संयुक्‍त राष्ट्रको बडापत्रमा व्यक्‍त गरिएको छ। सदस्य राष्ट्रहरूको संकल्प यसरी लेखिएको छ: “हाम्रो जीवनकालभित्र मात्रै दुई पटक [दुई विश्‍वयुद्धहरूको कारण] सम्पूर्ण मानवजातिमाथि आइपरेको अनगिन्ती दुःखबाट भावी पुस्तालाई बचाउने।” भावी पुस्तालाई युद्धबाट बचाउने संकल्प सामूहिक सुरक्षा व्यवस्थाको धारणामा व्यक्‍त गरिएको थियो। सामूहिक सुरक्षा व्यवस्थाको धारणाअनुसार कुनै पनि आक्रमणकारी राष्ट्र विरुद्ध सबै राष्ट्रहरू एक हुनुपर्छ। अतः कुनै राष्ट्रले युद्ध गर्ने सुर गऱ्‍यो भने अन्तरराष्ट्रिय समुदायको क्रोध सामना गर्नुपर्नेछ।

सैद्धान्तिक दृष्टिकोणले यो धारणा सरल र तार्किक छ, तर त्यसलाई व्यवहारमा उतार्नु अर्कै कुरा हो। दी इनसाइक्लोपीडिया ब्रिटानिका यस्तो टिप्पणी गर्छ: “सामूहिक सुरक्षा व्यवस्थाले राष्ट्र संघको प्रतिज्ञापत्र र संयुक्‍त राष्ट्रको बडापत्रमा भिन्‍न भिन्‍न रूपमा महत्त्वपूर्ण भूमिका खेले तापनि यो पूर्णतया असफल भएको छ। विभिन्‍न विवादहरूमाथि अन्तिम निर्णय गर्ने अन्तरराष्ट्रिय सरकारको कमीले गर्दा कस्तोलाई आक्रमण भन्‍ने कुरामा राष्ट्रहरू सहमत हुन सकेका छैनन्‌, अपराधी जोसुकै किन नहोस्‌, आक्रमणकारी विरुद्ध कारवाही गर्नुपर्छ भन्‍ने सिद्धान्त व्यवहारमा लागू हुनसकेको छैन र फलतः बडापत्रमा परिकल्पना गरिएको सामूहिक सुरक्षा व्यवस्था कार्यान्वयन भएको छैन।”

यद्यपि, शान्ति कायम गर्न जाति, राष्ट्र वा कुनै पनि मतभेद नभएको निकाय स्थापना गर्ने कुरा मानिसहरूको निम्ति नौलो थियो। शान्तिको तृष्णा गर्ने थुप्रै मानिसहरूको निम्ति संयुक्‍त राष्ट्रका नीलो टोपी लगाउने शान्ति सेना अझै आशाका प्रतीक हुन्‌। तिनीहरूको विचार एक पत्रकारसित मिल्छ। तिनले “युद्धग्रस्त ठाउँमा युद्ध लड्‌न होइन तर शान्ति कायम राख्न र शुत्रहरूसित लड्‌न होइन तर मित्रहरूलाई मदत गर्न जाने शान्ति सेनाको” प्रशंसा गरे।

शीतयुद्धको कारण संयुक्‍त राष्ट्र दुई शक्‍तिशाली गुटमा दशकौंसम्म विभाजित रह्‍यो र एकअर्काका योजनाहरू विफल पार्ने कोसिस गर्थ्यो। शीतयुद्धको अन्तले राष्ट्रहरूबीच झगडा, अविश्‍वास र शंका अन्त नगरे तापनि वर्तमान राजनैतिक परिस्थितिलाई हेर्दा संयुक्‍त राष्ट्रलाई जुन परिकल्पना गरेर स्थापना गरिएको थियो, त्यो पूरा गर्ने अत्युत्तम मौका अहिले छ भन्‍ने धारणा थुप्रैले राख्छन्‌।

बीसौं शताब्दीका अन्य प्रगतिहरूले पनि शान्तिको तृष्णा गर्ने मानिसहरूलाई आशा प्रदान गर्छ। उदाहरणका लागि, अन्तरराष्ट्रिय कूटनीतिको उद्देश्‍य शान्तिपूर्ण ढंगमा मतभेदहरू सुल्झाउने हो। मानवतावादी सहयोगहरूले राष्ट्रहरू पुनर्निर्माण गर्न र युद्धग्रस्त इलाकाका मानिसहरूलाई सघाउन मदत गर्छ। शान्ति स्थापना गर्ने कार्य र मानवतावाद दुवै परराष्ट्र नीतिको महत्त्वपूर्ण भाग भइसक्यो। शान्ति प्रवर्धन गर्नेहरूको सम्मान गरिन्छ।

भावी युद्धको रूप

तथापि, आशाका कुनै भावनामा बग्दा वास्तविकताका दुःखद्‌ घटनाहरू पनि बिर्सनु हुँदैन। सन्‌ १९८९ मा शीतयुद्ध अन्त हुँदा थुप्रैले शान्तिमय संसारको आशा राखे। तर युद्धहरू भइरहे। त्यसपछिको सात वर्षको दौडान विभिन्‍न ठाउँहरूमा १०१ वटा जति युद्धहरू भए। तीमध्ये अधिकांश युद्धहरू राष्ट्रहरू-बीच नभई राष्ट्र-भित्रै थियो। ती, विद्रोही समूहहरूबीच साधारण हतियारहरू प्रयोग गरिएका थिए। उदाहरणका लागि, रूवाण्डामा चक्कुद्वारा थुप्रै मारिए।

अक्सर, आधुनिक युद्धभूमिहरू शहर तथा गाउँहरू भएका छन्‌ अनि योद्धा र नागरिकहरूबीच खासै भिन्‍नता हुँदैन। अन्तरराष्ट्रिय शान्ति कायम राख्ने केन्द्रका निर्देशक माइकल हारबोटलले यस्तो लेखे: “पहिला पहिला युद्धको कारण केही हदसम्म बताउन सकिन्थ्यो भने अहिले एकदमै जटिल हुनुका साथै नियन्त्रणमा राख्न अत्यन्तै गाह्रो भएको छ। युद्धमा हुने हिंसा पत्याउनै गाह्रो र शत प्रतिशत अतार्किक छ। युद्धभूमिका योद्धाहरू सर्वसाधारण नागरिकहरू मारिने संख्या झन्डै झन्डै उस्तै भएको छ।” त्यस्ता कुनै अत्याधुनिक हतियारहरू प्रयोग नहुने लडाइँहरू नामेट हुने पनि कुनै छाँटकाँट देखिंदैन।

अर्कोतर्फ, पृथ्वीका सम्पन्‍न राष्ट्रहरूमा उच्च प्रविधिका हतियारहरू द्रुतगतिमा बनिंदैछन्‌। सेन्सर—हावा, अन्तरिक्ष, समुद्र वा जमिन, जतासुकै राखे तापनि यसको मदतद्वारा आधुनिक सेनाहरूले जंगल जस्तो एकदमै अप्ठ्यारो भौगोलिक ठाउँमा समेत आफ्नो निसाना तुरुन्तै पत्ता लगाइहाल्छ। सेन्सरले आफ्नो निसाना भेट्टाएपछि क्षेप्यास्त्र, जल गोला वा लेसरद्वारा सञ्चालन हुने बमहरू ठ्याक्कै तारोमा प्रहार गर्नसक्छ। नयाँ प्रविधिहरू झन्‌ झन्‌ पोख्त र संगठित पार्दै लैजाँदा “टाढा टाढा युद्ध गर्ने” कुरा यथार्थतामा परिणत हुँदै गएको छ अनि सेनाहरूले सबै कुरा देख्न, प्रहार गर्न र आफ्नो शत्रुको सबै ध्वंस गर्नसक्छन्‌।

भविष्यमा हुने युद्धको सम्भाव्यतालाई विचार गर्दा आणविक युद्धको खतरालाई नकार्न सक्दैनौं। द फ्युचरिस्ट पत्रिकाले यस्तो पूर्वानुमान गर्छ: “परमाणु हतियारहरू छ्यासछ्यासती उपलब्ध हुँदै गएपछि अर्को तीस वर्षमा एउटा वा बढी परमाणु युद्ध हुने सम्भावना पनि बढ्‌नेछ। साथै, आतंककारीहरूले पनि परमाणु हतियारहरू चलाउने सम्भावना छ।”

समस्या के हो?

विश्‍वशान्ति ल्याउने प्रयास विफल तुल्याउने तत्त्व के हो? एउटा स्पष्ट कारण हो, मानव परिवार विभाजित छ। मानव परिवार अनेकन्‌ राष्ट्र तथा संस्कृतिमा टुक्रिएको छ र तिनीहरू एकअर्कालाई अविश्‍वास र घृणा गर्छन्‌। एकअर्कासित डराउँछन्‌। एकअर्कासित नमिल्ने मूल्यमान्यता, विचार तथा लक्ष्यहरू छन्‌। यसबाहेक, राष्ट्रिय सुरक्षाको निम्ति सेनाको प्रयोग उचित हो भन्‍ने धारणा राखेको पनि शताब्दीयौं भइसक्यो। यस्तो परिस्थितिलाई मानिलिंदै सं.रा. युद्ध सेना कलेजको युद्धकला अध्ययन संस्थाको रिपोर्टमा यस्तो उल्लेख गरियो: “थुप्रैले यस्तो परिस्थितिको कारण विश्‍व सरकार स्थापना भएपछि मात्र शान्ति आउनेछ भन्‍ने अर्थ लगाए।”

कसै कसैले संयुक्‍त राष्ट्र नै त्यो सरकार होला भन्ठान्छन्‌। तर संयुक्‍त राष्ट्रलाई यसका सदस्य राष्ट्रहरूले जति शक्‍ति दिन्छन्‌, त्यति मात्र शक्‍तिशाली हुन्छ। सदस्य राष्ट्रहरूबीच शंका उपशंका र विवाद हटेको छैन र तिनीहरूले सं.रा.-लाई सीमित शक्‍ति मात्र दिएका छन्‌। त्यसकारण, अन्तरराष्ट्रिय व्यवस्थालाई मजबुत बनाउनुको साटो सं.रा. केवल आफ्ना सदस्य राष्ट्रहरूको जति शक्‍ति छ, त्यतिमै सीमित छ।

तर जे होस्‌, विश्‍व शान्ति अवश्‍य आउनेछ। त्यो कसरी आउनेछ, यसपछिको लेखले बताउनेछ।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मानिसजातिले युद्धको अन्त गर्नुपर्छ नत्र युद्धले मानिसजातिको अन्त गर्नेछ।”—जोन एफ. केनेडी

[पृष्ठ ७-मा भएको चित्र]

संयुक्‍त राष्ट्र विश्‍व सरकार बनेको छैन

[स्रोत]

UN photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने