प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. १८ पृ. १४०-१४९
  • म कसरी राम्रो अंक ल्याउनसक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसरी राम्रो अंक ल्याउनसक्छु?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सन्तुलित हुने
  • सिक्ने जिम्मेवारी वहन गर्नुहोस्‌
  • ‘तर मैले पढ्‌दै नपढेको त होइन नि’
  • पढ्‌ने वातावरण
  • तपाईंको पढाइ तालिका
  • ‘अर्को हप्ता जाँच है’
  • असफलता
  • जाँचमा फेल नहुन म के गरूँ?
    युवाहरू सोध्छन्‌
  • छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?
    परिवारका लागि
  • स्कूल तथा जागिर
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • के म पढाइमा अझ उन्‍नति गर्नसक्छु?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. १८ पृ. १४०-१४९

अध्याय १८

म कसरी राम्रो अंक ल्याउनसक्छु?

निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ‘सबैभन्दा बढी कुन कुराको पीर लाग्छ?’ भनी प्रश्‍न गर्दा ५१ प्रतिशतले “परीक्षाफलका अंकहरू!” भनेर जवाफ दिए।

स्कूलमा राम्रो अंक ल्याउन विद्यार्थीहरू यत्तिको चिन्तित हुनुको कारण यसबाट बुझ्नसक्छौं। ती अंकहरूले पास हुने हो कि फेल, राम्रो जागिर पाउने हो कि कम तलब, आमाबाबुको तारिफ पाउने हो कि उहाँहरूको गाली खानुपर्नेजस्ता कुराहरूमा फरक पार्छ। हो, अंक तथा परीक्षाहरूको आफ्नै महत्त्व छ। भनौं भने, येशू ख्रीष्टले समेत कुनै कुनै कुराहरू आफ्ना चेलाहरूले कत्तिको बुझे भनी जाँच्नुभयो। (लूका ९:१८) अनि स्कूलको परीक्षा तथा परिणाम (अंग्रेजी) पुस्तक यसो भन्छ: “जाँचका अंकहरूले हरेक विद्यार्थीको कमजोरी तथा सामर्थ्यलाई देखाउनसक्छ र कुन विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भनेर पनि उत्प्रेरणा प्रदान गर्नसक्छ।” तपाईंले प्राप्त गर्नुभएको अंकबाट स्कूलमा तपाईंले राम्रो नराम्रो कस्तो गरिरहनुभएको छ भनेर पनि आमाबाबुले थाह पाउनसक्छन्‌।

सन्तुलित हुने

तथापि, अंकबारे अचाक्ली चिन्तित हुँदा निकै तनाउ हुनुका साथै कटु प्रतिस्पर्धा पनि सृजना हुनसक्छ। किशोरकिशोरीबारे अध्ययन गरिएको एउटा पाठ्यपुस्तकको अवलोकनअनुसार विशेषगरि कलेजको लागि तयार गरिरहेका विद्यार्थीहरू “राम्रो अंक ल्याउन यस्तो प्रतिस्पर्धा गर्छन्‌ कि तिनीहरूले कुनै कुरा सिक्नुभन्दा अंकमा नै बढी ध्यान दिइरहेका हुन्छन्‌।” परिणामस्वरूप, डा. विलियम ग्लासरकै शब्दमा भन्‍ने हो भने विद्यार्थीहरू “जाँचमा के के सोधिनेछ भनी पत्ता लगाउन सिपालु हुन्छन्‌ . . . र त्यही विषयवस्तु मात्र घोक्ने गर्छन्‌।”

राजा सुलेमानले यस्तो चेताउनी दिए: “मैले सबै मेहनत र प्राप्तिहरूको विचार गरें, औ के देखें भने ती सबै मानिसको आपसको शत्रुताको नतीजा रहेछ। यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो।” (उपदेशक ४:४) सरसम्पत्तिको लागि होस्‌ वा शैक्षिक सफलताको लागि, कटु प्रतिस्पर्धा गर्नु व्यर्थ हो। ईश्‍वरभीरु केटाकेटीहरूले स्कूलमा लगनशील भएर प्रयास गर्नुपर्ने खाँचो बुझेका हुन्छन्‌। तर शिक्षालाई नै जीवनको अत्यन्त महत्त्वपूर्ण कुरा बनाउनुको साटो तिनीहरू भौतिक कुराहरूको लागि परमेश्‍वरमा भरोसा राख्दै आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन्छन्‌।—मत्ती ६:३३; पेशा छान्‍ने विषयमा अध्याय २२ हेर्नुहोस्‌।

यसबाहेक, शिक्षा भनेको जाँचमा राम्रो अंक ल्याउनु मात्र होइन। बरु, सुलेमानले भनेझैं “विवेकले परिपूर्ण” हुनु हो, प्राप्त जानकारीबाट ठोस तथा व्यवहारिक निष्कर्ष निकाल्ने सीप हो। (हितोपदेश १:४) अड्‌कलेर, जाँचको दुइ तीन दिनअघि घोकेर वा चोरेर पास गर्ने विद्यार्थीले वास्तवमा राम्ररी सोच्न कहिल्यै सिकेको हुँदैन। अनि पछि एउटा चेकबुक पनि ठीकसित भर्न सक्नुभएन भने स्कूलमा छँदा हिसाबमा राम्रो अंक ल्याएर के फाइदा भयो र?

तसर्थ, अंकलाई नै अत्यन्त महत्त्वपूर्ण कुरा ठान्‍नु ठीक होइन तर त्यसलाई स्कूलमा आफ्नो प्रगति नाप्ने मदतकारी मापदण्ड ठान्‍नुपर्छ। तर आफ्नो योग्यता झल्काउने अंकहरू कसरी प्राप्त गर्न सक्नुहुन्छ?

सिक्ने जिम्मेवारी वहन गर्नुहोस्‌

शिक्षिका लिन्डा निल्सनअनुसार कमजोर विद्यार्थीहरू “स्कूलमा राम्रो अंक ल्याउन नसक्दा आफ्नो नियन्त्रण बाहिरका कुराहरूलाई दोष लाउँछन्‌। जस्तै, पाठ्यक्रम बाहिरको प्रश्‍नपत्र, शिक्षकको पक्षपात, भाग्य, मौसम इत्यादि।” तर बाइबल यसो भन्छ: “अल्छे मान्छेको भोक कहिल्यै तृप्त हुँदैन।” (हितोपदेश १३:४) हो, कम अंक आउनुको कारण प्रायजसो अल्छीपना हो।

तथापि, जेहनदार विद्यार्थीहरूले सिक्ने जिम्मेवारी वहन गर्छन्‌। टिन पत्रिकाले उच्च (माध्यमिक) विद्यालयमा धेरै अंक ल्याउने विद्यार्थीहरूको एकचोटि सर्वेक्षण लिएको थियो। तिनीहरूको सफलताको रहस्य? एउटाले भन्यो, “व्यक्‍तिगत उत्प्रेरणाले अझ बढी सिक्न जुर्मुऱ्‍याउँछ।” अर्कोले भन्यो, “तालिकाअनुसार चल्ने र समयको पूर्ण सदुपयोग गर्ने।” अर्कोले भन्यो, “लक्ष्यहरू बनाउनुपर्छ।” हो, तपाईंले स्कूलमा राम्रो या नराम्रो अंक ल्याउनु प्रायजसो तपाईंको नियन्त्रण बाहिरको कुरामा होइन तर तपाईंमा निर्भर हुन्छ। तपाईं कत्तिको मेहनत गर्न इच्छुक हुनुहुन्छ र स्कूलमा कत्तिको ध्यान दिनुहुन्छ, त्यसमा भर पर्छ।

‘तर मैले पढ्‌दै नपढेको त होइन नि’

कोही कोही युवाहरूले यस्तो दाबी गर्लान्‌। कसै कसैलाई मरीमेटी मेहनत गरेर पनि राम्रो अंक ल्याउन नसकेको जस्तो लाग्ला। तथापि, केही वर्षअघि स्टानफोर्ड विश्‍वविद्यालयका (सं.रा.अ.) अनुसन्धानकर्ताहरूले ७७० विद्यार्थीहरूको सर्वेक्षण गरेर वास्तवमा तिनीहरू स्कूलको पाठ गर्न कत्तिको मेहनत गर्छन्‌ भनी सोधे। अचम्मको कुरा, कम अंक ल्याउने विद्यार्थीहरूलाई आफूले निकै मेहनत गरेजस्तो लागेको पाइयो! तर तिनीहरूको पढ्‌ने बानीलाई केलाउँदा राम्रो अंक ल्याउने विद्यार्थीहरूको दाँजोमा तिनीहरूले गृहकार्य त्यति राम्ररी नगर्ने गरेको पाइयो।

यसबाट सिक्नुपर्ने पाठ के हो? शायद तपाईं पनि आफूले सोचेजति पढिरहनुभएको छैन कि, वा केही छाँटकाँट पो गर्नुपर्ने आवश्‍यकता छ कि। शैक्षिक मनोवैज्ञानिक प्रकाशन-को (अंग्रेजी) एउटा लेखले देखाएअनुसार “गृहकार्य गर्न अलि बढी समय बिताउँदा मात्रै पनि उच्च माध्यमिक विद्यालयमा राम्रो अंक ल्याउन सकिन्छ।” भनौं भने, “कम क्षमता भएको व्यक्‍तिले हप्तामा १ देखि ३ घण्टा गृहकार्य गर्न बितायो भने गृहकार्य नगर्ने तर सामान्य क्षमता भएको व्यक्‍तिले जति नै अंक ल्याउनसक्छ।”

आफ्नो लक्ष्य पूरा गर्न प्रेरित पावलले प्रतीकात्मक अर्थमा ‘आफ्नो शरीरलाई कुट्‌नुपऱ्‍यो।’ (१ कोरिन्थी ९:२७) त्यसरी नै तपाईं पनि आफूसित अलि कडा हुनुपर्ला, विशेषगरि टिभी तथा अन्य कुराहरूले तपाईंलाई सजिलै अल्मल्याउँछन्‌ भने। टिभीमा यस्तो संकेतपाटी पनि झुन्ड्याउनुपर्ला, “गृहकार्य नसिद्धिएसम्म टिभी बन्द!”

पढ्‌ने वातावरण

पढ्‌नको लागि मात्र छुट्याइएको शान्त ठाउँ छ भने निकै लाभ हुन्छ। दुइ तीन जनाले एउटै कोठा चलाउनुपर्छ वा ठाउँ पुग्दैन भने अर्कै चाँजो मिलाउनुहोस्‌! शायद भान्छा वा कसैको सुत्ने कोठा हरेक साँझ एक घण्टाको लागि पढ्‌ने कोठा बनाउन मिल्ला कि। अरू कुनै उपाय काम लागेन भने सार्वजनिक पुस्तकालय वा साथीको घरमा पढ्‌ने प्रबन्ध मिलाए पनि भो।

सम्भव भएमा तपाईंका कापीकिताबहरू राख्न प्रशस्त ठाउँ भएको टेबल चलाउनुहोस्‌। कापीकलम हातले भ्याउने ठाउँमा राख्नुहोस्‌। यसो भयो भने छिनछिनमा मेचबाट उठ्‌नु पर्दैन। तर अपसोचको कुरा, त्यही कोठामा टिभी वा रेडियो बजिरहेको छ भने पढाइमा ध्यान दिन गाह्रो हुन्छ। टेलिफोन वा आगन्तुकहरूले पनि त्यसरी नै अल्मल्याउनसक्छन्‌।

कोठामा उज्यालो तर आँखामा ट्‌वाल्ल नपर्ने बत्ती पनि होस्‌। कोठामा उज्यालो बत्ती छ भने पढ्यो कि थकाइ लाग्ने हुँदैन र आँखा पनि बिग्रँदैन। अनि सम्भव भए कोठामा हावा आवतजावत गर्नसक्छ कि सक्दैन र कोठाको तापक्रम पनि जाँच्नुहोस्‌। गर्मी कोठाभन्दा शीतल कोठामा फूर्तिलो भएर पढ्‌न सकिन्छ।

पढ्‌ने मुड नै छैन भने नि? जीवनमा आफ्नो मुडअनुसार भनेजसो त कमै मात्र गर्न पाइन्छ। जागिर खाएपछि मुड होस्‌ या नहोस्‌, दिनदिनै काम गर्नुपर्छ। अतः गृहकार्यलाई आत्मअनुशासन गर्ने अभ्यास, भावी कामको तयारी ठान्‍नुहोस्‌। आफ्नो कामलाई गम्भीरतापूर्वक लिनुहोस्‌। एक प्रशिक्षक यस्तो सुझाउ दिन्छन्‌: “सम्भव भए हरेक दिन एउटै ठाउँमा, एउटै समयमा अध्ययन गर्नुपर्छ। यसो गर्दा नियमित रूपले पढ्‌ने बानी बस्छ . . . अनि पढ्‌न अल्छी गर्ने सम्भावना त्यति हुँदैन।”

तपाईंको पढाइ तालिका

फिलिप्पी ३:१६ मा पावलले मसीहीहरूलाई ‘नियमबमोजिम चल्न’ प्रोत्साहन दिए। पावलले मसीही जीवनशैलीबारे बताउँदै थिए। तथापि, तालिका वा कुनै काम गर्ने पद्धति, अध्ययनशैलीको लागि पनि मदतकारी हुन्छ। उदाहरणको लागि, के पढ्‌ने हो, त्यसलाई व्यवस्थित गर्न खोज्नुहोस्‌। एकैनासे दुइटा कुरा (जस्तै दुइटा विदेशी भाषा) लगालग नपढ्‌नुहोस्‌। थुप्रै गृहकार्य गर्नु छ भने एउटा विषय सिद्धिएपछि एकछिन आराम गर्नुहोस्‌।

पढ्‌नु पर्ने कुरा निकै छ भने निम्न तरिका अपनाउनु भए कसो होला। सर्वप्रथम, विषयवस्तुलाई सरसरती हेर्नुहोस्‌। उपशीर्षक, चार्ट इत्यादि कुराहरू सरसरती हेरेर त्यो पाठको विषयवस्तु बुझ्न खोज्नुहोस्‌। त्यसपछि शीर्षक वा मूल वाक्यहरूको आधारमा प्रश्‍नहरू बनाउनुहोस्‌। (यसो गर्दा पढेको कुरामा ध्यान जान्छ।) अब यी प्रश्‍नहरूको जवाफ खोज्दै पढ्‌न थाल्नुहोस्‌। हरेक अनुच्छेद वा खण्ड पढ्‌न सिद्धिएपछि भर्खरै पढेको कुरा आफ्नै शब्दमा दोऱ्‍याउनुहोस्‌ वा किताब नहेरी मनमनै भन्‍नुहोस्‌। अनि पाठ सबै पढ्‌न सिद्धिएपछि शीर्षक केलाउँदै अनि हरेक खण्डबाट कति कुरा सम्झनुभएछ, त्यसको पुनरावृत्ति गर्नुहोस्‌। कसै कसैको भनाइअनुसार यसो गर्दा आफूले पढेको ८० प्रतिशत जति सम्झन सकेका छन्‌।

एक प्रशिक्षक अझै यसो भन्छन्‌: “हामीले पढ्‌ने जुनसुकै कुरा अरू जानकारीसित सम्बन्धित हुन्छ भनेर विद्यार्थीले बुझ्नु महत्त्वपूर्ण छ।” त्यसकारण, भर्खर पढेको कुरा आफूलाई पहिले नै थाह भएको वा भोगेको कुरासित कसरी मेल खान्छ, हेर्नुहोस्‌। आफूले सिकिरहेको कुराको व्यवहारिक उपयोग खोज्नुहोस्‌।

चाखलाग्दो कुरा, यस सन्दर्भमा ईश्‍वरभीरु युवाहरूका लागि अर्को एउटा फाइदा छ। किनभने बाइबल यसो भन्छ: “परमप्रभुको भय ज्ञानको शुरू हो।” (हितोपदेश १:७) उदाहरणका लागि, भौतिकशास्त्रका नियमहरू सिक्नु बोझजस्तै लाग्ला। तर सृष्टिद्वारा “उहाँको अदृश्‍य गुण” स्पष्टसित देख्नसक्छौं भनी थाह पाउँदा आफूले सिकिरहेको कुरा झनै अर्थपूर्ण हुन्छ। (रोमी १:२०) त्यसरी नै ऐतिहासिक कुराहरू प्रायः यहोवाका प्रतिज्ञाहरूको पूर्तिसित सम्बन्धित हुन्छन्‌। बाइबलले सात विश्‍वशक्‍तिहरूबारे समेत (वर्तमानको एंग्लो-अमेरिकालगायत) बताएको छ!—प्रकाश १७:१०; दानियल, अध्याय ७.

आफूलाई पहिल्यै थाह भएको वा मसीही विश्‍वाससित सम्बन्धित कुराहरूसित अहिले सिकिरहनुभएका कुराहरूलाई गाभ्नुभयो भने यी कुराहरू अर्थपूर्ण हुन थाल्छन्‌, झन्‌ झन्‌ समझदार हुन थाल्नुहुन्छ। अनि सुलेमानले भनेझैं “समझ-शक्‍ति भएकोलाई ज्ञान सजिलैसित आउँछ।”—हितोपदेश १४:६.

‘अर्को हप्ता जाँच है’

यी शब्दहरू सुनेर तपाईं आत्तिनु पर्दैन। सर्वप्रथम, शिक्षकको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ अनि त्यो कस्तो किसिमको जाँच हुनेछ, बुझ्ने प्रयास गर्नुहोस्‌। जस्तै निबन्ध लेख्ने हो वा सही गलत छुट्याउने। साथै, जाँच हुनुअघि त्यो जाँचमा के के सोधिनेछ भनी बुझ्न सुराक लिन खोज्नुहोस्‌। (“यसपछिको बुँदाचाहिं असाध्यै महत्त्वपूर्ण छ” वा “यो बुँदा नभुल्नुहोस्‌” जस्ता वाक्यांशहरू सामान्य सुराक हुन्‌ भनी उच्च कक्षाको पढाइ [अंग्रेजी] नामक पत्रिका बताउँछ।) त्यसपछि, आफ्नो नोट, किताब तथा गृहकार्य दोऱ्‍याएर हेर्नुहोस्‌।

सुलेमान हामीलाई यसरी सम्झाउँछन्‌, “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) तपाईंले स्कूलको पाठ वाचन गर्नुभएको सुन्‍न वा तपाईंलाई पढाइसम्बन्धी प्रश्‍नहरू सोध्न कुनै साथी वा आमाबाबु इच्छुक हुनुहुन्छ होला। अनि जाँचको अघिल्लो रात नआत्तिई मस्त निदाउने प्रयास गर्नुहोस्‌। येशूले सोध्नुभयो, “तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ ?”—मत्ती ६:२७.

असफलता

कडा मेहनत गर्दा गर्दै पनि जाँचमा फेल हुँदा तपाईंको आत्मसम्मान छिन्‍नभिन्‍न हुनसक्छ। तर प्रशिक्षक म्याक राफर्टी हामीलाई यसरी सम्झाउँछन्‌: “हामीलाई के कति थाह छ, कत्तिको राम्रो परिणाम ल्याउँछौं, त्यस्तै खाले मानिस भन्ठान्छन्‌ . . . जहिलेपनि रमाइलो मात्रै हुन्छ भनेर विद्यार्थीलाई झुक्याउने स्कूल वास्तवमा स्कूल नै होइन। त्यो त कल्पनामा रम्ने संसारजस्तै हो।” जाँचमा फेल हुँदा बेइज्जत नै भए तापनि आफ्नो गल्तीबाट सिकेर उन्‍नति गर्न प्रेरित गराउँछ भने त्यो राम्रै हो।

तर जहाँसम्म नराम्रो रिपोर्ट कार्डले आमाबाबुलाई निरुत्साहित तुल्याउने कुरा छ, त्यसबारे के भन्‍न सकिन्छ? यस्तो डरले कहिलेकाहीं निकै छलकपट गरेर ढाकछोप गर्न उस्काउँछ। एउटा केटो यसो भन्छन्‌, “म राति गएर भान्छाको टेबलमा रिपोर्ट कार्ड हाल्थें र भोलिपल्ट बिहान ढिलासम्म सुत्न खोज्थें।” अर्को केटो चाहिं यसो भन्छन्‌, “मचाहिं सकेसम्म आल्याङटाल्याङ गरेर बस्थें। र आमा बिहान अफिस जान निस्कनै लाग्नुहुँदा ‘यहाँ साइन गरिदिनुस्‌ न’ भन्थें। त्यतिबेला मसित के कसो भनी सोध्न उहाँलाई फुर्सतै नहुने हुँदा टन्टै हुँदैन थियो। त्यतिबेला मैले गाली त खानु पर्दैन थियो।” केही युवाहरूले अंक केरमेर गरेर नक्कली अंकहरूसमेत देखाउँछन्‌।

तथापि, तपाईंले स्कूलमा के कसो गरिरहनुभएको छ भनेर थाह पाउनु आमाबाबुको अधिकारको कुरा हो। तपाईंले आफ्नो योग्यताअनुसार अंक ल्याएको आशा गर्नु त स्वाभाविकै हो। अनि त्यसअनुसार तपाईंले राम्रो अंक ल्याउनुभएको छैन भने सजाय त खानै पऱ्‍यो। अतः आफ्ना आमाबाबुसित इमानदार हुनुहोस्‌। “आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌।” (हितोपदेश १:८) तपाईंबाट अचाक्ली माग गरेजस्तो लाग्छ भने उहाँहरूसित खुलस्त कुरा गर्नुहोस्‌।—अध्याय २ को “आमाबाबुलाई कसरी भनुँ” शीर्षकको परिशिष्ट हेर्नुहोस्‌।

राम्रो अंक ल्याउनु महत्त्वपूर्ण कुरा त हो तर त्यसैको आधारमा तपाईं कत्तिको मूल्यवान्‌ हुनुहुन्छ भनेर निर्धारण गरिने चाहिं होइन। तैपनि, स्कूलमा छऊञ्जेल त्यसको पूर्ण सदुपयोग गरेर सकेसम्म बढी सिक्ने प्रयास गर्नुहोस्‌। प्रायजसो त्यही प्रयास नै तपाईंले प्राप्त गर्नुहुने अंकमा झल्किनेछ। अनि तपाईंका आमाबाबु खुशी तथा सन्तुष्ट हुनुहुनेछ।

छलफलका लागि प्रश्‍नहरू

◻ अंकहरूको उद्देश्‍य के हो र त्यसप्रति सन्तुलित दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ?

◻ सिक्ने व्यक्‍तिगत जिम्मेवारी वहन गर्नु किन महत्त्वपूर्ण छ?

◻ स्कूलका अतिरिक्‍त क्रियाकलापहरूमा भाग लिंदा विचार गर्नुपर्ने केही कुराहरू के हुन्‌?

◻ तपाईंले राम्रो अंक ल्याउन के के गर्न सक्नुहुन्छ?

◻ जाँचको लागि कसरी तयारी गर्न सक्नुहुन्छ?

◻ असफलताप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ र के त्यो आमाबाबुबाट लुकाउनु ठीक हो?

[पृष्ठ १४१-मा भएको ठूलो अक्षरको क्याप्सन]

अड्‌कलेर, जाँचको दुइ तीन दिनअघि घोकेर वा चोरेर पास गर्ने विद्यार्थीले वास्तवमा राम्ररी सोच्न कहिल्यै सिकेको हुँदैन

[पृष्ठ १४४ र १४५-मा भएको पेटी/चित्र]

स्कूलका अतिरिक्‍त क्रियाकलापहरू के गर्ने?

धेरै युवाहरू स्कूलका अतिरिक्‍त क्रियाकलापहरूले उपलब्धिको भावना दिएको महसुस गर्छन्‌। बाल्टिमोर, मेरिल्याण्डको (सं.रा.अ.) केटो यसो भन्छन्‌, “भनौं भने म सबैजसो क्लबको सदस्य थिएँ। आफूलाई मन पर्ने कामहरू गर्न रमाइलो लाग्थ्यो। गाडीहरू मन पर्ने हुँदा गाडीहरूसम्बन्धी क्लबको सदस्य थिएँ। कम्प्युटरहरू मन पर्थ्यो, त्यो क्लबको पनि सदस्य भएँ। गीतहरू मन पर्थ्यो, त्यसैले त्यो क्लबको पनि सदस्य भएँ।” कलेजमा भर्ना हुनै लागेका विद्यार्थीहरूलाई विशेषगरि अतिरिक्‍त क्रियाकलापरूमा भाग लिन प्रोत्साहन दिइन्छ।

तथापि, सं.रा.-को संघीय सरकारी अधिकृत, जो पहिले शिक्षक पनि थिए तिनले ब्यूँझनुहोस्‌! संवाददातालाई यसो भने: “विद्यार्थीहरूले पढाइमा भन्दा अतिरिक्‍त क्रियाकलापहरूमा बढी समय बिताउने हुँदा राम्रो अंक ल्याउन धौधौ परेको हुनसक्छ।” हो, अतिरिक्‍त क्रियाकलापहरूलाई सन्तुलनमा राख्न सजिलो छैन। स्कूलको सफ्टबल टोलीका सदस्य क्याथी यसो भन्छिन्‌: “खेलको अभ्यासपछि त अरू केही गर्ने बलै हुँदैन थियो। यसले मेरो पढाइलाई असर गर्न थाल्यो। त्यसकारण यो वर्ष सामेल भइनँ।”

आध्यात्मिक खतराहरू पनि छन्‌। आफ्नो किशोरावस्थालाई सम्झँदै एक मसीही पुरुष यसो भन्छन्‌: “स्कूलको पढाइ, दौड टोलीसित अभ्यास र आध्यात्मिक क्रियाकलापहरू सबैको तालमेल मिलाउनसक्छु जस्तो लागेको थियो। तर यी तीन कुरा जुध्दा आध्यात्मिक कुरा नै त्यागिन्थ्यो।”

स्कूलको दुइटा खेलकुद टोलीमा संलग्न थेमोन नाउँको केटो सहमति जनाउँदै यसो भन्छन्‌: “[आध्यात्मिक निर्देशनको लागि] म राज्यभवनमा हुने सभाहरूमा उपस्थित हुन सक्दिनँ थिएँ किनभने मंगलबारको दिन हामी शहर बाहिर हुन्थ्यौं, बिहीबार पनि बाहिर अनि शनिबार पनि बाहिरै। बिहान दुइ बजेतिर मात्र घर फर्कन्थ्यौं।” “शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ” तर “भक्‍तिचाहिं . . . सबै कुराको निम्ति उपयोगी हुन्छ” भनेर बिर्सनु हुँदैन।—१ तिमोथी ४:८.

नैतिक खतराहरूलाई पनि विचार गर्नुहोस्‌। के तपाईं असल नैतिक प्रभाव पार्ने साथीहरूसित घुलमिल गरिरहनुभएको हुनेछ? प्रायजसो कुराकानीको विषय के हुनेछ? सहखेलाडीहरू वा क्लबका सदस्यहरूले के तपाईंमाथि नकारात्मक असर पार्नसक्छन्‌? पहिलो कोरिन्थी १५:३३ भन्छ, “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।”

चाखलाग्दो कुरा, यहोवाका थुप्रै जवान साक्षीहरूले आफ्नो अतिरिक्‍त समयलाई खेलकुदभन्दा महत्त्वपूर्ण काममा लगाएका छन्‌। त्यो हो, सृष्टिकर्तालाई चिन्‍न अरूलाई मदत गर्ने। कलस्सी ४:५ यस्तो सल्लाह दिन्छ: “समयको अवसर विचार गरेर बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल।”

[पृष्ठ १४३-मा भएका चित्रहरू]

पढाइमा अल्छी गर्ने विद्यार्थीहरू . . . जाँचमा प्रायः फेल हुन्छन्‌

[पृष्ठ १४६-मा भएका चित्रहरू]

स्कूलका अतिरिक्‍त क्रियाकलापहरूलाई गृहकार्यसित सन्तुलनमा राख्नु सजिलो छैन

[पृष्ठ १४८-मा भएको चित्र]

नराम्रो रिपोर्ट कार्ड हेरेर आमाबाबु खिन्‍न हुनु त स्वाभाविकै हो। तर उहाँहरूले तपाईंबाट अचाक्ली माग गर्नुभएजस्तो लागेमा उहाँहरूसित खुलस्त कुरा गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने