प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ३/८ पृ. १८-२०
  • म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • युवाहरूको लागि चुनौती
  • भावनाहरू नियन्त्रणमा राख्ने एउटा महत्त्वपूर्ण तरिका
  • रिस कम गर्ने
  • अन्य व्यावहारिक कदमहरू
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • तपाईंमा प्रशस्तगरी आत्मसंयम होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • भावनात्मक स्वास्थ्य
    ब्यूँझनुहोस्‌!—२०१९
  • “मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ३/८ पृ. १८-२०

युवा जनहरू सोध्छन्‌. . .

म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?

“आमाबाबुलाई देखेर मलाई साह्रै रिस उठ्‌छ अनि भन्‍न नहुने कुराहरू भन्छु। मेरो रिस शान्त नभएसम्म म उहाँहरूबाटै टाढै बस्छु।”—१३ वर्षीया केट।

“मेरो सबैभन्दा ठूलो सङ्‌घर्ष नै आफ्नो असुरक्षित भावना विरुद्ध लड्‌नु हो। कहिलेकाहीं म आफू भित्रभित्रै मर्दैछु जस्तो लाग्छ।”—१९ वर्षीय इभान।

भावनाहरू प्रबल हुन्छन्‌। त्यसले तपाईंको सोच्ने तरिका र व्यवहारमा असर गर्छ। त्यसले तपाईंलाई राम्रो वा नराम्रो गर्न उत्प्रेरित गर्न सक्छ। कहिलेकाहीं त्यसले तपाईंको सोचाइमाथि नियन्त्रण जमाउन सक्छ। बीस वर्षीय जेकब यसो भन्छन्‌, “मलाई आफूसित कहिल्यै चित्त बुझ्दैन। अक्सर म आफ्नै प्रत्याशाहरू पूरा गर्न सक्दिनँ। कहिलेकाहीं म रुन्छु वा रिसले चूर भएर आफ्नो अगाडि जो पऱ्‍यो, त्यसैलाई रिस पोखाउँछु। आफ्ना भावनाहरू नियन्त्रणमा राख्न मलाई गाह्रो लाग्छ।”

तथापि, एक जना जिम्मेवार वयस्क बन्‍नको लागि एउटा पक्ष आफ्ना भावनाहरू नियन्त्रणमा राख्न सिक्नु हो। अहिले कोही-कोही विशेषज्ञहरूको विचारमा आफ्नो भावनालाई नियन्त्रणमा राख्ने र मानिसहरूसित व्यवहार गर्ने क्षमता बौद्धिक तीक्ष्णताभन्दा महत्त्वपूर्ण छ। जे होस्‌, आफ्ना भावनाहरू नियन्त्रणमा राख्ने कुरालाई बाइबलले एकदमै महत्त्व दिन्छ। उदाहरणका लागि हितोपदेश २५:२८ यसो भन्छ: “जुन मानिसले आफ्नो रीस थाम्नसक्‍तैन त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खाल विनाको शहरजस्तै हो।” आफ्ना भावनाहरू नियन्त्रणमा राख्न यत्तिको गाह्रो हुनुको कारण के हो?

युवाहरूको लागि चुनौती

सबै उमेर र पृष्ठभूमिका मानिसहरू आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्न सङ्‌घर्ष गर्छन्‌। तथापि, किशोरावस्थाबाट वयस्कमा परिवर्तन हुने समयमा यो सङ्‌घर्ष सबैभन्दा चुनौतीपूर्ण हुन सक्छ। रूथ बेलद्वारा लिखित चेन्जिङ बडीज्‌, चेन्जिङ लाइभ्स (शारीरिक परिवर्तन सँगसँगै जीवन शैलीमा परिवर्तन) पुस्तक यसो भन्छ: “प्रायजसो किशोरकिशोरीले गोलमाल, आनन्द, डर र अनेकन मिश्रित भावनाहरू महसुस गर्छन्‌। धेरै मानिसहरूसित एउटै कुराबारे एकैचोटि तीनथुप्रो भावनाहरू हुन्छन्‌। . . . एकछिन एक किसिमको भावना होला तर फेरि तुरुन्तै त्यसको ठ्याक्क उल्टो भावना महसुस हुन सक्छ।”

जवान हुनुभएकोले तपाईं त्यति अनुभवी पनि हुनुहुन्‍न। (हितोपदेश १:४) त्यसैले जीवनमा पहिलो चोटि कुनै नयाँ परिस्थिति र चुनौतीको सामना गर्नुपर्दा अलि असुरक्षित र कता-कता असन्तुष्ट महसुस हुनु स्वाभाविकै हो। तर खुसीको कुरा, सृष्टिकर्ताले तपाईंका भावनाहरू राम्ररी बुझ्नुहुन्छ। उहाँलाई तपाईंको मनभित्रका बेचैन “विचारहरू” पनि थाह छ। (भजन १३९:२३) मदतकारी हुन सक्ने केही सिद्धान्तहरू परमेश्‍वरको वचनमा दिइएको छ।

भावनाहरू नियन्त्रणमा राख्ने एउटा महत्त्वपूर्ण तरिका

आफ्ना भावनाहरू नियन्त्रणमा राख्ने एउटा महत्त्वपूर्ण तरिका आफ्नो सोचाइलाई नियन्त्रणमा राख्न सिक्नु हो। नकारात्मक सोचाइ रहिरह्‍यो भने कुनै अत्यावश्‍यक कदम चाल्नको लागि बल नहुन सक्छ। (हितोपदेश २४:१०) तर सकारात्मक सोचाइ राख्न तपाईं कसरी सिक्न सक्नुहुन्छ जसो गर्दा आफ्ना भावनाहरू नियन्त्रणमा राख्न मदत पाउन सक्नुहुन्छ?

एउटा तरिका, तपाईंलाई निराश तुल्याउने वा असुरक्षित महसुस गराउने नकारात्मक कुराहरू मात्रै सोची नरहनु हो। “आदरणीय” र “चोखा” अथवा धार्मिक कुरामा ध्यानकेन्द्रित गर्ने बाइबलको सल्लाह पालन गरेर तपाईंले नकारात्मक सोचाइको ठाउँ सकारात्मक सोचाइले भर्न सक्नुहुन्छ। (फिलिप्पी ४:८) यसो गर्न सजिलो नहुन सक्छ तर प्रयास गऱ्‍यो भने सकिन्छ।

जास्मिन नाउँकी युवतीलाई विचार गर्नुहोस्‌। उनले एक चोटि यस्तो बिलौना गरिन्‌, “मैले सामना गर्नुपर्ने तीनथुप्रो कुराहरूले गर्दा मलाई के गरूँ कसो गरूँ हुन्छ। नयाँ जागिर अनि नयाँ जिम्मेवारीहरू। म त भावनात्मक रूपमा लखतरान हुन्छु। कस्तो उकुसमुकुस हुन्छ।” युवाहरूले कुनै-कुनै बेला त्यस्तो महसुस गर्नु कुनै अचम्मको कुरा होइन अनि त्यसले गर्दा असुरक्षित अनि आफूमा भरोसा नभएको महसुस हुन सक्छ। बाइबलले तिमोथी नाउँ गरेका जवान व्यक्‍तिबारे बताएको छ जो तिनलाई सुम्पिएका जिम्मेवारीहरू पूरा गर्न एकदमै दक्ष थिए। यद्यपि, आफूले अपुग महसुस गरेको भावना विरुद्ध तिनले पनि सङ्‌घर्ष गरेजस्तो देखिन्छ।—१ तिमोथी ४:११-१६; २ तिमोथी १:६, ७.

हुनसक्छ, तपाईंलाई कुनै नयाँ वा आफूलाई थाह नभएको काम सुम्पिइँदा असुरक्षित महसुस हुन्छ। तपाईं आफैलाई भन्‍नुहोला, ‘म यो काम कहिल्यै गर्न सक्दिनँ होला।’ तर नकारात्मक सोचाइमा मात्र नडुबेर असुरक्षित महसुस गराउने ती भावनाहरूलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ। दक्षतापूर्वक त्यो काम पूरा गर्न सिक्नेतिर ध्यान दिनुहोस्‌। प्रश्‍नहरू सोध्नुहोस्‌ अनि निर्देशन दिइएअनुसारै गर्नुहोस्‌।—हितोपदेश १:५, ७.

कुनै काम पूरा गर्न तपाईं जति दक्ष बन्‍नुहुन्छ, त्यति नै सुरक्षित महसुस हुनेछ। सुधार गर्नै नसकिने अनि कडा मेहनत गर्नदेखि रोक्ने गरी निष्क्रिय बनाउने किसिमले तपाईंका कमजोरीहरूबारे मात्र सोचिरहने नगर्नुहोस्‌। एक चोटि प्रेरित पावलको आलोचना गरिंदा तिनले यस्तो जवाफ दिए: “म बोली वचनमा अशिक्षित भए तापनि ज्ञानमा ता त्यस्तो छैनँ।” (२ कोरिन्थी १०:१०; २ कोरिन्थी ११:६) त्यसरी नै, आफ्नो सकारात्मक पक्षलाई मानिलिएर अनि आफ्ना कमीकमजोरीहरूको सामना गर्न परमेश्‍वरको मदत मागेर तपाईं आत्म-विश्‍वास बढाउन सक्नुहुन्छ। विगतमा परमेश्‍वरले आफ्ना जनहरूलाई गर्नुभएझैं तपाईंलाई पनि साँच्चै मदत गर्न सक्नुहुन्छ।—प्रस्थान ४:१०.

आफ्ना भावनाहरू नियन्त्रणमा राख्न तपाईंले मदत पाउन सक्नुहुने अर्को तरिका भनेको उचित र व्यावहारिक लक्ष्यहरू राख्नु अनि आफ्नो सीमा स्वीकार्नु हो। अति अव्यावहारिक हुँदै अरूसित आफ्नो तुलना नगर्नुहोस्‌। गलाती ६:४ मा बाइबलले यस्तो राम्रो सल्लाह दिन्छ: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।”

रिस कम गर्ने

रिसलाई नियन्त्रणमा राख्नु अर्को कठिन चुनौती हुन सक्छ। सुरुमा उल्लिखित केटजस्तै रिसले गर्दा नै थुप्रै जवान मानिसहरू अरूको चित्त दुख्ने वा हानि हुने कुराहरू भन्छन्‌ र गर्छन्‌।

हुन त हो, कहिलेकाहीं रिस उठ्‌नु स्वाभाविकै हो। तर पहिलो हत्यारा कयिनलाई सम्झनुहोस्‌ त। तिनी ‘ज्यादै रिसाएपछि’ त्यस्तो रिसले गर्दा गम्भीर पाप हुन सक्छ भनेर परमेश्‍वरले तिनलाई चेतावनी दिनुभयो। उहाँले कयिनलाई सोध्नुभयो: के “तैंले [पापलाई] अधीन[मा]” राख्नेछस्‌? (उत्पत्ति ४:५-७) कयिन यो ईश्‍वरीय सल्लाह पालन गर्नदेखि चुके तर परमेश्‍वरको मदत पाएर तपाईं आफ्नो रिसलाई नियन्त्रणमा राख्न अनि पाप गर्नदेखि जोगिन सक्नुहुन्छ!

फेरि पनि कुरा आफ्नो सोचाइलाई नियन्त्रणमा राख्ने नै हुन जान्छ। हितोपदेश १४:२९ मा बाइबल यसो भन्छ: “धीरज धारण गर्नु ठूलो समझशक्‍ति देखाउनु हो, झ्वाट्टै रीस गर्नु मूर्खताको चरमसीमा हो।” कसैले तपाईंलाई रिस उठाउँदा तिनले त्यस्तो व्यवहार किन गरे, त्यो बुझ्ने प्रयास गर्नुहोस्‌। के ती व्यक्‍तिले तपाईंलाई जानाजानी चित्त दुखाउन खोजिरहेका थिए? तिनले आवेगमा आएर वा कुरै नबुझी त्यस्तो व्यवहार पो गरेका थिए कि? अरूका गल्तीहरूलाई सहँदा परमेश्‍वरको दया झल्कन्छ अनि यसले रिसलाई कम गर्न मदत पुऱ्‍याउन सक्छ।

तर रिस उठ्‌नुको जायज कारण छ भने नि? धर्मशास्त्र यसो भन्छ: “क्रोध गर, तर पाप नगर।” (छड्‌के अक्षर हाम्रो; एफिसी ४:२६) आवश्‍यक परेको खण्डमा त्यस व्यक्‍तिसित कुरा गर्नुहोस्‌। (मत्ती ५:२३, २४) अथवा सबैभन्दा राम्रो तरिका भनेको त्यो कुरालाई बिर्सेर रिसाउन छोड्‌नु अनि मनमा कुनै रिसराग नराखी आफ्नो दिनचर्यामा लाग्नु हो।

चाखलाग्दो कुरा, तपाईं रिस कसरी नियन्त्रणमा राख्नुहुन्छ त्यसमा तपाईंका साथीहरूले पनि असर गर्न सक्छन्‌। त्यसकारण बाइबल यस्तो निर्देशन दिन्छ: “रीस गर्ने मानिसलाई कहिल्यै मित्र नबना, नता क्रोधी-स्वभावको मानिससित सङ्‌गत गर्‌। त्यसको चाल नसिक्‌, नत्रता तँ पासोमा पर्नेछस्‌।”—हितोपदेश २२:२४, २५.

रिसलाई नियन्त्रणमा राख्न प्रयास गर्ने मानिसहरूसित संगत गर्दा तपाईंले आत्मसंयम विकास गर्न मदत पाउन सक्नुहुन्छ। यहोवाका साक्षीहरूको मसीही मण्डलीमा त्यस्ता परिपक्व व्यक्‍तिहरू थुप्रै छन्‌ अनि तिनीहरूमध्ये धेरै जसो तपाईंभन्दा पाको र बढी अनुभवी छन्‌। तिनीहरूमध्ये कसै-कसैलाई चिन्‍ने प्रयास गर्नुहोस्‌। तिनीहरूले समस्याको सामना कसरी गर्छन्‌, हेर्नुहोस्‌। कठिनाइहरू सामना गर्नुपर्दा तिनीहरूले तपाईंलाई ‘निपुण कला’ दिन सक्छन्‌। (हितोपदेश २४:६) माथि उल्लिखित जेकब यसो भन्छन्‌: “परमेश्‍वरको वचनबारे मलाई सम्झाउन सक्ने परिपक्व मित्र अनमोल हुन्छ। असुरक्षित महसुस गरे तापनि यहोवाले मलाई माया गर्नुहुन्छ भनेर सम्झँदा म आफ्ना भावनाहरू नियन्त्रणमा राख्न र शान्त रहन सक्छु।”

अन्य व्यावहारिक कदमहरू

व्यायामसम्बन्धी एउटा लोकप्रिय पुस्तक यसो भन्छ: “तपाईंको शरीरको चालले जीव-रसायनद्वारा तपाईंको मुडलाई असर गर्न सक्छ भनेर अनगन्ती अध्ययनहरूले प्रमाणित गरेको छ। तपाईंको शरीरको चालअनुसार हर्मोन र अक्सिजनको मात्रा फरक-फरक हुन्छ।” शारीरिक व्यायाम लाभदायक हुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। बाइबल हामीलाई यसो भन्छ: “शारीरिक व्यायामको केही महत्त्व छ।” (१ तिमोथी ४:८, टुडेज इङ्‌लिश भर्सन) नियमित व्यायाम गर्ने एउटा सन्तुलित तालिका बसाल्नुभए कसो होला? यसले तपाईंका भावनाहरूमा राम्रो असर पार्न सक्छ। स्वास्थ्यकर भोजन खाने बानी बसाल्नु पनि लाभदायक हुन सक्छ।

तपाईं कस्तो सङ्‌गीत र मनोरञ्जन छान्‍नुहुन्छ, त्यसमा पनि ध्यान दिनुहोस्‌। द हाभर्ड मेन्टल हेल्थ लेटर-मा प्रकाशित अध्ययन यसो भन्छ: “हिंसात्मक कुराहरू हेर्दा . . . रिस र आक्रामक भावना जाग्न सक्छ। . . . हिंस्रक चलचित्र हेर्ने व्यक्‍तिहरूले मनमा आक्रामक सोचाइहरू बढी खेलाउने गर्छन्‌ र तिनीहरूको रक्‍तचाप पनि बढेको पाइयो।” त्यसैले तपाईंले सुन्‍ने र हेर्ने कुराहरूको सन्दर्भमा बुद्धिमानी निर्णय गर्नुहोस्‌।—भजन १:१-३; १ कोरिन्थी १५:३३.

अन्तमा, तपाईंका भावनाहरू नियन्त्रण गर्न सिक्ने सबैभन्दा राम्रो तरिका तपाईंको सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध विकास गरेर हो। उहाँ हामी प्रत्येकलाई प्रार्थनामा उहाँसित कुरा गर्न अनि हाम्रा भावनाहरू उहाँलाई पोखाउन आग्रह गर्नुहुन्छ। प्रेरित पावलले यस्तो प्रोत्साहन दिए, “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई . . . रक्षा गर्नेछ।” हो, जीवनमा आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न तपाईंले आन्तरिक बल विकास गर्न सक्नुहुन्छ। प्रेरित पावलले थप यसो भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—छड्‌के अक्षर हाम्रो; फिलिप्पी ४:६, ७, १३.

जवान मलिका यसो भन्छिन्‌: “मैले पटक-पटक प्रार्थना गर्न सिकेकी छु। यहोवा मेरो चासो राख्नुहुन्छ भनेर थाह पाउँदा म शान्त रहने र आफ्ना भावनाहरू नियन्त्रणमा राख्ने मदत पाउँछु।” परमेश्‍वरको मदत पाएर तपाईं पनि आफ्ना भावनाहरू नियन्त्रणमा राख्न सिक्न सक्नुहुन्छ। (g05 2/22)

[पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]

तपाईंका भावनाहरू नियन्त्रणमा राख्ने एउटा महत्त्वपूर्ण तरिका आफ्नो सोचाइलाई नियन्त्रणमा राख्न सिकेर हो

[पृष्ठ २०-मा भएको चित्र]

पाको व्यक्‍तिहरूसित संगत गर्दा तपाईंले आफ्ना भावनाहरू नियन्त्रणमा राख्न मदत पाउन सक्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने