प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १/८ पृ. २०-२४
  • मलाई सम्हाल्ने आशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई सम्हाल्ने आशा
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “झारफुक गर्नु त राम्रो हो नि”
  • “तिम्रो आमा बित्नुभयो”
  • “हे परमेश्‍वर, तपाईं साँच्चै हुनुहुन्छ भने”
  • युगान्डामा मैले आशा नगरेका घटनाहरू भए
  • ‘यसलाई सुरुदेखि अन्तसम्मै पढ्‌नुहोस्‌’
  • डोनेट्‌स्कमा फर्केपछि
  • “प्योतरले तपाईंलाई खोज्दै छन्‌”
  • विगतलाई होइन, भविष्यलाई हेर्दै
  • “म पहिलाजस्तो रिसाहा स्वभावको छैनँ”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • परमेश्‍वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवाले मलाई ‘सही बाटो देखाउनुभएको छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मजस्ती लजालु केटी पनि मिसनरी बन्‍न सकेँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ १/८ पृ. २०-२४

मलाई सम्हाल्ने आशा

टाटयाना भिलेस्काको वृत्तान्तमा आधारित

हाम्रै घरमा आमालाई पिटेर मारेपछि हाम्रो सुखी परिवार भताभुंग भयो। त्यसको चार महिनापछि बुबाले आत्महत्या गर्नुभयो। त्यसपछि मेरो पनि बाँच्ने रहर मऱ्‍यो। तर यो कथा बताउन आजसम्म जीवित रहन सक्नुको कारण के हो? ल सुन्‍नुहोस्‌ मेरो कथा।

पूर्वी युक्रेनको डोनेट्‌स्क शहर विभिन्‍न धातुहरूको भट्टी र कोइला खानीहरूको शहर हो। यहाँका दस लाखभन्दा बढी मानिसहरू रूसी भाषा बोल्छन्‌ र तिनीहरू परिश्रमी अनि मित्रैला छन्‌। तिनीहरूमध्ये कोही कोही ज्योतिष विद्या अथवा प्रेतवादमा विश्‍वास गर्छन्‌ र थुप्रैले आफ्नो भविष्य जान्‍न जन्मकुन्डली चलाउँछन्‌। अरूचाहिं रूसी भाषामा कोल्डन्स भनिने जादुगरहरूसित सरसल्लाह माग्छन्‌। यीमध्ये केही मानिसहरू रोगबिमारबाट निको हुन अथवा रमाइलोको लागि मात्र भए पनि मरेकाहरूसित सम्पर्क गर्न खोज्छन्‌।

बुबा जुत्ता बनाउने काम गर्नुहुन्थ्यो। उहाँ आफूलाई नास्तिक भनेर चिनाउनुहुन्थ्यो। तैपनि, अवश्‍यै हामीलाई कसै न कसैले यस पृथ्वीमा राखेको हुनुपर्छ भनेर उहाँ कता कता महसुस गर्नुहुन्थ्यो। उहाँ यसो भन्‍नुहुन्थ्यो: “हामी यस ग्रहमा केही दिनको पाहुना मात्र हौं।” आमाचाहिं हरेक इस्टरको दिन चर्च जानुहुन्थ्यो किनभने उहाँ भन्‍नुहुन्थ्यो, “यदि परमेश्‍वर हुनुहुन्छ र उहाँको अस्तित्व छ भने हामी जानुपर्छ।” म १९६३ को मे महिनामा जन्मेकी थिएँ। हाम्रो सुखी परिवारमा मेरी दिदी लुबोफ अनि सानो भाइ अलेक्जेन्डर थिए।

“झारफुक गर्नु त राम्रो हो नि”

हाम्रो नातेदार प्योतरलाईa कोइला खानीमा काम गरिरहेको बेला दुर्घटनामा परेर टाउकोमा चोट पुगेको हुनाले विशेष क्लिनिकमा उपचार गराउनुपऱ्‍यो। आफ्नो स्वास्थ्यबारे चिन्तित भएर उहाँले कोल्डन-सित सल्लाह माग्नुभयो। जादुगरले उहाँलाई आत्मिक संसारसित सम्पर्क गराइ दिए। उहाँको श्रीमती तथा मेरो परिवारले उहाँलाई जादुगरी वाहियात हो भनेर सम्झाउँदा पनि उहाँलाई त्यस्तो लागेन। उहाँले निर्धक्कसित यसो भन्‍नुभयो, “म धामी झाँक्रीको काम सिक्दैछु। बोक्सीविद्याचाहिं हानिकारक हो तर झारफुक गर्नु त राम्रो हो नि।”

प्योतरले आफूसँग भविष्य बताउने अनि मानिसहरूलाई हानि नोक्सानीबाट बचाउने शक्‍ति छ भनेर दाबी गर्नुहुन्थ्यो। तैपनि, उहाँलाई श्रीमतीले छाडेर जानुभयो। त्यसैले, बेला बेलामा प्योतर हामीकहाँ बस्न आउनुहुन्थ्यो र कहिलेकाहीं त हप्ताभरि नै बस्नुहुन्थ्यो। उहाँले हाम्रो परिवारमा नराम्रो असर पार्नुभयो। जेहोस्‌, आमा र बुबाको सधैं चर्को भनाभन हुन थाल्यो। पछि उहाँहरू छुट्टिनुभयो र पारपाचुके गर्नुभयो। हामी केटाकेटीहरूचाहिं आमासित अर्को डेरामा सऱ्‍यौं र हाम्रो मामा पर्ने प्योतर पनि हामीसितै बस्न आउनुभयो।

लुबोभ दिदी बिहे पश्‍चात्‌ आफ्नो श्रीमान्‌सित अफ्रिकाको युगान्डामा बसाइँ सर्नुभयो। अक्टोबर १९८४ मा अलेक्जेन्डर बिदा मनाउन गयो र मचाहिं एक हप्ताको लागि गोर्लोभ्का शहरमा घुम्न गएँ। मैले घर छोड्‌दा आमासित सामान्य बिदावारी मात्र गरेकी थिएँ। त्यसबेला मैले उहाँसित अझ बढी कुरा गरेको अथवा घरमै बसेको भए कत्ति राम्रो हुन्थ्यो जस्तो लाग्छ! किनभने मैले त्यसपछि आमालाई कहिल्यै पनि देख्न पाइनँ।

“तिम्रो आमा बित्नुभयो”

म गोर्लोभ्काबाट फर्कंदा कोठामा ताला लगाइएको थियो र त्यहाँ भित्र पस्न मनाही गर्दै प्रहरीले एउटा पुर्जी टाँसेको थियो। मेरो मनमा चिसो पस्यो। म छिमेकीकहाँ गएँ। ओल्गा त साह्रै दुःखी भएर बोल्नसमेत सकिनन्‌। मलाई उहाँको श्रीमान्‌ले मायालु ढंगमा यसो भन्‍नुभयो: “टान्या, एकदम दुःखद घटना भयो। तिम्रो आमा बित्नुभयो। प्योतरले उहाँलाई मारे। त्यसपछि हाम्रो डेरामा आएर तिनले प्रहरीलाई फोन गरे अनि त्यसपछि आत्मसमर्पण गरे।”

प्रहरीले उक्‍त डरलाग्दो घटनाको पुष्टि गरेपछि हाम्रो कोठाको साँचो मलाई दिए। मलाई प्योतरदेखि असाध्यै घृणा लाग्यो। रिसको झोंकमा मैले उहाँका जादुगरीसम्बन्धी धेरैजसो पुस्तकहरू र अरू चीजबीजहरू एउटा तन्‍नामा पोको पारेर नजिकैको खेतमा लगेर जलाइ दिएँ।

अलेक्जेन्डरले पनि त्यो कुरा सुन्यो र प्योतरलाई घृणा गर्न थाल्यो। त्यसपछि अलेक्जेन्डर सेनामा भर्ती भएर अर्कै ठाउँमा सरुवा भयो। बुबा मसँगै बस्न थाल्नुभयो र लुबोभ दिदी केही समय हामीसितै बस्न युगान्डाबाट आउनुभयो। कहिलेकाहीं, हामीलाई दुष्ट आत्मिक शक्‍तिहरूले दुःख दिइरहेको प्रस्टै हुन्थ्यो। त्यसबाहेक, बुबाले नराम्रा सपनाहरू देख्न थाल्नुभयो। उहाँलाई आमाको मृत्युको दोषी आफै रहेछु जस्तो लाग्न थाल्यो। “म उनीसँगै बसेको भए उनी यति चाँडो मर्ने थिइनन्‌” भनेर उहाँ भनिरहनुहुन्थ्यो। त्यसको धेरै समय नबित्दै बुबा पनि निराशाको सिकार हुनुभयो। आमाको मृत्यु भएर चार महिना नबित्दै उहाँले पनि आत्महत्या गर्नुभयो।

उहाँको अन्त्येष्टिपछि अलेक्जेन्डर सेनामै फर्के र लुबोभ पनि युगान्डा फर्कनुभयो। मैले घरबाट ३० मिनेट टाढा पर्ने माकेयेभ्का इन्स्टिच्युट अफ कन्स्ट्रक्शन इन्जिनियरिङमा अध्ययन गर्दै नयाँ जीवन सुरु गर्ने प्रयास गरें। मैले केही सम्झनाहरूलाई बिर्सने आशामा घरलाई मर्मत गरेर सजाएँ। तैपनि, यहाँ अझै प्रेतात्माहरूले दुःख दिइरहेको स्पष्ट थियो। राती डरलाग्दा आवाजहरू सुन्थें र डरै डरमा मेरो रात बित्थ्यो।

“हे परमेश्‍वर, तपाईं साँच्चै हुनुहुन्छ भने”

अलेक्जेन्डरले आफ्नो सैनिक सेवा पूरा गरेर घर फर्क्यो। तर हामीबीच तर्कवितर्क हुन थाल्यो। उसले बिहे गऱ्‍यो र केही महिनाको लागि म पनि घरबाट १७० किलोमिटर टाढा अजोभ समुद्र किनारामा पर्ने रूसी शहर रोस्टोभमा सरें। अन्ततः प्योतरका मालसामानहरू मकहाँ एउटै पनि नराख्ने निधो गरें।

असाध्यै निराश भएर मैले पनि आत्महत्या गर्ने विचार गर्न थालें। तर आमाका यी शब्दहरू मेरो कानमा सधैं गुन्जिरहन्थे: “यदि परमेश्‍वर हुनुहुन्छ र उहाँको अस्तित्व छ भने।” एक रात मैले जीवनमै पहिलोपल्ट प्रार्थना गरें। मैले यसरी बिन्ती गरें, “हे परमेश्‍वर, यदि तपाईं हुनुहुन्छ भने कृपया मलाई जीवनको अर्थ देखाइ दिनुहोस्‌।” त्यसको केही दिनपछि मैले लुबोभबाट चिठी पाएँ र उहाँले मलाई युगान्डा आउने आग्रह गर्नुभएको रहेछ। त्यसैले, मैले आत्महत्या गर्ने आफ्नो योजनालाई केही समयको लागि स्थगित गरें।

युगान्डामा मैले आशा नगरेका घटनाहरू भए

युक्रेन र युगान्डाजस्ता आकाश जमिनको फरक ठाउँहरू संसारमा कमै होलान्‌। म चढेको हवाईजहाज मार्च १९८९ एन्टेब्बेमा अवतरण गऱ्‍यो। मैले हवाईजहाजबाट बाहिर पाइला राख्ने बित्तिकै चुलोमा खुट्टाले टेकेझैं लाग्यो। यस्तो गर्मी मैले जिन्दगीमा कहिल्यै महसुस गरेकी थिइनँ! यसमा अचम्म मान्‍नुपर्ने कुनै कुरा छैन किनभने सोभियत संघ बाहिर यो मेरो पहिलो यात्रा थियो। यहाँ मानिसहरू अंग्रेजी बोल्थे जुन भाषा म बुझ्दिनथें।

म एउटा ट्याक्सीमा चढें र ४५ मिनेटको यात्रा गरेर कम्पाला पुगें। त्यहाँको दृश्‍य मैले देख्ने गरेको दृश्‍यभन्दा धेरै भिन्‍न भएको हुनाले मलाई त अर्कै ग्रहमा पुगें जस्तो लाग्यो! तर त्यो हँसिलो ड्राइभर दयालु थिए अनि तिनले लुबोभ र जोसेफ भिनाजुको घर पत्ता लगाइदिए। मलाई साह्रै ढुक्क लाग्यो!

लुबोभ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहनुभएको रहेछ। मैले तिनीहरूबारे कहिल्यै सुनेकी थिइनँ तर लुबोभ दिदी मलाई तिनीहरूबारे बताउन उत्सुक हुनुहुन्थ्यो। मलाई घर घुमाउने क्रममा उहाँले उत्पत्तिदेखि प्रकाशसम्म आफूले सिकिरहेका कुराहरू पनि बताउन थाल्नुभयो। साँच्चै भन्‍ने हो भने, मलाई सुन्दा सुन्दा वाक्क लागिसकेको थियो!

एक दिन लुबोभसित अध्ययन गर्ने साक्षीहरू हामीलाई भेट्‌न आए। तिनीहरूमध्ये एक जनाको नाउँ मारीयान थियो। मैले त्यसबेला अंग्रेजी नबुझ्ने हुँदा उहाँले मलाई प्रचार गर्न खोज्नुभएन। तर उहाँको न्यानो, मित्रैलो आँखाबाट उहाँ निष्कपट अनि आनन्दित व्यक्‍ति हुनुपर्छ भनेर झल्कन्थ्यो। उहाँले मलाई “हेर! म सब थोक नयाँ तुल्याउँदैछु।” भन्‍ने पुस्तिकामा भएको प्रमोदवनको चित्र देखाउनुभयो। उहाँले यस्तो आग्रह गर्नुभयो, “यस आइमाईलाई हेर्नुहोस्‌, यो तपाईं हो अनि त्यो अर्को आइमाईचाहिं म हुँ। हामी प्रमोदवनमा यी अरू मानिसहरूसँगै हुनेछौं। कस्तो राम्रो, हैन र?”

कम्पालाका अरू साक्षीहरू लुबोभ र जोसेफलाई पालैपालो भेट्‌न आउँथे। तिनीहरू निकै मित्रैला भएका हुनाले मलाई कतै पट्टाउन खोजिरहेका पो हुन्‌ कि जस्तो लाग्यो। केही हप्तापछि म पहिलोपल्ट सभामा उपस्थित भएँ र त्यो पनि प्रभुको साँझको भोजको उत्सवको दिन थियो। (लूका २२:१९) त्यहाँ भनिएका कुराहरू मैले नबुझे तापनि त्यहाँका मानिसहरूको मित्रैलो व्यवहारले मलाई असाध्यै प्रभाव पाऱ्‍यो।

‘यसलाई सुरुदेखि अन्तसम्मै पढ्‌नुहोस्‌’

मारीयानाले मलाई रूसी बाइबल दिनुभयो र यो मेरो पहिलो बाइबल थियो। उहाँले यस्तो आग्रह गर्नुभयो, “यो बाइबललाई सुरुदेखि अन्तसम्मै पढ्‌नुहोस्‌। तपाईंले बुझ्नुभएन भने पनि केही छैन, तर पढ्‌नचाहिं नछोड्‌नुहोस्‌!”

मलाई मारीयानाको उपहार साह्रै मन पऱ्‍यो र उहाँको सल्लाह पालन गर्ने निधो गरें। मैले मनमनै सोचें, ‘यदि मैले पढ्‌दै पढिनँ भने बाइबल आफूसित भएको के महत्त्व रहन्छ र?’

युक्रेन फर्कंदा मैले मेरो बाइबल पनि सँगै लगें। अर्को केही महिना मैले रूसको मस्कोमा काम गरें र फुर्सतको समयमा बाइबल पढ्‌थें। नौ महिनापछि फेरि युगान्डा फर्कंदासम्म मैले यसको आधाजति पढी सिध्याइसकेकी थिएँ। पछि कम्पाला फर्केपछि मारीयानाले मलाई बाइबलबाट हाम्रो भविष्यबारे अद्‌भुत आशा देखाइन्‌। प्रमोदवन! पुनरुत्थान! आमाबुबालाई फेरि देख्न पाउने आशा! त्यसपछि मैले यो डोनेट्‌स्कमा छँदा गरेको प्रार्थनाको जवाफ हो भन्‍ने महसुस गरें।—प्रेरित २४:१५; प्रकाश २१:३-५.

हामीले दुष्टात्माबारे अध्ययन गर्दा मैले अन्दाज गर्दै निकै उत्सुकतासाथ ध्यान दिएर सुनें। बाइबलले मेरो शंकालाई सत्य साबित गऱ्‍यो। मन्त्रतन्त्र भनेको कुनै असल, कुनै खराब भन्‍ने हुँदैन। यी सबै खतरै खतराले भरिएका छन्‌। हाम्रो आफ्नै परिवारमा भएका घटनाहरूले गर्दा मलाई धेरै प्रमाण खोजिरहनु परेन। प्योतरका सबै चीजबीजहरू जलाउँदा अन्जानमा मैले सही कार्य गरिरहेकी थिएँ। प्रारम्भिक मसीहीहरूले पनि यहोवाको सेवा गर्न थाल्दा आफ्ना जादुगरी गर्ने सबै चीजबीजहरू जलाएका थिए।—व्यवस्था १८:९-१२; प्रेरित १९:१९.

बाइबलबारे जतिबढी सिक्दै गएँ मैले सच्चाइ पाएको रहेछु भनेर निर्धक्क भएँ। मैले धूम्रपान गर्न छाडें र १९९० डिसेम्बरमा यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिन बप्तिस्मा लिएँ। लुबोभले मैलेभन्दा तीन महिनाअगाडि र जोसेफ भिनाजुले सन्‌ १९९३ मा बप्तिस्मा लिनुभयो।

डोनेट्‌स्कमा फर्केपछि

सन्‌ १९९१ मा म डोनेट्‌स्क फर्कें। त्यसै वर्ष युक्रेनमा यहोवाका साक्षीहरूले कानुनी मान्यता प्राप्त गरे। यसको मतलब हामीले खुल्लमखुल्ला सम्मेलन गर्ने र प्रचार गर्नसक्ने भयौं। हामीले सडकमा कुराकानी गर्न समय दिनसक्ने सबैसित कुरा गर्न थाल्यौं। अनि धेरैजसोले आफूलाई नास्तिक भन्‍न रुचाउने ठाउँहरूमा समेत मानिसहरू परमेश्‍वरको राज्यबारे जान्‍न उत्सुक भएको हामीले पायौं।

सन्‌ १९९० को सुरुतिर साहित्यहरू पर्याप्त मात्रामा थिएनन्‌। त्यसैकारण डोनेट्‌स्कको सडकहरूमा हामीले घुम्ती पुस्तकालय खोल्यौं। हामीले शहरको खुला मैदानमा पुस्तक तथा पुस्तिकाहरू अरूले देख्ने गरी राख्न एउटा टेबल राख्यौं। चाँडै नै मित्रैला अनि जिज्ञासु मानिसहरू एकछिन त्यहाँ रोकिएर हामीलाई प्रश्‍न सोध्थे। अनि साहित्य लिन चाहनेहरूले यो सापटी लिन्थे र तिनीहरूलाई हामी गृह बाइबल अध्ययनको प्रस्ताव राख्थ्यौं।

मैले १९९२ मा अग्रगामी अर्थात्‌ यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक भएँ र सेप्टेम्बर १९९३ मा मैले जर्मनीको सेल्टरस्थित वाच टावर सोसाइटीको शाखा कार्यालयमा अनुवादकहरूको टोलीमा काम गर्ने निम्तो पाएँ। सेप्टेम्बर १९९८ मा हामीलाई पोल्याण्डको वार्सामा सारियो र युक्रेनको लिभफमा नयाँ शाखा कार्यालयहरू नबनुञ्जेल हामी यहीं बस्यौं।

युक्रेनमा यहोवाका साक्षीहरूको संख्यामा निकै वृद्धि भयो। डोनेट्‌स्कमा १९९१ सम्म एउटै मात्र मण्डली र त्यसमा ११० जना साक्षीहरू थिए भने अहिले ३,००० भन्दा बढी साक्षीहरू २४ वटा मण्डलीमा भेला हुन्छन्‌! पछि १९९७ मा डोनेट्‌स्क जाँदा म आनन्दित त भएँ नै तर मलाई चिन्तित तुल्याउने एउटा घटना पनि भयो।

“प्योतरले तपाईंलाई खोज्दै छन्‌”

डोनेट्‌स्कमा छँदा हाम्रो परिवारलाई चिन्‍ने जुलिया नाउँकी साक्षीले यसो भन्दा मलाई असाध्यै डर लाग्यो: “प्योतरले तपाईंलाई खोज्दैछन्‌। तिनी तपाईंसित कुरा गर्न चाहन्छन्‌।”

त्यो साँझ म घरमा असाध्यै रोएँ र यहोवालाई प्रार्थना गरें। प्योतरले मलाई खोज्नुको कारण के होला? अपराधले गर्दा उहाँले निकै वर्ष थुनामा बस्नुपरेको कुरा मलाई थाह थियो। उहाँले जे गर्नुभयो, त्यसको लागि म उहाँलाई घृणा गर्थें र यहोवाको नयाँ संसारबारे सिक्न उहाँ योग्य छैनन्‌ जस्तो लाग्थ्यो। मैले केही दिन यसबारे प्रार्थना गरें र त्यसपछि अनन्त जीवन पाउन योग्य छ कि छैन भनेर निर्णय गर्ने काम मेरो होइन भन्‍ने महसुस गरें। मैले येशू ख्रीष्टले आफूसँगै झुन्ड्याएर मारिएको एक जना अपराधीलाई तिनी पनि उहाँसँगै प्रमोदवनमा हुनेछन्‌ भनेर गर्नुभएको प्रतिज्ञा सम्झें।—लूका २३:४२, ४३.

यी कुराहरू सोच्दै मैले प्योतरलाई भेटेर मसीही राज्य र परमेश्‍वरको नयाँ रीतिरिवाजबारे साक्षी दिने निर्णय गरें। दुई जना मसीही भाइहरूलाई साथमा लिएर म जुलियाले दिएको ठेगानामा गएँ। त्यहाँ, आमाको मृत्युपछि पहिलोपल्ट प्योतरसित मेरो आमने सामने भेट भयो।

त्यहाँको वातावरण संवेदनशील थियो। म एक जना यहोवाका साक्षी भइसकेको र यस रीतिरिवाजमा हामीले समस्याहरू र कहिलेकाहीं व्यक्‍तिगत विछोडको पनि सामना गर्नुपर्छ भनेर बाइबलले बुझ्न मदत गरेको कुरा उहाँलाई बताएँ। मैले हाम्री आमा र त्यसपछि बुबालाई गुमाउनु पर्दा कस्तो दुःख लाग्यो भनेर पनि बताएँ।

प्योतरले आफूलाई एउटा आवाजले मेरी आमालाई मार्नु भनेको हुनाले उहाँलाई मारेको र त्यस दिन अरू के के घटना भयो सबै वर्णन गरे। मैले जसै उहाँको डरलाग्दो कथा सुनें, अब उहाँप्रति मलाई घृणा होइन बरु दया लाग्नथाल्यो किनभने उहाँ सिकारीले खेदेको जनावरजस्तै छटपट्याइ रहनुभएको थियो। उहाँले बोल्न सिध्याएपछि मैले बाइबलमा गरिएका केही अद्‌भुत प्रतिज्ञाहरू देखाउने प्रयास गरें। उहाँले येशूलाई विश्‍वास गर्छु भनेको हुँदा मैले सोधें:

“तपाईंसित बाइबल छ?”

“अहँ छैन। तर मैले एउटा मगाएको छु” भनेर उहाँले जवाफ दिनुभयो।

“बाइबलअनुसार साँचो परमेश्‍वरको नाउँ यहोवा हो भनेर त सायद तपाईंले थाह पाइसक्नुभयो होला।”—भजन ८३:१८.

त्यो नाउँ सुनेपछि प्योतर एकदमै छटपटाउन थाल्यो। “त्यो नाउँ मेरोअगाडि नलेऊ” भन्दै उहाँ कराउन थाल्नुभयो। “म त्यो नाउँ सुन्‍नै सक्‍तिनँ।” हामीले परमेश्‍वरका अद्‌भुत प्रतिज्ञाहरू प्योतरलाई बताउन निकै प्रयास गऱ्‍यौं तर केही सीप लागेन।

यसबाट मेरो मनमा एउटा कुरा स्पष्ट भयो: मैले यहोवालाई नचिनेको भए, आमालाई जस्तै मलाई पनि मारिने थियो। मैले पनि बुबाले जस्तै आत्महत्या गर्नसक्थें। अथवा प्योतरले जस्तै भयानक कार्यहरू गर्न पुग्थें होला। साँचो परमेश्‍वर यहोवालाई चिन्‍न पाएकोमा म साह्रै आभारी छु!

विगतलाई होइन, भविष्यलाई हेर्दै

यी हृदयविदारक अनुभवले मेरा भावनाहरूमा अमेट छाप पारेको छ। अहिले पनि यी सम्झनाहरूले गर्दा म दुःखी अनि विचलित हुन्छु। तर यहोवा अनि उहाँका उद्देश्‍यहरू थाह पाएपछि मैले बिस्तार बिस्तारै बल प्राप्त गर्न थालें। बाइबल सत्यले मलाई विगतमा होइन तर भविष्यमा ध्यानकेन्द्रित गर्न सिकायो। अनि यहोवाले आफ्ना सेवकहरूका लागि साँच्चै महान्‌ भविष्य साँचेर राख्नुभएको छ!

यसमा भविष्यमा मरेका व्यक्‍तिहरूको पार्थिव प्रमोदवनमा पुनरुत्थान पनि समावेश छ। म मेरो आमाबुबालाई पुनः स्वागत गर्न पाउँदा कत्ति धेरै आनन्दित हुनेछु होला! अतः बुबाले भन्‍नुभएको यो कुरा पनि एक किसिमले ठीकै थियो: “हामी यस ग्रहमा पाहुना मात्र हौं।” अनि परमेश्‍वरको अस्तित्व छ भन्‍ने आमाको विश्‍वास एकदमै सही थियो। परमेश्‍वरको नयाँ रीतिरिवाजमा आमा र बुबाको पुनरुत्थान हुँदा उहाँहरूलाई बाइबलका सच्चाइ सिकाउने मेरो हार्दिक चाहना छ।

(g00 12/22)

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

[पृष्ठ २४-मा भएको ठूलो अक्षरको क्याप्सन]

आमाको मृत्युपछि पहिलोपल्ट उहाँको हत्यारासित मेरो आमने सामने भेट भयो

[पृष्ठ २३-मा भएको चित्र]

मैले युगान्डामा अध्ययन गरेका मिसनरीहरू, मारीयान र हाइन्ज भर्टोल्जद्वारा अँगालो हालिंदै

[पृष्ठ २३-मा भएको चित्र]

कम्पालामा मेरो बप्तिस्मा

[पृष्ठ २४-मा भएको चित्र]

पोल्याण्डमा युक्रेनी अनुवाद टोलीको सदस्यको हैसियतमा काम गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने