आइरिश सिकारीकुकुरबारे जानकारी लिनुहोस्
आयरल्याण्डका ब्यूँझनुहोस्! संवाददाताबाट
“यो, कुकुरजगत्को अजङको प्राणी भए पनि भलादमी छ।” यो आइरिश सिकारीकुकुरबारे गरिएको बयान थियो। तपाईंले कहिल्यै देख्नुभएको छ? हुन त हो, अहिले आयरल्याण्डमा ब्वाँसोहरू छैनन्। तर पहिला पहिला भने थिए। त्यहाँ बँदेल तथा बडेमानका जरायोहरू पनि थिए। भनिन्छ, आयरल्याण्डको अन्तिम ब्वाँसो लगभग दुई सय वर्षअघि मारिए। त्यसअघि सिकारीकुकुरहरू ब्वाँसो तथा अन्य ठूलठूला जनावरहरूका सिकारी भनी कहलिएका थिए। संयुक्त राज्यको रकी पर्वतमालामा पठाइएको एउटा सिकारीकुकुरबारे एउटा हालैको कथा छ। त्यो कथाअनुसार १८९२ मा त्यसले “जाडो महिनाभरिमा एक्लैले चालीसवटा ब्वाँसो मारेको थियो।” नडराउनुस्, नडराउनुस्। ब्वाँसो सिकार गर्ने यी कुकुरहरूले मानिसहरूको सिकार गर्दैनन्, हो मान्छे मार्दैनन्!
केही इतिहासकारले यी सिकारीकुकुर आयरल्याण्डमा सा.यु.पू. ५०० भन्दा अघिदेखि नै थिए होला भन्ने अनुमान गरेका छन्। इन्डो-यूरोपेली मूलका मानिसहरूले यी सिकारीकुकुरलाई पछि सिकार गर्न मात्र नभई अन्य काममा पनि प्रयोग गर्न थाले। दन्त्यकथा तथा इतिहासअनुसार आयरल्याण्डका राजा तथा योद्धाहरूले रणभूमिमा पनि यी कुकुर लग्थे।
कुकुरहरूको एउटा विशेष जातिको रूपमा यी सिकारीकुकुरको ख्याति सारा संसारमा फैलियो। यी कुकुरहरू रंगशालामा प्रदर्शन गर्न रोममा पनि लगिए। क्विन्टास अरेलियस सिम्कस नाउँका रोमी अधिकारीबारे एउटा अभिलेखअनुसार आयरल्याण्डका सातवटा आइरिश सिकारीकुकुर रोममा पठाएकोमा धन्यवाद दिंदै तिनले आफ्नो भाइलाई सा.यु. ३९३ मा चिठी लेखेका थिए। कुकुरहरू देखेर रोमीहरू निकै दंग परे। “सबै रोमीहरूले आश्चर्य मान्दै हेर्थे” भनी सिम्कसले लेखे, “अनि यी जनावरहरूलाई फलामको खोरमा हालेर ल्याए होलान भनी सोचे।”
कुकुरहरू अजङका हुनाले फलामे खोरहरूमा राखेर ल्याएको होला भन्ने तिनीहरूले अड्कल काटे। भालेहरूका कुमसम्मको उचाइ करिब ८६ सेन्टिमिटरसम्म अग्ला हुन्छ भने कुनै कुनै त्योभन्दा पनि ठूला हुन्छन्। थाह हुन आएअनुसार यस्ता सिकारीकुकुरमध्ये सबैभन्दा अग्लोको उचाइ लगभग १०० सेन्टिमिटर थियो। प्रायजसो पोथी चाहिं भालेभन्दा केही सेन्टिमिटर होचा हुन्छन्। अग्लो हुने हुनाले सजिलैसित धेरै खाना खानसक्छन्। स्कटल्याण्डका उपन्यासकार सर वल्टर स्कटले आफ्नो साथीलाई बेलुकी खाना खाने बेला होसियार हुन चेताउनी दिए। अन्यथा, “नाकको टुप्पादेखि पुच्छरसम्मको लम्बाइ दुई मिटर” भएको त्यस साथीको सिकारीकुकुरले “टेबल वा मेचमा आफ्नो पन्जा नबिसाइकनै सजिलैसित तिनको थालको खाना चाटचुट पार्न” सक्थ्यो।
यी कुकुरहरू जन्मँदा सानै हुन्छन्। भनौं भने, यसको तौल ७०० ग्राम जति मात्र हुन्छ। तर तिनीहरू चाँडै हुर्कन्छन्। एक जना स्नेही मालिक्नीले ती छाउराहरू “सानो छँदा मायालाग्दो देखिन्छन्” तर तिनीहरू हुर्कंदा भने “ती साना मोटाघाटा भकुन्डेहरू हलक्क बढेर दुब्ला पातला र अग्ला हुन्छन्। तिनीहरूको जीउ कमलो भए पनि धेरैको खुट्टा लामा लामा हुन्छन्।”
तिनीहरू धेरै भुक्दैनन्। तिनीहरू बलिया तर शान्त स्वभावका हुन्छन्। तर तिनीहरूको भुकाइ सुनेपछि सायद कसैले बिर्संदैन होला। यी सिकारीकुकुरको आवाज सुन्ने एक जना व्यक्तिकाअनुसार यसको जस्तो “तीखो र कहालीलाग्दो आवाज [तिनले] कहिल्यै सुनेका थिएनन्” भनी अरू मानिसहरू बताउँछन्।
भनिन्छ, यी आइरिश सिकारीकुकुरहरूका “डरलाग्दा आँखा, घुम्रेका आँखीभौं अनि शरीरमा गाढा खरानी रंगको झ्यापझ्याप्ती भुत्ला हुन्छ।” यो कुकुर देख्ने बित्तिकै नतर्सिने त कोही पनि हुँदैन। तर यी कुकुरहरू “असाध्यै दयालु हुने भएकाले केटाकेटीलाई पनि खेल्न दिए हुन्छ” भन्ने गरेको पाइन्छ। यी कुकुरबारे राम्रो ज्ञान भएका एक जना मालिकअनुसार तिनीहरू साँच्चै “एकदमै मायालु प्राणीहरू हुन्।” अनि तिनीहरू खरानी रंगका मात्र हुँदैनन्। कुनै कुनै सेतो, गहुँगोरो, रातो वा कालो भुवा भएका पनि हुन्छन्।
आयरल्याण्डका प्रख्यात लेखक अलिभर गोल्डस्मिथले तिनीहरूको असाध्यै प्रशंसा गरेका छन्। तिनले भने, “आइरिश विशाल सिकारीकुकुर साँच्चै रहरलाग्दो अनि भयंकर छ, . . . अनि यो संसारभरकै कुकुरहरूमध्ये सबैभन्दा अजङको छ।” तिनको भनाइअनुसार कुकुरहरूको आँखीभौं, परेला तथा दाह्रीहरू हेर्दा एकदमै हट्टाकट्टा अनि दह्रिलो देखिएकाले यिनीहरूलाई “आइरिश सिकारीकुकुर भन्ने नाउँ दिनु एकदमै उपयुक्त छ।”
उसोभए, यी कुकुरहरू किन लोप हुने स्थितिमा पुगेका त? एउटा कारण तिनीहरूको लोकप्रियता नै हो। यसलाई मन पराउनेहरूले यसलाई सम्राट्जस्ता महत्त्वपूर्ण व्यक्तिलाई पठाउने बहुमूल्य उपहार ठाने। त्यसैले यी कुकुरहरूको “माग बढ्यो र संसारका टाढा टाढासम्म पठाइयो।” परिणामस्वरूप, तिनीहरू एउटा दुइटा गरेर संसारभरि छरिए। त्यसबाहेक, ब्वाँसो सिकार गर्ने तिनीहरूको उपयोगिता घटेपछि आयरल्याण्डमा यी कुकुरहरूलाई बेवास्ता गर्न थालियो।
सन् १८३९ मा सिकारीकुकुर प्रेमीले यस दुःखद परिस्थितिबारे यसरी लेखे: “कुकुरहरूको यो विशेष जाति लोप हुँदै जानु अति दुःखलाग्दो कुरा हो अनि यसलाई जोगाउन विशेष प्रयास नगरिएमा केही वर्ष भित्रै यो लोप हुनेछ।” त्यसबेला यस्ता कुकुरहरू थोरै थिए त्यसैले आफूकहाँ भएको सिकारीकुकुर नै “अन्तिम होला” भनेर दाबी गर्नु कुनै नौलो कुरा थिएन। तर तिनीहरू लोप भएनन्।
जर्ज ए. ग्राहामजस्ता मानिसहरूको ‘विशेष प्रयासले’ तिनीहरू बचे। तिनले १८६२ मा ती सिकारीकुकुरहरूको बिजोग देखे। बाँकी रहेका सिकारीकुकुरहरू जम्मा गर्न तिनले यथासक्य प्रयास गरे। ती कुकुरहरूको सन्तान बढाउन र तिनीहरूलाई आजको अवस्थामा पुऱ्याउन आवश्यक पूर्वाधार तयार पारे। एक जना इतिहासकारले १८९३ मा भनेअनुसार तिनले नगरेका भए “आज यी कुकुरहरूको शक्तिशाली जातिको कुनै चिनो पनि रहने थिएन।”
आइरिश सिकारीकुकुरका प्रेमी तथा संरक्षिका फाइलस गार्डनरले यस्तो लेखिन्: “यो संसारमा केही पनि निश्चित छैन। तैपनि, लोप हुनै लागेका यी कुकुरहरूको संरक्षण गरियो र यिनीहरूको लोकप्रियतामा कुनै कमी आएको छैन।”
[पृष्ठ १७-मा भएको चित्र]
सिकारीकुकुरका लगभग चार हप्ता जति पुगेका छाउराहरू
[पृष्ठ १७-मा भएको चित्र]
उत्तरी आयरल्याण्ड, न्यूटानार्डज्को शान्त स्वभावका सिकारीकुकुर