प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १/८ पृ. २२-२४
  • मैले क्रेडिट कार्ड लिए कसो होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले क्रेडिट कार्ड लिए कसो होला?
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खर्च हिसाब गर्ने
  • क्रेडिट कार्डको उचित प्रयोग
  • फाइदाहरूबाट लाभान्वित
  • रगतबाट अलग रहन हामीलाई मदत गर्ने नयाँ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२००४
  • के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • प्रश्‍नपेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • पैसाको सदुपयोग
    ब्यूँझनुहोस्‌!—२०१९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १/८ पृ. २२-२४

युवा जनहरू सोध्छन्‌ . . .

मैले क्रेडिट कार्ड लिए कसो होला?

“सोह्र वर्षको हुँदा मैले क्रेडिट कार्ड लिने पहिलो विज्ञापन हुलाकबाट पाएँ। . . . अनि १८ वर्ष पुगुञ्जेल मेरो थाप्लोमा ६०,००० अमेरिकी डलरको ऋण परिसकेको थियो।”—क्रिस्टिन।

शुरुमा क्रिस्टिनले आफ्नो क्रेडिट कार्ड आपत्‌कालीन अवस्थामा मात्र चलाउने योजना बनाएकी थिइन्‌ अनि कहिलेकाहीं आफूलाई मनपरेका चीजहरू किन्‍न पैसा प्रयोग गर्न नमिल्दा त्यो कार्ड चलाउने विचार गरेकी थिइन्‌। तर कहाँ त्यसो भयो र। क्रिस्टिन बताउँछिन्‌, “मैले जथाभावी किनमेल गर्न र क्याटलग हेरेर देखेजति सबै अर्डर गर्नथालें। मैले आफूलाई मनै नपरेका चीजहरू पनि किन्‍नथालें।” तर क्रेडिट कार्डहरूबारे क्रिस्टिनको अहिले भिन्‍नै दृष्टिकोण छ। “त्यो सानो प्लास्टिकको कार्डले मेरो जीवन यत्तिको गोलमाल गर्ला भनेर मैले सोचेकै थिइनँ।”–  टीन पत्रिका।

यो अनुभव क्रिस्टिनको मात्र होइन। आज यो सानो प्लास्टिकको टुक्रा अथवा क्रेडिट कार्डको प्रयोगले थुप्रै युवाहरू आर्थिक संकटको बाटोतिर धकेलिंदै छन्‌। कुनै कुनै परिस्थितिमा यस्ता कम्पनीहरूले युवाहरूलाई नै लक्ष्य बनाइरहेका हुन्छन्‌। थुप्रै खर्चालुहरूका निम्ति वित्तीय सल्लाहकार जेन ब्रायन्ट क्विनअनुसार क्रेडिट कार्ड “वित्तीय कुलत” हुनसक्छ भनी ती कम्पनीलाई थाह छ जस्तो देखिन्छ। “तिनीहरू जति धेरै प्रयोग गर्छन्‌ त्यति नै त्यो छोड्‌न गाह्रो हुन्छ।”

हो, क्रेडिट कार्ड फाइदाजनक हुनसक्छ। जस्तै, कुनै आपत्‌कालीन अवस्था आइपर्दा वा नगद बोकेर हिंड्‌नु उपयुक्‍त नहुँदा। संयुक्‍त राज्य तथा अरू देशहरूमा क्रेडिट कार्ड एकदमै लोकप्रिय हुनुको एउटा कारण यो पनि हो। तथापि, यसलाई होसियारी साथ चलाइएन भने ऋणको भुमरीमा फसिनसक्छ। तसर्थ, “टोरोन्टोको क्रेडिट काउन्सेलिङ सर्भिससित मदत मागिरहेका २० देखि २३ वर्ष उमेर पुगेकाहरूको संख्यामा” तीन गुणा वृद्धि भएको कुरा टोरोन्टो ग्लोब एण्ड मेल-को रिपोर्टले देखायो। रिपोर्टअनुसार प्रायजसोको ऋण २५,००० क्यानेडियाली डलर थियो र यसको प्रमुख कारण क्रेडिट कार्ड नै थियो।

तपाईंले पनि क्रेडिट कार्ड लिनु आवश्‍यक छ? यो तपाईंको आमाबाबुले निर्णय गर्नुपर्ने कुरा हो। उहाँहरूको विचारमा तपाईंले कार्ड लिने बेला भएको छैन भने हतार नगर्नुहोस्‌। तपाईंले अहिले नै बुद्धिमान्‌ भई खर्च गर्ने बानी बसाल्नुभएको छ भने सायद उहाँहरूले त्यति थुप्रो पैसाको जिम्मा लगाउनुहुनेछ। (लूका १६:१० तुलना गर्नुहोस्‌।) त्यतिञ्जेल, क्रेडिट कार्ड प्रयोग गर्नु भनेको गाडी हाँक्नु जस्तै हो, यसको फाइदा बेफाइदा दुवै छ।

खर्च हिसाब गर्ने

क्रेडिट कार्डबाट किनमेल गर्नु भनेको वास्तवमा पैसा सापट लिनु बराबर हो। उधारो लिएपछि पैसा तिर्नैपर्छ। (हितोपदेश २२:७) तर क्रेडिट कार्डबाट खरिद गरिने मालसामानहरूको लागि तपाईं कसरी तिर्नुहुन्छ?

तपाईंले क्रेडिट कार्डबाट गर्नुभएको किनमेल र तिर्न बाँकी रकमबारे हरेक महिनाको अन्ततिर स्टेटमेन्ट पठाइन्छ। त्यो स्टेटमेन्टले तपाईंले तुरुन्तै तिरिहाल्नुपर्ने रकम पनि बताउँछ। प्रायजसो, यो रकम थोरै हुन्छ। अतः, तपाईं सोच्नुहोला, ‘यति त ठीकै हो नि। मैले यो न्युनतम रकम मात्र हरेक महिना तिरें भने मेरो ऋण चुक्‍ता भइहाल्छ नि।’ तथापि, तोकिएको म्याद सिद्धिएपछि भने तपाईंले तिर्नुपर्ने ऋणमै ब्याज लाग्न थाल्छ। क्रेडिट कार्डमा यस्तो ब्याजदर धेरै हुनसक्छ।a

जोसेफलाई विचार गर्नुहोस्‌। तिनको एउटा महिनाको स्टेटमेन्टमा १,००० अमेरिकी डलरको मौज्दात थियो। हो, त्यसबेला तिनले न्यूनतम मूल्य अर्थात्‌ मात्र २० डलर तिर्नुपर्थ्यो। तर तिनले आफ्नो स्टेटमेन्टलाई ध्यानसित हेर्दा त्यस महिना तिर्नुपर्ने फाइनान्स चार्ज १७ डलर जति थियो! यसको अर्थ जोसेफले २० डलरको न्यूनतम रकम तिर्दा १,००० डलरको ऋण चुक्‍ता गर्न त्यस महिना जम्मा ३ डलर मात्र छुट पाइरहेको हुन्छ!

तपाईंले न्यूनतम रकम मात्र तिर्नुभयो भने क्रेडिट कार्डको बिल चुक्‍ता गर्न कति समय लाग्छ होला? फेडरल ट्रेड कमिशन र अमेरिकन एक्सप्रेसले छापेको पुस्तिकामा अनुमानित उदाहरण उल्लेख गर्दै यस्तो टिप्पणी गरिएको छ: “मानौं, तपाईंले २,००० डलर तिर्न बाँकी छ। त्यसका लागि १८.५ प्रतिशत ब्याजका साथै मासिक न्यूनतम मूल्य मात्र तिरेर ऋण चुक्‍ता गर्न ११ वर्ष लाग्छ। त्यसमा पनि थप ब्याजदर मात्र १,९३४ डलर तिर्नुपर्छ। यसको अर्थ, खरिद मूल्यको दोबर तिर्नुपर्ने हुन्छ।”

यसबाट तपाईंले थाह पाउनुभयो होला कि होसियार भएन भने यो क्रेडिट कार्डले गर्दा तपाईं गम्भीर आर्थिक संकटमा फस्न सक्नुहुन्छ। क्रिस्टिन भन्छिन्‌, “मैले त हरेक कुराको डबल मोल तिरिरहेकी थिएँ। अनि पैसा तिर्न गाह्रो भइरहेको बेलामा पनि, ढिलो पैसा तिरेको भनेर अझ जरिवाना तिर्नुपर्थ्यो। मेरो त दिमागले नै काम गर्न छोड्यो।”

क्रेडिट कार्डको उचित प्रयोग

“अहिले किन्‍नुस्‌, पछि तिर्नुस्‌” भनेर लेखिएका पसलहरूमा जानु कत्ति खतरनाक रहेछ भनी क्रिस्टिनले आफ्नो तीतो अनुभवबाट थाह पाइन्‌। ऋणको भार चर्किनसक्छ अनि तपाईंले थाह पाउनुहुँदा मासिक न्यूनतम मूल्य भनेर तिरिरहेको त फाइनान्स चार्ज मात्र तिरिरहनुभएको हुनेछ। त्यस्तो कार्डको उचित प्रयोग गर्नेहरू यस्तो आर्थिक संकटबाट कसरी जोगिन्छन्‌?

● आफूले के के खरिद गरेको हो, त्यसको होस गर्छन्‌ अनि आफूले किनेको सामानको लागि मात्र पैसा चढाइएको हो कि होइन भनेर मासिक स्टेटमेन्ट राम्ररी हेर्छन्‌।

● तिनीहरूले आफ्ना क्रेडिट इतिहास राम्रो होस्‌ भनेर बिलहरू समयमै भुक्‍तानी गर्छन्‌। यसो गर्दा पछि जागिरका लागि सिफारिस दिंदा, बिमा गराउँदा, गाडी वा घर किन्दा सजिलो हुन्छ।

● सम्भव भएसम्म आफूले तिर्नुपर्ने रकममा उच्च ब्याजदर चार्ज नगरियोस्‌ भन्‍ने हेतुले तिनीहरूले पूरै रकम तिरिहाल्छन्‌।

● आफूले कारोबार गरिरहेको व्यक्‍ति वा कम्पनीसित राम्ररी परिचित नभएसम्म तिनीहरू आफ्नो क्रेडिट कार्ड नम्बर र अन्तिम म्याद फोनबाट बताउँदैनन्‌।

● तिनीहरूले आफ्ना क्रेडिट कार्ड कसैलाई पनि भनौं भने आफ्नै साथीलाई पनि सापट दिंदैनन्‌। किनभने त्यस कार्डको दुरुपयोग भयो भने त्यसको सीधै असर त्यस कार्ड मालिक-लाई पर्दछ।

● तिनीहरू बैंकको कार्डजस्तै छिट्टै धनराशि जम्मा गर्ने हिसाबले क्रेडिट कार्डहरूको प्रयोग गर्दैनन्‌। नबिर्सनुहोस्‌, यसबाट नगद लिनुभयो भने खरिद गर्नेबेलाभन्दा चर्को ब्याज तिर्नुपर्छ।

● तिनीहरू आफूले पाउने हरेक क्रेडिट कार्ड सिफारिस पत्रहरू भरेर पठाउँदैनन्‌। प्रायजसो जवानहरूका लागि एउटा मात्र कार्ड भए पुग्छ।

● तिनीहरू नोट प्रयोग गरिरहेका हुँदैनन्‌ तर पैसा नै खर्च गर्दैछन्‌ भन्‍ने राम्ररी बुझेर क्रेडिट कार्ड होसियारी साथ चलाउँछन्‌।

फाइदाहरूबाट लाभान्वित

तपाईंसित अहिले क्रेडिट कार्ड छ वा लिने विचार गरिरहनुभएको भएपनि यसका फाइदा तथा खतराहरूबारे राम्ररी जानकारी लिनुहोस्‌। आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: मलाई क्रेडिट कार्ड किन चाहिएको छ? भौतिक सामानहरू पाउन, अत्याधुनिक फेसन गर्न वा साथीहरूलाई प्रभावित पार्न? मैले प्रेरित पावलले ‘खाने र लाउने’ विषयमा उल्लेख गरेका कुराहरूमा नै सन्तुष्ट हुन सिक्नुपरिरहेको पो छ कि? (१ तिमोथी ६:८) क्रेडिट कार्डको ऋणले गर्दा दुःखलाग्दो आर्थिक बोझमा फसेर जीवनका महत्त्वपूर्ण कुराहरूलाई मैले ध्यान दिन नसक्ने पो हो कि?—मत्ती ६:३३; फिलिप्पी १:८-११.

यी कुराहरू मनमा राख्दै तपाईंका आमाबाबुसित छलफल गर्नुहोस्‌। त्यसो गर्नुभयो भने क्रेडिट कार्ड पाए पनि नपाए पनि थुप्रैको टाउको खाने यो झन्झटमा तपाईं पर्नुहुनेछैन।—हितोपदेश २२:३.

[फुटनोट]

a तपाईंको क्रेडिट कार्ड दाता कम्पनीले लिने ब्याजदर, दर्ता फाराम वा मासिक स्टेटमेन्टको वार्षिक ब्याजदर प्रतिशत भनेर उल्लेख गरिएको ठाउँमा हेरेर पत्ता लगाउन सक्नुहुन्छ।

[पृष्ठ २४-मा भएको पेटी]

आमाबाबुको सहमति हुनुको महत्त्व

युवाहरूले क्रेडिट कार्ड लिने आवेदन फाराम सर्वप्रथम हुलाकबाट पाउँछन्‌। भनौं भने, कोही कोहीले थुप्रै आवेदन फारामहरू पाउँछन्‌। “यस्ता क्रेडिट कार्ड दाताहरू युवाहरूलाई कार्ड वितरण गर्न तीव्र प्रतिस्पर्धा गरिरहेका छन्‌” भन्दै जेन ब्रायन्ट क्विन भन्छन्‌, “किनभने अध्ययनले देखाएअनुसार युवाहरूले क्रेडिट कार्ड पाइसकेपछि हतपत छाड्‌दैनन्‌।”

ती कार्ड दाताहरूलाई रकम चुक्‍ता हुनेछ भनेर ढुक्क हुन त्यस्तो आवेदन फाराममा क्रेडिट इतिहास राम्रो भएका आमाबाबु वा अन्य कुनै वयस्कले सही गर्नुपर्छ। दुःखको कुरा, थुप्रै युवाहरूले यसो गर्दैनन्‌। एउटी केटीले आफ्नी हजूरआमालाई थाहै नदिई मुख्य सिफारिस कर्तामा तिनको नाम लेखिन्‌ र साझेदारी सिफारिस कर्ताको ठाउँमा आफ्नो नाउँ लेखिन्‌। ती हजुरआमाले हजारौं डलर ऋण तिर्नु परेको थाह पाउँदा कस्तो हालत भयो होला, कल्पना गर्नुहोस्‌ त!

आफ्नो आमाबाबु वा अन्य वयस्क व्यक्‍तिको किर्ते सही गरेर क्रेडिट कार्डको लागि सिफारिस गर्नु बेइमानी हो अनि यसो गर्न परमेश्‍वरले निषेध गर्नुभएको छ। (हितोपदेश ११:१; हिब्रू १३:१८) त्यसैले तपाईंलाई पनि क्रेडिट कार्ड चाहिन्छ भने आफ्ना आमाबाबुसित कुरा गर्नुहोस्‌। उहाँहरूको सहमति हुनु तपाईंलाई सधैंभरिको लागि उत्तम कुरा हो। नबिर्सनुहोस्‌, तपाईंका आमाबाबुहरूसित ऋण चुक्‍ता गर्ने सन्दर्भमा अनुभव छ र उहाँहरूले तपाईंलाई पनि राम्रो सरसल्लाह दिन सक्नुहुन्छ। त्यसैले उहाँहरूसित कुरा गर्नुहोस्‌ र कहिल्यै पनि बेइमानी गरेर क्रेडिट कार्ड लिन नखोज्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

क्रेडिट कार्डलाई जथाभाबी चलाउँदा आर्थिक संकटमा फसिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने