प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ६/८ पृ. २४-२७
  • घानाको सफारीमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घानाको सफारीमा
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मोले राष्ट्रिय निकुञ्जमा
  • बजारमा
  • पिग्मीज्‌बाट हामीले सिकेको कुरा
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००१
g०१ ६/८ पृ. २४-२७

घानाको सफारीमा

घानाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

अन्धकार र कुहिरोलाई पन्छाउँदै बिहानको घाम झुलुक्क झुल्केपछि घानाको उत्तरी प्रदेशमा पर्ने मोल राष्ट्रिय निकुञ्जतिर फैलिएको ८० किलोमिटरभन्दा लामो कच्ची बाटोबाट हामी बिस्तारै यात्रा गर्नथाल्छौं। यसो वरपर हेर्दा घाँस, झाडी अनि होचा रूखहरू मात्र देखिन्छन्‌। कहींकहीं माटोले बनेका अनि खरले छाएका छाप्रोहरू भएको स-साना गाउँ छन्‌।

पसलहरू भएको अनि पक्की सडकमा थुप्रै गाडी गुडिरहेको व्यस्त ग्रामीण नगर डामोंगो पुगेपछि भने हामीले त्यहाँ एकदमै भिन्‍न दृश्‍य देख्छौं! केटाकेटीहरू टाटेपाटे, खैरो युनिफर्म लगाएर स्कूल जाँदैछन्‌। आइमाईहरूचाहिं बुट्टेदार लुगा लगाएर टाउकोमा दाउरा, खानेकुरा र पानीका घैंटा बोकेर हिंडिरहेका छन्‌। कार र ट्राक्टरहरूले हर्न बजाइरहेका छन्‌ भने साइकलवालाहरू आफ्नै सुरमा गइरहेका छन्‌। हाम्रो गन्तव्य अझै २० किलोमिटर टाढा छ।

मोले राष्ट्रिय निकुञ्जमा

बल्ल हामी निकुञ्जमा पुग्छौं। हाम्रो टोली नेता जेकरायाका अनुसार ४,८४० वर्ग किलोमिटर क्षेत्रफल ओगट्‌ने मोल गेम वन्यजन्तु आरक्ष १९७१ मा स्थापना गरिएको थियो। निकुञ्जमा ९३ जातका स्तनपायी, ९ जातका उभयचर र ३३ जातका घस्रने जन्तुहरू छन्‌। यसमा सिंह, चितुवा, हुँडार, कस्तूरी बिरालो, हात्ती, सेतो धर्का भएको चौसिङे, पुड्‌के जंगली भैंसी, बनेल, वाटरबक, डुइकर, बिरालो, हार्टबिस्ट, न्याउरीमूसो, विभिन्‍न थरीका बाँदर, रोअन एन्टीलोप, दुम्सी, गोही अनि सर्पहरूलगायत अजिंगर पनि पर्छन्‌। यसबाहेक, यहाँ ३०० जातका चराचुरुंगीहरू देख्न सकिन्छ।

आफ्नो घुँडासम्म पुग्ने अग्ला घाँसहरूलाई पन्छाउँदै अनि भोका झिंगाहरूलाई झट्‌कार्दै अगाडि बढ्‌छौं र अचानक हरिणको बथान नजिक पुग्छौं। हरिणको रङ र वरपरको रङ एकै प्रकारको भएको हुनाले सुरुमा त हामीले राम्ररी ठम्याउनै सक्दैनौं। हामीले ती जन्तुहरूलाई हेरिरहेकै बेला यिनीहरूले पनि हामीलाई उत्सुकतासाथ हेरिरहेका हुन्छन्‌। तसर्थ, हामीलाई ती जन्तुहरू जत्ति आकर्षक लागेका छन्‌, यिनीहरूलाई पनि हामी त्यत्तिकै आकर्षक लागे होलान्‌। फोटो खिच्न लाग्दा हाम्रो दायाँतिरबाट आएको ठूलो आवाज सुनेर हामी झस्कन्छौं। शान्तसित बसिरहेको भाले वाटरबकलाई हामीले खलबलाएको हुँदा यस्तो आवाज निकालेर त्यो नजिकैको जंगलभित्र पसेको रहेछ।

त्यसपछि एउटा ठूलो रूखमुनि चारवटा अजङको हात्ती देख्छौं। यिनीहरू आफ्नो सुँडले हाँगा तान्छन्‌ र कमलो पात खान्छन्‌। हामी यिनीहरूको नजिक जान्छौं अनि १० मिटर जति वर हुँदा जेकरायाले हामीलाई फोटो खिच्न लगाउँछन्‌। त्यसपछि, तिनले आफ्नो बन्दुकको कुन्दा जोडसित झट्‌कार्छन्‌ र त्यसबाट निस्केको धातुको आवाजले गर्दा हात्तीहरू रूखमुनिबाट भाग्छन्‌। त्यसपछि त हामीले झनै राम्रो फोटो खिच्न पाउँछौं। त्यहाँबाट केही पर हात्तीले नुहाउने हिलाम्मे ठाउँ रहेछ। हात्तीको रङ यिनीहरूले नुहाउने हिलोको रङअनुसार फरक फरक हुन्छन्‌ अर्थात्‌ कालो रङबाट रातो अथवा खैरो हुन्छ भनेर जेकराया वर्णन गर्छन्‌।

हामी हिंडेर केही पर पुगेपछि निकुञ्जको पूरै दृश्‍य देख्छौं। यहाँ पाइने वनस्पतिहरूमध्ये सुन्दर बबुल तथा शिया रूख पनि हुन्‌। त्यहाँबाट फर्कंदा हामी हात्तीकै बाटो पछ्याउँछौं। यिनीहरू अझै पनि केही मिटर टाढा छन्‌ तर त्यस बथानको अजङको हात्तीले आफ्नो कान ठाडो पार्छ र लड्‌न तयार भएझैं गरी हामीतिर आइलाग्छ। कतै यसले हामीलाई आक्रमण त गर्ने होइन?

जेकराया हामीलाई डराउनु पर्दैन भन्छन्‌ र आफ्नो राइफल काँधबाट झारेर हामीलाई ती हात्तीहरूको बाटो नभई अर्कैतिर डोऱ्‍याउँछन्‌। हाम्रो टोली नेताले राइफल अनि हामीले चाहिं फोटो खिच्न क्यामरा तयार राख्छौं। केही छिन पछि नै हामी हात्तीहरूले नदेख्ने गरी टाढा पुग्छौं।

त्यस निकुञ्जमा भएका हात्तीहरूलाई मानिसहरू देख्ने बानी परिसकेको र कुनै कुनै त झनै नजिक आउने गरेको कुरा जेकराया हामीलाई बताउँछन्‌। ठाउँठाउँमा हात्ती देखिन थालेपछि टोली नेताहरूले यिनीहरूलाई नाउँ दिन थाल्दा रहेछन्‌। एउटालाई तिनीहरूले अंग्रेजीमा नोबी नाउँ दिए किनभने त्यसको छालामा ठूलो डल्ला निस्केको थियो। अर्को हात्तीले चाहिं पर्यटकहरूलाई तर्साउने भएकोले त्यसको नाउँ एक्सन राखे।

त्यसपछि, थुप्रै बाँदरसित हाम्रो जम्काभेट भयो। हामी यिनीहरूलाई रूखमा झुन्डिरहेको अथवा जमिनमा दौडिरहेका देख्छौं। हाम्रो टोली नेताले हामीलाई पोथी बाँदरले आफ्नो पिठिउँ र छातीमा बोकिराखेका दुइटा बच्चा देखाउँछन्‌। ती जुम्ल्याहा हुन्‌ भनेर तिनी बताउँछन्‌।

साँच्चै, हामीले आज थुप्रै जनावर देख्यौं। अप्रिल र जूनको सुक्खा मौसममा वन्यजन्तु हेर्न पानी जम्ने ठाउँमा मात्र गए पुग्छ किनभने बथानका बथान जनावरहरू त्यहाँ पानी पिउन आउँछन्‌ भनेर जेकराया हामीलाई बताउँछन्‌। फोर ह्वील ड्राइभ गाडीमा चढेर निकुञ्जभित्र घुम्न जाँदा भैंसी र सिंहलगायत अन्य थुप्रै जनावरसमेत देख्न सकिन्छ भनेर पनि तिनी बताउँछन्‌।

अब दिउँसोको खाना खाने समय भएको छ। हामी खाना खाइरहेकै बेला एउटा ठूलो बाँदर हाम्रो कारसँगै पार्क गरिराखेको पिकअप गाडीमा बसेर मेरो खानातिर टुलुटुलु हेर्न थाल्छ। हरिण अनि बनेललगायत अरू बाँदरचाहिं अलि परबाट जान्छन्‌ र अन्तमा नजिकैको डाँडामा चारवटा हात्ती पनि देखापर्छ। हामीले यी जन्तुहरूको फोटो खिच्ने सजिलो तरिका पत्ता लगायौं जस्तो छ!

बजारमा

हामीले मोल राष्ट्रिय निकुञ्जमा धेरै समय बिताउन पाएनौं। तर त्यसपछि हामी दुई घण्टा लामो यात्रा गरेर कच्ची सडक हुँदै किसानहरूको एउटा लोवी भनिने जाति बसोबास गर्ने ग्रामीण नगर सोलातिर लाग्छौं। यस जातिका स्त्रीहरूको अप्राकृतिक तरिकाले आफ्नो ओठ ठूलो देखाउने एकदमै अनौठो चलन छ। तथापि, अचेल जवान केटीहरू आधुनिक सभ्यताबाट प्रभावित हुन थालेको कारण त्यो चलन बिस्तारै हराउँदै गइरहेको छ। तैपनि, थुप्रै स्त्री आफ्नो ओठ ठूलो देखिएकोमा गर्व गर्छन्‌। वास्तवमा, लोवी स्त्रीलाई तिनको ओठ लोग्ने मानिसको जस्तो सानो रहेछ भन्‍नु तिनको बेइज्जती गर्नु सरह ठानिन्छ।

हामी गाउँमा पुगेर बजारतिर लाग्छौं। खरले छाएका टहरोहरू रूखका हाँगाले बनिएका छन्‌। त्यहाँ सबै काला अफ्रिकीहरूको बीचमा एक जना मात्र गोरा मानिस उभिरहेका छन्‌। हामी ऊसित कुरा गर्न अघि बढ्‌छौं र ऊ हालै मात्र त्यहाँ लोवी भाषामा बाइबल अनुवाद गर्न आएका रहेछन्‌ भनेर थाह पाउँछौं। उनी लोवीहरूको भाषा सरर्र बोल्न सिक्नको लागि सँगैको गाउँमा बस्दा रहेछन्‌। मैले रबर्ट मोफटलाई सम्झें। तिनले १९ औं शताब्दीमा स्वानाभाषी मानिसहरूसित बसोबास गरेर तिनीहरूकै भाषामा बाइबल अनुवाद गरेका थिए।

बजारको एउटा टहरोभित्रको बेन्चमा ओठ लामो बनाएकी वृद्ध लोवी आइमाई बसिरहेकी थिइन्‌। बूढी औंला जत्तिकै ठूलो दुइटा सेतो काठका पाताहरू तिनको ओठको तल र माथि घुसारिएको छ। मैले तिनको फोटो खिच्न चाहें तर मैले क्यामरा उचाल्ने बित्तिकै तिनी अर्कैतिर फर्किन्‌। मेरो साथीले बताएअनुसार ती लोवी वृद्धाहरू फोटो खिच्यो भने आत्मामा नराम्रो असर पर्छ भन्‍ने विश्‍वास गर्दा रहेछन्‌।

रात बिताउने ठाउँ सोलातिर फर्कंदै गर्दा परमेश्‍वरको सृष्टिमा झल्कने बुद्धि तथा विविधताबारे म गहिरिएर सोच्न थाल्छु। उहाँले जनावर तथा मानिस दुवैलाई निपुणतासाथ बनाउनुभएको छ। भजनरचयिताले यसरी उद्‌गार गरेझैं: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।”—भजन १०४:२४. (g01 5/8)

[पृष्ठ २४-मा भएको नक्सा]

घाना

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

[पृष्ठ २४-मा भएको चित्र]

बनेल

[पृष्ठ २४-मा भएको चित्र]

हुँडार

[पृष्ठ २५-मा भएको चित्र]

हात्ती

[पृष्ठ २५-मा भएको चित्र]

जलगैंडा

[पृष्ठ २५-मा भएको चित्र]

हरिणको बथान

[पृष्ठ २६-मा भएको चित्र]

दुइटा बच्चा बोकिरहेकी पोथी बाँदर

[पृष्ठ २७-मा भएको चित्र]

हार्टबिस्ट

[पृष्ठ २७-मा भएको चित्र]

बजार

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने